निर्णय नं. १९९३ - उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

निर्णय नं. १९९३ ने.का.प. २०४१ अङ्क ५
डिभिजन बेञ्च
इजलाश
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०३९ सालको रिट नं. १८०६
विषय : उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
निवेदक : जि. सप्तरी लोनिया गा.पं. वडा नं. ९ मौजे लोनिया बस्ने फनिकलाल पासवान
विरूद्ध
विपक्षी : ऐ ऐ गा.पं. वडा नं. ५ बस्ने ननुलाल मण्डल धानुक
भूमि सुधार कार्यालय सप्तरीका भूमि सुधार अधिकारी
आदेश भएको मिति : २०४१।५।२९।६ मा
§ कबुलियत गरेको कुरा जग्गाधनीले इन्कार गर्दैमा सो इन्कारीकै भरमा निवेदकले जग्गा जोतेको छैन भनी निष्कर्षमा पुग्न मिल्ने देखिँदैन ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह
विपक्षी तर्फबाट : विद्वान स.अ. श्री वलिराम कुमार र विद्वान अधिवक्ता श्री कृष्णलाल देव
उल्लेखित मुद्दा : x
आदेश
प्र.न्या. नयनबहादुर खत्री : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न बमोजिम छ ।
२. विपक्षी ननुलालको नाउँ दर्ताको जि. सप्तरी लोनिया गा.पं. वडा नं. ७ को कि.नं. १८९ को ज.बि.०–११–३ मलाई २०३७ सालको बाली देखि ०३७।१।२ गते कबूलियत गरी मोहीको हैसियतले कमाउन दिएको र सो अनुसार मैले मोही भई कमाई कूतबाली ०३७।९।११ मा विपक्षीलाई बुझाई सोको भर्पाई गरी दिएकोमा उक्त जग्गाको मोहियानी कायम गरी प्रमाणपत्र पाउँ भन्ने मैले भूमिसुधार कार्यालय सप्तरीमा उजूर गरेको थिएँ । विपक्षी ननुलाल मण्डल धानुकले उक्त जग्गा निजले जोतेको होइन मैले आफैं जोती आएको छु । कबूलियत र भर्पाई मैले गरी दिएको होइन । कबूलियत र भर्पाई दुवै पक्षको मञ्जूरीले हुने कुरा हो भन्ने प्रतिवाद भएकोमा जि. का.भूमिसुधार शाखा सप्तरीबाट कबूलियत गरी दिएकै वर्ष दिन भित्र इन्कार गर्नुपर्ने उपयुक्तकारण नदेखिँदा मोही कायम गर्न नमिल्ने भनी मिति ०३९।३।२४ मा निर्णय भएको रहेछ ।
३. उक्त पर्चा गर्दा कबूलियत र भर्पाई तर्फ अ.बं.७८ नं. बमोजिम बाध्यात्मक रूपमा पालन गर्नुपर्ने प्रकृया पूरा गरिएको छैन । भूमिसम्बन्धी ऐनको दफा २५(२) बमोजिम अर्काको जग्गा १ वर्षे बाली सम्म कसैले मोहीको हैसियतले कमाएकोमा मोहीको हक प्राप्त गर्ने कुरा निर्विवाद छ । २०३७ सालको बर्षेबाली मोहीको हैसियतले कमाएको कुरा मैले पेश गरेको कबूलियत र भर्पाईबाट प्रष्ट हुनआएको छ विपक्षीले म सँग कबुलियत गरी गराई एकप्रति कबूलियत गा.पं.मा समेत दाखिल गरी जग्गा मोहियानीमा कमाउन दिएको र मैले पनि विपक्षीलाई बाली बुझाई भर्पाई लिएको अवस्थामा विपक्षको लिखितको अगाडि मौखिक भनाई प्रतिवादको भरमा मोही कायम गर्न नमिल्ने भनी गरेको निर्णय त्रुटिपूर्ण छ । यस्तो निर्णयबाट उपरोक्त कानूनी हकको अलावा संविधानको धारा १०(१), ११(२)(ङ) र १५ द्वारा प्रदत्त मौलिक हकको हनन् हुन गएकोले संविधानको धारा १६।७१ बमोजिम उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी ०३९।३।२४ को भू.सु.शाखा सप्तरीको निर्णय बदर गरिपाउँ भन्ने निवेदन जिकिर ।
४. विपक्षीहरूबाट लिखितजवाफ आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत सिङ्गलबेञ्चको आदेश ।
५. कबुलियत र भर्पाई अ.बं.७८ नं. बमोजिम सुनाइएन भन्ने तर्फ कबूलियत र भर्पाई मैले गरी दिएको होइन भन्ने मेरो प्रतिवाद भएकै छ । कबूलियत भर्पाई दुवै पक्षको राजीखुशीबाट हुने हुँदा मैले गरी दिएकोमा इन्कार गर्ने प्रश्नै उठ्दैन । निवेदकले ०३८।५।१२ मा भू.सु.कार्यालय सप्तरीमा निवेदन दिँदा १ प्रति कबूलियत पञ्चायतमा पेश गरेको भन्ने उल्लेख गरेकोमा अ.बं.७७ नं. बमोजिम लिखत प्रमाण दिन नसकेबाट कबूलियत र भर्पाई कीर्ते गरेको कुरा स्वतः सिद्ध छ । यसतर्फ निवेदक समेत उपर सप्तरी जिल्ला अदालतमा ०४० सालमा कीर्ते मुद्दा दायर गरेको छु । यसतर्फ अदालतमा मुद्दा दायर भइसकेकोले सद्दे कीर्तेमा सुनाउन पर्ने आवश्यक छैन ।
६. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(२) बमोजिम रीतपूर्वकको कबूलियत र भर्पाई कीर्ते गराएकोले मोही कायम हुने प्रश्नै आउँदैन । ०३७।१।२ मा कबूलियत भएको र ०३८।३।५ मा गा.पं.मा दाखिला भएको भन्ने निवेदन जिकिर छ तर मौकामा पञ्चायतमा दाखिला भएको देखिँदैन । यस्तो अवस्थामा भू.सु.ऐन, २०२१ को दफा ३४(१) र (२) बमोजिम भू.सु.अधिकारीले मिति ०३९।३।२४ मा गरेको निर्णयको त्रुटि भएको नदेखिएको र अनुचित विलम्व गरी यो रिट निवेदन परेको देखिएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत ननुलाल मण्डल धानुकको लिखितजवाफ ।
७. पेश भएको कबूलियत तथा भर्पाई वादीलाई प्रतिवादीले सकार नगरेको र वादीको सो जग्गामा भोग चलन समेत नभएको जग्गा जग्गाधनीकै तर्फबाट आवाद भएको देखिएकोले यस्तो अवस्थामा मोही कायम गरी मोहियानी हकको प्रमाणपत्र दिन नमिल्ने भएकोले यस कार्यालयको मिति ०३९।३।२४ को निर्णय कानून संगत हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भूमिसुधार शाखा सप्तरीको लिखितजवाफ ।
८. नियमबमोजिम पेश हुनआएको प्रस्तुत रिट निवेदनमा निवेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह, विपक्षी भूमिसुधार कार्यालय सप्तरीको तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री बलिरामकुमार तथा विपक्षी ननुलाल मण्डल धानुकको तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णलाल देव समेतको बहस सुनियो ।
९. यसमा निर्णयतर्फ हेर्दा भूमिसुधार कार्यालय सप्तरीको ०३९।३।२४ को निर्णयमा मिति ०३७।१।२ गते कबूलियत गरी दिने व्यक्तिले नै कबूलियत अस्वीकार गरी जग्गाधनीले प्रतिउत्तर दिएको देखिँदा कबूलियत गरी दिएको वर्ष दिनभित्र इन्कार गर्नुपर्ने उपयुक्त कारण नदेखिँदा र जमीन समेत प्रतिवादीले नै जोतेको बुझिएकोले मोही कायम गर्न नमिल्ने भन्ने समेत उल्लेख भएको पाइन्छ ।
१०. भूमिसुधार कार्यालयको उपयुक्त तर्कहरूको आधारमा गरिएको निर्णय कानून अनुरूप छ छैन भन्ने तर्फ हेर्दा निवेदकले जग्गाधनीले गरी दिएको भनी लिखित कबूलियत पेश गरेको स्थितिमा सो कबूलियतको न्यायिक मूल्याङ्कन गरी निष्कर्षमा पुग्न पर्ने हुन्छ निवेदकले मोही कायम गरिपाउँ भन्ने निवेदन साथ जग्गाधनीले गरी दिएको कबूलियतको नक्कल पेश गरेको प्राप्त मिसिलबाट देखिन्छ । उक्त कबूलियत अ.बं.७८ नं. बमोजिमको प्रकृया अपनाई जग्गाधनीलाई सुनाइएको पाइएन । कबूलियत गरेको कुरा जग्गाधनीले इन्कार गर्दैमा सो इन्कारकै भरमा निवेदकले जग्गा जोतेको छैन भनी निष्कर्षमा पुग्न मिल्ने देखिँदैन । जग्गा समेत प्रतिवादीले नै जोतेको बुझिएको भन्ने पनि भुमिसुधार कार्यालयको निर्णयमा उल्लेख भएको छ । तर सो कुराको आधार प्रमाण केही खुलाइएको पाइँदैन । न्यायिक निर्णय गर्नुपर्ने निकायले आफ्नो निर्णयमा तर्कसंगत आधार दिएको र ती आधारहरूको पुष्टी सबूद प्रमाणबाट भएको हुनुपर्छ । भूमिसुधार कार्यालयको निर्णयमा सो केही भएको पाइएन ।
११. अतः उपयुक्त कारणहरूबाट भुमिसुधार कार्यालयको ०३९।३।२४ को निर्णय त्रुटिपूर्ण देखिँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । जो बुझ्नु पर्ने बुझी कानूनबमोजिम पुनः निर्णय गर्नु भनी परमादेशको आदेश समेत जारी हुने ठहर्छ । यो आदेशको एकप्रति प्रतिलिपि विपक्षी कहाँ पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या. हरिहरलाल राजभण्डारी
इति सम्वत् २०४१ साल भाद्र २९ गते रोज ६ शुभम् ।