शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २०१७ - उत्प्रेषण

भाग: २६ साल: २०४१ महिना: भाद्र अंक:

निर्णय नं. २०१७ ने.का.प. २०४१             अङ्क ५

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४० सालको रि.नं. १५१८

विषय : उत्प्रेषण

निवेदक : जिल्ला सप्तरी डाठा गा.पं. वा.नं. ५ बस्ने नन्द किशोरको श्रीमती चुल्लीया यादवनी

ऐ ऐ बस्ने असफिलाल यादव

विरूद्ध

विपक्षी    : भूमिसुधार कार्यालय सप्तरी

ऐ डाँठा गा.पं. वा.नं. ७ बस्ने भालु मोची

आदेश भएको मिति : २०४१।५।१३।४ मा

§  बाली बुझाएको रसिद जग्गावालालाई देखाई सुनाई निजको बयान समेत गराई मात्र प्रमाण लगाउन पर्ने ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट : विद्वान अ.श्री गंगाप्रसाद उप्रेती र विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

उल्लेखित मुद्दा : x

आदेश

          न्या. हरिहरलाल राजभण्डारी : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकार छ :

          २.   म चुल्हिीया यादवनीले श्री केशवजंग थापाबाट र म असर्फिले कृष्णजंग थापाबाट ०२० साल अगावै राजीनामा गरी लिई जोतपोत सहित भोगी आई नापी हुँदा म असर्फिको नामको जग्गा डाठा गा.पं. वा.नं ७ अन्तर्गत कि.नं. २८ को ०४ र कि.नं. २३ मा ०१७ तथा म चुल्हीयाका नामको ऐ वडा कि.नं. ८० मा ०८ भई जोतपोत समेत आफ्ना नाममा दर्ता भई भोगी आएको हाम्रो अचल सम्पत्ति हो । उक्त हाम्रा नामका जग्गाहरू विपक्षीले पक्री उक्त जग्गा मैले मोहीमा कमाई भू.सु.लागू हुँदा जग्गाधनी नन्द किशोरको नामबाट लगत भरी मोहियानीको ४ नं. अस्थायी निस्सा पाई राखेको छु । प्रमाणपत्र पाउँ भन्ने विपक्षी भालु मोचीले विपक्षी भू.सु.कार्यालयमा हामीहरूको नाममा उजूर गर्नु भएकोमा हाम्रो नाउँको जग्गा कमाएको भए १ नं. र २ नं. अनुसूची भरिनु पर्ने सो समेत नभएको र बाली बुझेको भर्पाई समेत दाखिल गर्न सकेको छैन । मोहियानी दिन मञ्जूर छैन भन्ने प्रतिवाद भएकोमा विपक्षीले प्रतिवाद गर्दा दावा अस्वीकार गरेको छ तापनि प्रतिवादी बमोजिमको सक्कल भर्पाई प्रतिवादीले हेरी पाएँ भनी सनाखत गरेको र सो भर्पाई होइन भनी प्रतिवाद गर्न नसकेको देखिँदा विपक्षको बाबु पति नन्दकिशोरले ०३७।१।२१ मा कूत बुझी गरी दिएको भर्पाई र २ नं. प्रकाशनबाट निवेदक मोही देखिँदा २ नं. बमोजिम सोही परिवारको सदस्यको नाममा जग्गा भएको र २ नं. प्रकाशनबाट निवेदक मोही देखिँदा निवेदन बमोजिम भूमि सम्बन्धी ऐन, ०२१ को दफा २५(१) अनुसार मोहियानी हकको प्रमाणपत्र दिनु पर्ने ठहर्छ भन्ने भू.सु.का.सप्तरीले मिति ०४०।५।५।१ मा गरेको निर्णय त्रुटिपूर्ण छ भनी निम्न लिखित बुँदाहरूको आधारमा प्रष्ट पारेको छ ।

          ३.   जिकिर : भूमि सम्बन्धी ऐन, ०२१ को दफा २५(१) अनुसारको मोही हुनलाई ऐनको नियम ३(८) अनुसार त्यस्तो मोहीको भूमिसुधार टोलीले १ नं. लगत लिएको हुनु पर्दछ र त्यसैको आधारमा नियम ६ बमोजिम अनुसूची २ बमोजिमको लगत तैयार गरी प्रकाशन भएको लगतमा मोही देखिएको व्यक्ति मात्र मोही कायम हुन सक्ने व्यवस्था छ । हाम्रो विरूद्ध प्रमाणमा लगाइएको १ नं. लगतमा जग्गा कठ्ठा १८२ अनुसूचीमा जग्गा कठ्ठा ०१४० भई १ नं. र २ नं. पनि परस्परमा मिल्दैन सो लाई हाम्रो विरूद्ध प्रमाणमा लिन मिल्ने होइन एकै परिवारको नन्द किशोरको नाममा प्रकाशित लगत भएको भनी उक्त लगतलाई प्रमाण लिएको हकमा पनि भूमि सम्बन्धी ऐनको दफा २(ग) अनुसार १६ वर्ष नपुगेको छोरा र ३५ वर्ष नपुगेकी कन्या छोरीलाई मात्र एकापरिवार मानेको छ । उक्त दफा २(ग) लाई नै आधार बनाई लिनु पर्ने प्रष्ट छँदाछंदै सो विपरीत फैसला हुन गएको छ । देखाइएको भनेको रसिदलाई कीर्ते भनी हामीले जिकिर लिएका छौं तर हामीलाई सो रसिद देखाई बयान गराएको छैन । साथै विवादको विभिन्न कित्ता जग्गाहरू हामीहरूको नाममा भिन्नाभिन्नै दर्ता भएकोमा उजूर दिँदा अ.बं.७२ नं. बमोजिम भिन्दा भिन्दै नालिश दिनु पर्ने सो समेत भए गरेको छैन । अतः माथि उल्लिखित त्रुटि गरी हामीहरूको संवैधानिक हक अधिकारमा आघात पुग्ना गएकाले नेपालको संविधानको धारा ७१ बमोजिम उत्प्रेषणको आदेशद्वारा विपक्षी कार्यालयको निर्णय बदर गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन ।

          ४.   यसमा निवेकहरूको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने यस अदालत सिंगल बेञ्चको आदेश ।

          ५.  विपक्षीको जिकिरको प्रकरण नं. ९ लगायतको प्रकरणहरूबाट जि. स.गा.पं.डाठा वा.नं. ७ को कि.नं. २८ को ज.बि.०४ ऐ को कि.नं. २३ को ज.बि.०१७ र ऐ को कि.नं. ८० को ज.बि.०८ जग्गामा मोही प्रमाणपत्र पाउनु पर्ने होइन भन्ने रिट निवेदकको जिकिर सरासर गलत छ । यस जिल्लामा भू.सु.लागू हुँदाका अवस्थामा भालु मोचीले मोहीले १ नं. लगत भरी २ नं. प्रकाशनमा ज.ध.को महलमा नन्दी केशर यादव उल्लेख भइरहेको देखिएको उक्त विवादित कित्तामा भालु मोची मोही महलमा देखिन आउँदा यसमा प्रकाशित २ नं. अनुसूचीमा कसैको विवाद नपरी हालसम्म कायम रहेको र यसमा नन्द किशोर यादवले मिति ०३७।१।२१ को बाली बुझी लिई सोको निस्सा वापत मोहीलाई नियमानुसार भर्पाई समेत गरी दिएको कागज मिसिल संलग्न हुँदा यसरी सबूत प्रमाणको मूल्याङ्कन पनि कानूनको मर्यादाभित्र रही कानूनबमोजिम यस कार्यालयबाट मिति ०३९।५।५ मा भएको निर्णय त्रुटिपूर्ण नहुँदा रिट खारेज होस् भन्ने समेत भूमिसुधार कार्यालय सप्तरीको लिखितजवाफ ।

          ६.   नन्द किशोर भनेको व्यक्ति अरू कोही नभई विपक्षीहरूको पिता तथा पति हुन् भन्ने कुरामा विपक्षीहरूले स्वीकार गरेकै छन् । निजसँग अंश छुट्टी सकेको भन्ने सम्म पनि छैन भने एकाघरको मुख्य पति पिताले म सँग सम्पर्क राखी व्यवहार गरी आउनु भए अनुसार विपक्षीका पति पिता नन्द किशोरलाई जग्गावाला भनी प्रकाशित २ नं. अनुसूची मान्यता बिहीन हुने प्रश्न आउँदैन र अनुसूची १ मा १ कठ्ठा भएकोमा अनुसूची २ मा ०१४० भनी प्रकाशन भएको भन्ने समेत झुठ्ठा हो र प्रकाशित २ नं. अनुसूचीमा कुनै किसिमको उजूर वाजुर नपरेबाट ४ नं. जो.अ.नि.समेत पाएको र साल वसाल विपक्षको पति पितालाई नै बाली बुझाई आएको ०३७ सालमा बाली बुझी लिएको भर्पाई समेत पेश भएकै छ । भूमि सम्बन्धी ऐन, २०२१ को दफा २(क)(३) मा जग्गावालालाई परिभाषा नै भूमि सम्बन्धी ऐनको प्रयोजनको लागि जग्गावालाको हकवाला समेत जग्गावाला हुने र ऐ दफा (ग) मा पति एकै परिवार हुने समेत प्रष्ट व्यवस्था हुँदा नन्द किशोर अरू नै व्यक्ति भन्ने प्रश्न आउँदैन । मेरो नाउँमा १ नं. भरी २ नं. अनुसूची समेत भरी सकेको छु । भर्पाईको सम्बन्धमा जग्गावालाको वारेसलाई देखाउँदा सनाखत गरिरहेको छन् साथै भर्पाईको आधारमा मात्र मोही कायम गर्न सकिने होइन मोही हुनको लागि २ नं. अनुसूची प्रकाशित छ छैन भनी हेरिने हो तसर्थ भूमिसुधार कार्यालय सप्तरीले नियम कानूनको परिधिभित्र रही सबूत प्रमाणको उचित मूल्यांकन गरी गरेको निर्णयले निवेदकको कुनै संवैधानिक हक हितमा असर परेको नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको भालु मोचीको लिखितजवाफ ।

          ७.  नियमबमोजिम पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनमा निवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले एकाको नामको जग्गाको प्रमाणले अर्काको जग्गाको मोही हुन सक्दैन । तसर्थ चुल्हियाको लोग्ने नन्द किशोरको नामको अनुसूचीबाट चुल्हीयाको जग्गामा मोही कायम गर्ने गरेको मिलेको छैन । भर्पाई पनि नन्द किशोरको हुनुको साथै कम जग्गाको फाराम भनेर बढी जग्गाको प्रमाणपत्र पाउन सक्दैन भनी र भू.सु.का.सप्तरीको तर्फबाट खटिई आउनुभएका विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमारले निवेदकको वारेसले भर्पाइलाई खण्डन गर्न नसकेको तथा भर्पाईमा सबै जग्गा उल्लेख भइरहेको हुँदा भू.सु.का.को निर्णयमा कुनै त्रुटि छैन भनी र विपक्षी भालु मोचीतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरलले सगोलको अंशियार नन्द किशोरलाई देखाई २ नं. अनुसूची भरेको छ । भर्पाईमा सबै जग्गाको उल्लेख छ साथै भर्पाईको आधारमा मात्र प्रमाणपत्र दिएको नभई त्यसलाई सहायक प्रमाण मात्र मानेको हुँदा रिट निवेदनपत्र खारेज गरिपाउँ भनी प्रस्तुत गर्नु भएको बहस समेत सुनियो ।

          ८.   रिट निवेदकको माग बमोजिमको आदेश जारी हुने हो होइन सोको निर्णय दिनुपर्ने देखिन्छ ।

          ९.   निर्णयतर्फ विचार गर्दा यस्तो एकाको नाउँको २ नं. अनुसूचीको आधारबाट अरूको हकमा प्रमाण लगाई भू.सु.का.सप्तरीबाट निर्णय गरेको देखियो साथै पेश भएको बाली बुझाएको रसिद जग्गावालालाई देखाई सुनाई निजको बयान समेत गराई मात्र प्रमाण लगाउनु पर्नेमा सो बमोजिम भए गरेको पनि देखिन आएन । तसर्थ भू.सु.का.सप्तरीले गरेको मिति २०४०।५।५।१ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब जो बुझ्नु पर्ने सबूत प्रमाण समेत बुझी कानूनबमोजिम गरी पुनः निर्णय गर्नु भनी परमादेशको आदेश समेत जारी हुने ठहर्छ । जानकारीको लागि आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत विपक्षी कार्यालयमा पठाई नियमानुसार गरी फाइल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०४१ साल भाद्र १३ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु