निर्णय नं. १९६१ - उत्प्रेषण

निर्णय नं. १९६१ ने.का.प. २०४१ अङ्क ४
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राभण्डारी
सम्वत् २०३९ सालको रिट नं. १४९७
विषय : उत्प्रेषण
निवेदक : जिल्ला सुनसरी पूर्व कुसाहा गा.पं. वार्ड नं. ५ बस्ने सोती साहु
विरूद्ध
विपक्षी : ऐ ऐ वार्ड नं. १ बस्ने सोतिदास भन्ने नेतिदास पासवान
भूमि सुधार कार्यालय सुनसरी
आदेश भएको मिति : २०४१।२।२६।६ मा
§ कानूनबमोजिम परेको उजूरीमा दावी बमोजिम बाली भराई मोही निष्कासन हुने नहुने के हो ? त्यसको निर्णय गर्नुपर्ने हुन्छ । तर त्यसतर्फ सबूत प्रमाण बुझी निर्णय गरेको देखिँदैन । यसबाट प्रत्यर्थी भूमिसुधार कार्यालयले निर्णय गर्न इन्कार गरेको भन्नु पर्ने ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : x
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
उल्लेखित मुद्दा : x
आदेश
न्या. धनेन्द्रबहादुर सिंह : मिति ०३९।११।१३ को भूमिसुधार कार्यालय सुनसरीको निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ ।
२. मेरो नाउँको दर्ताको जि. सुनसरी पूर्व कुसाहा गा.पं. वार्ड नं. १(क) कि.नं. २४ को ०–६–५ कि.नं. १२० को १–१६–१ विपक्षीलाई वटैयामा कमाउन दिएको र कि.नं. २४ मा विपक्षीले आफ्नो नाउँमा मोहीमा समेत लेखाई कमाउँदै आएको ०३४ सालको वालीमा मेरो नालिश परी ०३५ सालमा जग्गा बाँझो राखेकोले सुनसरी जि. अ.मा नालिश गरेको र ०३८ सालको कूत मलाई नदिएबाट पुनः विपक्षी उपर भू.सु.का.मा मेरो उजूरी परेकोमा विपक्षीले मेरो अंश मुद्दा चलिरहेकोलाई लक्ष्मण साहुको भर्पाई खडा गरी बाली बुझाई सकेको छु भनी विपक्षीले प्रतिवाद गरेकोमा प्रत्यर्थी कार्यालयबाट मिसिल तामेलीमा राखी दिने ठहर्छ भनी मिति ०३९।११।१३ मा निर्णय भयो ।
३. कुनै अड्डा अदालतमा कसैले नालिश उजूर गरेपछि त्यसको निश्चित निर्णय हुन पर्दछ अधिकारीज्यूले गैर सरोकार व्यक्ति लक्ष्मण साहुको भर्पाईलाई प्रमाण लगाई निर्णय गरेको छ । यसरी एक पक्षले पेश गरेको कागज प्रमाण अ.बं.७८ नं. अनुसार अर्को पक्षलाई देखाउँदै नदेखाई त्यसतर्फ बोल्ने मौका म निवेदकलाई दिंदै नदिई प्रमाण लगाएको उक्त ७८ नं. को सरासर उल्लघंन हुनुको साथै न्यायिक मनको अभावग्रस्त उक्त विपक्षी कार्यालयको निर्णयबाट मेरो कानूनी हकको अलावा संविधानद्वारा प्रदत्त मेरो मौलिक हकमा आधारित भएकोले संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण लगायत अन्य आज्ञा, आदेश जारी गरी मिति ०३९।११।१३ को निर्णय बदर गरी परमादेशको आदेशसमेत जारी गरिपाउँ भन्ने समेत जिकिर भएको रिट निवेदन रहेछ ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेशगर्नु भन्नेसमेत यस अदालतको सिं.बेञ्चको आदेश ।
५. लक्ष्मण साहुले मलाई कूतको भर्पाई गरी दिनुभएकोमा मिति ०३९।११।७ मा म समेत उपर सुनसरी जिल्ला अदालतमा जालसाजी मुद्दा दायर गरी कारबाही भइरहेको छ । उक्त जग्गाको मेरो स्वामित्व भएको भन्ने आधारमा उक्त भर्पाई जालसाजी भयो भन्ने मुद्दा चलाएपछि म मोहीले कूत बुझाई सकेको भन्ने कुरामा निर्विवाद छ । विपक्षीबाट जालसाजी मुद्दा दायर गरेपछि यो रिट निवेदन गर्नु भई उक्त जालसाजी मुद्दाको कुरालाई छुपाई मबाट दोहोरो कूत लिन पाइन्छ कि भन्ने कुनियतबाट यो रिट दायर भएको प्रष्ट छ । उक्त भर्पाईमा अ.बं.७२ नं. को प्रकृया नअपनाएको रिट जिकिर निष्प्रयोजन भएकोले रिट जारी हुन नसक्ने भई प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत लिखितजवाफ ।
६. पू.क्षे.अ.बाट ०३७।३।२ गते १ भाग अंश पाउने ठहर भएको पेश हुनआएको कागज प्रमाण र प्रतिवादीबाट बाली बुझाएको भर्पाई पेश हुनआएकोले वादी दावी बमोजिम कारबाही गरिरहन नपर्ने हुँदा मिसिल तामेलीमा राखिदिने ठहर्याई यस कार्यालयबाट भएको निर्णय कानून अनुरूप नै भएकोले रिट निवेदकको कुनै पनि मौलिक अधिकारको हनन् नभएकोले समेत रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी भू.सु.का.सुनसरीको लिखितजवाफ रहेछ ।
७. प्रत्यर्थी भूमिसुधार कार्यालयतर्फबाट बहस गर्न खटिई उपस्थित हुनुभएको विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले सबूत प्रमाणको मूल्याङ्कन गरी आफ्नो अधिकारक्षेत्र भित्र रही गरेको निर्णयमा कुनै त्रुटि छैन रिट खारिज हुनुपर्दछ भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो ।
८. प्रस्तुत विषयमा निवेदकको माग अनुसारको आदेश जारी हुनु पर्ने हो होइन ? सोको निर्णय दिनु पर्ने हुनआएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा बाली भराई मोही निष्कासन गरिपाउँ भनी निवेदकले भूमिसुधार कार्यालय समक्ष उजूरी दिएकोमा लक्ष्मण साहुले मिति ०३८।१०।१५ गते गरी दिएको भर्पाई पेश हुनआएकोले वादी दावी बमोजिम कारवाई गरी रहन नपर्ने हुँदा मिसिल तामेलीमा राखिदिने ठहर्छ भनी भू.सु.का.सुनसरीबाट निर्णय गरेको देखिन्छ । त्यसरी लक्ष्मण साहुले बाली बुझी भर्पाई गरी दिएको प्रमाणलाई रिट निवेदकको विरूद्ध प्रमाण लगाउनु अघि सो भर्पाई निवेदकलाई देखाई सुनाई निजले सो सम्बन्धमा के भन्छ सो कथनलाई समेत दृष्टिगत गरी त्यसलाई प्रमाणमा लिने नलिने भन्ने कुराको निर्णय गर्नुपर्ने हुन्छ तर निवेदकलाई प्रत्यर्थी कार्यालयबाट सो भर्पाई देखाउने सुनाउने कार्य गरेको देखिँदैन । यसको अतिरिक्त बाली भराई मोही निष्कासन गरिपाउँ भनी कानूनबमोजिम परेको उजूरीमा दावी बमोजिम बाली भराई मोही निष्कासन हुने नहुने के हो ? त्यसको निर्णय गर्नुपर्ने हुन्छ । तर त्यसतर्फ सबूत प्रमाण बुझी निर्णय गरेको देखिँदैन । यसबाट प्रत्यर्थी भूमिसुधार कार्यालयले निर्णय गर्न इन्कार गरेको भन्नु पर्ने हुन्छ । यस स्थितिमा प्रत्यर्थी भू.सु.का.सुनसरीले यसमा केही गर्न परेन मिसिल तामेलीमा राख्ने भनी मिति ०३९।११।१३ मा गरेको निर्णय त्रुटिपूर्ण देखिन आयो ।
१०. अतः उपयुक्त उल्लेख भए बमोजिम प्रत्यर्थी भूमिसुधार कार्यालय सुनसरीको मिति ०३९।११।१३ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । अब कानूनबमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयको नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ । जानकारीको निमित्त यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम गरी बुझाई दिनु ।
म सहमत छु ।
न्या. हरिहरलाल राजभण्डारी
इति सम्वत् २०४१ साल जेष्ठ २६ गते रोज ६ शुभम् ।