शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९६३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २६ साल: २०४१ महिना: श्रावण अंक:

निर्णय नं. १९६३   ने.का.प. २०४१           अङ्क ४

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०४० सालको रिट नं. १७४१

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

निवेदक : जिल्ला सर्लाही ववरगन्ज गा.पं. वार्ड नं. ५ बस्ने हरगेन सिंहको पत्नि तारादेवी दनवारनी

विरूद्ध

विपक्षी   : ऐ ऐ बस्ने मोहर सिंह दनुवार

ऐ ऐ नारायणपुर गा.पं. वार्ड नं. ६ बस्ने रामप्यारी देवीतेलीनी

ऐ ऐ ब्रहपुर गा.पं. वार्ड नं. २ बस्ने राम विलास साहुतेली

भूमि सुधार कार्यालय सर्लाही

आदेश भएको मिति :   २०४१।३।१२।२ मा

§  पहिले सोही कार्यालयबाट निर्णय भइसकेको भन्ने सो निर्णय गरिएको मुद्दामा निवेदिकालाई जारी गरेको म्याद कानूनबमोजिम नभएको भनी अ.बं. २०८ नं. बमोजिम निवेदिकाको प्रतिवादी दर्ता गरेपछि पहिले निर्णय गरेको भए पनि उक्त अ.बं. २०८ नं. अनुसार सो मुद्दामा प्रतिवादी जिकिर समेतलाई हेरी निजको सबूत प्रमाण बुझी निर्णय गर्नुपर्ने ।

(प्रकरण नं. ११)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार र विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव

उल्लेखित मुद्दा : x

आदेश

          न्या. धनेन्द्रबहादुर सिंह : मिति ०३९।५।२८ र ०३९।११।१३ को भू.सु.कार्यालयको निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।

          २.  विपक्षी मध्येको ज.ध.रामप्यारीको नाउँमा सर्लाही मालपोत कार्यालयमा दर्ता रहेको सर्लाही बवरगंज गा.पं. वार्ड नं. ५(ख) कि.नं. ५३ को जग्गा बिगहा २११८ र ज.ध.रामविलास साहुतेलीको नाउँमा ऐ कार्यालयमा दर्ता रहेको ऐ पञ्चायत र वार्ड नं. को कि.नं. १९ को जग्गा बिगहा ०१६ जग्गाको ज.ध.विपक्षीहरू र मोहीमा म निवेदिकाको पति हरगेन सिंह दनुवार मोही भएकोमा उहाँ २०३८ सालमा परलोक हुनु भई उहाँ पछि हक खाने म निवेदिका श्रीमती मोही भई २०३८ सालको बाली बुझाई भर्पाई प्राप्त गरी जग्गा जोती कमाई आएकोमा पति हरगेन सिंहको मृत्युपश्चात विपक्षी मध्येकामा सिंह दनुवारले विवादित उल्लिखित जग्गा म रिट निवेदिकाले जोत्न छोडेकोले ०३८ सालको शुरू बाली देखि आफूले जोती आएको व्यहोरा उल्लेख गरी उक्त जग्गाहरूको मोही लगत लगायत मोहीको महलमा उल्लेख रहेको पति हरगेन सिंहको नाउँ बदर गरी आफ्नो नाउँ कायम गरिपाउँ भन्ने ०३९।४।४ मा दर्खास्त र बयान भू.सु.का.सर्लाहीमा गरेको रहेछ र सो बमोजिम ज.ध.हरूले समर्थन गरी मिति ०३९।४।४ मा बयान कागज गरेको रहेछ । उक्त जग्गा पतिको मृत्यु पछि जोत्न छोडेको होइन । ०३८ साल सम्मको बाली ज.ध.हरूलाई बुझाई रसिद प्राप्त गरेको छु । विपक्षीहरूले आफ्नो मिलिमतोबाट उक्त जग्गाको कबूलियत रसिद खडा गरी मनगढन्त रूपमा मोही खडा गर्नु भई त्यसलाई कानूनी रूपमा मान्यता दिन कार्यालयमा निवेदन दर्ता गरेकोमा विपक्षी मध्येको मोहर सिंहको निवेदन दावी बमोजिम निजको नाउँमा मोही कायम हुने सम्बन्धमा कारबाही हुँदा मलाई म्याद वा सूचना पठाएमा अ.बं.११० नं. को प्रतिकूल म्याद तामेल गरी हाजिर हुन नआएको भन्ने निर्णय पर्चामा उल्लेख गरी विपक्षी कार्यालयले विधिवत मोही स्व.पति हरगेन सिंहको नाउँ बदर गरी मोहीको महलमा विपक्षी मोहनसिंह दनुवारको नाउँमा दर्ता र मोहियानीको प्रमाणपत्र समेत दिने गरी मिति ०३९।५।२८ मा निर्णय पर्चा खडा गरेको रहेछ । उक्त निर्णयमा म अनविज्ञ थिएँ सो निवेदन दावीमा प्रतिवाद गर्ने मौका उपभोग गर्न पाइन । उक्त फैसलाको नक्कल सारी लिएपछि मात्र थाहा पाई उक्त निर्णय कानून अनुरूप छैन । अ.बं.११० नं. को प्रतिकूल तामेल गरेको हकमा कथित म्यादलाई प्रमाणको आडमा विपक्षी कार्यालयबाट निर्णय गरिएकोले अ.बं.२०८ नं. को कानूनी प्रावधान अनुरूप विपक्षी कार्यालयमा उजूरीपत्र साथ वेरीतसँग तामेल भएको म्याद बदर गरी सबूत प्रमाण बुझी इन्साफ पाउँ भनी प्रतिउत्तर दर्ता गरी कारवाई चलिरहेकोमा प्रत्यर्थी कार्यालयले त्यसको न्यायिक औचित्यतर्फ ध्यानै नदिई विवादको जग्गाको मोही मोहरसिंह दनुवार कायम हुने ठहरी फैसला भइसकेकोले मिसिल तामेलीमा राखी दिनु भन्ने मिति ०३९।११।१३ मा निर्णय भयो ।

          ३.  प्रत्यर्थी कार्यालयबाट विपक्षी मोहरसिंह दनुवारलाई भू.सं.ऐन, २०२१ को दफा २५(२) बमोजिम मोही कायम हुने ठहर्‍याइएको छ । मोही कायम नरहेको जग्गामा मोही कायम गर्नुपर्ने वा मोहियानीमा जग्गा दिएको अवस्थामा ऐनको दफा ३४(१) को अधीनमा रही त्यस्तो मोही नभएको जग्गाको जग्गाधनीले आफ्नो जग्गा मोहीलाई कमाउन दिन सक्ने छ र ऐनको परिधि भित्र रही जग्गाधनीलाई मोहीको हैसियतले दायित्व पूरा गरेको अवस्था मोही सम्बन्धी विवाद उत्पन्न भएमा सो मोहीको हक सुरक्षा गर्न यो दफा प्रयोग गर्नुपर्दछ । विवादको जग्गामा मोही यथावत कायम रहेको र ऐनको दफा २६(१) बमोजिम प्राप्त मोही हकमा प्रतिवाद पर्न पाउने कानूनी हकबाट पन्छाएको र अ.बं.२०८ नं. अन्तर्गत उजूरी एवं प्रतिवाद गर्न उपस्थित भएकोमा सो जिकिर उपर न्यायिक मनको प्रयोग नगरी गैरकानूनी निर्णयलाई आड लिई गरिएको निर्णय त्रुटिपूर्ण छ कायम रहेको मोहीलाई आधारभूत प्रमाणको अभावमा मोहियानी हक माथि कुठाराघात गर्न ऐनले अधिकार प्रदान गरेको छैन र निष्कासन हुनलाई ऐनको दफा २९ अन्तर्गतको कसूर म निवेदिकाबाट भएको छैन केवल मोही ठहर्‍याउने निर्णय भइसकेकोले तामेलीमा राखी दिने भनी गरिएको निर्णय पर्चा स्वतः बदरभागी हुनुको साथै उक्त निर्णयमा अ.बं.११० र २०८ नं. समेतको त्रुटि छ भन्ने समेतको रिट निवेदन जिकिर रहेछ ।

          ४.  विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने मिति ०४०।२।२५ को सिंगलबेञ्चको आदेश रहेछ ।

          ५.  ०३८ सालको वालीदेखि मोहियानी कमाई आएकोले मोही कायम गरिपाउँ भन्ने निवेदन दावी आएकोले मोही कायम गरिपाउँ भन्ने निवेदन दावी अनुसार उल्लिखित जग्गाको साविक मोही मरी निजको नाउँमा मोही हदबन्दी भन्दा बढी जग्गा भई मोहीलाई ज.ध.ले नियम अनुसार दोहोरो प्रति कबूलियत गरी गराई र जग्गा वर्तमान मोहीले नै कमाई आएको सरजमीनका बहुसंख्यक व्यक्तिहरूले गरी दिएको हुँदा कानूनको परिधि भित्र रही कानूनबमोजिम निर्णय गरेको हुँदा रिट खारेज हुनुपर्दछ भन्ने समेतको भू.सु.कार्यालय सर्लाहीको लिखितजवाफ रहेछ ।

          ६.  ०३८ सालदेखि मैले मोहरसिंहलाई कबूलियत गरी जग्गा कमाउन दिएकोले कबूलियत तथा भर्पाईको आधारमा भू.सु.का.बाट भू.सं.ऐन, २०२१ को दफा २५(२) अनुसार मोही ठहर्‍याई भएको निर्णयमा कुनै त्रुटि छैन भन्ने समेतको रामप्यारीदेवी तेलिनीको लिखितजवाफ रहेछ ।

          ७.  भू.सं.नियमावली, २०२१ को नियम ३ अनुसार १ नं. मोही लगत भरेको र नियम ६ बमोजिम २ नं. अनुसूची प्रकाशन भएको हुनु पर्नेमा सोको अभावमा मोही छु भन्ने लिएको दावी निरर्थक छ । मोही हुनको लागि नियम ३ र ६ को पूर्वाधार तथा ऐनको दफा ३४(१) को पूर्वावस्था पूरा हुनु पर्ने हुन्छ । सो पूर्वावस्थाको म मोही हुँ भन्न नसकेकोले विपक्षी मोही होइनन् म मोही भएकोले सबूत प्रमाणको आधारमा मलाई मोही ठहर्‍याउने गरी प्रत्यर्थी कार्यालयबाट भएको निर्णयमा कुनै त्रुटि छैन । रिट खारिज गरिपाउँ भन्ने समेतको मोहरसिंह दनुवारको लिखितजवाफ रहेछ ।

          ८.  निवेदिकातर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेलले निवेदिकाको नाउँमा तामेल भएको म्याद रीतपूर्वकको नभई विपक्षीहरू बीच मोही कायम गराई पाउँ भन्ने मुद्दाको जानकारी नै नभई अ.बं.२०८ नं. बमोजिम दिएको निवेदनमा दरपीठ नगरी वेरीतसँग तामेल भएको तथ्यलाई स्वीकार गरी कारवाई भइरहेकोमा तामेलीमा राखिदिने भन्ने निर्णय त्रुटिपूर्ण छ भन्ने समेत विपक्षी कार्यालयतर्फबाट खटिई उपस्थित हुनुभएको विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार र प्रत्यर्थी रामप्यारीदेवी तेलिनी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले सबूत प्रमाण बुझी प्रमाणको मूल्याङ्कन गरी सरजमीन समेत गरी गरेको निर्णयमा कुनै त्रुटि छैन । रिट जारी हुन पर्ने होइन भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।

          ९.  प्रस्तुत विषयमा निवेदिकाको माग बमोजिमको आदेश जारी हुनु पर्ने हो होइन ? सोको निर्णय दिनु पर्ने हुनआएको छ ।

          १०.  यसमा निर्णयतर्फ हेर्दा निवेदिका समेतले अ.बं.२०८ नं. बमोजिम वेरीतको म्याद बदर गरी हाम्रो प्रतिउत्तर दर्ता गरी साक्षी सबूत प्रमाण समेत बुझी इन्साफ गरिपाउँ भनी भूमिसुधार कार्यालय सर्लाहीमा दिएको निवेदनमा अ.बं.२०८ नं. बमोजिम कारवाई गर्ने भन्ने तोक आदेश भएको सरकारी वकीलले अधिवक्ताले बेञ्च समक्ष देखाएको मिसिल फाइलबाट देखिन्छ । सो कारबाहीको सिलसिलामा भू.सु.का.सर्लाहीबाट ०३९ साल कार्तिक २ गते पर्चा गरेको पाइन्छ । जसमा कानूनको मनसाय अनुसारको म्याद तामेल भएको नदेखिएको भन्दै अ.बं.२०८ नं. अनुसार निर्णय भएको मितिले ६ महीनाभित्रै प्रतिउत्तर पर्न आएको देखिएको सम्बन्धित मिसिल साथ प्रतिउत्तर राखी विपक्षीलाई झिकाई तारेखमा राखी कानूनबमोजिम कारबाही गरी दिने ठहर्छ भन्ने उल्लेख भएको पाइन्छ । तर भू.सु.अ.ले दुवै कित्ता जग्गामा प्रतिवादी मोहरसिंह दनुवार मोही कायम हुने गरी यसै कार्यालयबाट मिति ०३९।५।२८ मा निर्णय भइसकेको देखिँदा मिसिल तामेलीमा राखी दिने भनी निर्णय गरेको देखिन्छ ।

          ११.  अ.बं.२०८ मा प्रतिवादी दिन नपाई म्याद गुज्रेको भन्ने उजूरी साथ फैसला भएको ६ महीना भित्र थाहा पाएको ३५ दिनभित्र झगडियाले प्रतिवादी लेखी दिन ल्यायो भने पहिले मिसिल सामेल रहेको तामेली समाव्हान हेरी रीतपूर्वक तामेल भएको देखिन आएन भने सोही व्यहोराको पर्चा लेखी प्रतिवादी दर्ता गरी ऐन बमोजिम बुझ्नु पर्ने प्रमाण बुझी मुद्दा फैसला गर्नुपर्छ भनी लेखिएको पाइन्छ । सो अनुसार कानूनबमोजिम म्याद तामेल भएको नदेखिएको भनी प्रतिवादी दर्ता गर्ने भू.सु.अ.बाट पर्चा खडा गरी सकेपछि उक्त ऐन अनुसारमा मुद्दा फैसला गर्नुपर्नेमा यसै कार्यालयबाट ०३९।५।२८ मा निर्णय भइसकेको देखिँदा मिसिल तामेलीमा राख्ने भनी ०३९।११।१३ मा निर्णय गरेकोबाट कानूनबमोजिम फैसला गर्न इन्कार गरेको देखिन्छ । पहिले सोही कार्यालयबाट निर्णय भइसकेको भन्ने सो निर्णय भइसकेको भन्ने सो निर्णय गरिएको मुद्दामा निवेदिकालाई जारी गरेको म्याद कानूनबमोजिम नभएको भनी अ.बं.२०८ नं. बमोजिम निवेदिकाको प्रतिवादी दर्ता गरेपछि पहिले निर्णय गरेको भए पनि उक्त अ.बं.२०८ नं. अनुसार सो मुद्दामा प्रतिवादी जिकिर समेतलाई हेरी निजको सबूत प्रमाण बुझी निर्णय गर्नुपर्ने हुन्छ । तर सो बमोजिम निर्णय नगरेको भूमिसुधार कार्यालय सर्लाहीको मिति ०३९।११।१३ को निर्णय त्रुटिपूर्ण देखिन आयो ।

          १२.  अतः उपरोक्त कारणबाट भूमिसुधार कार्यालय सर्लाहीको ०३९।११।१३ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर हुने ठहर्छ कानूनबमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयको नाउँमा परमादेशको आदेश जारी गरिएको छ जानकारीको निमित्त यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४१ साल आषाढ १२ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु