निर्णय नं. १९५२ - बन्धकी निखनाई पाउँ

निर्णय नं. १९५२ ने.का.प. २०४१ अङ्क ४
फुल बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०३९ सालको दे.फु.नं. ४६
मुद्दा : बन्धकी निखनाई पाउँ
निवेदक/प्रतिवादी : रौद्रशमशेर थापाको मु.स.गर्ने का.जि. का.न.पं. वा.नं. १ नक्साल नागपोखरी बस्ने लोकप्रकाश कुमारी थापा
ऐ कमल पोखरी बस्ने किरण सम्शेर थापा
ऐ ज्ञानेश्वर बस्ने ज्ञान कुमारी थापा
ऐ गैरीधारा बस्ने प्रसाद सम्शेर थापा
ऐ कमलपोखरी बस्ने वेद राजेश्वरी थापा
ऐ नक्साल बस्ने गेहेन्द्र सम्शेर थापा
ऐ ऐ बस्ने दिब्य शम्शेर थापा
विरूद्ध
विपक्षी/वादी : का.जि. फरपिङ मध्ये रामचे गाउँ बस्ने चेतनकुमारी आचार्य
फैसला भएको मिति : २०४१।४।१२।६ मा
§ भोग गरेको भन्ने प्रमाणित हुन नआएकोले भोगबन्धकी थैली बुझाई जग्गा निखनाई पाउँ भन्ने वादी दावी नपुग्ने ।
(प्रकरण नं. १८)
निवेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती
विपक्षी वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
उल्लिखित मुद्दा : नारायणविक्रम शाह समेत विरूद्ध गंगादेवी भण्डारी समेत भएको जालसाजी मुद्दा (नि.नं ७९८ ने.का.प. २०३१ पृ.१८) मा फुल बेञ्चबाट ०३०।११।१८।६ मा सिद्धान्त प्रतिपादन ।
फैसला
न्या. धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३८।१।५ को निर्णय उपर निवेदकको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्याई दिनु भन्ने हुकुम प्रमांगी बक्स भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. जि. विराटनगर प्र.गोग्राहा मौजे मझुवा वकहरीमा मेरो ससुरा चन्द्रमणिका नाउँमा दर्ता भएको रै.नं. १९ मौजा नं. २४६ को कित्ता कित्ता गरी जग्गा बिगहा २७–१४–४ जग्गा १९७० साल अघि नै कं.रु.५२०। लिई कर्णेल डिल्लीशमशेरलाई भोगबन्धकी दिएको रहेछ र सो जग्गा मेरा नाउँमा दर्ता गरी दिनु हवस भनी जिमिदार भिमप्रसाद समेतलाई भन्दा गरी नदिएको नापीमा बन्धकी जनाइ देउ भन्दा जनाई पनि नदिएकोले सोही कुराको प्रधानमन्त्रीज्यूमा निवेदन दिँदा नापी डोर समेतको उजूरी हुँदा भोगवाला साहुहरू झिकाई बुझी दर्ता गर्ने हकमा ऐन सवाल रूल नियमबमोजिम गर्नु भन्ने आदेश भई सर्भे गोश्वारामा आई साहुहरू झिकी भोगबन्धकी लिएको होइन भन्ने र सो जग्गा बण्डा गरी खाई आएका छौं भन्ने कागज लेखी दिएबाट तेरो मेरो पर्न आई ऐनका म्यादभित्र इलाका अदालतमा गई हक बेहक छुट्याई आउनु भनी २०१७।१२।४ मा पर्चा गरी दिएबाट मलाई हकदार होइन भनी थैली बुझी लिन मञ्जूर नगरकोले सो बन्धकी थैली रु.५२०। धरौट राखी नालेश गर्न आएकी छु ससुरा चन्द्रमणिको हक छुटेको लिखत कुनै छ भन्छन् भने मलाई देखाएमा बयान गर्ने छु छैन भने बुझी लिनु पर्ने थैली बुझी नलिएमा सजाय गरी बन्धकी थैली तिराई उक्त जग्गा निखनाई पाउँ भन्ने समेत वादी ।
३. यी वादी चन्द्रमणिको बुहारी होइन यिनले सर्भेमा यही नै जग्गा विषयमा उजूरी दिएको थिइन । सर्भेबाट जग्गा हक बहेकमा निर्णय भएपछि मात्र बन्धकी थैली बुझाई जग्गा निखनाई पाउँ भन्ने नालेश दर्ता हुनु पर्ने थियो सो भएन चन्द्रमणिबाट बन्धकीमा लिए खाएको होइन चन्द्रमणि ६० सालमा परलोक भएका र हाम्रो मुख्य कारिन्दा हुँदा ऐनको नाउँमा जग्गा दर्ता हुन गए तापनि हकदार चन्द्रमणिका कोही नहुँदा नाउँसारी हुन नसकेको हाम्रो रुपैयाँबाट खरीद गरी कारिन्दाका नाउँमा दर्ता सम्म हुन गएको हो हाम्रो गोश्वारामा रही हामीले उपभोग गरी आएका हाम्रो जग्गा हुँदा हाम्रै सदर थामिपाउँ भन्ने समेत रौद्रशमशेर, किरणशमशेर समेतको प्रतिउत्तर ।
४. चन्द्रमणि हाम्रो कारिन्दा हुन हामीले कारिन्दाका नाउँबाट जग्गा खरीद गराई कारिन्दाकै नाउँमा दर्ता गराई भोगी आएको हुँदा बन्धकी लिएको होइन । चन्द्रमणि परलोक भई निजको हकदार नहुँदा नाउँसारी हुन नसकी रहेको सर्भेले सुनाए उपर केही गरी बन्धकी थैली बुझाई जग्गा निखनाई पाउँ भनी वादीले झुठ्ठा फिराद दिएकी हुन् भन्ने समेत डम्बरशमशेरको प्रतिउत्तर ।
५. वादी दावी बमोजिमको जग्गा बन्धकी लिएको होइन हाम्रो गोश्वारा विर्ता कचहरीमा आघि ५८।५९ सालमा चन्द्रमणि हाम्रो निजामती हाकिम थिए त्यसै बखत हाम्रो रुपैयाँबाट खरीद भएको हाम्रो जग्गा हो भन्ने समेत दिव्यराजेश्वरीको प्रतिउत्तर ।
६. चन्द्रमणीको छोरा मेरा पति किर्तीप्रसाद हुन् म चन्द्रमणिका बुहारी हुँ भन्ने समेत कुरा ध्रुवलाल डोटेल र म चेतनकुमारी भएको अंश मुद्दा १९८७।३।५।२ मा डायर भएको र १९८८।९।८ मा खारेजी फैसला भएको मिसिलबाट प्रष्ट देखिने छ सो समेत बुझिपाउँ भन्ने समेत चेतनकुमारीको वा.हरिविनोदको बयान ।
७. यी वादी चन्द्रमणिको बुहारी हो होइन भन्ने कुरा प्रतिवादीहरूले प्रतिवादी लेखी दिएका र निखनाई पाउँ भन्ने जग्गामा अरू कसैको हक छैन भए २००७ साल भन्दा पहिले आफ्नो हकको जग्गा आफ्ना–आफ्ना नाउँमा दर्ता गराउनु भन्ने सवाल इस्तीहार समेत भएको हकदार भए बन्धकी दिएको जनाई दर्ता समेत गराउन सक्नु पर्ने सो नसकेबाट हकदार भनेका चन्द्रमणिका नाउँमै कायम रहन सक्ने थिएन भन्ने समेत प्र.वा.त्रिलोचनको बयान ।
८. वादी यदि चन्द्रमणिको बुहारी नभई अरू नै थिइन भने फलानाको बुहारी भनी प्रतिवादीहरूले देखाउन सक्नु पर्ने सो नभई सिर्फ चन्द्रमणिको बुहारी होइनन् भन्ने सम्म लेखेको र वादीका साक्षीहरूबाट चन्द्रमणिको बुहारी हुन भन्ने देखिन आएकोबाट समेत वादी चन्द्रमणिको बुहारी कायम हुन्छ । अब बन्धकीको हकमा बन्धकी दिएको निस्सा वादीबाट पेश भएको छैन तापनि चन्द्रमणिको दर्ता जग्गा आजसम्म निजैको नाउँमा कायम रहेको देखिनाले समेत दावी बमोजिम बन्धकी निखन्न पाउनेसमेत ठहर्छ भन्नेसमेत काठमाडौं जिल्ला अदालतको ०३०।१।१०।१ को फैसला ।
९. काठमाडौं जि. अ.को उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादीहरूको पुनरावेदन ।
१०. प्रतवादीकै साक्षी पद्मनाथ उपाध्यायले बकपत्र गर्दा वादी चेतनकुमारी चन्द्रमणिको बुहारी र चन्द्रमणिले डिल्लीशमशेरलाई बन्धकी दिएको थियो भन्ने बकेको देखिएकोले प्रतिवादीकै उक्त साक्षीबाट वादीको दावी समर्थित भएको समेत देखिन आयो । बन्धकी बाहेक अन्य अवस्थामा वादीको ससुरा चन्द्रमणिको नाउँको दर्ताको जग्गा प्रतिवादीले भोग चलन नै गर्ने अवस्था पनि देखिन आउँदैन । शुरू फैसलामा लेखिएको बुँदा प्रमाण समेतबाट शुरूले गरेको फैसला मनासिब ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३३।१२।२१।१ को फैसला ।
११. मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर इन्साफ जाँची दिनु भन्ने हुकुम प्रमांगी बक्स भई निर्णयार्थ डिभिजन बेञ्च समक्ष पेश हुँदा वादीका साक्षीहरूले वादी चेतनकुमारी चन्द्रमणिको बुहारी भएको कुरा समर्थन गरी बक्नुको साथै प्रतिवादीकै साक्षी मध्ये पद्मनाथ उपाध्यायले बकपत्र गर्दा वादी चेतनकुमारी चन्द्रमणिको बुहारी हुन भन्ने र चन्द्रमणिले डिल्लीशमशेरलाई बन्धकी दिएको थियो भनी बकेको पाइन्छ । वादीको ससुरा चन्द्रमणिको नाउँको दर्ताको जग्गा प्रतिवादीले बन्धकी बाहेक अन्य तरीकाबाट भोग चलन गर्न पाउने प्रमाण देखिन नआएकोले ०३०।१।१०।१ को शुरू जिल्ला अदालतको फैसला सदर गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत स.अ. डिभिजन बेञ्चको ०३८।१।५ को फैसला ।
१२. वादी दावी प्रमाणित हुने कुनै किसिमको लिखत वादी पक्षबाट मुद्दामा पेश भएको छैन र फिराद पत्रमा भोगबन्धकी तमसुक प्रतिवादीहरूसँग नै छ भनी स्पष्ट उल्लेख गरेबाट वादीसँग भोगबन्धकी व्यवहार प्रमाणित हुने कुनै लिखत नभएको स्पष्ट देखिएको छ, भोगबन्धकी लिखतमा को को साक्षीहरू थिए ती साक्षीहरूको नाम फिरादपत्रमा उल्लेख नहुनुबाट वादीको भनाई प्रमाणित हुने अवस्था पनि देखिन आएन । वादी दावीको जग्गा वादीको ससुरा चन्द्रमणिको हकको भए यो जग्गा पनि बण्डा हुनु पर्ने सो भएको नेदिखिएकोले चन्द्रमणिका नाउँमा दर्ता रहेको आधारबाट मात्र यी वादीले अहिले आएर दावी लिएको देखिन आउँदा भोगबन्धकीका आधारमा वादी दावीको जग्गामा प्रतिवादीहरूले भोग गरेको देखिन आउँदैन प्रमाणको मूल्याङ्कन नगरी भोगबन्धकी भन्ने अनुमानित आधार बनाई निखन्न पाउने निर्णय भएको त्रुटिपूर्ण देखिन आउँछ भन्ने समेत न्यायिक समितिको पर्चा ।
१३. निवेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले दर्ता विषयमा सर्भेमा विवाद उठेपछि सर्भेले २०१७।१२।४ मा सुनाएकोमा हदम्याद गुजारी वादीको फिराद २०१८।२।२० मा मात्र परेको छ । चन्द्रमणिको बुहारी वादी होइनन् भन्ने मेरो पक्षको जिकिर भएपछि नाता कायमतर्फ वादीको फिराद पर्नु पर्नेमा अदालतले नाता कायममा बयान गराएको मिलेको छैन । १९८२ सालमा वादीको लोग्ने किर्तिप्रसादले चन्द्रमणिको नाउँका जग्गा नामसारी गर्दा विवादको जग्गा नामसारी गरेको छैन । भोगबन्धकी भन्ने वादीले लिखत पेश गर्न सकेको छैन, साक्षी छैनन् वादीका अंशियारहरू बीच बण्डा मुद्दा यो जग्गा वण्डामा परेको छैन । डिभिजन बेञ्चको ईन्साफ नमिलेको हुँदा उल्टी हुन पर्छ भन्ने समेत बहस गर्नुभयो । विपक्षी वादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले दर्तावाला नै जग्गाको स्वामी हुन्छ जसका नाउँमा दर्ता छ जग्गा उसको हुन्छ । राजीनामा दानबक्स मालपोत बाँकीमा सकारेको स्थितिमा बाहेक एकाको हक दर्ताको जग्गा अर्काको नाममा सर्न सक्दैन, हाम्रो जग्गा चन्द्रमणिका नाउँमा दर्ता राखेको भन्ने प्रतिवादीले कुन सालमा सो जग्गा लिएको हो प्रमाणित गर्न सकेको छैन बन्धकीको तमसुक साहुसँग हुन्छ असामीसँग हुँदैन । जग्गा जहिले पनि नामसारी हुन सक्छ । तसर्थ ०८२ सालमै किन नामसारी नगराएको भन्न मिल्दैन । सर्भेले यति दिनभित्र नालिश गर्न जानु भनी सुनाएको छैन र नाता कायममा फिराद गर्न जानु पर्ने आवश्यकता छैन स्वयं प्रतिवादीका साक्षी समेतले भोगबन्धकी भनेको स्थितिमा निखन्न पाउने ठहर्याएको डिभिजन बेञ्चको ईन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
१४. आज निर्णय सुनाउने तारिख तोकएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा विराटनगर प्र.ग्रोग्राहा मौजे मझुवा वकरीको मेरो ससुरा चन्द्रमणि आचार्यका नाउँमा रैतान नं. १९ मौजा नं. २४६ मा दर्ता भएको जम्मा जग्गा बिगहा २७–१४–४ जग्गा ७० साल अघि नै कं.रू.५२०। लिई कर्णेल डिल्लीशमशेर थापा क्षेत्रीलाई भोगबन्धकी दिएकोमा विपक्षीहरू कहाँ गई थैली बुझी लिनोस् भनी यही जेष्ठ १५ गते गई भन्दा नबुझेकोले ऐन बमोजिम सो बन्धकी थैली रु.५२०। अड्डामा धरौट राखी नालिश गर्न आएकी छु । खास बुझिलिनु पर्ने थैली बुझी नलिएमा ऐन बमोजिम सजाय समेत गरी बन्धकी थैली तिराई जग्गा निखनाई पाउँ भन्ने समेत वादी दावी देखिन्छ । वादी चन्द्रमणिको बुहारी होइन । चन्द्रमणि ६० सालमै परलोक भइसकेका र निजको हकदार समेत कोही फेला नपरेबाट हामीहरूको गोश्वारा आयस्ताबाट खरीद भई उस बखत चन्द्रमणि मुख्य कारिन्दा भई बसेका हुनाले निजका नाउँबाट खरीद भएको जग्गा हुँदा नामसारी हुन नपाएको भन्दैमा हाम्रो तिराको जग्गा निस्सा सबूत बेगर बन्धकी ठहरी वादीले निखनी लिन पाउने होइन भन्ने समेत रौद्रशमशेर थापा क्षेत्री समेतका प्रतिवादीहरूको प्रतिउत्तर जिकिर देखिन्छ ।
१५. विवादको जग्गा डिल्लीशमशेरलाई भोगबन्धकीमा दिएको भन्ने वादीको भनाई जिकिर भएकोले त्यस्तो दावी जिकिरलाई प्रमाणित गर्ने भार वादीकै हुने स्थिति छ । तर भोगबन्धकीमा दिएको तथ्ययुक्त कुनै सबूत वादीबाट आउन सकेको छैन । वादीका ससुरा चन्द्रमणिको नाउँमा राखेको भन्ने प्रतिवादीको भनाई देखिन्छ । वादीका ससुरा चन्द्रमणि प्रतिवादीहरूको कारिन्दा भई बसेको कुरा स्वयं वादीले आफ्नो फिरादमा स्वीकार गरेको पाइन्छ । वादीको ससुरा चन्द्रमणि प्रतिवादीको कारिन्दा भएको कुरा वादी ध्रुवलाल र प्रतिवादी यिनै वादी चेतकुमार समेत भएको अबण्डा जग्गा बण्डा गरिपाउँ भन्ने मुद्दाबाट समेत समर्पित भएको देखिन्छ ।
१६. आफ्नो मानिस, नोकर, कारिन्दाको नाउँमा उस बखत जग्गा राख्ने प्रथा भएको कुरा पनि तत्काल बहाल रहेका सबूतबाट देखिन्छ । प्रमाणको निमित्त आएको वादी ध्रुवलाल प्रतिवादी चेतनकुमारी समेत भएको अबण्डा जग्गा बण्डा गराई पाउँ भन्ने मुद्दामा चन्द्रमणिले आफ्नो ज्वाईँ गोपीचन्द्रको नाउँमा जग्गा दर्ता राखी आफूले भोग चलन गरेको तथ्यलाई हाल यस मुद्दाका वादी चेतनकुमारीले स्वीकार गरेकोले एकाको खरीद जग्गा अर्काको नाउँमा दर्ता राखी भोग चलन गर्ने प्रचलन रहेको कुरा स्वयं वादीले स्वीकार गरेको पाइन्छ । उक्त प्रतिउत्तरमा चन्द्रमणिको आर्जनका आफ्ना ज्वाईं गोपिचन्द्रका नाउँमा खरीद गरेका नरभाषा, भैसार, दुवी आदि ठाउँका जग्गाको उल्लेख छ । तर चन्द्रमणीको आर्जनको भनी अहिले वादीले दावी गरेको विवादको जग्गाबारे कुनै उल्लेख छैन ।
१७. प्रस्तुत मुद्दामा वादीको फिराद २०१८।२।२० मा दर्ता भएको देखिन्छ । १९७० साल अघिदेखि कं.रू.५२०। मा भोगबन्धकीमा दिएको ज.वि.२७–१४–४ जग्गा यतिका समय सम्म ननिखनी रहनु पर्ने युक्तिसंगत आधार पनि केही देखिँदैन । चन्द्रमणिका नाउँमा भएको दर्ता बाहेक अन्य कुनै प्रमाण वादीबाट पेश हुनसकेको पनि देखिँदैन । यसबाट विवादको जग्गा वादी दावी बमोजिम प्रतिवादीहरूले भोगबन्धकीमा भोग चलन गरेको भन्ने प्रमाणित नभई चन्द्रमणिको नाउँमा दर्ता राखी आफूहरूले भोग चलन गरेको भन्ने प्रतिवादीहरूको भनाई नै पुष्टि हुनआएको देखियो । अरूका नाउँमा लिखत गरी जग्गा आफैंले भोग गरेको प्रमाणबाट देखिएमा जग्गा भोग तिरो गर्नेकै ठहर्ने भन्ने समेत सिद्धान्त नारायणबिक्रम साह समेत विरूद्ध गंगादेवी भण्डारी समेत भएको जालसाजी मुद्दा (नि.नं.७९८ ने.का.प. २०३१ पृ.१८) मा फुल बेञ्चबाट ०३०।११।१८।६ मा प्रतिपादन भएको देखिन्छ ।
१८. अतः उपयुक्त कारणहरूबाट विवादको जग्गा भोगबन्धकीमा प्रतिवादीहरूले भोग गरेको भन्ने प्रमाणित हुन नआएकोले भोगबन्धकी थैली बुझाई जग्गा निखनाई पाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ वादी दावी बमोजिम निखनाई लिन पाउने ठहर्याएको शुरू ईन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको ईन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३८।१।५ को निर्णय मिलेको देिखएन । अरू तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा वादी दावी नपुग्ने ठहरेकोले शुरू काठमाडौं जिल्ला अदालतको ०३०।१।१० को फैसला बमोजिम लगत कायम राख्नु पर्दैन व्यहोरा जनाई लगत कट्टा गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लेखी पठाई दिनु............... १
वादीले ०१८।२।२० मा काठमाडौं जिल्ला अदालतमा धरौट राखेको रु.५२०। फिर्ता पाउँ भनी ऐनका म्यादभित्र दर्खास्त पर्न आए लेनदेन व्यवहारको ३८ नं. बमोजिम लाग्ने जरिवाना वापत हुने रु.१३। कटाई बाँकी रुपैयाँ वादीलाई फिर्ता दिनु भनी का.जि. अ.त.मा लेखी पठाई दिनु .......... २
पुनरावेदक प्रतिवादीहरूले बागमती अञ्चल अदालतमा ०३०।३।६ मा दाखिल गरेको कोर्टफी रु.२४।९० तथा मुद्दा दोहर्याउँदा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रु.२।६० समेत जम्मा कोर्टफी रु.२७।५० वादीबाट भरी पाउँ भनी ऐनका म्यादभित्र दर्खास्त पर्न आए दामासाहीका दरले भराई दिनु भनी का.जि. अ.त.मा लेखी पठाई दिनु .............३
मिसिल नियमबमोजिम गरी बुझाई दिनु .................४
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या. त्रिलोकप्रताप राणा,
न्या. पृथ्वीबहादुर सिंह,
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव,
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४१ साल श्रावण १२ गते रोज ६ शुभम् ।