निर्णय नं. १९४७ - उत्प्रेषण लगायतको रिट जारी गरिपाउँ

निर्णय नं. १९४७ ने.का.प. २०४१ अङ्क ३
डिभिजन बेञ्च
इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४० सालको रिट नं. १८८५
विषय : उत्प्रेषण लगायतको रिट जारी गरिपाउँ
निवेदक/प्रतिवादी : कैलुसिंहको पुत्र जिल्ला सप्तरी गा.पं. कोइलाडी वार्ड नं. ३ बस्ने वर्ष ६८ को प्रियव्रत नारायण सिंह
कैलुसिंहके पुत्र ऐ ऐ बस्ने वर्ष ५१ को महेन्द्र नारायण सिंह
विरूद्ध
विपक्षी/वादी : खुव लालको छोरा जि. सप्तरी गा.पं. इनरवा फुलवडिया वार्ड नं. ८ मौजे भैरो जज बेलहा बस्ने अं. वर्ष ५२ को रेशमलाल चौधरी थारू
श्री भूमि सुधार अधिकारी भू.सु.का. सप्तरी
आदेश भएको मिति : २०४१।३।१२।३ मा
§ वाली बुझाएको रसिद भर्पाई समेत नहुँदा प्रकाशित अनुसूची २ को नाताबाट निवेदकको जग्गाको मोहियानी हकको प्रमाणपत्र गरी दिने ठहराएको भू.सु.का.सप्तरीको निर्णय त्रुटिपूर्ण देखिने ।
(प्रकरण नं. १०)
निवेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह
विपक्षी वादी तर्फबाट : विद्वान व.अ.श्री रमानन्दप्रसाद सिंह र विद्वान सरकारी अधिबक्ता श्री इन्द्रराज पाण्डे
उल्लेखित मुद्दा : x
आदेश
न्या. त्रिलोकप्रताप राणा : संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ ।
२. कैलुसिंहको इनखा फुलबडिया वार्ड नं. ८ को साविक बमोजिमको जग्गा बिगहा ०–४–० मैले कमाई ४ नं. जो.अ.नि.पाएको छु र २ नं. अनुसूची पनि प्रकाशित भएको छ । उक्त जग्गा कैलुसिंहले आफ्ना छोरा प्रियव्रतनारायण सिंह तथा महेन्द्रनारायण सिंहको संयुक्त नाउँमा हाल सबैमा इनखा फुलबडिया गा.पं. वार्ड नं. ८ को कि.नं. १५२ को ०–६–१० नापी गराउनु भएको उक्त जग्गा मध्ये ०–२–२ जग्गा बिक्री गर्नु भएको छ तर यसमा मेरो मोहियानी नभई कि.नं. १५२ को कित्ताकाट भई कायम भएको नयाँ कि.नं. १९८ को जग्गा बिगहा ०–४–१३ मा सर्भेमा दर्ता गराउन छूट भएकोले मोहियानी हकको प्रमाणपत्र पाउँ भनी विपक्षीले ०३९।५।१५ गतेमा निवेदन दिनुभएको । कि.नं. १५२ को जग्गा २०२७ सालमा सर्भे नापी भएको हो । विपक्षीले सर्भे नापी हुँदा उक्त जग्गाको मोही महलमा आफ्नो नाउँ लेखाउन सक्नुभएन । सर्भे पछि पनि १२ वर्षसम्म चूप लागी बस्नुभयो । हामी सबै अंशियार आ–आफ्नो खेती छुट्टाछुट्टै गर्दै गरी आएका छौं । ०२१।२२ सालमा कैलुसिंहको उक्त गा.पं.मा जग्गा थिएन । जग्गा नभएपछि मोही हुने कुरै भएन । जग्गा नहुनेको नामको ४ नं. जो.अ.नि.को कुनै महत्व भएन । विपक्षीले कबूलियत भर्पाई इत्यादी कुनै पनि सबूत प्रमाण पेश गर्न सक्नुभएको छैन । उक्त कि.नं. को जग्गा मध्ये ०–२–२ खूद विपक्षीले हामीबाट ०३३–१२ मा भू.प्र.का.सप्तरीबाट रजिष्ट्रेशन पारित गराई लिनुभएको छ । उक्त राजीनामाबाट विपक्षी हाम्रो जग्गाको मोही नभएको कुरा प्रष्ट रूपमा देखिन्छ । मोही महलमा जो.खा.भनी प्रष्टरूपमा लेखिएको छ । विपक्षीले हाम्रो बाँकी जग्गा ०–४–१३ पनि अघि बिक्री गरेकोमा खरीद गर्न खोज्दा नदिएकोले झुठ्ठा उजूर गर्नु भएको छ भन्ने समेत व्यहोराको हाम्रो प्रतिउत्तर परेकोमा प्रतिवादीले वादी मोही होइन भनी इन्कार गरेता पनि आधारभूत प्रमाण कुनै पेश गर्न नसकेको र प्रकाशित २ नं. अनुसूचीबाट विपक्षीका बाबुको ज.बि.०–४–० र ०–८–० को मोही देखिन्छ । प्रकाशित २ नं. लगतमा विवाद भएको नदेखिएकोले वादीको माग बमोजिम माथि उल्लिखित मोही लगतबाट वादी मोही देखिँदा कि.नं. १२८ को जग्गा बिगहा ०–४–१३ को जग्गामा वादी मोही रेशमलाल चौधरीका नाममा मोही दर्ता गरी मोहियानी हकको प्रमाणपत्र गरी दिने ठहर्छ भनी श्री अधिकारीज्यूले ०४०।२।२ मा फैसला गरी दिनुभयो । अधिकारीज्यूले निर्णय गर्दा बाबु कैलुसिंहसँग २०१२।११।२ मा अंशबण्डा रजिष्ट्रेशन पारित भएको तथ्यलाई खण्डन गर्न सक्नुभएको छैन । भू.सु.ऐन, २०२२।८।१ गतेदेखि सप्तरीमा लागू भएको छ र ऐन लागू हुनुभन्दा १० वर्ष अघि देखि नै बाबुबाट हाम्रो अंश छुट्टी सकेको थियो । अंशबण्डा भएपछि मौजे भैरो गंजको यो जग्गा समेत तुरून्तै सबै जग्गा हामीहरूको नाममा दर्ता दाखिल पनि भइसकेको थियो यस्तो अवस्थामा बाबु कैलुसिंहको नाममा प्रकाशित भनेको २ नं. अनुसूचीको प्रमाण लगाई हाम्रो जग्गामा विपक्षीको मोहियानी कायम हुने होइन अधिकारीज्यूले लाग्नै नसक्ने असम्बन्धित प्रमाण लगाई विपक्षीलाई हाम्रो जग्गामा मोही कायम गरी अवैध रूपमा फैसला गर्नु भएको छ । उक्त २ नं. अनुसूची कहिले र कहाँ प्रकाशित भयो त्यसको उल्लेख फैसलामा छैन । उक्त २ नं. अनुसूचीमा उल्लेख भएको दुई कित्ता मध्ये एक कित्तामा मात्र दावी लिएको छ । यसरी अर्को कित्तामा दावी नगरेकोबाट पनि यो सिद्ध हुन्छ कि २ नं. अनुसूची झुठ्ठा रहेछ र फैसलामा यसतर्फ कुनै विचार गरिएको छैन । सर्भे नापी हुँदा कि.नं. १५२ को जग्गा एकै प्लट भएकोले एउटै नम्बरमा नापी भएको छ विपक्षीको जोत छुट्टै भएको भए कित्ता नम्बर पनि छुट्टै हुने थियो श्री अधिकारीज्यूले यस्तो महत्त्वपूर्ण बुँदालाई ध्यान नदिई गैरकानूनी फैसला गर्नु भएको छ । विपक्षीले कुनै सबूत प्रमाणहरू पेश गर्न सक्नुभएको छैन । बाली बुझाएका भर्पाई छैन भनी ०४०।१।५ मा भू.सु.का.मा कागज गरी दिनुभएको छ । आफ्नो दावी प्रमाणित गर्ने भार विपक्षी माथि नै भए तापनि प्रतिवादीले वादी मोही होइन भनी इन्कार गरे तापनि आधारभूत प्रमाण कुनै पेश गर्न नसकेको भनी प्रमाण ऐन, २०३१ को व्यवस्थाको विपरीत प्रमाणको भार हामी उपर थुपारी प्रष्टरूपमा गैरकानूनी फैसला गर्नु भएको छ । हामीले पेश गरेको प्रमाणको सही मूल्याङ्कन नभई अ.बं.१८४(क) १८५, १८९ को विपरीत र जग्गाको जोतको विषयमा सरजमीन बुझ्नु पर्नेमा त्यो पनि नबुझी फैसला गर्नु भएको गैरकानूनी छ भन्ने समेतको निवेदन जिकिर ।
३. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने सिङ्गलबेञ्चको मिति ०४०।३।२६ को आदेश अनुसार प्राप्त हुन आएको लिखितजवाफको व्यहोरा यस प्रकार छ ।
४. म भूमिसम्बन्धी ऐनको दफा २५(१) अनुसार विपक्षीका बाबु कैलुसिंहकै समयदेखि हाल जग्गाधनी रहनुभएको साविक कि.नं. १५२ हाल कि.नं. १९८ जग्गाको मोही छु । उक्त जग्गा भूमिसम्बन्धी ऐन लागू नहुँदैको अवस्थादेखि कमाउँदै आई भू.सु.ऐन लागू हुँदाका बखत स्वतः मोही भई ०२३ मा मोहीको लगत प्रकाशित भई ४ नं. को जोताहाको अस्थायी निस्सा समेत प्राप्त गरी सो जग्गा जोती आइरहेको छु । जग्गावालाको पारिवारिक अंशबण्डा हुँदैमा वा जग्गावालाले मोही भएको जग्गा बिक्री गर्दैमा मोहियानी हक अपहरित हुने होइन भन्ने सिद्धान्त पूर्णरूपेण सम्मानीत सर्वोच्च अदालतबाट स्थापित भइसकेको छ । तसर्थः विपक्षीहरूले विभिन्न प्रकरणमा लिएका सबै जिकिर र तर्कहरू प्रस्तुत केशमा लागू हुन सक्दैन र निरर्थक रहेछ भन्ने समेतको विपक्षी रेशमलाल चौधरीको लिखितजवाफ ।
५. रिट निवेदकको उल्लिखित जग्गाको मोही वादी थिएन भन्ने वादीले उक्त जग्गाको मोही लगत भरी २ नं. अनुसूची मोहीको लगत प्रकाशित भएपछि कानून बमोजिम उजूर गरी सो २ नं. अुनसूची मोहीको लगत बदर गराउनु पर्नेमा सो गरे गराएको प्रमाण रिट निवेदकले पेश गर्न सक्नुभएको छैन । सो मोही लगत बदर गराउन नसकेपछि उक्त जग्गाको वादी भू.सु.ऐन, ०२१ को दफा १५(१) अनुसार अकाट्य मोही हुन आयो । परिवारको मुख्य व्यक्तिको मुख्य नाम काम कारवाहीका सिलसिलामा सर्वसाधारण समेतमा जानकारी हुने हुँदा उल्लिखित जग्गा प्र.रिट निवेदकका बाबु कैलुसिंहका नाउँमा ज.ध.देखाई मोही लगत प्रकाशित भएको र सो कुरा निवेदकले इन्कार गर्न नसकेको परिवार मूलीका नाउँबाट अरू सदस्यका नाउँमा स्वामित्व सरे तापनि मोही भने सरी नजाने हुँदा उल्लिखित जग्गामा वादीलाई मोही कायम गरी यस कार्यालयबाट भएको मिति ०४०।२।२ को निर्णय फैसला कानूनसंगत हुँदा प्रस्तुत रिट खारेज हुन अनुरोध छ भन्ने समेतको विपक्षी भू.सु.का.सप्तरीको लिखितजवाफ ।
६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंहले श्री भू.सु.अधिकारीज्यूले लाग्नै नसक्ने असम्बद्ध प्रमाण लगाई र प्रमाण ऐनको विबन्धनको सिद्धान्तको विपरीत फैसला गर्नु भएको बदरभागी छ भन्ने र विपक्षी रेशमलाल चौधरीका तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंहले विपक्षीहरूले विभिन्न प्रकरणहरूमा लिएका सबै जिकिर र तर्कहरू प्रस्तुत केशमा लागू हुन सक्दैन र निरर्थक छन् भन्ने र अर्का भू.सु.का.सप्तरीका तर्फबाट उपस्थित रहनुभएका विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले भू.सु.का. सप्तरीबाट मिति ०४०।२।२ मा वादीलाई मोही कायम गरी निर्णय फैसला भएको कानूनसंगत हुँदा प्रस्तुत रिट निवेदन खारेज हुन अनुरोध छ भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो ।
७. प्रस्तुत विषयमा निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने हो वा होइन भन्ने कुराको निर्णय गर्नुपर्ने हुन आएको छ ।
८. यसमा प्र.महेन्द्रनारायण र प्रियव्रतनारायण सिंहको नाउँमा दर्ता भएको कि.नं. १९८ को ज.बि.०–४–० को मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने विपक्षी रेशमलाल चौधरीको भू.सु.का.सप्तरीमा निवेदन परेको देखिन्छ ।
९. ०२३।३।२४ मा प्रकाशित अनुसूची २ हेर्दा जग्गावालाको महलमा कैलुसिंहको नाउँ देखिन्छ ।
१०. कैलुसिंह र यी निवेदक महेन्द्रनारायण सिंह प्रियव्रतनारायण सिं बीचमा ०१२।९।११।२ मा अंशबण्डा भई उक्त अंशबण्डाको लिखत कानून बमोजिम पारित भएको समेत देखिन्छ । जसको नाउँमा अनुसूची २ प्रकाशित छ सो व्यक्ति ०१२ सालमा नै अंश लिई छुट्टी सकेको विवादको जग्गामा कैलुसिंह जग्गावाला नै नदेखिएको र ०१२ साल पछि कैलुसिंहलाई बाली बुझाएको रसिद भर्पाई समेत नहुँदा कैलुसिंहको नाममा प्रकाशित अनुसूची २ को नाताबाट निवेदकहरूको कि.नं. १९८ को जग्गाको मोहियानी हकको प्रमाणपत्र गरी दिने ठहराएको भू.सु.का.सप्तरीको निर्णय त्रुटिपूर्ण देखिँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । जानकारीको निमित्त यो फैसलाको नक्कल विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियम बमोजिम गर्नु ।
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४१ साल असार १२ गते रोज ३ शुभम् ।