शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९४९ - लेनदेन

भाग: २६ साल: २०४१ महिना: असार अंक:

निर्णय नं. १९४९   ने.का.प. २०४१           अङ्क ३

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

सम्वत् २०३९ सालको दे.पु.नं. ४०२

मुद्दा : लेनदेन

पुनरावेदक/वादी : जि. का.का.न.पं. वडा नं. ७ बस्ने खड्गकुमारी खडका क्षेत्री

विरूद्ध

विपक्षी/प्रतिवादी : ऐ ऐ वडा नं. ८ बस्ने आसामरू संगत महर्जन

फैसला भएको मिति :   २०४१।१।८।६ मा

§  विवादको लिखत जालसाजी ठहर नभए पछि स्वतः पनि सद्दे मानेको भन्नु पर्ने ।

          (प्रकरण नं. १३)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री गोविन्दप्रसाद उपाध्याय

उल्लेखित मुद्दा : x

फैसला

          न्या. त्रिलोकप्रताप राणा : म.क्षे.अ.को निर्णय उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार रहेछ ।

          २.  विपक्षीले घर खर्च गर्न भनी मसँग रु.१८०००। लिई श्री पशुपतिनाथ महास्नान तर्फका पोता गुठी लगतमा बाबु सिंगवीर संगतका नाउँमा दर्ता भएको साविक नं. १४० को रो.।।। जग्गा हाल सर्भे नापी हुँदा भगवानस्थान गा.पं. वडा नं. ६ कि.नं. ७४ को रो.२ को ०३०।७।२१ मा राजीनामा तमसुक गरी दिनुभएको थियो । पास गर्न नसकी कपाली भयो सावाँ ब्याज गरी रु.२०,०००। विपक्षबाट दिलाई भराई पाउँ भन्ने फिरादी ।

          ३.  वादीलाई लेखिदिए भनेका जग्गा अर्कैलाई हक छाडी दिएको छु । पारित गर्न बाँकी छ । वादीसँग सापट लिएकै छैन तमसुक हेर्न देख्न पाए उसै बखत नामाकरण गर्नेछु भन्ने प्रतिउत्तर ।

          ४.  चेतनिधी तिवारीले जग्गा खिचोला मुद्दाको लागि कागतमा सहिछाप लगाई लगेको थियो सोही कागज यो राजीनामामा सहिछाप गराई सही लागेको हो कि यकीन भन्न सक्तिन रुपैयाँ लिई राजीनामा गरी दिएको छैन जालसाजी गरेमा सजाय गरिपाउँ भन्ने प्रतिवादीले अदालतमा गरेको बयान ।

          ५.  लिखत सद्दे हो जालसाजी होइन भन्ने समेत वादीको बयान ।

          ६.  रुपैयाँ लेनदेन भएको देखेको छैन । लेनदेन व्यवहार भयो भनेकाले साक्षीसम्म बसेको हुँ भन्ने साक्षी चेतनिधी तिवारीको बकपत्र ।

          ७.  लिखत साक्षीमा लेखिएको हस्ताक्षर मेरो होइन लेनदेनको कुरा मलाई थाहा छैन भन्ने समेत लालध्वजले गरेको बयान ।

          ८.  लिखत सद्दे साँचो नभई जालसाजीबाटै तयार गरेको ठहर्छ भन्ने समेत का.जि. अ.को फैसला ।

          ९.  उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत खड्गकुमारी क्षेत्रीको पुनरावेदन ।

          १०.  वादीले दावी गरेको लिखतमा फटके साक्षीले समेत तमसुकमा लेखिएको रुपैयाँ वादीले प्रतिवादीलाई दिएको देखेका छैनौं भनी र लिखत साक्षीले मेरो हस्ताक्षर होइन लेनदेनको कुरा मलाई थाहा छैन भन्ने गरेकोले दावी पुग्न नसक्ने ठहर्‍याएको शुरू का.जि. अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत म.क्षे.अ.को फैसला ।

          ११.  उक्त इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीको निवेदन परेकोमा यसमा विवादास्पद लिखत जालसाजीको परिभाषा भित्र नपर्ने भएकोले जालसाजी भन्न मिल्ने र लिखतको अन्तर साक्षीले रुपैयाँ लिए दिएको देखेनौं भनी बयान गरेबाट लिखतको सावाँ ब्याज भराउन मिलेन भन्ने म.क्षे.अ.ले निर्णय गरेको देखिन्छ लिखत जालसाजी नठहरे पनि त्यसलाई हरिदत्त उपाध्याय विरूद्ध चन्द्रकान्त उपाध्याय भएको नि.नं. ९४ को मुद्दामा प्रतिपादित नजीरको आधारमा सावाँ ब्याज नभराउने गरी भएको नजीर यसमा लाग्न सक्ने देखिन्न । यसको अतिरिक्त कुनै कानूनको आधार पनि लिन सकेको नदेखिएकोले म.क्षे.अ.को निर्णयमा सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्षतः गम्भीर कानूनी त्रुटि रहेकोले न्या. प्र.सु.ऐनको दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको २०३९।४।२४ को आदेश रहेछ ।

          १२.  पुनरावेदकतर्फको विद्वान अधिवक्ता श्री दमन ढुङ्गानाले लिखत जालसाजी नठहरे पछि सद्दे साँचो भई सो लिखत अनुसारको सावाँ ब्याज भराई दिनु पर्ने भनी र विपक्षी तर्फका विद्वान अधिवक्ता श्री गोविन्दप्रसाद उपाध्यायले रुपैयाँ लेनदेन भएको वादीकै साक्षीले पनि भन्न सकेको छैन भनी बहस प्रस्तुत गर्नुभयो । दुवैतर्फको बहस समेत सुनी म.क्षे.अ.को निर्णय मिलेको छ छैन निर्णय दिनु पर्ने प्रश्न उपस्थित हुन आएको छ ।

          १३.  यसमा २०३०।७।२१ मा विपक्षीले राजीनामा गरी दिएकोमा सो राजीनामा पास हुन नसकी कपाली हुन गएकोले सो तमसुकमा उल्लेख भएको रु.१८,०००। को सावाँ ब्याज समेत भराई पाउँ भनी वादी दावी लिएकोमा सो रुपैयाँ लिएको छैन राजीनामा गरी दिएको छैन जालसाजीबाट सो तमसुक खडा गरेको भनी प्रतिवादी जिकिर भएकोमा का.जि. अ.ले सो तमसुक जालसाजीबाट खडा भएको र सो तमसुकमा उल्लेख भएको रकमको सावाँ ब्याज प्रतिवादीले तिर्न बुझाउन नपर्ने गरेको निर्णयमा म.क्षे.अ.बाट जालसाजीमा प्रतिवादीको दावी लाग्न नसक्ने वादीले दावी गरेको लिखतमा लेखिएको सावाँ ब्याज भराउन नमिल्ने निर्णय गरेको देखिन्छ । विवादको लिखत जालसाजी ठहर नभए पछि स्वतः म.क्षे.अ.ले पनि सद्दे मानेको भन्नु पर्ने भई अब त्यस्तो सद्दे ठहरेको तमसुकमा उल्लेख भएको रकम वादीलाई प्रतिवादीले बुझाई सकेको छु भनी कुनै किसिमको प्रमाण पेश दाखिल गर्न सकेको छैन । सद्दे ठहर भएको लिखत प्रमाण स्वरूप पेश भएको अवस्था मौखिक प्रमाणको आधारमा वादी दावीको सावाँ ब्याज भराउन नमिल्ने भनी म.क्षे.अ.ले गरेको निर्णय मिलेको देखिन्न । पुनरावेदन जिकिर अनुसार तमसुकमा उल्लेख भएको रुपैयाँ वादी खड्गकुमारी खड्का क्षेत्रीले प्र.आसामरू संगत महर्जनबाट भराई पाउने ठहर्छ । तपसीलका कुरामा तपसीलबमोजिम गर्नु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को इन्साफ उल्टी भएको हुँदा शुरू जि. अ.मा राख्नु पर्ने कोर्टफी आदेश गराई फिराद दायर गरेको तर म.क्षे.अ. मा दाखिल गरेको रु.८२०। र पुनरावेदन गरे बापत राखेको कोर्टफी रु.१२३। र यस अदालतमा पुनरावेदन गरे बापत राखेको कोर्टफी रु.१२३। समेत गरी जम्मा रु.१०६६। दिलाई भराई पाउँ भनी ऐनको म्यादभित्र वादीले निवेदन परे दस्तूर केही नलिई प्रतिवादीबाट भराई दिनु भनी का.जि. अ.मा लगत दिनु.....................१

मिसिल नियमानुसार बुझाई दिनु ..................... २

 

उक्त रायमा म सहमत छु ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०४१ साल वैशाख ८ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु