निर्णय नं. १९९४ - ज्यान

निर्णय नं. १९९४ ने.का.प. २०४१ अङ्क ५
डिभिजन बेञ्च
इजलाश
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०४० सालको फौ.पु.नं. ३६१
मुद्दा : ज्यान
पुनरावेदक/वादी : रामशंकर कुर्मीको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
विपक्षी/प्रतिवादी : जि. बाँके फत्तेपुर गा.पं. वा.नं. ६ बस्ने जोद्धि भन्ने अयोध्याप्रसाद कुर्मीसमेत
फैसला भएको मिति : २०४१।५।३१।१ मा
§ घाउ जाँच फाराममा घाउ चोटको उल्लेख भई धार नभएको चिज सम्भवत लाठीले हानिएको भन्ने समेत उल्लेख भएको देखिएबाट समेत प्रहरीमा भएको निजको साविती बयान समेत स्वेच्छाबाट भएको भन्ने स्थिति रहेन ।
(प्रकरण नं. १८)
पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
विपक्षी, प्रतिवादी तर्फबाट : x
उल्लेखित मुद्दा : x
फैसला
प्र.न्या. नयनबहादुर खत्री : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर श्री ५ को सरकारको पुनरावेदन परी पेश हुनआएको मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. २०३८ साल बैशाख १८ गते मेरो भतिजा खाना खाई खरिहान कुर्न गएको भोलिपल्ट मेरो दाजु खरिहानमा गई भतिजा आज्ञारामलाई बोलाउँदा नबोलेकोले गई हेर्दा आज्ञारामको टाउकोबाट खुन निस्केकोले राम्ररी हेर्दा मरी सकेको रहेछ उक्त कुरा प्रधानपञ्चलाई भनेकोले प्रधानपञ्चले प्रहरी चौकीमा मौखिक जाहेरी दिएका हुन्, मर्ने आज्ञारामको गाउँकै खेदू नाउँको स्वास्नी मानिससँग अवैध सम्बन्ध भएकोले जोद्धी कुर्मीसँग झगडा भएको थियो र आशाराम राढसँग पनि झै झगडा भएको थियो सोही रिसइवीले जोद्धीको सम्धी विरक्ष कुर्मी, जोद्धी कुर्मी आशाराम राढ समेत सबैजना मिली भतिजा आज्ञाराम कुर्मीलाई मारेकोले निजहरूलाई पक्राउ गरी सजाय गरिपाउँ भन्ने रामशंकर कुर्मीको जाहेरी दर्खास्त ।
३. देउपुर गाउँको उत्तर आँपको वगियामा खरिहान भएको, खरिहान कुर्न राखेको खाटमा पूर्व गोडा पश्चिम सिरान भएको मृतकले नीलो रङको कमीज र सेता धोती लगाएको लाशको गोढा दुवै कुनै सारो चीजले थिचेको गोडामा चोट लागि खुन निस्केको छाती मुनी दाहिनेतर्फ केही चीजले थिची नीलडाम भएको टाउकोको दाहिने पट्टि कन्चटमा तिखो हतियारले रोपेको घाउबाट खुन निस्केको मुखको दाहिने पट्टिबाट खुन निस्केको भन्ने समेत लाश प्रकृति मुचुल्का ।
४. मर्ने आज्ञाराम कुर्मीलाई चिन्दछु निजसँग मेरो कुनै रिसइवी छैन ०३८ साल बैशाख १८ गतेको राति खरिहान कुर्न गएकोले खरिहानमा नै छु राति बिरक्षी कुर्मीले आई मलाई जगाई मर्ने आज्ञारामको खरिहानमा लगी मलाई मानिस हेर्न लगाई निज बिरक्षी र जोद्धी कुर्मी लाठी फर्सा लिई आज्ञारामको छाती घाँटीमा दबाए अरू को कसले के गरे थाहा छैन भन्ने समेत प्र.आशाराम राढले प्रहरीमा गरेको बयान कागज ।
५. ०३८।१।१८ गतेका राति बिरक्ष, मुन्सी, बल्गर मायाराम समेत आई मलाई जगाई आज्ञारामलाई मार्न जाउँ भनी मलाई समेत लिई आशारामको खरिहानमा गई निजलाई साथै लाग्यौं मैले लाठी लगेको थिएँ मृतक सुती निदाएको अवस्था मेरो हातको लाठी बिरक्षले लिई मृतकको घाँटी, छातीमा च्यापी मैले पनि बलपूर्वक लाठी दबाएँ त्यसैले आवाज निस्कन सकेन बलगरले टाउकोमा र हातमा समेत हानेर मारी छाडी दिएका हौं भन्ने समेत प्र.जोद्धी भन्ने अयोध्या कुर्मीले प्रहरीमा गरेको बयान कागज ।
६. ०३८।१।१८ गते आज्ञाराम कुर्मी खरिहानमा कुर्न गएको सोही रात निजलाई कर्तव्य गरी मारेको भन्ने कुरा सुनी त्यहाँ गई हेर्दा लास प्रकृति मुचुल्कामा लेखिए बमोजिम देखेको हो मर्ने आज्ञाराम र जोद्धी कुर्मी समेतको खेदु नाउँको स्वास्नी मानिससँग अनैतिक सम्बन्ध भएको कुरा एक अर्कालाई थाहा भएकोले दुश्मनी थियो सोही कारणले जाहेरीमा लेखिए बमोजिम प्र.हरूको मिलोमतोबाट आज्ञारामलाई कर्तव्य गरी मारेमा विश्वास लाग्छ भन्ने समेत सरजमीन मुचुल्का ।
७. आशाराम राढले आज्ञाराम कुर्मीलाई मार्नमा मतलबमा पसी मृतकको शरीरमा छोएको सम्म नदेखिँदा ज्यान सम्बन्धीको १७(१) को अपराध गरेको हुँदा निजलाई सोही बमोजिम सजाय गरिपाउँ र जोद्धी भन्ने अयोध्या कुर्मी, बिरक्ष कुर्मी, मुन्यी कुर्मी, बलगर कुर्मी, मायाराम कुर्मी समेतले मिलोमतो गरी आज्ञाराम कुर्मीलाई थिची दबाई चक्कूले प्रहार गरी कर्तव्य गरी मारेको सिद्ध हुनआएको सरहदिया फेला परेको जोद्धी भन्ने अयोध्या कुर्मीलाई ज्यानसम्बन्धी १३(१) बमोजिम सजाय गरिपाउँ अन्य प्र.हरू भारतीय हुँदा सरहदमा फेला परेका बखत सजायको माग गरी पेश गरिनेछ भन्ने प्रहरी प्रतिवेदन दावी भएको ।
८. मर्ने आज्ञारामलाई कर्तव्य गरी मारेको होइन कसले मार्यो थाहा छैन आशारामलाई मार्न मैले लाठी लगेको होइन खेदु नाउँको श्रीमतीसँग मैले अनुचित सम्बन्ध राखेको छैन भारत जिल्ला वहराइच ग्राम बनगाइमा मेरो साहु रामर्फस कुर्मी विरामी हुँदा ०३८ साल बैशाख १० गते त्यहाँ गई ऐ १९ गते फर्की घर आएको हुँ प्रहरीमा मलाई कुटपिट गरी डरत्रास देखाई कागज गरएका हुन् भन्ने समेत जोद्धी भन्ने अयोध्या कुर्मीले अदालतमा गरेको बयान ।
९. प्रहरी समक्ष मैले राजीखुशीले कागज गरेको होइन प्रहरीले मलाई कुटपिट गरेकोले डरको मारे सो कागज गरी सहिछाप गरी दिएको हुँ । ०३८ साल बैशाख १८ गतेको दिन रातमा मेरै घरमा थिएँ मैले मर्ने आज्ञारामलाई मार्न मराउनमा सहमति भई सहयोग पुर्याएको होइन अरू प्रतिवादीहरूले मारे मराएको पनि मलाई थाहा छैन । खेदु नाउँको स्वास्नी मानिससँग मेरो कुनै अनुचित सम्बन्ध छैन सरजमीनको मानिसले किन त्यस्तो लेखे मलाई थाहा छैन भन्ने समेत आशाराम राढले अदालतमा गरेको बयान ।
१०. १९८२ अप्रिल ३० तारिखका दिन प्र.अयोध्या कुर्मी दिनरात हाम्रो गाउँका रामफेरनको घरमा थिए मई १ तारेखका दिन आफ्नु घर फर्केका हुन् निज अयोध्या कुर्मीले आज्ञाराम कूर्मीलाई मारेको होइन निज उपरको अभियोग झुठ्ठा हो भन्ने समेत प्र.अयोध्या कुर्मीको साक्षीहरूको बकपत्र ।
११. ०३८ साल बैशाख १८ गते रात ९–१० बजे खाना खाई खरिहान कुर्न भनी आशाराम कुर्मी खरिहानमा गएको सोही रात निजलाई कर्तव्य गरी मारेछन् भोलिपल्ट दाजु गरदीन खरिहानमा गई आज्ञारामलाई बोलाउँदा नबोलेको भित्र सुतेको ठाउँमा गई हेर्दा मृत अवस्थामा परी हात खुट्टाबाट खुन निस्केको देखी हल्ला गरेकोले गई हेर्दा आज्ञारामलाई मृत अवस्थामा देखि भगवानपुर ठानामा खबर गरेको हुँ आज्ञारामलाई बिरक्ष कुर्मी, मुन्सी, बल्गर, अयोध्या, मायाराम कुर्मी समेत भई कर्तव्य गरी मारेका हुन् भन्ने समेत जाहेरवाला रामशंकर कुर्मीले अदालत गरेको बकपत्र ।
१२. प्र.अयोध्या कुर्मीले प्रहरीमा साविती कागज गरे पनि यस अदालतमा बयान गर्दा कसूर गरेमा इन्कार भई प्रहरीले कुटपिट गरी कागज गराएको भनी बयान गरेको र निजको घा जाँच भई आएको केश फारामबाट निजको शरीरमा नील घा परेको देखिन आएकोले निजले प्रहीमा राजीखुशीले बयान गरेको भन्न नमिल्ने र वारदात समयमा निज अयोध्या कुर्मी अन्यत्र रहे भएको भन्ने निजले गरेको, बयानलाई समर्थन गरी निजको साक्षीहरूले बकपत्र गरेको समेतबाट निज अयोध्या कुर्मीले आशारामलाई कर्तव्य गरी मारेको ठहराउन न्यायोचित नपर्ने र मर्ने आज्ञारामलाई मार्नमा प्र.आशाराम राढ मतलबमा पसेको ठोस सबूत प्रमाण गुजार्न नआएकोले प्र.जोद्धी भन्ने अयोध्या कुर्मी र आज्ञा राढ समेतले अभियोगबाट सफाई पाउने ठहर्छ भन्ने बाँके जिल्ला अदालतको २०३८।८।२६ को जाहेरी फैसला ।
१३. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।
१४. वारदात घटेको एक हप्ता पछि गाउँघरको सल्लाहको आधारमा दिएको दर्खास्त शंकास्पद हुने, खेदु नाउँको स्वास्नी मानिससँग यस्तो अवैध सम्बन्ध थियो भन्ने प्रमाणिक रूपमा कुनै ठोस सबूत प्रमाण पेश नभएको लाठी बरामद भएकोमा पनि उक्त लाठी नै उक्त वारदात गर्दाको बखत प्रयोग भएको थियो भन्न पनि नमिल्ने भएबाट सफाई दिने गरेको शुरू जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१५. उक्त फैसला उपर श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन ।
१६. नियमबमोजिम पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदन वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालको बहस समेत सुनियो ।
१७. यसमा निर्णयतर्फ हेर्दा फत्तेहपुर गा.पं.का प्रधानपञ्चको शुरूको जाहेरीमा मृतक आज्ञारामलाई कर्तव्य गरी मार्ने भनी प्र.अयोध्याप्रसाद कुर्मीको नाम उल्लेख हुनसकेको छैन । त्यस्तै वारदात स्थलको ३०।४० गज आसपासमा सुतेका भनेका जयराम अहिर तथा रामदत्त कुर्मी समेतले ०३८।१।१९ मा कागज गर्दा कसले कर्तव्य गरी मार्यो भन्न सक्दैनौ भन्ने उल्लेख गरेको पाइन्छ । त्यसपछि मिति ०३८।१।२४ मा परेको रामशंकर कुर्मीको जाहेरीमा मात्र यो प्रतिवादी जोद्धी भन्ने अयोध्याप्रसाद कुर्मीको नाम उल्लेख भएको पाइन्छ । ०३८।१।१८ को रातमा वारदात भएको भन्ने छ । वारदात अवस्थामा घटनास्थलमा थिए भन्ने जाहेरवालाको जाहेरीमा उल्लेख भएका छैन, र यस अगाडिको पहिलो जाहेरीमा कसैको नाम उल्लेख नभएको तथा घटनास्थलको ३०।४० गज आसपासमा भएका व्यक्तिहरूले समेत प्रतिवादीको नाम उल्लेख गर्न नसकेको स्थितिमा वारदातको करीब एक हप्तापछि गाउँघरमा सल्लाह गरी पत्ता लगाउँदा भनी प्र.अयोध्या समेतको नाम उल्लेख गरी दिएको रामशंकरको जाहेरी शंकास्पद देखिन आउँछ ।
१८. अब खेदु नाउँ गरेकी स्वास्नी मानिससँग यी प्रतिवादी समेतको अनुचित सम्बन्ध भएको र मृतकसँग झगडा परेको भन्ने तथा अयोध्याप्रसादको घरमा भारतीय डाँकाहरू आएको कुराको जानकारी मृतक आशारामले प्रहरीलाई गराएको भन्ने तर्फ हेर्दा सो सम्बन्धमा कुनै किसिमको सबूत प्रमाण गुज्रन सकेको देखिँदैन । प्र.अयोध्याप्रसाद कुर्मीले प्रहरीमा साविती बयान दिए पनि अदालत समक्ष बयान गर्दा मृतकलाई मारेमा इन्कारी बयान गरेको पाइन्छ । प्रहरीमा भएको बयान स्वेच्छाले भएको नभई कुटपिट गरी सावित गराइएको हो भन्ने निजको भनाई छ । प्रतिवादीले गराएको घाउ जाँच फाराममा घाउ चोटको उल्लेख भई धार नभएको चीज संभवतः लाठीले हानिएको भन्ने समेत उल्लेख भएको देखिएबाट समेत प्रहरीमा भएको निजको साविती बयान समेत स्वेच्छाबाट भएको भन्ने स्थिति रहेन । त्यस्तै प्रहरीमा सावित हुने भनिएको प्रतिवादी मध्येको आशाराम राढले अदालतमा इन्कारी बयान गरेको देखिएको समेतबाट वादी दावी प्रमाणित हुनसकेको देखिएन ।
१९. अतः प्र.अयोध्याप्रसाद कुर्मीले मृतक आज्ञारामलाई कर्तव्य गरी मारेको भन्ने शंकारहित तवरबाट प्रमाणित हुन नआएको देखिएको हुँदा सफाई दिने ठहर्याएको शुरू इन्साफ सदर गरेको मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या. पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४१ साल भाद्र ३१ गते रोज १ शुभम् ।