निर्णय नं. १९९८ - कीर्ते जालसाजी

निर्णय नं. १९९८ ने.का.प. २०४१ अङ्क ५
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०३९ सालको फौ.पु.नं. ४०३
मुद्दा : कीर्ते जालसाजी
पुनरावेदक/प्रतिवादी : जि. सिरहा पिपरा गा.पं. वार्ड नं. ५ हाल गौरीपुर गा.पं. वार्ड नं. ७ बस्ने गोपी यादव
विरूद्ध
विपक्षी/वादी : ऐ ऐ बस्ने जसोविद्य यादवनी
फैसला भएको मिति : २०४१।५।२९।६ मा
§ राजीनामामा लागेको ल्याप्चे र अदालतबाट लिएको नमूना ल्याप्चेको जात फरक देखिँदा कीर्ते ठहर गरेको मनासिब ठहर्ने ।
(प्रकरण नं. १३)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री नारायण वल्लभ
विपक्षी वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह
उल्लेखित मुद्दा : x
फैसला
न्या. बासुदेव शर्मा : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझी प्रतिवादी गोपी यादवको पुनरावेदनको अनुमति पाउँ भनी निवेदन पर्नआएको पुनरावेदनको अनुमति प्रदान भई पेश हुनआएको प्रस्तुत मुद्दाको विवरण यस प्रकार रहेछ :
२. विपक्षी विशेश्वर यादव र परीक्षण यादवले मेरो जग्गा हात पार्ने अभिप्रायले मेरो मरेको पति रामेश्वर यादव कायमै रहेको भनी कीर्ते मानिस खडा गरी पतिका नाउँमा दर्ता रहेको २–११–१४ को लिखित रजिष्ट्रेशन गराई लिएछन् । सो कुरा पछि थाहा पाएपछि पञ्चायत गराउँदा ३–४–१८ जग्गा फिर्ता गरी ०–६–१६ जग्गाका कीर्ते जालसाजीमा कारबाही भइरहेछ । सो पछि ०३५।९।१८ गते परीक्षण यादवले आफ्नो घरमा विन्देश्वर गोपी तनुको राजकुमार समेतलाई राखी ऋणीमा फिरादी धनी गोपी यादव कायम गरी थैली रु.१९,५००। मा गा.पं.पिप्राको २–११–१० जग्गा ०३५।८।२१।४ को मिति पारी लिखत लेखाई झुठ्ठा सहिछाप गराई परीक्षण र भटुक साक्षी भई राजकुमार लेखक साक्षी भई सोही दिन सिराहा मालमा गई जालसाज कीर्तेबाट रजिष्ट्रेशन गराएछन् सो कुरा मौकैमा थाहा भएन पछि विपक्षीहरूले मेरो उक्त जग्गाको धान बाली काटी रहेको थाहापाई रोकका मेरो जग्गाको भनी बाली कटाएको हुँ भनी गाली बेइज्जत गरेको मालपोत कार्यालयमा आई बुझ्दा जालसाजी लिखत सिर्जना गरी मेरो जग्गा हरण गरेको यकीन हुनआएकोले म्यादभित्रै फिराद गरेको छु । विपक्षीहरूलाई कीर्ते कागजको ७, १०, १४, १५ नं. बमोजिम सजाय समेत गराई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. हामी कसैले पनि कीर्ते जालसाजी काम गरेको छैन वादी दावा झुठ्ठा हो वादीले फिरादमा उल्लेख गरेको २–११–१० जग्गाको लिखत समेतका कागजातहरू जालसाज होइनन् सत्य साँचो व्यहोराबाट भएको हो भन्ने समेत व्यहोराको प्र.तनुक, गोपी यादवको संयुक्त र प्र.राजकुमारको छुट्टै प्रतिउत्तर पत्र ।
४. थैली रु.१९,५००। को मिति ०३५।८।११।४ को राजीनामा ०३५।९।१८ गते पारित भएको सक्कल लिखत वादीलाई सुनाउँदा मैले उल्लिखित रुपैयाँ बुझी लिएको कुरा जग्गा समेत बिक्री गरेको होइन त्यस्तो सहिछाप मेरो होइन कीर्ते हो लिखत बदर गरी सजाय गरिपाउँ भन्ने वादी जसोधीयाको बयान ।
५. म समेत भई लिखत जालसाजी गरेको हैन सुपथ मूल्य लिई स्वेच्छाले जग्गाको हक छाडी राजीनामा लिखत रजिष्ट्रेशन पारित गरी दिएको लिखत सद्दे हो भन्ने समेत प्र.गोपी यादवको बयान ।
६. प्र.विशेश्वर यादव, परीक्षण यादव, भटुक यादव र राजकुमार चौधरी समेतका नाउँमा जारी भएको म्यादमा हाजिर नभई गुजारी बकेका रहेछन् ।
७. प्र.राजकुमार कर्णबाहेक अन्य प्रतिवादीहरू गोपी परिक्षण विशेश्वर तनुको भटुक यादव र राजकुमार चौधरी समेत भई थैली रु.१९,५००। को लिखत कीर्ते खडा गरेको ठहर्छ भन्ने समेत ०३७।५।१९ मा शुरू सिरहा जिल्ला अदालतबाट भएको फैसला ।
८. सो फैसला उपर चित्त नबुझी प्र.मध्येका राजकुमार कर्णका हकमा गरिएको फैसला सम्म बदर गरी निजलाई कीर्ते कागजको १४ नं. बमोजिम सजाय गरिपाउँ भन्ने पु.वे.वादी जसोधीया यादवनीको र वादी दावी बमोजिमको कीर्ते जालसाजी कायम गरेको हुँदा अनाहकमा दण्ड जरीवानाको भागी गराउने गरेको सिरहा जि. अ.को फैसला उल्टाई हक इन्साफ गरी वादी दावाबाट फुर्सद गरिपाउँ भन्ने समेत पु.वे.प्र.गोपी यादव र तनुकी यादवको यस अदालतमा पर्न आएको संयुक्त पुनरावेदन पत्र ।
९. राजीनामा मध्येको कारणीको ल्याप्चे र अड्डाबाट लिएको नमूना ल्याप्चेको कागज फरक छ जसोधियाको ल्याप्चे सहिछाप होइन भनी विशेषज्ञको राय प्राप्त भएको देखिँदा कीर्ते ठहर गरेको मिलेकै छ । जब लेखनदासलाई कीर्तेमा सजाय हुनु पर्ने भनी पुनरावेदन जिकिरमा विचार गर्दा व्यवसायी लेखनदास देखेको र जानाजानी कीर्ते व्यक्तिको ल्याप्चे सहिछाप लेखनदासले लगाउन लगाएको भन्न सक्ने देखिएन । यस स्थितिमा निजलाई सफाई दिने गरेको निर्णय मिलकै छ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१०. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नुबझी पुनरावेदनको अनुमति पाउँ भनी पर्न आएको निवेदनमा विशेष अदालतमा उपस्थित भई निजको बयान भएको देखिन नआएको प्रमाण ऐनको दफा ५२ को त्रुटि भएको देखिन आएको हुँदा न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा ५ को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने मिति ०३९।१२।९।४ को यस अदालतको डिभिजन बेञ्चको आदेश रहेछ ।
११. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पक्ष विपक्ष दुवै थरका वारीसहरूलाई बेञ्चबाट बोलाउन लगाउँदा उपस्थित नभएका र पुनरावेदक प्रतिवादी तर्फबाट रहनुभएको विद्वान अधिवक्ता नारायण वल्लभ र विपक्षी वादी तर्फबाट रहनुभएको विद्वान वरिष्ठ अधिवक्ता कुञ्जविहारीप्रसाद सिंहको बहस समेत सुनियो ।
१२. प्रस्तुत मुद्दामा पू.क्षे.अ.को इन्साफ मनासिब बेमनासिब के रहेछ निर्णय दिनु पर्ने हुन आयो ।
१३. यसमा राजीनामामा लागेको कारणीको ल्याप्चे र अदालतबाट लिएको नमूना ल्याप्चेको जात फरक छ जसोधियाको ल्याप्चे सहिछाप होइन भनी विशेषज्ञको राय प्राप्त भएको देखिँदा शुरू जि. अ.ले कीर्ते ठहर गरेको मनासिब ठहर्याई पु..क्षे.अ.बाट निर्णय भएको देखिन्छ प्रतिवादी मध्येका विश्वेश्वर परीक्षण भटुक समेतले म्याद गुजारेको कारण समेतबाट कीर्ते जालसाजी प्रमाण हुनआएकोले जि. अ.को सदर गरेको क्षेत्रीय अदालतको फैसलामा लेखिएको बुँदा प्रमाण समेतबाट क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ तपसीलको कुरामा तपसील बमोजिम गरी मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
तपसील
पुनरावेदक प्रतिवादी गोपी यादवके माथि इन्साफ खण्डमा लेखिए बमोजिम क्षे.अ.को इन्साफ मनासिब ठहरी निर्णय भएको र शुरूले रु.९७५०। जरिवाना गर्ने गरेकोमा दोस्रा पुनरावेदन गरेको वापत अ.बं.२०२ नं. बमोजिम सयकडा ५ ले रु.४८७।५० थप जरिवाना हुन्छ लगत कसी असूल उपर गर्नु भनी शुरू जि. अ.मा लगत दिन का.जि. अ.त मा लगत दिनु.....................१
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४१ साल भाद्र २९ गते रोज ६ शुभम् ।