शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९५१ - उत्प्रेषण लगायत अन्य आज्ञा, आदेश जारी गरिपाउँ

भाग: २६ साल: २०४१ महिना: असार अंक:

निर्णय नं. १९५१     ने.का.प. २०४१                        अङ्क ३

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४० सालको रि.नं. १३८२

विषय : उत्प्रेषण लगायत अन्य आज्ञा, आदेश जारी गरिपाउँ

निवेदक : सर्लाही जिल्ला भुसौली गा.पं. वडा नं. १ मा भएको श्री सिया सदन विहारी मठको संरक्षाक ऐ ऐ वडा नं. १ बस्ने सियासरूप राय यादव

विरूद्ध

विपक्षी : भूमिसुधार कार्यालय सर्लाही का.भू.सु.अ. हाल सर्लाही जिल्ला भुसैली गा.पं. वर्ड नं. १ बस्ने लक्ष्मण दास तपस्वी

सर्लाही जिल्ला भुसैली गा.पं. वार्ड नं. ज्ञ बस्ने अब्दुल मिया धोवी

आदेश भएको मिति : २०४१।२।२९।२ मा

§  सबूद प्रमाणको आधारमा अदालतबाट हक अधिकार निवेदकले कायम गराउनु पर्ने ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिबक्ता श्री कमलनारायण दास

उल्लेखित मुद्दा : x

आदेश

            न्या. हरगोविन्द सिंह प्रधान :     नेपालको संविधानको धारा ७१ अनुसार भू.सु.का.सर्लाहीको ०४०।२।१९ को निर्णय बदर गरिपाउँ भनी यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छ ।

            २.    मेरो पिता ठगी रायले जग्गा जमीन राखी १९९२ सालमा स्थापना गर्नु भएको श्री ठाकुरजी सियासदन बिहारीज्यूको मूर्ति र मठको पूजारीमा बलराम दास र संरक्षक आफैं रही सञ्चालन गर्दै आएकोमा पिताजीको परलोक पछि म र बलराम दासको मृत्यु पछि निजको शिष्य र उपशिष्य नभएकोले अन्य वैष्णब ब्राहृमणलाई पूजारीमा राखी मठ सञ्चालन गरी आएको मठको जग्गा जोत्ने मोहीहरूमध्ये मोही विपक्षीले कमाउँदै आएको सर्लाही जिल्ला भुसेली गा.पं. वार्ड नं. १ कि.नं. १७ को ०१०१२ कि.नं. ३२५ को ०१० कि.नं. ३२७ को ०९ भित्र जम्मा ११३११ जग्गाको ०३९ सालको कूतबाली नबुझाएकोले विपक्षीबाट कूत दिलाई भराई पाउँ भनी मैले मठको संरक्षक हैसियतले विपक्षी कार्यालयमा उजूरी गरेको थिएँ, उब्जा नभएकोले कूत बाली बुझाउन सकिन भन्ने विपक्षी मोहीको प्रतिवाद थियो । विपक्षी कार्यालयबाट मठको महन्तलाई दावी भएको सालको कूत बाली बुझाएको नदेखिएको यो उजूरीमा बाली नपाएको भए हक पुग्ने व्यक्तिले ऐन प्रमाण दावी गर्नुपर्ने सो नभएकोले यसमा सम्बन्धित व्यक्तिको उजूर नदेंिखँदा यसबाट कारवाही गर्न नमिल्ने मिसिल तामेलीमा राख्ने ठहर्छ भन्ने ०४०।२।१९ मा निर्णय भएबाट सो निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) को अतिरिक्त अ.बं.१८४क १८५, १८९, १३९ को प्रतिकूल समेत रहेको छ । उक्त उल्लेख गरे अनुसार प्रत्यर्थी कार्यालयको त्रुटिपूर्ण निर्णयले म निवेदकको उल्लिखित हकहरूको अतिरिक्त संविधानको धारा १०(१) ११(२) र १५ समेतका हकहरूको प्रचलनमा आघात पुर्‍याएकोले संविधानको धारा १६/७१ अन्तर्गत उत्प्रेषण वा अन्य आज्ञा, आदेश जारी गरी प्रत्यर्थी कार्यालयको निर्णय बदर गरी म निवेदकको हक प्रचलन गरिपाउँ भन्ने समेत जिकिर भएको रिट निवेदन रहेछ ।

            ३.    विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा म्याद नाघेपछि नियम बमोजिम गरी पेश गर्नु भन्ने समेत यस अदालत सिङ्गलबेञ्चको आदेश ।

            ४.    सिया सदन विहारी मठको नाउँमा दर्ता भएको जग्गाको कूत सिया सदन रायले बुझी लिन पाउने कुनै प्रमाण समेत पेश गरेको देखिँदैन । सोही मठको संरक्षक लक्ष्मणदासलाई प्रतिवादी मोहीले कूत बझाएको भर्पाईको नक्कल पेश गरेकोबाट देखिन आएकोले यस्तो अवस्थामा निवेदकलाई नै प्रतिवादीले कूत बुझाउन पर्छ भन्ने कानून संगत नै देखिँदा यस कार्यालयबाट मिति ०४०।२।१९ मा भएको निर्णयबाट निवेदकको कुनै पनि संवैधानिक हक हनन् भएको नदेखिएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भू.सु.का.सर्लाहीको लिखितजवाफ रहेछ ।

            ५.    ठगा राउत ग्वारले सम्वत् १९९२ सालमा ठाकुरजी सिया सदन विहार मूर्ति स्थापना गरी आफ्नो नाउँको र आफ्नो छोराको रामसरूपको नाउँको ८१४१६ जग्गा भगवानको पूजा आरती गर्नु भनी ठाकुरजीका पुजारी महन्त सियारामको नाति चेला लक्ष्मणदास महन्तको चेला बलरामदासलाई महन्थ कायम गरी दिई कसैले टंटा खिचोला नगर्ने शर्त गरी १९९८।८।१२ मा माल रजिष्ट्रेशन फाँटबाट रै.नं. १२ बाट पारित भएको निज बलराम परलोक भएपछि सो मठका महन्त पुजारी भई भगवानको नित्य पूजा स्वागत सत्कार गर्दै आएको जग्गा मठकै नाउँमा दर्ता भएको । उक्त मठमा विपक्षी संरक्षक नभएको र मैले बुझी लिई भर्पाई दिएको कुरामा विरोध प्रकट गर्न नसकी स्वीकार गर्नुभएबाट ०३८ सालको मठको महन्तलाई कूत बझाएको मोही उपर कुनै दावा गर्नु भएको छैन । यसरी भू.सु.का.ले तामेली राखेको हुँदा विपक्षीको कुनै हक हनन नभएको विपक्षीको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी लक्ष्मणदासको लिखितजवाफ रहेछ ।

            ६.    दावीको मठको संरक्षक भन्नु वा पूजारी भन्नु लक्ष्मणदास नै हुनुभएकोले कूत बाली मठकै पूजारी समेतलाई बुझाउने गरी आउने गरेको हुँ निवेदक मठको संरक्षक घोषित गर्ने अधिकार शिवपुरुषनामाले नगरेको हुँदा भू.सु.का.बाट भएको विपक्षीको निवेदन तामेलीमा राख्ने गरेको निर्णयबाट निवेदकको कुनै पनि हक हनन् भएको नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत अब्दुल मियाँ धोवीको लिखितजवाफ रहेछ ।

            ७.    निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले प्रत्यर्थी लक्ष्मणदास मठका महन्त होइनन् । उनाउ व्यक्ति हुन् निजलाई बाली बुझी लिने हकदैया छैन । हकदैया नभएको व्यक्तिले बाली बुझी लिएको भर्पाईलाई मान्यता दिई प्रत्यर्थी कार्यालयले गरेको निर्णय त्रुटिपूर्ण भई बदरभागी छ भन्ने र प्रत्यर्थी कार्यालयतर्फबाट बहस गर्न खटिई उपस्थित हुन भएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र प्रत्यर्थी लक्ष्मणदासतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कमलनारायण दासले मठको जग्गाको बाली रिट निवेदकले बुझी लिन पाउने कुनै प्रमाण समेत पेश गर्न सकेको छैन र उक्त जग्गा श्री सिपासदन बिहारीज्यू मठका नाउँ दर्ता कायम छ । भू.सु.का.को निर्णयमा कुनै त्रुटि छैन । रिट निवेदन खारेज हुनुपर्दछ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो । प्रस्तुत विषयमा निवेदकका माग अनुसारको आदेश जारी हुनु पर्ने हो होइन सोको निर्णय दिनु पर्ने हुन आएको छ ।

            ८.    यसमा निर्णयतर्फ हेर्दा वादी दावीमा उल्लिखित जग्गा सियासदन बिहारीज्यूका नाउँमा दर्ता सम्म रहेको भन्ने उल्लेख गरिएको र निज वादी सियासरूप राय यादव सो मठको संरक्षक तथा व्यवस्थापक हो र निजले बाली बुझी आएको भन्ने नदेखिएको वादी दावीको अघिका सालहरूमा सोही मठका पुजारी लक्ष्मणदास तपस्वीले बुझी आएकोले यो उजूरी हक पुग्ने सम्बन्धित व्यक्तिको नदेखिँदा यसबाट कारवाही गर्न नमिल्ने भएकोले यो उजूरी तामेलीमा राखी दिने ठहर्छ भनी मिति ०४०।२।१९।५ मा प्रत्यर्थी भूमिसुधार कार्यालयबाट निर्णय गरेको देखिन्छ । विवादास्पद जग्गाको कूत बुझ्ने अधिकार रिट निवेदकलाई मात्र छ भन्ने कुराको विवादरहित आधार निवेदकले आफ्नो निवेदनमा देखाउन सकेको छैन । सबूत प्रमाणको आधारमा अदालतबाट सो हक अधिकार निवेदकले कायम गराउन पर्ने कुरा हुन्छ । त्यस्तो हक कायम नगराए सम्म रिट निवेदक हक पुग्ने व्यक्ति भन्न सकिने अवस्था नहुँदा प्रत्यर्थी भूमिसुधार कार्यालय सर्लाहीले मिति ०४०।२।१९।५ मा सबूत प्रमाणको मूल्याङ्कन गरी गरेको निर्णयलाई त्रुटिपूर्ण भन्न सकिने स्थिति नहुँदा निवेदकको माग अनुसारको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. धनेन्द्रबहादुर सिंह

 

इति सम्वत् २०४१ साल जेठ २९ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु