निर्णय नं. १९६० - कर्तव्य ज्यान

निर्णय नं. १९६० ने.का.प. २०४१ अङ्क ४
डिभिजन बेञ्च
इजलाश
सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०३९ सालको फौ.पु.नं. ३५३ र ३३८
सम्वत् २०३९ सालको फौ.सा.नं. ८४
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक/वादी : मंगलमाया राईको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
विपक्षी/प्रतिवादी : इलाम थुनामा रहेका हर्षबहादुर आङदम्वे समेत
पुनरावेदक/प्रतिवादी : इलाम थुनामा रहने भवानीशमशेर राई
ऐ ऐ भानुभक्त सरेन
ऐ ऐ हर्ष बहादुर आङदम्वे
ऐ ऐ याम बहादुर रार्इ
विरूद्ध
प्रत्यर्थी/वादी : र्इलाम वाझी गा.पं. वा.नं. ९ बस्ने मंगलमाया राइनीको जाहेरीले श्री ५ को सरकार
फैसला भएको मिति : २०४१।२।१८ मा
§ रिसइवीको सबूत पनि दाखिल हुन नसकेकोले अ.बं. १८८ नं. बमोजिम सजाय घटाइएको छ । १० वर्षको कैदको सजायको लगत कायम गरी जन्म कैदको लगत कट्टी गरी दिने ।
(प्रकरण नं. ४०)
पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुभाष नेम्वाङ
वादी पुनरावेदक तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
उल्लेखित मुद्दा : x
फैसला
न्या. बासुदेव शर्मा : बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्न बेञ्च समक्ष पेश हुनआएका र पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको ईन्साफ उपर प्रतिवादी भवानी समेतको चित्त नबुझी पेश हुनआएको र साधकको लगतमा दर्ता भई आएको मुद्दाको संक्षिप्त विवरण यस प्रकारको छ ।
२. ०३५।९।५ गते अं.४ बजे भवानीशमशेर राई हर्षबहादुर आङदेम्बे, प्रेमबहादुर राई, प्रेमदास खरेल, सुदापे भन्ने चन्द्रबहादुर श्रेष्ठ नाम नजानेको प्रहरी समेत आई भक्तबहादुर पनि त्यहीँ होस् भनी मेरो लोग्ने शेरबहादुरलाई १५ मिनेट जति खेद्दै जंगलतर्फ हुली फेरि घरमा आई भक्तबहादुरलाई लुकाई राखेको छस् भनी हप्की दप्की गर्दै सदस्य चन्द्रशेखरले भक्तबहादुरको टाउको लिई आउनु भनेको छ भनी मेरो घरको तलामाथि पुगी दुवैकोठामा खानतलास गरी भक्तबहादुर नभेटेकोले भरे आउनु पर्छ भनी अपराधी मेरो घरको पूर्वतर्फ गए रातको अं.१२.३० बजेको हुँदो हो म र मेरो बुहारी घरभित्र सुतिरहेको अवस्था गुहार भनी कराएको आवाज मेरो कानमा आई उठी हेर्दा आँगन खमारमा सुतिरहेको छोरा भिमबहादुर राईलाई भवानीशमशेर राई हर्कबहादुर आङदम्बेले घाँटीमा निचोरी रहेको र पद्मबहादुर राई प्रेमदास खरेल भुँडी थिची रहेको देखी गुहार भनी कराउँदा ४ जना अपराधी पश्चिम तर्फ भागी गए दिनमा आएका चन्द्रबहादुर श्रेष्ठ प्रहरी १ समेत राति आएनन् कानूनबमोजिम गरिपाउँ भन्ने समेतको व्यहोराको दर्खास्त ।
३. भक्तबहादुरलाई मार्ने सल्लाह भई जाहेरवालाको घरमा १२.३० बजे राति आँगनमा सुतेको भक्तबहादुर सम्झी हामी ४ जनाले एकै चोटि म हर्षबहादुरले घाँटीमा निचोरी यामबहादुर भानुभक्तले भुँडीमा थिचेको अवस्था गुहार भनी कराएको मृतकको श्रीमती घरबाट कराई आएपछि भागी गएका हौं भन्ने भुवानीशमशेरले प्रहरीमा गरेको कागज ।
४. भक्तबहादुरलाई मार्ने सल्लाह भई निचोर्दा भिमबहादुर मर्न गएको हो, भुवानीशमशेरले घाँटीमा निचोरेको र यामबहादुर, प्रेमदास खरेलले भुँडी थिची निचोरेको अवस्था जाहेरवाला र मृतकको श्रीमती कराएको हुँदा भागेको हौं भन्ने समेत हर्षबहादुर आङदम्बेले प्रहरीमा गरेको कागज ।
५. जाहेरवालाको घरमा भक्तबहादुर भएको विश्वास लागि रातको १२.३० बजे हामी ४ जनाले एकै चोटि झम्टी भुवानी र हर्षबहादुरले घाँटी निचोर्दा आमा र मृतकको श्रीमती घरभित्रबाट कराउँदा भागी गएका हौं अरू मतियार छैन भन्ने प्रहरीमा यामबहादुरले गरेको कागज ।
६. ०३५।९।५ गतेको रात भक्तबहादुरलाई मारौं भनी निचोर्दा भिमबहादुर राई मर्न गएको हो । हामी ४ जना बाहेक अरू छैनन् भन्ने भानुभक्तले गरेको कागज ।
७. भिमबहादुरलाई भुवानी समेत ४ जनाले कर्तव्य गरी मारेको सुनेको हुँ, यिनीहरूलाई भक्तबहादुरको टाउको लिई आउनु भनेको छैन । भक्तबहादुरसँग मेरो कुनै रिसइवी छैन भन्ने चन्द्रशेखरले प्रहरीमा गरेको कागज ।
८. वारदातमा म गएको छैन । भक्तबहादुरलाई मारौं भन्दा भिमबहादुर मर्न गएको जस्तो लाग्यो भन्ने चन्द्रबहादुर श्रेष्ठले प्रहरीमा गरेको कागज ।
९. भीमबहादुर मर्यो भनी सुनी गई हेर्दा कर्तव्यबाट मरेको शंका लागि रूंगी चौकीमा खबर पठाएको हुँ भन्ने प्रहरी पद्मबहादुरको कागज ।
१०. भुवानी समेत ५ जनाले भक्तबहादुरलाई मारौं भन्दा भीमबहादुर मर्न गएको हो भन्ने बेदप्रसाद मल्लले र प्रेमदासले प्रहरीमा गरेको कागज ।
११. भीमबहादुर कालगतिले मरेको सम्झी सदगत गर्नुपर्छ भनी भनेको हुँ । कर्तव्यबाट मरेको कुरा मलाई थाहा थिएन भन्ने टीकाराम राईले प्रहरीमा गरेको कागज ।
१२. लोग्ने भीमबहादुर आँगनमा सुतेको अवस्था रातको अं.१२ बजे गुहार आमा भनी कराएको सुनी के भयो भनी म र सासू निस्कँदा भुवानीशमशेर हर्षबहादुरले लोग्ने भीम बहादुरलाई घाँटीमा निचोरी रहेको जूनको टकले प्रष्ट चिनेकी भन्ने बुहारी रामप्यारीको कागज ।
१३. ०३५।९।५ गते दिउँसो मेरो घरमा भक्तबहादुर छ भनी घर खानतलासी गर्न आएका उल्लिखित मानिसहरू हुन तर भानुभक्त लेख्नु पर्नेमा प्रेमदास खरेल भनी लेखिएछ । रातमा निज भानुभक्त वारदातमा आएका हुन भन्ने समेत व्यहोराको मंगलमायाको कागज ।
१४. भीमबहादुरलाई कर्तव्य गरी मारेको कुरा भोलिपल्ट ४ बजे तोपगाछी गा.पं.मा सुनेको भन्ने भक्तबहादुरले गरेको कागज ।
१६. ०३५।९।५ गतेको राति रोएका भोलिपल्ट हेर्न जाँदा भीमबहादुर मरिरहेको र मृतकको आमाले मेरो छोरालाई भुवानीशमशेर, हर्षबहादुर, मानबहादुर भानुभक्त समेतले कर्तव्य गरी मारेको हुन मार्नेमा अरूको षडयन्त्र छैन, बेदप्रसाद, भुवानीशमशेर, हिमाली राई, हर्कनारायण श्रेष्ठले लास गाड्नु पर्छ भनेको थाहा छैन । भक्तबहादुरलाई मारौं भन्दा भीमबहादुर कर्तव्यबाट मरेको भन्ने समेतको व्यहोराको सरजमीन मुचुल्का ।
१८. भीमबहादुर राईलाई चिनी निचोरी मारेमा भुवानीशमशेरलाई हर्षबहादुर आङदम्वे, यामबहादुर, भानुभक्त खरेल सावित भएकोले र पोष्टमार्टमबाट पनि निचोरी मारेको भन्ने मेडिकल अधिकृतको राय समेतबाट निजहरूले मारेको हुँदा ज्यानसम्बन्धी १३(३) बमोजिम सजाय माग गरिन्छ र वारदात भएको अवस्था चन्द्रशेखरले इन्कार भए पनि भक्तबहादुर चन्द्रशमशेरको रिसइवी भएकोले मार्नमा चन्द्रशेखरको मतलब भएको बुझिएकोले निज उपर ज्यानसम्बन्धीका १७(३) अनुसार सजाय हुन र प्रहरी पद्मबहादुर उपर मुद्दा चलाउन सबूत नपुग्ने, चन्द्रबहादुर श्रेठ वारदातमा गएको र कतैबाट बन्दूक देखिन नआएकोले निज उपर मुद्दा चलाउन सबूत नपुग्ने हाजिर जमानीमा छाडी दिने र प्रेमदास समेत निर्दोष देखिन आएकोले निज उपर मुद्दा चलाउन नसकिने र बेदप्रसाद मल्ल समेतका हकमा कर्तव्यबाट मरेको लासलाई दबाउन जलाउन पर्छ भनेको प्रहरी अनुसन्धानबाट देखिन आएकोले निज उपर ज्यानसम्बन्धीका २५ नं. बमोजिम सजायको माग गरिन्छ भन्ने समेतको स.स.अ.प्रहरीको संयुक्त प्रतिवेदन रहेछ ।
१९. प्रहरीमा भएको कागज कुटपिट गरी गराएका हुन् । खुसीराजीबाट भए गरेको होइन छैन, सफाई पाउँ भन्ने समेत व्यहोराको हर्ष, भुवानीशमशेर यामबहादुरको छुट्टाछुट्टै बयान ।
२०. यामबहादुरसँग जाँदै नगएकोमा गएको हो भनी प्रहरीमा जबरजस्ती कागज गरी नदिए कुटपिट गर्ने अवस्था परेको हुँदा सही गरेको छु, मेरो स्वइच्छाले सही गरेको होइन सफाई पाउँ भन्ने भानुभक्तको बयान ।
२१. भीमबहादुर कालगतिले मरेका भन्ने सुनेको हुँ यामबहादुर समेत पक्राउ परिसेकको भक्तबहादुरसँग इवी हुँदा पक्री ल्याएका हुन् सफाई पाउँ भन्ने चन्द्रशेखरको बयान ।
२२. भीमबहादुर छाद्नु छेर्नु भई मरेको भन्ने सुनेको हुँ । कुटपिट गर्छन भन्ने डरले सही गरी दिएको छु भन्ने समेत बेदप्रसाद मल्लले गरेको बयान ।
२३. गोरू हराएकोले सुरक्षाको लागि बन्दूक बोकको थिएँ । प्रहरी पद्मबहादुरले बन्दूक मागेकोले दिएको हुँ भन्ने समेत व्यहोराको चन्द्रबहादुरले गरेको बयान ।
२४. भीमबहादुर मरे भनी सुनेको हुँ । प्रहरीले कुटपिट गर्छन भनी डरले सही गरेको भन्ने प्रेमदास भुवानी सिं खेवर हर्कनारायण श्रेष्ठले गरेको बेग्लाबेग्लै बयान ।
२५. भीमबहादुर कर्तव्यबाट मरेको हो वा होइन थाहा छैन भन्ने हिमकुमार राईले अदालतमा गरेको बयान ।
२६. चौकी ईन्चार्जको आदेश लिई हर्षबहादुर समेत ४ जना मर्नेको घरमा ०३५।९।५ का दिन २ बजे भएको भक्तबहादुरलाई भेटिनौ र भानुभक्त समेतले भीमबहादुरलाई मारेको होइन भन्ने समेत प्रहरी पद्मप्रसाद राजवंशीले गरेको बयान ।
२७. ०३५।९।५ गते राति भीमबहादुर खमारमा सुतेको अवस्था अपराधी आई थिचेपछि गुहार भनी कराउँदा गई हेर्दा जूनको उज्यालोले अपराधीहरू चिनेको हो घरमा सासू र म मात्र थियौं भन्ने समेत मर्नेको स्वास्नी रामप्यारीको बकपत्र ।
२८. प्रहरीमा भएको कागज मैले गरी दिएको छु । मर्ने भीमबहादुर मेरो छोरो हो भन्ने शेरबहादुर राईले गरेको बकपत्र ।
२९. प्रहरीमा गराएको कागजमा मैले सही गरी दिएको हुँ । जाहेरवाला कराएको सुनी घटनास्थलतर्फ गएको हुँ भन्ने रत्नबहादुर राईको बकपत्र ।
३०. वीरबहादुरको जग्गामा प्रतिवादीहरूले लुटपिट गरी खाई दिएकोले मैले खान नदिंदा इवी परेको हो भन्ने समेत भक्तबहादुरको बयान ।
३१. ०३५।९।१७ गते प्रहरीमा भएको कागज मैले गरेको हुँ भन्ने समेत धनमान तामाङले गरेको बयान ।
३२. ०३५।९।५ को राति १२ बजे भुवानीशमशेर, हर्षबहादुर, यामबहादुर, भानुभक्त समेत ४ जना भई छोरा खमारमा सुतेको थियो । छोरा भीमबहादुरलाई भूँडी समेत थिची जाहेरीमा लेखिए बमोजिम मारेका हुन् भन्ने समेत व्यहोराको मंगलमायाको बकपत्र ।
३३. मूल रिसइवी भक्तबहादुरसँग भएको निजसँग जाहेरवालाको घर परिवारसँग घनिष्ट सम्पर्क देखिन आएको समेतबाट किटानी जाहेरी र पोष्टमार्टमको आधारमा मात्र अन्य स्वतन्त्र सबूत प्रमाणको अभावमा उपरोक्त उल्लिखित कारणहरूले गर्दा अभियुक्तहरू भुवानीशमशेर, हर्षबहादुर, भक्तबहादुर र भानुभक्तले मृतक भीमबहादुरलाई कर्तव्य गरी मारेको नठहर्ने र अन्य उल्लिखित प्रतिवादीहरू प्रहरी पद्मबहादुरको हकमा समेत आरोपित कसूरबाट सफाई पाउने ठहर्छ भन्ने इलाम जिल्ला अदालतको जाहेरी फैसला ।
३४. इलाम जिल्ला अदालतको फैसलामा कानूनी त्रुटिपूर्ण हुँदा प्रहरी प्रतिवेदन दावी बमोजिम सजाय गरी शुरू इलाम जिल्ला अदालतको फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको पू.क्षे.स.अ.का धनकुटाको ०३७।११।१३।३ को पुनरावेदन पत्र रहेछ ।
३५. वारदातको समयमा जाहेरवालाका अतिरिक्त मर्नेको स्वास्नी रामप्यारी र घरमा बस्ने नोकर नाबालक रत्नबहादुरले पनि वारदात आँखाले देखेको कुरा अदालत समक्ष समेत बकपत्र गरेको पाइन्छ । वारदातको जुन चित्रण यी गवाहीहरूले गरेका हुन् सोही बमोजिम पोष्टमार्टम प्रतिवेदन बाट पुष्ट्याई हुनआएको छ । मर्ने भीमबहादुरको रिसइवी कसैसँग भएको भन्ने कुरा मिसिलबाट खुल्दैन । गाउँले अभियुक्तहरूले पनि भन्न सकेको छैन । दिउँसो नभेटी रातको समयमा खमारमा सुतिरहेको व्यक्ति भीमबहादुर भक्तबहादुर भन्ने ठानी अभियुक्तहरूले ज्यान मार्ने सम्मको काम गरी निज भीमबहादुरलाई कर्तव्य गरी मारेको देखिन आएबाट भुवानीशमशेर राई, हर्षबहादुर आङदावे, यामबहादुर राई, भानुभक्त खरेल समेत ४ जनाले कर्तव्य गरी मारेकै देखिन आएकोले निजहरूलाई ज्यानसम्बन्धीको १३(क) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । चन्द्रशेखर खतिवडा समेत अन्य ७(सात) जना प्रतिवादीहरूका हकमा निजहरूले कसूर गरेको कुरा मिसिल कागजातबाट प्रमाणित हुन नआएबाट निजहरूलाई सफाई दिने गरेको इलाम जल्ला अदालतको इन्साफ मनासिब छ भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।
३६. पू.क्षे.अ.को फैसला उपर चित्त नबुझी थुनामा रहेका भानुभक्त खरेल समेत ४ जनाको पुनरावेदन पत्र र मंगलमाया राईको जाहेरीले वादी श्री ५ को सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।
३७. हु.प्र.बमोजिम गर्न सम्बन्धित मिसिल सामेल राखी बेञ्चमा पेश गर्नु भन्ने ०४०।३।२२ को यस अदालत सिंगलबेञ्चको आदेश ।
३८. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी भानुभक्त खरेल समेतको तर्फबाट विद्वान अधिवक्ता श्री सुभाष नेम्वाङ र वादी श्री ५ को सरकारतर्फबाट खटी उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालको बहस समेत सुनियो ।
३९. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मनासिब वेमनासिब के रहेछ ? निर्णय दिनुपरेको छ ।
४०. यसमा भक्तबहादुरलाई मारौं भन्दा भीमबहादुर मर्न गएको हो भनी पुनरावेदक प्रतिवादी भानुभक्त खरेल, भवानीशमशेर राई, हर्षबहादुर र यामबहादुर प्रहरीमा सावित भएको, ती प्रतिवादीहरूले गरेको साविती कागजलाई घाँटी थिच्दा निस्सासिएर स्वास कृया बन्द भई पेटमा चोट लागी कलेजो र फियोबाट प्रशस्त मात्रामा रगत बगी रक्त संचार बन्द भई मृत्यु हुन गएको हो भन्ने पोष्टमार्टम रिपोर्ट तथा वादी मंगलमाया राई, मर्नेको स्वास्नी रामप्यारी, नोकर रत्नबहादुरको बयानले समर्थन गरेकोले निजहरूलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरी पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको ईन्साफ सदर ठहर्छ । तर भ्रममा परी भक्तबहादुरलाई मार्नुका सट्टा भीमबहादुर मर्न गएको र प्रतिवादीहरू र भीमबहादुरको बीचमा रिसइवीको सबूत पनि पेश दाखिल हुन नसकेकोले अ.बं.१८८ नं. बमोजिम राय लगाई सजाय घटाइएको छ । १० वर्षको कैदको सजायको लगत कायम गरी जन्मकैदको लगत कट्टी गरी दिनु ।
४१. अन्य प्रतिवादी चन्द्रशेखर समेत ७ जनाको हकमा कसूर गरेको प्रमाणित हुन नआएबाट सफाई दिने गरेका शुरू जि. अ.को इन्साफ मनासिब छ भनी पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको ईन्साफ सदर ठहरेकोले वादी श्री ५ को सरकराको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन ।
४२. पुनरावेदन परेकोले साधकको लगत कट्टा गरी दिनु । तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखे बमोजिम देहायका प्रतिवादीहरूलाई ज्यानसम्बन्धीका १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद हुने पू.क्षे.अ.ले ठहर्याएकोमा उक्त सर्वस्वसहित जन्मकैदको लगत कट्टी गरी देहायका प्रतिवादीहरूलाई कैद वर्ष १० को कैदको सजायको लगत कायम गरी शुरू इलाम जिल्ला अदालतमा लेखी पठाउनु का.जि. अ.मा लगत दिनु..१
इलाम बौझी गा.पं.९ बस्ने प्रतिवादी हर्षबहादुर आङदम्बे के कैद वर्ष १० ऐ ऐ प्रतिवादी भुवानी शमशेर राईके १०, ऐ ऐ प्रतिवादी भानुभक्त खरेल १०, ऐ ऐ प्रतिवादी यामबहादुर राई १०
उक्त रायमा म सहमत छु ।
न्या. पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४१ साल जेष्ठ १८ गते रोज शुभम् ।