निर्णय नं. १९६२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १९६२ ने.का.प. २०४१ अङ्क ४
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०३९ सालको रिट नं. १३०३
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
निवेदक : जि. भक्तपुर न.पं. वार्ड नं. ४ क्वाठंडौं बस्ने मोहनविर भगजू
विरूद्ध
विपक्षी : जि. का.भूमिसुधार शाखा भक्तपुर
जि. भक्तपुर न.पं. वार्ड नं. १७ इताछे बस्ने त्रिरत्न शाक्य
ऐ ऐ बस्ने द्यौरत्न शाक्य
आदेश भएको मिति : २०४१।३।१२।२ मा
§ धर्मपुत्रको लिखतसम्म पास भएको र धर्मपुत्रको महलको दफा १२ बमोजिम निवेदक एउटा छोरा मात्र देखिँदा उक्त लिए दिएको लिखत बदर भएको हुँदा त्यस्तो बदर लिखतबाट निवेदकको छोरा सरह हक पुग्न नसक्ने ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणीराज सिंह मल्ल
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे
उल्लेखित मुद्दा : x
आदेश
न्या. धनेन्द्रबहादुर सिंह : मिति ०३९।१०।१९ को भू.सु.शाखा भक्तपुरको निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।
२. विपक्षी त्रिरत्न र द्यौरत्नको बाजे हर्षलालको दर्ताको भक्तपुर जि. सुडाल गा.पं. वार्ड नं. ५(ख) कि.नं. ४६ को ३–६–० कि.नं. ४७ को ०–६–३ कि.नं. ४९ को ०–३–२ कि.नं. ५३ को २–६–३ कि.नं. ५४ को १–१–० समेत जग्गा रोपनी ८–१–० मेरो धर्म पिता मानबहादुर भगजूको मोहियानीमा दर्ता भएको र धर्म पिताले मलाई पाली आएको अवस्थामा उक्त जग्गाको बाली विपक्षीहरूलाई बुझाई भर्पाई समेत लिएको छु । धर्मपिता मानबहादुरले ०२६।११।१ मा मलाई धर्मपुत्रको लिखत गरी दिनुभएको भक्तपुर जि. अ.को ०२७।८।१९ को फैसलाले पारित भएको छ । धर्मपिता ०२८।१।३ मा परलोक हुनुभएपछि उक्त उल्लिखित जग्गाहरूको मोही नामसारी गरिपाउँ भनी मेरो निवेदन परी कारवाई हुँदा विपक्षीहरूको निवेदन परी मोही मानबहादुरको हकदार कोही नभएको भनी वडा अध्यक्षको सिफारिशमा जग्गाधनी विपक्षी त्रिरत्न, द्यौरत्नको नाउँमा जोताहा कायम हुने निर्णय भइसकेकोले मेरो निवेदन ०३०।२।२८ मा कार्यालयबाट खारेज भयो । निवेदन खारिज गरिए उपर मेरो सर्वोच्च अदालतमा रिट परी फैसला हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशले बदर भई परमादेश समेत जारी भई मिति ०३८।४।११ मा निर्णय भयो । सो निर्णय भएपछि मोही नामसारी गरिपाउँ भनी प्रत्यर्थी कार्यालयमा मिति ०३८।५।२३ मा मेरो निवेदन परेकोमा प्रत्यर्थी कार्यालयबाट मोहियानी दावी पुग्न नसक्ने हुँदा मोही लगत कट्टा हुने र जग्गा धनीको नाममा मोही कायम हुने ठहर्याई ०३९।१०।१९ मा निर्णय भयो ।
३. भूमिसम्बन्धी ऐन, २०२१ को दफा ६(१) का उल्लेखको साथै सार्वजनिक सूचना प्रकाशित गर्दा मोहीको हकदार म बाहेक अरू कोही नभएको भन्ने उल्लेख भएकोले उक्त दफा बमोजिम १ भन्दा बढी नाता भएकोमा कसैलाई नपत्याउने वा एकजना मात्र नाता भएकोमा उसलाई नपत्याउने जग्गावालालाई अधिकार दिएको छैन । उक्त दफा बमोजिम निज पुत्र हो होइन भनी हेर्दा धर्मपुत्रको लिखतसम्म पास भएको र धर्मपुत्रको महलको दफा १२ बमोजिम निवेदक एउटा छोरा मात्र देखिँदा उक्त लिए दिएको लिखत बदर भएको हुँदा त्यस्तो बदर लिखतबाट निवेदकको छोरा सरह हक पुग्न नसक्ने भन्ने फैसला बुँदा नै निर्णयाधार देखिन्छ । तर त्यस्तो धर्मपुत्र राखेको लिखत बदर भएको छैन । त्यस्तो अदालतको फैसलाबाट पास भएको धर्मपुत्रको लिखतलाई विवादको कारण बनाई कार्यालयले ठहर गर्न र लिखितको औचित्यतर्फ निर्णय दिने प्रत्यर्थी कार्यालयलाई अधिकार नै छैन तसर्थ उक्त निर्णय त्रुटिपूर्ण छ भन्ने समेतको रिट निवेदन जिकिर रहेछ ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आए पछि पेश गर्नु भन्ने मिति ०३९।११।५ को सिङ्गलबेञ्चको आदेश रहेछ ।
५. रिट निवेदक मोहनविर भगजुको धर्मपुत्र रजिष्ट्रेशन पास भएको देखिएका निज बाबुको एक मात्र छोरा हो भन्ने देखिएकोले सो धर्मपुत्रलाई मुलुकी ऐन रजिष्ट्रेशनको १ नं. धर्मपुत्रको १२ नं. ले मान्यता दिई रहन नपर्ने भएकोले भू.सु.ऐन, २०२१ को दफा २६(१) बमोजिम सोही कानूनको अधीनमा रही जग्गाधनीको नाउँमा मोही लगत सच्याउने गरी ०३९।१०।१९ गते कार्यालयबाट भएको निर्णयमा कुनै त्रुटि छैन भन्ने समेतको भूमिसुधार शाखा भक्तपुरको लिखितजवाफ रहेछ ।
६. कार्यालयबाट कानूनबमोजिम भए गरेको निर्णय माथि विपक्षीको कतैबाट पनि मोहियानी हक दावी पुग्ने होइन । दर्तावाला मोही मानबहादुर भगजू एक मात्र भई निजको शेष भोग गर्ने निजको पत्नी छोरा समेत कोही नभई जग्गावालाका नाउँमा जोताहा नामसारी गर्ने गरी भएको निर्णयमा कुनै त्रुटि छैन भन्ने समेतको द्यौरत्न शाक्य र त्रिरत्न शाक्यको लिखितजवाफ रहेछ ।
७. निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री चुडामणीराज सिंह मल्लले धर्मपुत्र राखेको लिखत बदर भएको छैन । सो लिखतलाई बदर गर्ने अधिकार प्रत्यर्थी कार्यालयलाई छैन, अदालतलाई मात्र छ । त्यस्तो लिखतको बारेमा उल्लेख गर्ने अधिकार प्रत्यर्थी कार्यालयलाई नहुँदा निर्णय बदरभागी छ भन्ने र प्रत्यर्थी कार्यालयतर्फबाट बहस गर्न खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले रजिष्ट्रेशनको १ नं. र धर्मपुत्रको १२ नं.ले एउटा मात्र छोरा हुनेले धर्मपुत्र दिन नपाउने दिएमा पनि बदर हुने व्यवस्था भए बमोजिम निवेदक एउटा मात्र छोरा भएकोले धर्मपुत्र नहुँदो प्रष्ट छ रिट खारिज हुनुपर्दछ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
८. प्रस्तुत विषयमा निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने हो होइन ? सोको निर्णय दिनु पर्ने हुनआएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा धर्मपुत्रको लिखतसम्म पास भएको र धर्मपुत्रको महलको दफा १२ बमोजिम निवेदक एउटा छोरा मात्र देखिँदा उक्त लिए दिएको लिखत बदर भएको हुँदा त्यस्तो बदर लिखतबाट निवेदकको छोरा सरह हक पुग्न नसक्ने हुँदा निवेदकको मोहियानीमा दावी पुग्न नसक्ने हुँदा मोही लगत कट्टा गरी जग्गाधनीहरूको नाउँमा मोही कायम हुने ठहर्छ भनी मिति ०३९।१०।१९ मा भूमिसुधार शाखा भक्तपुरबाट निर्णय गरेको देखिन्छ ।
१०. सो पारित भएको धर्मपुत्रको लिखतको औचित्यतर्फ निर्णय दिने अधिकार भूमिसुधार शाखालाई कुनै पनि कानूनले प्रदान गरेको पाइँदैन । तसर्थ कानून अनुरूप पास भएको धर्मपुत्रको लिखतलाई अन्यथा गरी मान्यता नदिई प्रत्यर्थी भूमिसुधार शाखाले आफैंले बदर गरी गरेको मिति ०३९।१०।१९ को निर्णय त्रुटिपूर्ण देखिन आयो ।
११. अतः उपरोक्त उल्लेख भए बमोजिम भूमिसुधार शाखा भक्तपुरको मिति ०३९।१०।१९ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानूनबमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी भूमिसुधार शाखाको नाउँमा परमादेशको आदेश जारी गरिएको छ । जानकारीको निमित्त यो आदेशको प्रतिलिपि प्रत्यर्थी शाखामा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४१ साल असार १२ गते रोज २ शुभम् ।