शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९९६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २६ साल: २०४१ महिना: भाद्र अंक:

निर्णय नं. १९९६  ने.का.प. २०४१               अङ्क ५

डिभिजन बेञ्च

इजलाश

माननीय प्रधान न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४० सालको रि.नं. १८६३

विषय : उत्प्रेषण

निवेदक : का.जि. महाकाल गा.पं. वा.नं. ४ बस्ने भैरवबहादुर अधिकारी

विरूद्ध

विपक्षी     : भू.सु.का.काठमाडौं, का.जि. महांकाल गा.पं.५ बस्ने सेती तामाङनी

आदेश भएको मिति :  २०४१।५।१२।३ मा

§  मोही कट्टा भई ज.ध.कै मोही भइसकेको हुँदा एकपटक यस कार्यालयबाट निर्णय भइसकेपछि यही जग्गाको एउटा कारबाही भएकोले अ.बं.८५ नं. ले अर्को निर्णय दिन मिल्ने देखिँदैन । उजूरी तामेलीमा राख्नु भनी भू.सु.का.काठमाडौंले गरेको निर्णयमा कुनै कानूनी त्रुटि भए गरेको नदेखिँदा रिट निवेदनपत्र खारेज हुने ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नूतन थपलिया

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी

उल्लेखित मुद्दा : x

आदेश

          न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी भू.सु.का.काठमाडौंले मिति ०४०।५।१० मा गरेको निर्णय बदर गरिपाउँ भनी रिट निवेदकले यस अदालतमा ०४०।९।२६ मा दर्ता गरेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ ।

          २.   का.जि. पचली भद्रकाली गा.पं. वा.नं. ८ को कि.नं. १२ को जग्गा रो.१० जग्गाको मोहीमा म निवेदकको पिताको नाममा मोहियानी कायम भई मोहियानी हकको प्रमाणपत्र समेत पाई अवच्छिन्न रूपबाट भोग चलन गरी आएको जग्गा हो । पिता लोकबहादुर अधिकारी ०२७ सालमा परलोक भएकोले पिताको नामको मोहियानी कायम भएको जग्गाको मोहियानी नामसारी हक प्रमाणपत्र पाउँ भनी भू.सु.का.काठमाडौंमा निवेदन दिएकोमा कारबाहीको सिलसिलामा फिल्डबुक समेत झिकाउँदा साविक कि.नं. १२ बाट कित्ताकाट भई कि.नं. १५४ र १५५ भएको र कि.नं. १५५ को जग्गा ०१०२ विपक्षी सेती लमिनीको नाममा मोही समेत अर्थात् ०३१।२।३ मा निर्णय भइसकेकोले कारबाही दोहराउन आवश्यक नदेखिएकोले उजूरी तामेलीमा राख्नु पर्ने भनी भू.सु.अ.बाट ०४०।५।१० मा निर्णय भएकोमा म निवेदकको नाममा म्याद जारी नै नगरी मलाई आफ्नो भन्ने मौका समेत नदिई प्राकृतिक न्याय सिद्धान्त विपरीत हुने गरी वेरीतको म्याद सूचना जारी हुँदा म्यादभित्र कसैको उजूरी दावी नपरेको भनी कि.नं. १५५ मा लोकबहादुर देखिएको निज परलोक हुनेका नाउँ कट्टा गरी ज.ध.सेती लमिनीको नाउँमा उक्त कित्ता जग्गाको जोत समेत कायम गर्न श्रेस्ता पूर्जामा जनाउ दिनु भनी भू.सं.ऐन, ०२१ को दफा २६(१) १(क)(ख) र (ग) को विपरीत हुने गरी निर्णय भएको रहेछ । ०३१ सालमा नै निर्णय भइसकेकोले मेरा निवेदनबाट कुनै कारबाही गर्न मिलेन भन्ने निर्णय गरेबाट निवेदन गर्न आएको छु । म निवेदक टि.बी.को रोगी भएकोले तत्कालै आउनु नसकी केही आराम भएपछि निवेदन गरेको छु । मोही लोकबहादुर परलोक भइसकेकोले जोताहाको लगत कट्टा गरी मेरो नाउँमा दर्ता गरिपाउँ भन्ने निवेदन दिएपछि यसमा मोहीको हकदार छ छैन ३० दिने म्याद जारी गरी पेश गर्नु भन्ने आदेश भएको विपरीत सो म्याद नबुझाई घरदैलामा पनि रीतपूर्वक नटाँसी, पञ्चायतमा पनि सो सूचना नटाँसी ३ वर्ष अगावै परलोक भएकोले निजको म्यादको मुचुल्का गरी पठाएको भन्ने व्यहोरासम्म हुँदा अ.बं.११० को कानूनी त्रुटि हुन गएको छ । यसरी अ.बं.११० नं. बमोजिम म्याद तामेल नभएको र पछि मोहीको हकदार छ छैन म्याद जारी गरी पेश गर्नु भन्ने आदेश बमोजिम कुनै कारबाही समेत नगरी प्राकृतिक न्याय सिद्धान्त विपरीत भू.सु.का.काठमाडौंले ०४०।५।१० मा निर्णय गरेकोबाट मेरो मौलिक हक हनन हुन गएको हुँदा उत्प्रेषणको आदेश जारी गरी ०४०।५।१० को निर्णय बदर गरिपाउँ भनी रिट निवेदकले जिकिर लिएको रहेछ ।

          ३.   विपक्षीहरूद्वारा लिखितजवाफ आएपछि पेश गर्नु भन्ने यस अदालत सिं.बे.को ०४०।९।२९।६ को आदेश ।

          ४.   कि.नं. १५५ को जग्गामा ०३१।२।२१ मा यस कार्यालयबाट निर्णय भई मोही कट्टा भई ज.ध.सेती लमिनीकै नाउँमा गइसकेको देखिएको र कि.नं. १५५ बदर भई कि.नं. १७२, १७३ र १७४ कायम भई पुनः कि.नं. १७२ बदर भई कि.नं. १७५ र १७६ कायम भएकोमा साविक कि.नं. १५५ मा नै ज.ध.सेती लमिनीका नाउँमा जोत कायम भइसकेको देखिएकोले त्यही जग्गामा पुनः बाबुको नाउँमा मोही कायम हुन नसक्ने भनी यस कार्यालयबाट गरेको निर्णय कानूनसंगत भएको हुनाले रिट निवेदन खारेज गरिपाउँ भन्ने भू.सु.का.काठमाडौंको लिखितजवाफ रहेछ ।

          ५.   कि.नं. १५५ मध्येबाट कित्ताकाट भई मोही कट्टा भएको विषयमा लिखत घरतर्फ र विपक्षीको उजूर छैन भने अब हुँदै नभएको कि.नं. १५५ मा मोही कायम गरिपाउँ भन्ने निवेदन निरर्थक हुँदा रिट निवेदन खारेज भागी छ भन्ने सेती लमिनीको लिखितजवाफ रहेछ ।

          ६.   नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दाको तारेखमा रहेका रिट निवेदकको वारेस रमेशकुमार के.सी.र विपक्षी सेती लमिनीलाई ३ पटकसम्म पुकार गर्दा बेञ्च समक्ष उपस्थित नभएको र रिट निवेदक तर्फबाट विद्वान अधिवक्ता श्री नूतन थपलिया र विपक्षी तर्फबाट विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारीको बहस जिकिर समेत सुनियो ।

          ७.   प्रस्तुत मुद्दामा रिटनिवेदकको मागबमोजिमको आदेश जारी हुने नहुने के रहेछ ? निर्णय दिनुपरेको छ ।

          ८.   यसमा अ.बं.११० नं. बमोजिम म्याद तामेल नभई प्राकृतिक न्याय सिद्धान्तको विपरीत भू.सु.का.काठमाडौंले ०४०।५।१० मा निर्णय गरेको बदर गरिपाउँ भनी रिट निवेदकले जिकिर लिएकोमा ०३१।२।२१ मा मोही कट्टा भई ज.ध.कै मोही भइसकेको हुँदा एकपटक यस कार्यालयबाट निर्णय भइसकेपछि यही जग्गाको एउटा कारबाही भएकोले अ.बं.८५ नं. ले अर्को निर्णय दिन मिल्ने देखिँदैन उजूरी तामेलीमा राख्नु भनी भू.सु.का. काठमाडौंको अधिकार प्राप्त अधिकारीले गरेको निर्णयमा कुनै कानूनी त्रुटि भए गरेको नदेखिँदा प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ । नियमबमोजिम फाइल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४१ साल भाद्र १२ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु