निर्णय नं. १९८४ - ज्यान

निर्णय नं. १९८४ ने.का.प. २०४१ अङ्क ४
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३९ सालको फौ.पु.नं. ३३३
मुद्दा : ज्यान
वादी/पुनरावेदक : गोविन्दबहादुर सार्कीको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
विपक्षी/प्रतिवादी : जि. झापा गौरादह गा.पं. वार्ड नं. ३ बस्ने तुलबहादुर सार्की
फैसला भएको मिति : २०४१।३।१६।६ मा
§ भात पका भन्दा नमानेकीले तत्काल उठेको रिस थाम्न नसकी मुड्कीले निजको मुख तथा छातीमा हिर्काउँदा मरेकी हो भनेको देखिँदा यस्तो अवस्थामा प्रहरी प्रतिवेदन दावी अनुसार प्रतिवादीलाई सजाय गर्नु न्यायोचित नदेखिने ।
(प्रकरण नं. १९)
पुनरावेदक तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री ध्रुवलालराज
विपक्षी : x
उल्लेखित मुद्दा : x
फैसला
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : पू.क्षे.अ.को फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट यस अदालत समक्ष पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यस प्रकारको रहेछ ।
२. ०३८।५।१८ गते रत्नबहादुर श्रेष्ठको पाटा धुने काममा गई सोही दिन त्यहीं बसी भोलिपल्ट घर आउँदा आमा मङ्गलीलाई बाबु तुलबहादुरले कुटपिट गरी मारेको लास सिकुवामा लडाई राखेको, बाबु रोइरहेको हुँदा गाउँ छिमेकी र प्रहरी समेत खबर गरी सोधपुछ गर्दा १२।१ बजेको समयमा बाबुले रक्सी खाई कुटपिट गर्दा आमाको मृत्यु भएको हो भनी सावित भएकोले कानूनबमोजिम गरिपाउँ भन्ने समेत गोविन्दबहादुर सार्कीको जाहेरी दर्खास्त ।
३. ०३८।५।२० को घटनास्थलको प्रकृति मुचुल्का । आर्थिक अवस्था कमजोर भई घरमा खाना नभएकोले राति १०।११ बजेको समयमा चामल किनी घरमा जाँदा स्वास्नी छोराछोरी सबै सुती सकेका रहेछन्, श्रीमती मङ्गलीलाई उठाई भात पका भन्दा रिसाएर पकाउँदिन भनिन्, मलाई रिस उठी मङ्गलीलाई छातीमा र मुखमा मुड्कीले हिर्काउँदा मृत्यु भयो । म बाहेक अरू कसैको सहमत छैन । श्रीमतीलाई कुटपिट गरी मार्ने कुनै रिसइवी थिएन, रिस थाम्न नसकी हिर्काउँदा मृत्यु भएको हो भन्ने समेत व्यहोराको तुलबहादुर सार्कीले ०३८।५।२१ मा प्रहरी समक्ष गरेको बयान ।
४. ०३८।५।१८ गते रात घरमा आमा र म मात्र थिएँ रातमा मादक पदार्थ खाई बाबु घरमा आई तँलाई मार्छु भन्दै गाली गर्दै आमालाई कुटपिट गरी मारेछन्, भोलिपल्ट थाहा भयो भन्ने समेत मर्नेकी छोरी मुन्टी सार्कीनीले प्रहरीमा गरेको बयान ।
५. तुलबहादुरले मर्ने मङ्गलीलाई कुटपिट गरी मारेको हो भन्ने समेत व्यहोराको गोविन्दबहादुर समेतको ०३८।५।३१।४ गतेको सरजमीन मुचुल्का ।
६. तुलबहादुरले श्रीमतीलाई तत्काल उठेको रिस थाम्न नसकी मुड्कीले हानेको र घाँँटी समेत थिची ज्यान मर्न गएको देखिँदा तुलबहादुर उपर ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय होस् भन्ने समेत व्यहोरा भएको प्रहरी प्रतिवेदन ।
७. घरमा भात खाने चामल नभएकोले चामल किनी घर आउँदा रातको १०।११ बजेको समयमा स्वास्नी र छोराछोरीहरू सबै सुती सकेका रहेछन् । भात पकाउ भन्दा रिसाएकीले मलाई रिस उठी थाम्न नसकी छाती र मुखमा समेत मुड्की र घुस्सी समेतले हिर्काउँदा मरिन् यसमा कसैको सल्लाह सहमत छैन भन्ने समेत व्यहोराको तुलबहादुर सार्कीको ०३८।६।३ मा अदालतमा गरेको बयान ।
८. प्रतिवादीले ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजाय पाउने ठहर्छ भन्ने समेत व्यहोराको झापा जिल्ला अदालतको ०३८।१०।२६ गतेको फैसला ।
९. शुरू झापा जि. अ.को फैसला कानूनी त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी प्रहरी प्रतिवेदन दावी बमोजिम सजाय गरिपाउँ भन्ने समेत व्यहोराको पू.क्षे.स.अ.का धनकुटाको ०३९।१।२४ गते पू.क्षे.अ.मा परेको पुनरावेदन रहेछ ।
१०. प्र.तुलबहादुरलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम कसूरदार ठहर्याई सजाय गर्ने गरेको झापा जिल्ला अदालतको फैसला मनासिब ठहर्छ वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत व्यहोराको पू.क्षे.अ.को ०३९।५।१४ गतेको फैसला ।
११. प्रहरी प्रतिवेदन दावी बमोजिम ज्या.स.को १३(३) अनुसार सजाय गर्नुपर्नेमा ज्या.स.१४ नं. बमोजिमको सजाय गर्ने गरेको शुरू झापा जि. अ.को फैसला सदर गरी गरेको पू.क्षे.अ.को फैसला त्रुटिपूर्ण भएको हुँदा प्रतिवादीलाई शुरू प्रहरी प्रतिवेदन दावी बमोजिम सजाय हुन यो पुनरावेदन गरिएको छ भन्ने समेत वादी श्री ५ को सरकारतर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन ।
१२. पुनरावेदनतर्फबाट खटिई उपस्थित हुनुभएको विद्वान सरकारी अधिवक्ता श्री ध्रुवलालराजले प्र.तुलबहादुर आफ्नो स्वास्नीलाई कर्तव्य गरी मारेकोमा अदालत समेतमा सावित भएको लास प्रकृति मुचुल्काबाट प्रशस्त चोटपटक देखिएको पोष्टमार्टम रिपोर्टबाट घाँटी च्यापी स्वास क्रिया बन्द हुन गई मृत्यु भएको भन्ने देखिएको हुँदा आफ्नो श्रीमती मङ्गलीलाई मार्ने नै नियतले प्रशस्त कुटपिट गरी घाँटी थिची मारेको हुँदा ज्यानसम्बन्धीको १४ नं. को प्रयोग गरी सजाय गरेको फैसला मिलेको नहुँदा उक्त फैसला बदर गरी प्रहरी प्रतिवेदन दावी बमोजिम सजाय गरिपाउँ भन्ने समेत बहस समेत सुनियो ।
१३. क्षेत्रीय अदालतको फैसला मनासिब बेमनासिब के रहेछ ? सोको निर्णय दिनुपरेको छ ।
१४. निर्णयतर्फ विचार गर्दा यसमा भनेको बेला स्वास्नीले भात नपकाई दिइएकीले रिस उठी तत्काल उठेको रिस थाम्न नसकी मुड्कीले मुख तथा छातीमा हिर्काउँदा मरेकी हो भनी प्रतिवादी अदालतमा समेत सावित भएकोले ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजाय हुने ठहर्छ भन्ने शुरू झापा जिल्ला अदालतको फैसला सदर गरेको पू.क्षे.अ.को फैसला मिलेको छैन भन्ने समेत पुनरावेदन जिकिर देखिन्छ ।
१५. मृतक मङ्गली सर्किनीलाई निजका लोग्नेले कर्तव्य गरी मारेको कुरा विवादरहित देखिन्छ ।
१६. घरमा खाने कुरा नभएकोले राति १०।११ बजेतिर चामल ल्याई भात पका भन्दा स्वास्नीले नमानेकीले तत्काल उठेको रिस थाम्न नसकी स्वास्नी मङ्गलीलाई मुड्कीले मुखमा र छातीमा हिर्काउँदा मरेको हो मार्ने पूर्व रिसइवी मनसाय थिएन भनी र प्र.तुलबहादुर सार्कीले प्रहरी तथा अदालत समक्ष हुबहु एकै मिलानको बयान गरेको देखिन्छ ।
१७. मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं. मा ज्यान मार्ने मनसाय ज्यान लिनु पर्ने रिसइवी नभएको र लुकी चोरी हानेको पनि नभई उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी साधारण लाठा ढुङ्गा लात मुक्का इत्यादिले हानेको चोट पिरले ऐनका म्यादभित्र ज्यान मरेमा १० वर्ष कैद गर्नुपर्छ भन्ने व्यवस्था देखिन्छ ।
१८. प्रस्तुत मुद्दामा सम्पूर्ण मिसिल अध्ययनबाट प्रतिवादी तुलबहादुरले निजकी स्वास्नीलाई मार्नु पर्ने रिसइवी तथा मनसाय भएको ज्यान मारी हाल्नु पर्ने कारण भएको भन्ने कुनै प्रमाण देखिँदैन र साथै प्रतिवादीले मृतकलाई कुनै जोखमी हतियारले हिर्काएको र विष आदि खुवाई मारेको भन्ने पनि खुल्दैन ।
१९. प्र.तुलबहादुरको अदालत समेतमा भएको बयान समेतबाट स्वास्नीलाई भात पका भन्दा नमानेकीले तत्काल उठेको रिस थाम्न नसकी मुड्कीले निजको मुख तथा छातीमा हिर्काउँदा मरेकी हो भनेको देखिँदा यस्तो अवस्थामा प्रहरी प्रतिवेदन दावी अनुसार प्रतिवादीलाई सजाय गर्नु न्यायोचित देखिंँदैन । तसर्थ संकलित प्रमाणहरूको आधारमा मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं. बमोजिम प्रतिवादी तुलबहादुर सार्कीलाई कैद वर्ष १० गर्ने गरेको शुरू झापा जि. अ.को फैसलालाई सदर गरेको पू.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । प्रहरी प्रतिवेदन दावी अनुसार सजाय हुनु पर्ने भन्ने पुनरावेदन तथा बहस जिकिर समेत पुग्न सक्दैन । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४१ साल आषाढ १६ गते रोज ६ शुभम् ।