शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९७५ - ज्यान मारी लास दबायो

भाग: २६ साल: २०४१ महिना: श्रावण अंक:

निर्णय नं. १९७५ ने.का.प. २०४१               अङ्क ४

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०३९ सालको फौ.पु.नं. ३५२

मुद्दा : ज्यान मारी लास दबायो

पुनरावेदक/वादी : अमृती थरूनीको जाहेरीले श्री ५ को सरकार

विरूद्ध

विपक्षी/प्रतिवादी : जि. कञ्चनपुर कृष्णपुर गा.पं. वडा नं. ६ बस्ने चुकन डगौरा

ऐ ऐ बस्ने दुर्गा प्रसाद डगौरा

ऐ वडा नं. ६ बस्ने धनीराम कामी

फैसला भएको मिति :  २०४१।२।२५।५ मा

§  चस्मदिद गवाह तथा अधिकांश सरजमीनका व्यक्तिहरूले प्रतिवादी समेतले मारेको हो भनी देखाउन सकेको छैन यस्तो अवस्थामा शुरू जिल्ला अदालतले प्रतिवादीहरूलाई सफाई दिने ठहर्‍याएको ईन्साफ मनासिब छ ।

(प्रकरण नं. ७६)

पुनरावेदक तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री र्इन्द्रराज पाण्डे

विपक्षी तर्फबाट : x

उल्लेखित मुद्दा : x

फैसला

          न्या. बब्बरप्रसाद सिंह : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको उल्लिखित मुद्दाको फैसला उपर श्री ५ को सरकारतर्फबाट पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारछ ।

          २.   यही २०३४ साल पौष २४ गतेको बिहान कञ्चनपुर बस्ने चौकिदार दुर्गाप्रसाद डगौरा थारू समेत आई मेरो लोग्ने परदेशी डगौरा थारूलाई कमान सिंह थारूको आमाको बेइज्जती झगडा मिलाउनलाई छलफल गर्न बोलाई लगेको चुन्कन डगौरा समेत भई चुटी पिटी मारी लास कहाँ बेपत्ता गरे लास कहाँ दबाएछन् माघ १६ गते दुर्गाप्रसादको घरमा जाँदा यो शत्रुलाई हामीले मार्नु थियो मार्‍यौं भनी भनेकोले दुर्गाप्रसाद, चुन्कन धने कामीलाई पक्राउ गरी मेरो लोग्ने परदेशीको लास कहाँ दबाएछन् खुलाउनलाई मौका तहकीकात गरी ज्यानसम्बन्धीको १३ नं. का देहाय ३ बमोजिम सजाय गरिपाउँ भन्ने समेत व्यहोराको जि. कञ्चनपुर कृष्णपुर गा.पं. वार्ड नं. ५ मौवाफान्टा बस्ने अमृती थरूनीको मिति ०३४।१०।२० को हुलाकबाट पठाएको जाहेरी दर्खास्त ।

          ३.   जि. कञ्चनपुर कृष्णपुर गा.पं. वा.नं. ६ भौवाफान्टा बस्ने चौकिदार दुर्गाप्रसाद डगौरा चुन्कन थारू धनीराम कामी समेत जना ३ लाई तुरून्त पक्राउ गरी ल्याउने भनी श्री प्रहरी चौकी गुलरियालाई लेखेको ०३४।१०।२७ को पक्राउ पूर्जि ।

          ४.   म अदना आइमाई भएकाले धनगढी नजिक पर्ने हुनाले यथार्थ व्यहोरा खुलाई मिति २०३४।१०।२०।५ को जाहेरी दर्खास्त हुलाकद्वारा पठाएको छु भन्ने समेत अमृती थरूनीले तहकीकात डोर मुकाम भौवाफान्टामा गरी दिएको मिति ०३४।१०।२८ को सनाखत कागज ।

          ५.   जाहेरीमा उल्लेख भएका चुन्कन डगौरा समेत ३ जनाले परदेशीको ज्यान मारी लास दबाएछन् कि भन्ने शंका लाग्छ र तिनीहरूको चालचलन पहिले देखि खराब थियो, परदेशीलाई मार्ने यी तीन मध्ये अरूमा शंका लाग्दैन र थारू जातिको माघे संक्रान्ति जस्तो ठूलो चाडमा पनि घर नआएकोले निज जीवित होला जस्तो लाग्दैन भन्ने एकै मिलानको बयान कृष्णपुर गा.पं. वा.नं. ६ गा.पं.स.महेश्वर बोहरा समेत ६ जनाले गरेको र सोही बयानसँग मिल्ने गरी चुन्कन डगौरा समेत ३ जनाले परदेशीलाई मारे नमारेको थाहा छैन भनी ऐ कृष्णपुर गा.पं. वा.नं ३ बस्ने वकीलाल थारू समेतका अधिकांश सरजमीनका मानिसहरूले करीब एकै मिलानको बयान गरी लेखाई दिएको मिति २०३४।१०।२९ को सरजमीन मुचुल्का ।

          ६.   कमानी सिंह र चुन्कन मैयाको झगडा मिलाउन गएको दिन देखि परदेशी बेपत्ता भएकोले अवश्य मरेको हुनुपर्छ र जाहेरीमा लेखिएको चौकिदार दुर्गाप्रसाद समेतका तीन जना समेतसँग परेदशीको पहिले देखि रिसइवी झै झगडा भएको भन्ने पनि सुनेको हुँ यसकारण यिनै तीन जना भई मारे दबाएको हुन् कि भन्ने शंका लाग्छ भन्ने समेत व्यहोराको मिति ०३४।१०।२९ को लोकदत्त भट्टको कागज ।

          ७.   परदेशी र दुर्गाप्रसाद, धनिराम कामी समेतको अघिदेखिको रिसइवी भएको र मेरो घरमा रक्सी खाई दुर्गाप्रसादले परदेशीलाई लगेकोले धनिराम र दुर्गाप्रसादको मिलीमतो भई परदेशीलाई मारेकोमा शंका लाग्छ यसमा मेरो सहयोगले लास दबाएको छैन भनी अभियुक्त भनिएको चुन्कन डगौरा थारूले गरेको इन्कारी बयान ।

          ८.   म गाउँको चौकिदार भएकोले परदेशी र धनिरामको झगडा हुँदा प्रहरी थानामा लगेकोबाट झुठ्ठा उजूर परेको हुनुपर्छ परदेशीसँग मेरो रिसइवी केही थिएन र परदेशीलाई मार्ने मराउनेमा र दबाउनेमा मेरो कर्तव्य छैन र कसैमाथि पनि शंका छैन भन्ने समेत व्यहोराको चौकिदार दुर्गाप्रसाद डगौरा थारूले मिति ०३४।१०।२९ मा गरेको इन्कारी बयान कागज ।

          ९.   जाहेरीमा उल्लेख भएको अभियुक्त चुन्कन डगौरा समेत ३ जनाले अगाडिको रिसइवीको कारणले परदेशीलाई मारे भन्ने शंका लाग्छ भनी कोही सरजमीनका मानिसले लेखी दिएको आधारबाट र कुनै सबूतै नभई जाहेरवालाले हुलाकबाट दिएको दर्खास्त समेतको किटानी उजूरीलाई आधार लिई धनिराम कामीलाई पक्राउमा फेला नपरी बयान कागज गराउन नपाएको पत्र र निज समेत अरू जाहेरीमा लेखिएको चुन्कन समेत ३ जना उपर यो ज्यान मुद्दाको कारबाही हाल चलाउनलाई कहीँबाट सबूत प्रमाणहरू नपुग्ने देखिएको र निज पक्राउमा फेला परेको दुर्गाप्रसाद चुन्कन समेतलाई पछि अदालतबाट खोजी भएको बखत हाजिर उपस्थित गराउने गरी हाजिर जमानीमा छोडिएको र सो सम्बन्धमा खोज तलास भइरहने र कर्तव्य गरी मारे मराएको ठहरिन आए ज्यानसम्बन्धी महल बमोजिम पेश गरिने हुँदा हाल सम्मको कारबाहीबाट कसै उपर मुद्दा चलाउन प्रमाण नपुग्ने हुँदा स.मु.स.ऐन, २०१७ बमोजिम मुद्दा चलाउने भन्ने समेत व्यहोराको २०३४।११।६ को प्रहरी प्रतिवेदन ।

          १०.  प्रस्तुत मिसिलमा मौका तहकीकात गर्दा प्रहरी निरीक्षकले प्र.पं.लाई राखेर गरेको देखिएकोछ । तर स.मु.स.ऐन, २०१७ को दफा ३ को उपदफा २ ले गाउँ पञ्चायतको इलाका भित्रको मौका तहकीकात वा सरजमीन सम्बन्धमा आवश्यक निर्देशन दिन सरकारी अभियोक्ताले आवश्यक सम्झेमा स्वयं उपस्थित भई कार्य सञ्चालन गर्न सक्ने छ वा निर्देशन दिन पर्ने बाध्यता देखिएको छ । प्रस्तुत मुद्दामा सरकारी अभियोक्तालाई जानकारी सम्म नभएको देखिएको र सो कुनै निर्देशनसम्म दिएको नदेखिँदा तहकीकात स.मु.ऐन नियम अनुरूप नदेखिएकोले कानूनको रीत पुर्‍याई पुनः मौका तहकीकात गर्ने व्यवस्था होस् भन्ने व्यहोराको कञ्चनपुर सरकारी अधिवक्ता तथा अभियोक्ता कार्यालयको जि. प्र.कार्यालयमा पठाएको ०३४।११।१०।३ को पत्र ।

          ११.   मिति ०३४।१०।२० को जि. प्र.का.महेन्द्रनगरमा हुलाकबाट दिएको दर्खास्त मैले नै दिएको छु मेरो लोग्नेलाई तिमीले बोलाई लगेको हौ कहाँ गयो भन्दा म चुन्कन धनिराम कामी समेत ३ जना भई तिम्रो लोग्ने परदेशीलाई चुन्कनको घरमा मारेको छौं भनी दुर्गाप्रसादले भनेबाट दर्खास्त दिएको हुँ । आवश्यक कारबाही गरिपाउँ भन्ने व्यहोराको जाहेरवाली अमृती थरूनीले पुनः तहकीकात डोरमा मिति ०३५।२।७ मा गरिदिएको बयान कागज ।

          १२.  धनिराम र दुर्गाप्रसादले मारे होलान् भन्न सक्दिन मेरो घरमा हामी परदेशी र म बसी रक्सी खाएकोले मैले पनि मारेको भनी किटानी दर्खास्त दिएको हुनुपर्छ मैले मारी लास दबाएको छैन भन्ने व्यहोराको मिति ०३५।२।७ को चुन्कन डगौराको इन्कारी बयान ।

          १३.  म गाउँको चौकिदार हुँदा परदेशी र धनिरामको आपसमा झगडा भएकोले प्रहरी थानामा लगेको थिए सोही रिसइवीले मेरो नाउँमा किटानी उजूरी दिएको हुनुपर्छ मैले मारी लास दबाएको छैन भन्ने समेत व्यहोराको चौकिदार दुर्गाप्रसादको ०३५।२।७ को इन्कारी बयान कागज ।

          १४.  परदेशी कसरी बेपत्ता भयो थाहा छैन जाहेरीमा उल्लिखित अभियुक्त चुन्कनसमेतको रिसइवी भएको थाहा छैन मारे मराएको विश्वास छैन भन्ने समेत व्यहोराको जि. कै.कृष्णपुर गा.पं. वडा नं. ६ बस्ने वर्ष ४६ को तुलसीराम डगौरा समेतको अधिकांश सरजमीनका मानिसले करीब एकै मिलानको बयान गरी लेखाई दिएको मिति ०३५।२।८ को सरजमीन मुचुल्का।

          १५.  सरजमीनका मानिसको र अरू मानिसबाट समेत परदेशीलाई चुन्कन समेत ३ जनाले मारी लास दबायो भनेर खुल्न नआएको, धने कामी २४ पुषमा परदेशीको साथ चुन्कनको घरमा सामेल भएको भन्ने प्रष्ट भएको देखिने परदेशी बेपत्ता भएको भन्ने सम्म खुल्न आएकोले जाहेरीमा उल्लेख भएका अभियुक्त चौकिदार दुर्गाप्रसाद, चुन्कन, धने कामी समेतले झगडाको रिसइवीको कारणले र केही सरजमीनका मानिसले लेखिदिएको अधारबाट र जाहेरवालाले किटान साथ लेखी दिएबाट हाल पक्राउ नपरे पनि अरू जाहेरीमा लेखिएको दुर्गाप्रसाद चुन्कन समेत ३ जना उपर कुनै पनि किसिमको सबूत प्रमाण प्राप्त नहुँदा निजहरूलाई हाजिर जमानीमा छोडिएको छ र पछि कर्तव्य देखिन आएमा ज्यानसम्बन्धी महल बमोजिम कारबाही गर्ने गरी सबूत प्रमाणको अभावमा कसै उपर मुद्दा चलाउन नसकिने भन्ने किसिमको पुनः तहकीकात पछिको ०३५।२।१६ को प्रहरी प्रतिवेदन माग दावी ।

          १६.  मृतक भनिएको परदेशी थारूको लास खोज तलास गरेको मिसिलबाट नदेखिएको हुँदा र सरजमीनको लेखाइबाट परदेशीलाई बोलाई चुन्कनको घरमा लग्ने भनेको मानिस र वरपरका सरजमीन समेतलाई बुझेको नदेखिँदा लेखिए बमोजिम लास खोजी पत्ता लागे सो समेत र स.मु.ऐ.२०१७ को दफा ३ को ६ बमोजिम सरकारी अभियोक्ताद्वारा पुनः तहकीकात गरी पठाई दिनु भन्ने कञ्चनपुर जिल्ला अदालतको २०३५ साल आषाढ २० गतेको आदेश ।

          १७.  अमृती थरूनीलाई ०३५।९।११ मा बुझ्दा ०३४।९।२४ गते दुर्गाप्रसाद मेरो घरमा आई मेरो लोग्ने परदेशी नमान्दा पनि जानै पर्छ भनी चुन्कनको मैया कमान सिंह कि आमाको अनैतिक करणी सम्बन्धी झगडा मिलाउन लगेको र सो दिन देखि मेरो लोग्ने नआएकोले दुर्गाप्रसादलाई सोद्धा निजहरू अभियुक्तहरू तीनजना भई मारेका हौ भनी निजले भनेकोले जाहेरी दिएको छु सो बाहेक मास्टर बासुदेव र लोकदत्तको पनि हात हुनुपर्दछ मेरा लोग्नेको लास कहाँ दबाएछन् भन्ने समेत व्यहोराको ०३५।९।११ मा अमृती थरूनीले गरेको कागज ।

          १८.  जुगराम डगौरालाई निजको बाबुको रोहवरमा राखी बुझ्दा फाल्गुण महीनामा म गहुँ बालीको हेरचाह गर्न गएकोमा मुसाले नयाँ माटो फालेको देखि मुसा मार्नलाई खन्दै जाँदा मानिस जस्तै दुई घुडादेखि मलार्ई डर लागेकोले नजिकैको बासुदेव डगौरालाई बोलाएँ त्यसपछि उसले नरुवा महेर कि छोरी मरेकी थिई त्यसलाई गाडे होलान् भनेकोले पुरेको थिएँ उक्त ठाउँ देखाउन सक्दछु भन्ने समेत व्यहोराको ०३५।९।११ को जुगराम डगौराको कागज ।

          १९.  म मेरो मुसुरो खेतको हेरविचार गरिरहेको थिएँ जुगराम डगौरा थारू १ र उसको भाइ पनि मेरो खेत नजिकै मुसा खनी हेरेकोमा फरूवामा ट्याक्क लागेको के हो भनी हेर्दा मानिसको जस्तै दुईवटा घुँडा देखियो साथै दुर्गा पनि आएको हुँदा ढोलपुरेलाई बोलाएर पछि नरूवाको छोरी मरेकी थिई त्यही गोडा होलान भनेपछि मैले पुरी दिएको छु भन्ने समेत व्यहोराको बासुदेव डगौरा थारूले ०३५।९।११ मा गरी दिएको कागज ।

          २०.  लास सनाखत गरी लासको सतगत गर्ने पूर्जि पाउँ भन्ने समेत व्यहोराको ०३५।९।११ मा जाहेरवाली अमृती थरूनीको सनाखत कागज ।

          २१.  आज हड्डी मात्र भएको लास देखि मेरो छोराको शरीरको बनावट र कपाल समेतबाट मेरो छोराको लास भन्न सक्छु र निजलाई मार्नमा मास्टर बासुदेव, लोकबहादुर, धने कामी समेतका मानिस भई मारेको शंका लाग्दछ भन्ने समेत व्यहोराको मृतकको बाबु कालीचरण डगौराले ०३५।९।११ को सनाखत र खुलाई दिएको कागज ।

          २२.  लासमा पाएको कागियो, कलम र शारीरिक बनावटको आाधारमा समेत उक्त लास परदेशी डगौराको भन्ने व्यहोराको ०३५।९।१२ को जुगराम डगौरा समेतका ९ जनाले गरी दिएका लास सनाखत मुचुल्का ।

          २३.  बासुदेव डगौराको बारीमा ०३५।९।१२ मा पाइएको लास प्रकृति र घटनास्थलको मुचुल्का ।

          २४.  २०३४ साल पौष २४ गते कमान सिंहको आमाको र चुन्कनको कमैयाँको करणी सम्बन्धमा कचहरी गरी रक्सी पियौँ पहाडी ग्रुप चुन्कनको घरमा रक्सी पिउन बसे हामी तुलसीरामको घरमा बस्यौँ । परदेशी र मास्टर बासुदेव पहाडी ग्रुपमा थिए । सोही दिनको बेलुकी अन्दाजी ७ बजे सम्म भएकोले निज मास्टरले मारेमा शंका लाग्छ धने कामी उक्त दिन नदेखेको हुँदा निज र चुन्कन माथि शंका लाग्दैन । जाहेरवालीले म उपर किन किटानी उजूर दिइन् निज नै जानुन् भन्ने व्यहोराको मिति ०३५।९।१३ मा दुर्गाप्रसादले गरेको बयान कागज ।

          २५.  २०३४ साल पौष २४ गते मेरो घरमा पहाडी ग्रुपले र तुलसीराम डगौराको घरमा थारू ग्रुपले रक्सी पिएका छौं परदेशी र डगौरा थारू समेत थियो । बासुदेव, परदेशी डगौरा समेत रक्सीले टन्न भएका थिए परदेशी पहाडी ग्रुपमा भएको हुँदा निजहरूले नै मारे होलान धने त्यहीँ थिएन निजले मार्‍यो भनेर भन्न सकिँदैन म समेतमा किटानी उजूर किन गरिन् थाहा छैन भन्ने समेत चुन्कन डगौराको ०३५।९।१२ को बयान कागज ।

          २६.  २०३४ पौष २४ गते चुन्कनको घरमा परदेशीको साथमा रक्सी पिएको र फर्कदा म प्रहरी परमदेशी र लोकदत्त गणेशबहादुर समेत भई चौराहा समर गएका छौ र पछि परदेशीसँग छुट्टिएका हौं निजलाई मार्नमा मेरो हात छैन उक्त पौष २४ गते दुर्गाप्रसाद र चुन्कनको बीचमा जग्गा खरीद सम्बन्धमा झगडा भएको थियो र पहिले पनि झगडा भएको कारणले निजहरूले नै मारी दबाएमा शंका लाग्छ भन्ने समेत बासुदेव पनेरूले गरेको ०३५।९।१३ को बयान कागज ।

          २७.  ०३४ पौष २४ गते चुन्कन परदेशीको झगडा हुँदा हामीले सम्झाएका छौ निज मृतकसँग मेरो कुनै रिसइवी छैन त्यसैले परदेशीलाई धनी कामीले मार्‍यो होला भन्ने शंका लाग्दछ भन्ने समेत व्यहोराको मिति ०३५।९।१३ को लोकदत्तको बयान कागज ।

          २८.  परदेशी र मास्टरसँगै थिए भन्ने मास्टरबाटै थाहा पाएबाट परदेशीले मार्नेमा मास्टर र धनी कामी माथि शंका लाग्छ भन्ने समेत व्यहोराको मिति ०३५।९।१३ को कृष्णप्रसाद डगौरा थारूको बयान कागज ।

          २९.  दुर्गाप्रसाद समेत ३ जनासँग परदेशीको झगडा भएकोले निजहरूसँग मास्टर पनि साथमा हुँदा निजहरूले नै मारेमा शंका लाग्छ भन्ने समेत अधेराको स्वाध्या डगौरा थारूको मिति ०३५।९।१४ गतेको बयान ।

          ३०.  परदेशी डगौरासँग चुन्कन, धने कामी र दुर्गाप्रसादको आपसी झगडा भई बेलौरा थानासम्म पुर्‍याए भनेकोले निजहरूले नै परदेशीलाई मार्नमा शंका लाग्छ धने कामी बेपत्ता भएकोले हाल कहाँ छ थाहा छैन भन्ने समेत व्यहोराको मिति २०३५।९।१५ को कमानसिंह बोहराको बयान कागज ।

          ३१.  धनेकामी र दुर्गाप्रसादको परदेशीसँग झगडा भएकोले निजहरूले मारी दबाएमा शंका लाग्छ भन्नेसमेत व्यहोराको मिति ०३५।९।१५ मा महेश्वरप्रसाद बोहराले गरीदिएको बयान कागज।

          ३२.  मेरो अन्दाजी ३ वर्षको छोरी मरेकोले मैले नालामा गाडेको हुँ धनिकामीको परदेशीसँग रिसइवी भएकोले निजले नै परदेशीलाई मारेकोमा शंका लाग्छ भन्ने समेत व्यहोराको ०३५।९।१५ को नरबहादुर बोहराको कागज ।

          ३३.  ०३४ पौष २४ गते घुम्दै कमानसिंहको घरमा पुगेको बेला त्यहाँ बासुदेव समेतका मानिसहरू थिए र चुन्कन, दुर्गाप्रसाद र धनी कामीसँग परदेशीको झगडा भएको हुँदा निजहरूले नै परदेशीलाई मारेमा शंका लाग्दछ भन्ने समेत व्यहोराको प्र.ह.गणेशबहादुर रानाको बयान कागज ।

          ३४.  धनी कामी र परदेशीको झगडा भएको बेलामा कि तँ बस्लास् कि म बसुँला भनी धनी कामीले भनेको र परदेशी बेपत्ता भए देखि आफ्नो गरेको कमाई पनि सकी धनी कामी बेपत्ता भएकोले निजले नै परदेशीलाई मारेमा शंका लाग्छ भन्ने समेत व्यहोराको मिति ०३५।९।१५ को १४ जनाले गरेको एकै मिलानको सरजमीन मुचुल्का ।

          ३५.  ०३५।९।१५ को सरजमीन मुचुल्काबाट मास्टर बासुदेव माथि कसैले शंका नदेखाएका र मार्नुपर्ने कारण पनि केही नदेखिँदा केवल शंका लाग्छ भन्ने केही मानिसको शंकाको आधार बन्न सक्दछ प्रमाण नदेखिएको र लोकदत्त समेत अन्य मानिस बुझ्दा शंकासम्म पनि नदेखाएकोले मास्टर बासुदेव पनेरू र लोकदत्त भट्टलाई जमानीमा छाडिएको र दुर्गाप्रसाद डगौरा र चुन्कन डगौराले परदेशीलाई मारेको इन्कारी बयान दिए तापनि बुझिएसम्मका मानिसहरूबाट परदेशी डगौरासँग धने कामी चुन्कन, दुर्गाप्रसादको झगडा आपसमा रिसइवी भएको प्रष्ट छ साथै धनी कामी र परदेशीको झगडा हुँदा कि तँ बस्लास् कि म बसुँला भनेको र दुर्गाप्रसादले म जान्दैन भन्दा पनि परदेशीलाई बोलाएकोबाट धनी कामी दुर्गाप्रसाद र चुन्कनले रिसइवी साँध्न परदेशीलाई मारी दबाएको प्रष्ट भएको हुँदा ज्यानसम्बन्धीको १३(३) बमोजिम दण्ड सजाय गरिपाउँ भन्ने २०३५।९।२३ को प्रहरीको तेस्रो अभियोग माग दावी ।

          ३६.  २०३४ साल पौष २४।२५ गते जस्तो लाग्छ धेरै दिनको कुरा हुँदा मिति यकीन गर्न सक्दिन बनकट्टा गाउँको डगौरा थारू र मेरै गाउँमा बस्ने कमान सिं डगौराको आमाको बीचमा अनैतिक करणी हुँदा दुवैलाई जरिवाना गर्न र पिउने खाने कार्य गर्दा परदेशी पनि सँगै थियो राति करीब ९, १० बजेतिर घरमा आएका हो त्यसपछि परदेशी कहाँ गयो मलाई थाहा छैन लासको स्थिति हेर्दा कर्तव्य गरी मारेको जस्तो लाग्दछ कसले कसरी परदेशीलाई मार्‍यो थाहा छैन मेरो नाम किन प्रष्टसँग जाहेरीमा लेखे मलाई थाहा छैन भन्ने समेत व्यहोराको दुर्गाप्रसाद डगौरा थारूले मिति ०३५ पौष २४ गते अदालतमा गरेको बयान ।

          ३७.  मेरो कमैया, रामलाल डगौरा थारू र कमान सिंहको आमाको बीचमा भएको अनैतिक करणीको कुरा मिलाउन मेरो घरमा जम्मा भएको र कमान सिंहबाट ७५। रु.र मेरो कमैयाबाट १५०। जरिवाना लिई स्वाध्या दोलपुरे कमान सिं मेरो कमैया र दुर्गाप्रसाद तुलसीराम बाँकेलाल र अरू मैले नाम नचिनेको २ जना थारूहरू तुल्सीरामको घरमा रक्सी खान गई परदेशी लोकदत्त भट्ट मास्टर भन्ने महेश्वर खुशिराम थारु र २ जना पनि प्रहरी समेतले मेरो घरमा कुखुरा काटी रक्सी खाए मैले पनि खाएको हुँ र खाना खाई सकेपछि मर्ने परदेशी र लोकदत्त भट्ट मास्टर महेश्वर खुसीराम समेत साथ भई मेरो घरबाट निस्की गएका हुन् । त्यस दिन देखि परदेशीलाई देखेको छैन यो पौष महीनामा प्रहरी र वकील साहेब गई परदेशीको लास फेला पर्दा मैले पनि देखेको हुँ लास हेर्दा कर्तव्य गरी मारेको जस्तो लाग्दछ । कसले मारे थाहा छैन परदेशीको र मेरो बीचमा कुनै रिसइवी थिएन भन्ने समेत व्यहोराको अभियुक्त चुन्कन डगौरा थारूले २०३५ साल पौष २४ गते अदालतमा गरेको बयान ।

          ३८.  कपडा खरीदको सम्बन्धमा दिल्ली गएर पौष २८, २९ गते घरमा फर्केको हुँ प्रहरीहरू गई परदेशीको हड्डी भेट्टाएको भन्ने सुनेको छु म लास जाँच हुँदा थिइन त्यसैले भेट्टाएको हड्डी कसको हो थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी चुन्कन डगौरा थारूको साक्षी भक्तराज भट्टले अदालतमा मिति ०३६।७।२९।५ मा गरेको बकपत्र ।

          ३९.  ०३६ साल पौष २३ गते म बेलौरा थानाबाट गुलरीया आफ्नो दरबन्दी भएको चौकीमा पुग्दा चुन्कनको घरमा बोलाएको हुँदा गएको त्यहाँ पहाडी र थारूहरू पनि थिए रक्सी पान गरिसकेपछि हामी लोकदत्त, मास्टर बासुदेव प्रहरी पदमबहादुर, फ्नो घर डेरामा जान हिँड्यौ । परदेशी र चुन्कनको जग्गा विषयमा भनाभन भएको हुँदा प्रतिवादीहरूले परदेशीको ज्यान मारेर लास दबाएकोमा शंका लाग्छ भनी कामी र दुर्गाप्रसादलाई नचिनेको हुँदा थिए वा थिएनन् भन्न सक्दिन भन्ने व्यहोराको प्र.ह.गणेशबहादुर रानाले मिति ०३६।७।२६।५मा अदालतमागरेको बकपत्र ।

          ४०.  चुन्कनको घरमा चुन्कनको कमैया र मानसिंहको आमाको करणी सम्बन्धी कुराको छलफल भई मेलमिलाप भएपछि जाँड रक्सीको अवस्था भएको हुँदा परदेशी पनि रक्सी खाइरहेको थियो जाँड रक्सी खाई सकेपछि प्र.ह.गणेशबहादुर प्रहरी पदमबहादुर र म समेत त्यहाँबाट निस्की आउँदा चुन्कन र परदेशीको बीचमा जग्गा विषयलाई लिएर भनाबोल हुँदै थियो र त्यसै दिन देखि परदेशी बेपत्ता भई ०३५।९।१२ मा बासुदेवको बारीमा लास भेटाएबाट निजै दुर्गाप्रसाद चुन्कन र धने कामीले कर्तव्य गरी परदेशीलाई मारेकोमा शंका लाग्दछ भन्ने समेत व्यहोराको मिति ०३६ साल कार्तिक महीनामा लोकदत्त भट्टले गरेको बकपत्र ।

          ४१.  ०३४ साल पौष महीनातिर कमान सिंको आमाको र चुन्कन कमैयाको करणी सम्बन्धी मुद्दा मिलाउन कमानसिं परदेशीको घरमा आई खानपिन गरेपछि सो दिन देखि परदेशी घरमा आएन र परदेशीको पत्ता लागेन ०३४ साल गते बार याद छैन म बारीमा मुसा खोज्न लाग्दा २ वटा पैताला देखि कर लागी नजिकै रहेको डोलपुरीया बोलाई खुट्टा कसको हो हेर्न आउनु भनी बोलाएको चुन्कन र परेदशीको भनाभन भएको हुँदा निजहरूले नै कर्तव्य गरी मारेकोमा शंका लाग्छ भन्ने समेत व्यहोराको मिति ०३६।७।३० मा बासुदेव डगौरा थारूले अदालतमा गरेको बकपत्र ।

          ४२.  प्रतिवादी तीनै जनालाई चिनेको छु । परदेशी हरायो भनी २ वर्ष पहिले परदेशीको बाबु कालीचरणले खोजेका थिए २०३५ सालतिर बाबु राम डगौराको बारीमा भेट्टिएको लास हड्डी र कलमलाई मृतकको बाबुले मेरा छोराको लास हो भनी सनाखत गरेकोले कालीचरण मरीसके र परदेशीलाई को कसले मारी लास दबाए थाहा छैन भनी सरजमीनका डिल्लीराज भट्टले मिति ०३७।६।३०।६ मा अदालतमा गरेको बकपत्र ।

          ४३.  ०३४ साल पौष २४ गते म घरैमा थिएँ । सो दिन प्रतिवादी र मर्ने परदेशी कहाँ थिए मलाई थाहा छैन । प्र.चुन्कनको कमैया र चुन्कनको आमाको बीचको झगडा मिलाउन कमानसिंको घरमा जाँदा डोलपुर साध्या डगौरा समेत बसेका थिए । सो झगडा मिली र पक्षबाट जरिवाना गरी रक्सी पनि खाएका थिए तर मैले खाएको थिइनँ मलाई रक्सी खाने भनी बयान गरे मलाई थाहा छैन भन्ने समेत व्यहोराको मिति २०३६ साल कार्तिक ३० गते डोलपुरे डगौरा थारूले अदालतमा गको बकपत्र ।

          ४४.  बारीबाट लास फेला परेको बखत डर लागी मैले लास हेरिन प्रतिवादीहरूलाई म राम्ररी चिन्दछु । निजहरू र परदेशीको बीच रिसइवी भएको मलाई थाहा छैन भन्ने समेत व्यहोराको मिति ०३६ साल कार्तिक ३० गतेमा सरजमीनका साक्षी शेरबहादुर डगौराले अदालतमा गरेको बकपत्र ।

          ४५.  परदेशी हराएको दिन दोवी लुहार धनीराम पनि बेपत्ता भएको भन्ने सुनेकोले परदेशीको मृत्युमा निज उपर शंका लाग्दछ भन्ने समेत व्यहोराको मिति ०३६ साल कार्तिक ३० मा अदालतमा अन्तराम ओझाले गरेको बकपत्र ।

          ४६.  प्रतिवादीहरू र जाहेरवालाको बीच कुनै रिसइवी भएको थाहा छैन जाहेरी अनुसार कोको भई किन मारे मलाई थाहा छैन धने कामी भागेकोले शंका लाग्दछ भन्ने समेत व्यहोराको मिति ०३६।७।३० मा नरबहादुर महराले अदालतमा गरेको बकपत्र ।

          ४७.  धने कामीले आफूले १ वर्ष कमाएको कमाई समेत छोडेर बेपत्ता हुँदा निज माथि शंका लाग्छ भन्नेसमेत व्यहोराको मिति ०३६।७।३०।६ मा पदमबहादुर खड्काले अदालतमा गरेको बकपत्र ।

          ४८.  प्रतिवादी चुन्कन समेतले परदेशीलाई मारी लास दबाएको मलाई थाहा छैन धनी कामीको परदेशीसँग झगडा भएको हुँदा निजैले मारेमा शंका लाग्छ भन्ने समेत व्यहोराको मिति ०३६।७।३० मा जग्गु भन्ने जोगराम डगौराले अदालतमा गरेको बकपत्र ।

          ४९.  परदेशीलाई को कसले मारे थाहा छैन भन्ने समेत व्यहोराको ०३६।७।३० मा मानबहादुर डगौराले अदालतमा गरेको बकपत्र ।

          ५०.  प्रतिवादी चुन्कन दुर्गाप्रसाद र धनी कामी हाम्रो गाउँमा बस्ने बासुदेव समेत भई कर्तव्य गरी मारेकोमा शंका लाग्छ भनी सरजमीनको कालीचरण डगौराले मिति ०३६।७।३० मा अदालतमा गरेको बकपत्र ।

          ५१.  मर्ने परदेशीलाई कसले के परिबन्दबाट मारे मलाई थाहा छैन भन्ने समेत व्यहोराको ०३६।७।३० मा जग्गु डगौराले अदालतमा गरेको बकपत्र ।

          ५२.  पैसाको विवादमा चुन्कन समेतले परदेशीलाई मारेमा शंका लाग्छ भन्ने समेत व्यहोराको मिति ०३६।९।२६।५ मा बासुदेव पनेरूले अदालतमा गरेको बकपत्र ।

          ५३.  धनेकामी बेपत्ता भएकोले यस बाहेक चुन्कन र दुर्गाप्रसाद समेत संलग्न भई परदेशीलाई मारी दबायो कि भन्ने शंका लाग्छ भन्ने समेत व्यहोराको मिति ०३६।९।५ मा महेश्वर बोहराले अदालतमा गरेको बकपत्र ।

          ५४.  परदेशीलाई कसले मारी बेपत्ता गर्‍यो यकीन गर्न सक्दिन भन्ने समेत व्यहोराको मिति ०३६।९।२६।५ मा डिल्लीराम डगौराले अदालतमा गरेको बकपत्र ।

          ५५. पहिले देखिकै रिसइवी हुँदा प्रतिवादीहरूले नै कर्तव्य गरी मारेमा शंका लाग्छ भन्ने समेत व्यहोराको मिति ०३६।९।२५ मा प्रभाकर रावलले अदालतमा गरेको बकपत्र ।

          ५६.  पहिलेकै रिसइवी र रक्सी खाएको बेला कि तँ रहला कि म रहुँला भनी धनी कामीले भन्ने गरेकोले निजले नै मारी दबायो कि भन्ने सालीमान बोहराले अदालतमा गरेको बकपत्र ।

          ५७. अरू माथि शंका छैन धनीकामी माथि शंका लाग्छ भन्ने समेत व्यहोराको मिति ०३६।९।२६।५ मा कृष्ण डगौराले अदालतमा गरेको बकपत्र ।

          ५८.  धनी कामी भागेकोले निज उपर शंका लाग्दछ भन्ने समेत व्यहोराको मिति ०३६।९।२६ मा भगतबहादुरले अदालतमा गरेको बकपत्र ।

          ५९.  प्रतिवादी चुन्कन डगौरा समेत उपर शंका लाग्दैन भन्ने समेत व्यहोराको मिति ०३६।९।२६।५ मा साध्या डगौरा थारूले अदालतमा गरेको बकपत्र ।

          ६०.  यसले मार्‍यो भनी किटान गर्न सक्दिन भन्ने समेत व्यहोराको मिति ०३६।९।२६ मा कमान सिंह डगौराले अदालतमा गरेको बकपत्र ।

          ६१.  धनेकामी भागेकोले निजे नै मारेको भन्ने शंका लाग्छ भन्ने समेत व्यहोराको मिति ०३६।१२।१५।६ मा केशव दत्तले अदालतमा गरेको बकपत्र ।

          ६२.  धनी कामीले आफूले गरेको बाली समेत छाडी भागेकाले निजले नै परदेशीलाई मारमा शंका लाग्छ भन्ने समेत व्यहोराको मिति ०३६।१२।१५ मा रघुनाथ भट्टले अदालतमा गरेको बकपत्र ।

          ६३.  दुर्गाप्रसादले बोलाएर लगेदेखि मेरो लोग्ने घरमा नआएको र निजलाई सोद्धा चुन्कन र धनेकामी समेत भई तेरो लोग्नेलाई मारेका हौ भनेको निजहरूले नै कर्तव्य गरी मारेको ठहर्‍याएको हुँ भन्ने समेत व्यहोराको मर्नेकी श्रीमती अमृती थरूनीले मिति ०३६।१२।१५ मा अदालतमा गरेको बकपत्र ।

          ६४.  केवल शंकाकै आधारमा मात्र प्रतिवादीहरूलाई सर्वस्वसहित जन्मकैद जस्तो जघन्य अपराधको सजाय दिन न्यायोचित नहुने हुँदा र धनी कामीको हकमा ०३९।३।२४।१ मा तामेल भएको ७० दिने म्याद पूर्जिको म्यादभित्र हाजिर नभई गुजारी फरार रहेकाले निजको हकमा अ.बं.१९० नं. बमोजिम मुलतवी राखी दिने सरजमीनकै मानबहादुर डगौरा समेतका १४ जनाको भनाईबाट दुर्गाप्रसाद चुन्कन निरपराधी हुने प्रष्ट छ तसर्थ प्रतिवेदन झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको मिति ०३७ साल आषाढ २३ गतेका कन्चनपुर जिल्ला अदालतको फैसला ।

          ६५.  उक्त इन्साफमा चित्त बुझेन भन्ने श्री ५ को सरकारतर्फबाट पर्न आएको पुनरावेदन ।

          ६६.  छलफलमा विपक्षीलाई झिकाई आएपछि नियमबमोजिम पेश गर्नु भन्ने सु.प.क्षे.अ.डिभिजन बेञ्चबाट ०३९ साल जेष्ठ २६ गतेमा भएको आदेश ।

          ६७.  प्रतिवादी धनीकामीको हकमा मुलतबी रहने र अन्य प्रतिवादीका हकमा पर्याप्त आधार बिना प्रतिवादी तुल्याउन मनासिब पर्ने समेत देखिन आएन अतः प्रतिवादीहरूले मिलीमतोबाट कर्तव्य गरी मारी लास दबाएको भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन इन्साफ शुरूको मनासिब हुँदा सदर हुनेठहर्छ भनी सु.प.क्षे.अ.बाट मिति ०३९।५।१४।२ मा भएको फैसला ।

          ६८.  उक्त फैसलामा चित्त बुझेन भन्ने समेतको श्री ५ को सरकारतर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको ।

          ६९.  नियमबमोजिम पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावदेक श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले प्रतिवादी चुन्कन डगौरा समेतलाई सफाई दिएको इन्साफ नमिलेको हुनाले प्रहरी प्रतिवेदन माग अनुसार सजाय हुनुपर्छ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।

          ७०.  प्रस्तुत मुद्दामा सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब बेमनासिब या के रहेछ निर्णय दिनुपरेको छ ।

          ७१.  यसमा ०३४ साल पौष २४ गतेको बिहान कन्चनपुर गाउँ बस्ने चौकीदार दुर्गाप्रसाद डगौरा थारू समेत घरमा आई मेरो लोग्ने परदेशी डगौरा थारूलाई कमानसिं थारूको आमाको बेइज्जती झगडा मिलाउनलाई छलफल गर्न बोलाई लगी चुन्कन, दुर्गाप्रसाद, धनीराम कामी समेतका ३ जना भई लोग्ने परदेशीलाई कुटीपिटी मारी लास कहाँ दबाएछन् माघ २६ गते दुर्गाप्रसादको घरमा जाँदा यो शत्रुलाई हामीले मार्नुपर्‍यो भनी भनेकोले दुर्गाप्रसाद चुन्कन, धनीराम कामीलाई पक्राउ गरी मेरो लोग्ने परदेशीको लास दबाएछन् । खुलाउनलाई मौका तहकीकात गरी सजाय गरिपाउँ भन्ने समेत अमृती थारूनीको मिति ०३४।१०।२० को जाहेरी दर्खास्त रहेछ ।

          ७२.  उक्त जाहेरी दर्खास्तमा अमृती थारूनीले ०३४।१०।२० मा शुरू जाहेरी गर्दा परदेशीलाई ३ जनाले कुटिपिटी लास दबाएको भनी लेखेको छ । ०३५।९।११ मा निजै अमृतीको कागज हेर्दा चुन्कन, दुर्गाप्रसाद, धनीकामीका अतिरिक्त माष्टर बासुदेव, कामी लोकदत्त समेतको परदेशीलाई मार्नमा हात हुनुपर्छ र यसबाट पनि शुरू जाहेरी लेख्दा अमृताले कुनै आधारहरू तथ्य अनुरूप लेखाएको नभई शंकाको आधार बनाई लेखाएको प्रष्ट देखिन्छ ।

          ७३.  गणेशबहादुरले प्रहरी समक्ष बयान गर्दा परदेशी, महेश्वर, चुन्कनका घरमा नै छँदा म समेत ४ जना उठी सकेको र चुन्कनसँग जग्गा विषयमा झगडा हुन लागेको थियो भन्ने छ लोकदत्तले जग्गा विषयमा झगडा हुँदा गणेशले चुप लाग् भनी हप्काएको तर बासुदेव पनेरूको बयानबाट एकदमै भिन्नता देखिन्छ । जग्गु डगौराको भनाइबाट मर्नेको कसैसँग पनि ज्यानै लिने सम्मको रिसइवी थिएन । धनीराम कामीसँग केही रिस थियो सम्म भनेको छ, डिल्लिराज झा, अन्तराम ओझा, महेश्वर बोहरा, समेतले धनीकामी उपर मात्र शंका देखाएको छन् तर प्रतिवादी चुन्कन डगौरा समेतले मारेको हो भन्न सकेको छैन ।

          ७४.  सरजमीनका व्यक्ति जोगीराम डगौरा थारूले म घरमा नहुँदा परदेशी डगौरा पुष महीना देखि घरमा छैन । परदेशीलाई कुनै कसैले कर्तव्य गरी मारे मराएको वा अरू केही गरी बेपत्ता गर्‍यो वा के भयो सो कुरा केही थाहा छैन । चुन्कन, दुर्गाप्रसादले धनीकामी समेत भई मार्‍यो भनी मैले आफैं नदेखेको हुँदा थाहा छैन अरूहरू पाएसम्म राम्रै चालचलनको मानिस हुन् निजहरूले मारेको होला भन्ने शंका समेत छैन, परदेशी कहाँ छ, मरेको भए कसरी मर्‍यो थाहा छैन अरू कुनै कसैले मारेको होला म भन्न पनि सक्दिन भन्ने समेत लेखिएको पाइन्छ ।

          ७५. परदेशीको लास दबाएको मारे मराएको होइन भनी प्रतिवादी चुन्कन डगौरा समेतले प्रहरी र अदालत समक्ष इन्कारी बयान समेत गरेको देखिन्छ ।

          ७६.  चस्मदिद गवाह तथा अधिकांश सरजमीनका व्यक्तिहरूले प्रतिवादी चुन्कन डगौरा थारू समेतले मारेको हो भनी देखाउन सकेको छैन यस्तो अवस्थामा शुरू जिल्ला अदालतले प्रतिवादी चुन्कन डगौरा, दुर्गाप्रसाद डगौरा, धनिराम कामीहरूलाई सफाई दिने ठहर्‍याएकोलाई सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले सदर गरेको इन्साफ मनासिब छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । नियमबमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु । 

 

न्या. हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४१ साल जेष्ठ २५ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु