शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९५५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २६ साल: २०४१ महिना: श्रावण अंक:

निर्णय नं. १९५५   ने.का.प. २०४१           अङ्क ४

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४० सालको रिट नं. १६३१

विषय : उत्प्रेषण

निवेदक : का.न.पं. वडा नं. २८ न्ह्योखा महादेव चोक बस्ने मोहनकृष्ण श्रेष्ठ

विरूद्ध

विपक्षी   : का.जि. का.न.पं. वडा नं. २६ नरदेवी नेतपाचो बस्ने कल्याणबहादुर प्रधान

ऐ ऐ बस्ने पद्‌म सुन्दर श्रेष्ठ

मालपोत कार्यालय काठमाडौं

आदेश भएको मिति :   २०४१।४।२२।२ मा

§  दुवै तर्फका गुठियार धेरैजना भएकोले दुवै तर्फका थकालीका नाउँमा दर्ता प्रमाणित भएको श्रेस्तामा नाम थपी दिने गरी मालपोत कार्यालय काठमाडौंले गरेको निर्णयबाट निवेदकको हक हनन् भएको नदेखिने ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्रीहरी अर्याल

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल

उल्लेखित मुद्दा : x

आदेश

          न्या. बासुदेव शर्मा : विपक्षी मालपोत कार्यालय काठमाडौंले ०३९।१०।१२।४ मा गरेको टिप्पणी आदेश बदर गरिपाउँ भन्ने नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको ०४०।७।११।६ को रिट निवेदनपत्रको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ ।

          २.  स्वयम्भू गा.पं. वार्ड नं. ४ कि.नं. ५८८ को ११५० इन्द्रायणी निजी गुठी जग्गा ०३३।७।२९ को निर्णयबाट म निवेदकको नाउँमा रैकर परिणत दर्ता हुने भनी भूमिप्रशासन कार्यालय काठमाडौंबाट निर्णय पर्चा भई मेरा नाउँमा ज.ध.प्र.पूर्जा समेत पाई सालसालैको मालपोत तिरी बुझाई हक भोग गरी आएको जग्गामा प्रत्यर्थी नं. १ र २ ले सो थकालीहरूमा हाम्रो समेत नाउँ थप गरिपाउँ भनी प्रत्यर्थी नं. ३ समक्ष दिएको निवेदनमा म निवेदकले मेरो नाउँमा परिणत दर्ता भएको बदर गर्ने र गुठियार थप्ने लगायतका अधिकार प्रत्यर्थी नं. ३ लाई नभएको भनी प्रतिवाद गरेको छँदाछँदै कानून विपरीत मेरो दर्ता प्रमाणित भएको श्रेस्तामा गुठियार थकालीमा थप गरी दिने गरी प्रत्यर्थी नं. ३ ले ०३९।१०।१२ मा टिप्पणी आदेश गरेको जानकारी ०४०।६।११ मा गराइएकोले निवेदन गरेको छु । भू.सु.का.काठमाडौंले ०३३।७।२९ मा विवादको जग्गाको मैले ज.ध.प्र.पूर्जा पाएको एकलौटी हक भोग गरी आएको जग्गामा प्रत्यर्थी नं. १ र २ समेतका नाउँ थप गरी संयुक्त दर्ता कायम गरी दिने भनी अ.बं.३५ नं. विपरीत टिप्पणी आदेश गरेको त्रुटि छ । हक बेहक गर्नुपर्ने कुरामा अदालतको अधिकारक्षेत्र भित्र पर्ने म निवेदकले ०३३।७।१४ मा गरी दिएको भनी पेश गरेको विवादास्पद लिखतको मूल्याङ्कन अ.बं.७८ नं. समेतको कार्यविधी अपनाउन पर्नेमा टिप्पणी आदेश गरेको बदरभागी छ । पुनः दर्ता सम्बन्धी कुरामा अ.बं.८५ नं. को भावना विपरीत अनाधिकार भएको बदरभागी छ । संविधानको धारा १६।७१ अन्तर्गत ०३९।१०।१२ को टिप्पणी आदेश उत्प्रेषणको आदेश जारी गरी बदर गरिपाउँ भन्ने समेत व्यवहोराको रिट निवेदनपत्र रहेछ ।

          ३.  विपक्षीबाट लिखितजवाफ लिई पेश गर्नु भन्ने सर्वोच्च अदालत सिंगलबेञ्चको ०४०।७।२९।३ को आदेश रहेछ ।

          ४.  गुठीको जग्गाहरू सबै गुठियारहरूकै हक लाग्ने सबैको नाममा दर्ता गर्ने व्यावहारिक नहुने भएकोले सबैको सहमतिले थकालीको नाउँमा मात्र दर्ता गर्ने गरी आएको । थकालीको नाताले दर्ता गर्दैमा व्यक्तिगत अधिकार हुने कुरा होइन अदालतले हामी अरू गुठियारको हक गुठीको हक हनन् नहुने र गुठी नबिग्रने धर्मलोप नहुने जस्ता मौलिक हक हनन् नहुने कुराको पनि विचार गरी दिनु पर्ने कुराको दायित्व पनि अदालत माथि छ भू.प्र.का.को निर्णयलाई मालपोत कार्यालयको निर्णयले काटेको छैन ०३३।७।१४ गते विपक्षीले गरी दिनुभएको कागजलाई मैले गरी दिएको होइन भनी विपक्षीले भन्न लेख्न सक्नुभएको छैन खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको कल्याणबहादुर प्रधान पद्मसुन्दर श्रेष्ठको लिखितजवाफ रहेछ ।

          ५.  ०३३।७।१४ मा गरी दिएको लिखतबाट यो जग्गा एकलौटी होइन श्रीमाई इन्द्रायणी गुठीको हो भन्ने कुरा सिद्ध हुनआएकोले दुवै तर्फका थकाली कल्याणबहादुर प्रधान र पदमसुन्दर श्रेष्ठ समेतको नाम श्रेस्तामा थपी दिने गरी निर्णय भएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको काठमाडौं मालपोत कार्यालयको लिखितजवाफ रहेछ ।

          ६.  नियमबमोजिम कजलिष्टमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा रिट निवेदक मोहनकृष्ण श्रेष्ठलाई र वारेस श्यामकृष्णलाई रोहवरमा राखी रिट निवेदक तर्फबाट रहनुभएक विद्वान अधिवक्ता श्रीहरी अर्यालले र मालपोत कार्यालय काठमाडौंका तर्फबाट खटिई आउनुभएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले गर्नुभएको बहस समेत सुनियो ।

          ७.  रिट निवेदकको माग बमोजिमको आदेश जारी हुने हो होइन ? सोमा निर्णय गर्नुपरेको छ ।

          ८.  यसमा मोहनकृष्णले २०३३।७।१४।७ मा गरी दिएको लिखतबाट एकलौटी जग्गा होइन श्रीमाई इन्द्रायणी मुर्दा गुठीको हो भन्ने कुरा तथ्य हुन आउँछ । दुवै तर्फका गुठियार धेरैजना भएकोले दुवै तर्फका थकाली कल्याणबहादुर प्रधान र पद्मसुन्दर श्रेष्ठ समेत जवान दुईका नाउँँ कि.नं. ५८८ को मोहनकृष्ण श्रेष्ठका नाउँमा दर्ता प्रमाणित भएको श्रेस्तामा नाम थपी दिने गरी मालपोत कार्यालय काठमाडौंले ०३९।१०।१२।४ मा गरेको निर्णयबाट निवेदक मोहनकृष्ण श्रेष्ठको हक हनन् भएको नदेखिँदा प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ । फाइल नियमबमोजिम गरी बुझाई दिनु ।

         

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४१ साल श्रावण २२ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु