शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९५७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २६ साल: २०४१ महिना: श्रावण अंक:

निर्णय नं. १९५७    ने.का.प. २०४१             अङ्क ४

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४० सालको रि.नं. १८२८

विषय : उत्प्रेषण

निवेदक : जि. सुनसरी याद गाउँ सिनुवारी गा.पं. वार्ड नं. ६ बस्ने भरतलाल चौधरी थारू

ऐ ऐ बस्ने उखम लाल चौधरी थारु

ऐ ऐ बस्ने वैजनाथ चौधरी थारु

विरूद्ध

विपक्षी    : जि. सुनसरी याद गाउँ सिनुवारी वा.नं. २ बस्ने चुमुकलाल चौधरी थारू

भूमि सुधार कार्यालय सुनसरी

आदेश भएको मिति : २०४१।४।८।२ मा

§  बाबुको मृत्यु पछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१)को प्रकृया नअपनाई मोही कायम हुने गरी मुद्दा सकार गराई मोही बेदखली ठहर्‍याई गरेको निर्णय त्रुटि देखिने ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह

विपक्षी तर्फबाट : विद्वान अ.श्री प्रभुनारायण चौधरी विद्वान सरकारी अधिबक्ता श्री बलिराम कुमार

उल्लेखित मुद्दा : x

आदेश

          न्या. बासुदेव शर्मा : विपक्षी भूमिसुधार कार्यालय सुनसरीले २०३९।११।२।२ मा गर्नुभएको फैसला बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको ०४०।२।३१।३ को रिट निवेदन पत्रको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ :

          २.   सुनसरी जिल्ला याद गाउँ सिनवारी गा.पं. वार्ड नं. २(ग) को कित्ता नं. ४६ को ११७ जग्गा ऐ वार्डको कित्ता नं. ६ को ०१६२ समेतको जग्गा २००७ सालमा भरतलालको बाबु चुवालालको नाउँमा रहेको र वहाँले तिलकप्रसाद श्रेष्ठलाई भोगबन्धकी लेखी दिनुभएको थियो । सो जग्गा ठेक्कापट्टामा हामीले कमाई आएको थियौं । २ वर्षको बाली बापतको ठेक्का रकम नबुझाएकोले अदालतमा मुद्दा परी तिलकप्रसादले ठेक्काबाट हटक गरी दिएको थियो । तिलकप्रसादले बद्रीबहादुरलाई ०१० सालमा लखबन्धकमा लेखी दिएको पछि बद्रीबहादुरले सोही जग्गा सूर्यकुमारीलाई लखबन्धकीले लेखी दिएको थियो । ऋण निश्चितको लागि उजूर गर्दा ऋण निश्चित भएको थियो । हामी आफैंले जोतकोड गरिरहेको थियौं । धान बाली विपक्षीका बाबु लगायतका मानिसहरूले ०३२।९।९।४ का दिन लुटी लगेको र शाखा अधिकृत गणेशलाल कायस्त समेतका कर्मचारीले जबरजस्ती लेखी राखेको कागजमा डर त्रास देखाई सही गराएकोमा कर्मचारी उपर मुद्दा दायर गर्न स्वीकृतको लागि लेखेको ०३२।१२।६।६ मा बाली लुटपिटतर्फ रिट निवेदक समेत उपर फिराद दायर गरी सकेको छ सुनसरी जि. अ.मा चल्दैछ । कि.नं. ६ मा ०१० जग्गामा लगाएको जग्गाधनीले लुटी लगेको हुनाले मोही बेदखली गरेमा विपक्षीको बाबुले जि. भू.सु.सुनसरीमा उजूर दिएको हाम्रो जोतकोडको जग्गा भएकोले विपक्षीको दावी झुठ्ठा हो भनी हाम्रो प्रतिउत्तर परेको । लुटपिट गरी जबरजस्ती कागज गराएको सम्बन्धमा परेको नालेश फैसला नभएसम्म विपक्षीले दिएको मोही बेदखल मुद्दा स्थगित गरिपाउँ भनी हामीले भू.प्र.का.सुनसरीमा निवेदन दियौं । लुटी लगेको बालीको बिगोमा अदालत मार्फत नालेश गर्ने भनी वादीलाई सुनाई दिने । मोही बेदखल गराएको सन्दर्भमा बेदखल गर्न नपाउने हुनाले प्रतिवादीहरूलाई रु.२५१। का दरले जरिवाना गर्ने भनी भू.प्र.का.सुनसरीले ०३३।४।५ मा फैसला भयो । आफ्नो जातेकोडको हुनाले र विपक्षीले कुन सालदेखि जग्गा मोहीका हैसियतले जोतकोड गरिरहेको भन्ने कुरा भन्न सकेको छैन । कूत बुझेको प्रमाण पेश गर्न सकेका छैन । यस सम्बन्धमा बृहत फुल बेञ्चबाट अजीमुल्ला मुसलमान विरूद्ध भू.सु.अ.कपिलवस्तु समेत नि.नं. ८७१ ने.का.प.पृ.सं.३७५ फैसला मिति ०३०।१२।२३।६ को मुद्दा साहुले थैली बुझिसकेपछि भोगबन्धकी लिँदाको अवस्थामा नै सम्पत्ति फिर्ता गर्नुपर्ने र हक कायम हुने पनि निर्णय भई प्रतिपादित भएको सिद्धान्तको विपरीत छ । ठेसतनलाल चौधरी स्वर्गीय भएपछि भू.सु.ऐनको दफा २६(१) बमोजिम सकार गराउनु पर्नेमा नगराई सोझै भू.सु.का.मा मुद्दा सकार गर्दैमा चुमुकलाल चौधरीको हकदैया कायम हुने होइन । मोही रोज्ने काम अधिकारीको होइन । हक नपुग्ने चुमुकलाई मोही कायम गरेको अवैध छ । बेरीतको सरजमीनको आधारमा मोही कायम हुने होइन । अ.बं.को १८४(क) १८५।१८९ को विपरीत भई बदरभागी छ । २०३९।११।२ को फैसला बदर गराउन संविधानको धारा १६।७१ अन्तर्गत निवेदन गर्न आएको छु । उत्प्रेषण लगायतको आदेश जारी गरी उक्त फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदनपत्र रहेछ ।

          ३.   विपक्षीबाट लिखितजवाफ लिई पेशगर्ने भन्ने स.अ.सिं.बे.को २०४०।३।१३।२ को आदेश रहेछ ।

          ४.   रिट निवेदकले भू.सु.का.सुनसरीको निर्णयलाई भू.सु.ऐन, ०२१ को दफा २६(१) को त्रुटि भन्नु भएको कानूनमा आधारित छैन । प्रस्तुत मुद्दा मोहीको देहान्त पछि जग्गा धनीबाट मोही रोजाउने विषयको नभई मोही बेदखली विषयको हो । मोही ठे.सतनलालले मोही बेदखली विषयमा विपक्षीहरू उपर कारबाही चलाउनु भएको मुद्दा ठे.सतनलालको देहान्त पछि निजको छोराको हैसियतले सो मुद्दा सकार गरेको हुँ भन्ने मोही बेदखली मुद्दामा मोही रोजाउने कार्यविधि अपनाउन नमिल्नेमा रिट निवेदकले सो असम्बन्धित विषय तर्फ लिनुभएको जिकिर कानून संगत नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको ठे.सतनलालको हक सकार गर्ने छोरा चुमुकलाल चौधरीको लिखितजवाफ रहेछ ।

          ५.  २०३२।१२।३ मा वादी लेखी बाली रिट कर्ताले लुटी खाए भनी दिएको फिराद र पुनः ०३३।३।६ मा मोही बेदखली गर्‍यो भनी विपक्षीले ठे.सतनलालले दिएको फिराद संलग्न राखी दुवै फिरादको एकै निर्णय कार्यालयबाट भएकोमा छुट्टाछुट्टै निर्णय गर्नुपर्ने हुँदा त्रुटिपूर्ण निर्णय गरेको ठहर्‍याई पुनः कारबाही गर्ने सर्वोच्च अदालतबाट मिसिल फिर्ता आई वादी प्रतिवादी दुवै पक्ष विपक्षलाई यस कार्यालयबाट झिकाई पुनः कारबाही चालू गरिएको रिट कर्ता भरतलाल चौधरी समेत ३ जनाले भोगबन्धकी जग्गामा मोही हक कायम रहनु नपर्ने भन्नु भएकोमा ०२५।४।२१ मा भोगबन्धकी ऋण निश्चित भएपछि मोही हक कट्टा गराउन सक्नु पर्ने सो समेत नगरेको ०३२।९।४ को बाली बुझी लिई भर्पाई गरी दिई ०३४ सालमा मोही लगत कट्टा गर्ने निवेदन दर्ता गराई कुनै कारबाही नगराई बस्नु भएको । आफूले गरी दिएको भर्पाई करकापले गरेको भन्नु भएको तर प्रमाण पुर्‍याउन नसक्नु भएको कागज प्रमाणको आधारबाट कार्यालयले गरेको निर्णय कानूनसंगत हुँदा रिट निवेदन खारेज हुन पर्ने व्यहोरा अनुरोध गर्दछु भन्ने भूमिसुधार कार्यालय सप्तरीको लिखितजवाफ रहेछ ।

          ६.   नियमबमोजिम कजलिष्टमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा रिट निवेदकको वारेस रामविलासलाई बेञ्चबाट तीनपटक सम्म बोलाउन लगाउँदा पनि उपस्थित नभएका र चुमुकलाल चौधरीको वारेस प्रशुरामलाई रोहवरमा राखी रिट निवेदक तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंहले र चुमुकलाल चौधरीका तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीले भू.सु.का.सुनसरीका तर्फबाट खटी आउनुभएका विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारले गर्नुभएको बहस समेत सुनियो ।

          ७.  रिट निवेदकको माग बमोजिमको आदेश जारी हुने हो होइन सोमा निर्णय दिनुपरेको छ ।

          ८.   यसमा वादी स्वर्गीय हुँदा वादीको छोरा चुमकलालले ०३९।४।२९ मा मुद्दा सकार गरेको भोगबन्धकी ऋण निश्चित भएपछि वादीको मोही हक कायम नरहने भए त्यसै बखत मोहीको प्रमाणपत्र बदर गराई आफ्नो जग्गा धनी प्रमाण पूर्जाको मोही महलमा उल्लिखित वादीको नाम समेत कट्टा गराउन सक्नु पर्नेमा सो नगरी ०३२।९।४ मा बाली बुझाएको भर्पाई प्रतिवादीले गरी दिई २०३४ सालमा मोहीको लगत कट्टा गर्न निवेदन सम्म दिई कुनै कारबाही नचलाई बसेको देखिएको । भू.सु.ऐन, ०३१ को दफा २६ को उपदफा १ खण्ड (क) बमोजिम वादीको मोही हक सुरक्षित रहेको देखिन्छ । प्रतिवादीले भू.सु.ऐन, ०२१ को दफा ३२ को उपदफा १ को खण्ड (क) को कसूर गरेको हुँदा सोही ऐनको दफा ३२ को उपदफा १ को खण्ड (ख) बमोजिम प्रतिवादीहरूलाई जनही रु.२५१। जरिवाना हुने भनी भू.सु.का.सुनसरीले निर्णय गरेको पाइन्छ । अ.बं.६२ नं. को देहाय ३ मा ऐनले बिगो भर्नु भराउनु दिनु दिलाउनु वा सम्पत्ति चलन चलाउनु लिनु पर्ने मुद्दाका म्याद तारेखमा हाजिर हुनु पर्ने व्यक्ति मरी वा बौलाहा वा बेपत्ता भई म्याद तारेख गुज्रेमा मरी वा बौलाहा वा बेपत्ता भएको मितिले बाटाका म्याद बाहेक पैंतीस दिनभित्र निजको दैयादारले म्याद तारेख थामी मुद्दा सकार गर्न अड्डामा हाजिर भई निवेदनपत्र दिएमा म्याद तारेख थामी मुद्दा सकार गराई दिनुपर्छ भन्ने व्यवस्था भएको देखिन्छ । । उक्त ऐन अनुसारको प्रस्तुत केश नभई मोही बेदखली मुद्दा हुँदा उक्त ६२ नं. ऐन अनुसार ठे.सतनलाल स्वर्गीय भई मुद्दा सकार गर्ने चुमकलाल चौधरी भनी सकार गराइएको उक्त ऐनको विपरीत समेत भएको र बाबुको मृत्यु पछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को प्रकृया नअपानाई मोही कायम हुने गरी चुमकलाललाई मुद्दा सकार गराई मोही बेदखली गरेको ठहर्‍याई गरेको निर्णयमा भू.सं.ऐन, ०२१ को दफा २६(१) को समेत त्रुटि गरेको देखिनाले भूमिसुधार कार्यालय सुनसरीको २०३९।११।२।२ निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गराई दिने ठहर्छ । जानकारीको निमित्त विपक्षी कार्यालयमा पठाउन यो आदेशको एक प्रति महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इति सम्वत् २०४१ साल साउन ८ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु