निर्णय नं. २०३६ - हर्जाना दिलाई पाउँ
निर्णय नं. २०३६ ने.का.प. २०४१ अङ्क ६
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला
सम्वत् २०३८ सालको दे.पु.नं. ३०१
मुद्दा : हर्जाना दिलाई पाउँ
पुनरावेदक/प्रतिवादी : ने.बै.लि.क्षेत्रीय कार्यालय वीरगञ्जका क्षे.प्र.घनश्यामभक्त माथेमा
विरूद्ध
विपक्षी/वादी : जि. पर्सा वीरगञ्ज न.पं. वडा नं. ८ बस्ने भोलाराम रौनियार
ऐ ऐ बस्ने राम नारायण रौनियार
फैसला भएको मिति : २०४१।३।२९।५ मा
§ गोदाममा माल सडे गलेको भए नसड्ने वस्तुहरूको केही न केही निसानासम्म हुन पर्ने हो सो केही रहे भएको देखिन नआएबाट सुरक्षणमा राखिएको माल रहेको गोदाममा खोलिएको र गोदाममा रहेको जिन्सी माल बैंकेले सडाई दियो भन्ने वादीहरूको जिकिर पत्यारलायक देखिन्न ।
§ आफैले प्रतिवादी बनाई लिई आएको मुद्दामा प्र.ले पुनरावेदन गर्न पाउँदैन भन्न मिल्ने नदेखिने ।
(प्रकरण नं. १०)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षी वादी तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री कुसुम श्रेष्ठ र वरिष्ठ अधिबक्ता श्री रमानन्दप्रसाद सिंह
उल्लेखित मुद्दा : x
फैसला
न्या. सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको ईन्साफ उपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकारको रहेछ ।
२. वाणिज्य बैंक ऐनले नगदी कर्जा लिई त्यस वापतमा जिन्सीमाल जिम्मा जमानत दिन सक्ने भएकाले ६ महीना भित्रमा कर्जा रुपैयाँ बुझाउने भाखा भित्र नबुझाएमा बैंकमा राखेको जमानतमा राखेको जिन्सीमाल बिक्री गरी कर्जा रुपैयाँ असूल उपर गर्ने त्यसबाट कर्जा चुक्ती नभएमा घरघरानाबाट बुझाउने गरी हामीहरू वादी मध्ये म भोलाराम प्रो.भएको श्री कैलाश कुञ्ज निवास वीरगञ्ज नामको फर्म र शिवरतन राम भोला राम वीरगञ्ज नामको दोस्रो फर्मबाट र उक्त फर्म मध्ये श्री कैलाश कुञ्ज निवास वीरगञ्ज फर्ममा गर्ने राम नगिन प्रसाद समेत ४ नाउँबाट नेपाल बैंकबाट निम्न लिखत सालमा निम्नलिखित बमोजिमको रुपैयाँ ६ महीनाको भाखा राखी व्याज तिर्ने गरी कर्जा लिई जमानत वापत हामीहरूको हकको निम्न जिन्सीमाल जमानतमा सुरक्षणको निमित्त दिए र सो जिन्सीमाल गोदाममा राखी ने.बै.लि.वीरगञ्जले नै आफ्नो ताला मारी सिल समेत गरी आफ्नै जिम्मामा राखी निम्न बमोजिम कर्जा दिएको थियो ।
३. मटरवोरा ३६०। मरीचवोरा ५०। रहर दालवोरा ५५०। सुपारीवोरा २५। नरीवल तेल ड्राम ३०। मरीचवोरा १२५ पासवोरा ५००। जीरा वोरा २००। मटरवोरा २५० सुपारी बोरा १३ दरी गाँठ १५। समेत गरी माथि देखाएको हिसाब अनुसार र ३,६०,६००। बैंकको बाँकी रही त्यस वापतमा जमानतमा जम्मा अदत १९०३ कायम बाँकी थियो र उक्त कर्जा रूपैयाको बिगो र त्यसवापत बैंकको रुल बमोजिम चाहिने ब्याज समेत साँवा व्याज बैंक कानून र लिखत तमसुक कर्जाको कागज अनुसार ६ महीना भित्र साँवा असूल हुन नआए जमानतमा रहेको सुरक्षण माल अदतहरू बिक्री गरी आफ्नो साँवा ब्याजमा भर्ना गरी सकेपछि चुक्ती बेमाख हुन नआएमा मात्र बाँकी पक्राउ गर्न पाउनेमा उक्त रूपैयाँको ब्याज समेत जोडी जम्मा ४०,२६,२४।६९ कायम गरी त्यस वापतमा उपरोक्त जमानतमा रहेको अदत १९०३। माथि थप १ वर्षको निमित्त हामीहरूको घर जग्गा लेखाई तमसुक गराई लेखिएको साँवा ब्याज जम्मैको असामी हामी दुई जनालाई जनायो । सुरक्षणमा जमानतमा रहेको जिन्सीमाल हामी दुई जनाको गरी लिखत पत्र गराई सो लिखत रजिष्ट्रेशन पास गराई पाउँ भन्ने मुद्दामा न्यायिक समितिमा कारवाई भइरहेको र जमानतमा दिएको जिन्सी खाने पदार्थ र दरीको गाँठ १ वर्षको मात्र ग्यारेन्टी अवधि हुने त्यसपछि स्वतः बिग्रिने प्रष्ट छ बैंकले जमानतमा लिएको माल ऐन लिखतमा तोकिएको अवधि भित्र साँवा ब्याज नबुझाएमा बैंकले बिक्री गरी साँवा ब्यजामा भर्ना गरी बाँकीमा हामीलाई पक्रनु पर्नेमा सो नगरी पुनः हामीलाई सकार गराई दोस्रो घर जग्गा समेत थपी लेखाई लिएको हामीहरूले नबुझाए जिन्सीमाल लिलाम बिक्री असूल उपर गर्नुपर्ने नगरी २०२९।६।१ मा ने.बै.लि.का तर्फबाट गोदामको ताला तोडी हेर्दा जमानतमा रहेको समान कुही सडी गएकोले असूल उपर हुन नसक्ने देखि गोदामको तालाबन्द नगरी खुला राखी दिएपछि थाहा हुनआएकोले हामीहरूको ने.बै.लि.ले जमानतमा लिएको जिन्सी अदत १९०३ को जम्मा रु.४,८३,२००। नोक्सान पारी दिएकोले हर्जाना दिलाई भराई पाउँ भन्ने समेतको फिराद दावी ।
४. वादी दावी बमोजिम जिन्सीमाल धितो राखी कर्जा लिएको र त्यसपछि घरजग्गा धितो थप गरी अर्को लिखत गरी दियौं भन्ने सम्म दावी साँचो हो । फिराद कस्को नाउँमा गर्नुभएको प्रष्ट छैन क्षेत्रीय कार्यालयको नाउँमा गर्नु भएको हो भन्ने का.मु.जोनल एजेन्ट मोहनराजका नाउँमा नालेश गरेका भए निज सरूवा भइसकेकोले व्यक्तिगत नालिश अञ्चल अदालतमा लाग्न सक्ने होइन । पार्टीको आफ्नो गोदाममा रहेको माल सामान हानी नोक्सानी भएमा वादी आफैं जिम्मेवारी हुने हुँदा बैंक उपर दावी गर्नु गल्ती छ र दिन्छौं तिर्छौ भन्दाभन्दै माल लिलाम बिक्री गर्न उचित नसम्झी रुपैयाँ बुझाउने छन् भनी कर्जा रकम चाडै बुझाउन ताकेता गर्दा हामीले दिएको लिखत पास मुद्दा पास हुने ठहरी अन्तिम फैसला भइसकेपछि घर जग्गा समेत बैंकले लिलाम बिक्री गराई साँवा ब्याज उठाई लिने भई नाजायज फाइदा उठाउने विचार गरी नालेश गरेका हुन भन्ने समेत व्यहोराको नेपाल बैंकको तर्फबाट वटुकलाल जोशीको प्रतिउत्तर पत्र ।
५. वादीहरूको नोक्सानी भएको जिन्सीमाल अदत १९०३ को बिगो रु.४,८३,२००। बैंकेको गल्तीबाट नोक्सानी भएको देखिनाले सो नोक्सानी बैंकबाट हर्जाना स्वरूप भराई पाउने ठहर्छ तर सो वादीले भरी पाउने बिगो रुपैयाँ निज वादीले बैंकलाई गर्नु पर्ने कर्जा रु.५,०२,६२४।६९ मा कट्टी गरी पाउने ठहर छ भन्ने समेत नारायणी अञ्चल अदालतको फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत नेपाल बैंक लिमिटेडको म.क्षे.अ.मा पुनरावेदन ।
७. वादी दावी बमोजिम रु.४,८३,२००। वादीहरूले पाउने ठहर्याएको नारायणी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ । वादीले पाउने नोक्सानी बिगो रुपैयाँबाट बैंकलाई तिर्नु पर्ने कर्जाको रु.५,०२,६२४।६९ कट्टा गरी पाउने ठहर्याएको तर्फ कट्टी मट्टी गरिपाउँ भन्ने वादी दावी नहुँदा कट्टी गरी पाउने ठहर्याएको हदसम्म नारायणी अञ्चल अदालतको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत म.क्षे.अ.को फैसला ।
८. उक्त इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी नेपाल बैंक लिमिटेडको यस अदालतमा निवेदन परेकोमा तत्कालिन प्रचलित लेनदेन व्यवहारको ३९ नं. ३७ को कुरालाई लिएर बनेको छ प्रस्तुत मुद्दाको फिराद ०२६।३।३१ को कागजको सम्बन्धबाट परेको सो फिराद दायर हुनुभन्दा अगावै करार ऐन, २०२३ को दफा १९ ले लेनदेन व्यवहारको ३७ नं. खारेज गरेको पाइन्छ । त्यसरी खारेज भइसकेको ऐनको आधार लिई परेको फिरादमा म.क्षे.अ.बाट निर्णय गरेको प्रत्यक्ष कानूनी त्रुटि हुनुको साथै धितोमा रहेको जिन्सीमाल हक यो यति नोक्सानी भयो भन्ने कुराको सबूत प्रमाण मिसिलबाट देखिँदैन । त्यस्तोमा वादी दावीलाई नै आधार बनाई नोक्सानी भराउने गरेको सदर गरी म.क्षे.अ.बाट गरेको फैसलामा सबूत प्रमाणको अभावमा गरेको निर्णय त्रुटि देखिन आएकोले न्या. प्र.सु.ऐनको दफा १३(५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत डिभिजन बेञ्चको २०३८।६।६ को आदेश रहेछ ।
९. नेपाल बैंक लिमिटेडको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले वाणिज्य बैंक ऐनको दफा १०(७) ३६, ४५ र लेनदेन व्यवहारको ३९ नं. अन्तर्गत २०२९।१०।८ मा फिराद दर्ता भएको ०२६।३।३१ मा भएको दृष्टिबन्धकीको लिखतमा विभिन्न मितिमा लिएको कर्जा र राखिएको धितोको उल्लेख छ सो कागजातमा ०२५ सालमा साँवा व्याज ५,०२,६२४।६९ उल्लेख भएको देखिन्छ । ०२९।१०।८ मा लेनदेन व्यवहारको नं. अन्तर्गत परेको सो ३९ नं. ले ३७ नं. को हदम्यादको व्यवस्था गरेको लेनदेन व्यवहारको ३४ नं. ०३४ सालमा खारेज भएको दृष्टिबन्धकको लिखतको हकमा ३७ नं. लाग्न नसक्ने दृष्टिबन्धकी करार होइन करार मानी लिने हो भने पनि ३९ नं. मा उल्लेख भए बमोजिम लिखत म्याद नलेखेको भए मात्र ५ वर्षको म्याद हुन्छ तर ०२६।३।३१ को लिखतका १ वर्ष भित्र साँवा ब्याज दाखिल गर्नुपर्ने भन्ने भएकोले पनि करार सम्बन्धी ऐन बमोजिम ३ महीनाभित्र फिराद गर्नुपर्ने तसर्थ वादीको दावी म्यादभित्र परेको छैन । बैंक उपर वादीले दावी गरे जस्तो दावी गर्ने व्यवस्था वाणिज्य बैंक ऐनमा छैन वा.बै.ऐन, २०२० को (७) मा सुरक्षण बिक्री गरी रुपैयाँ असूल उपर गर्ने अधिकार बैंकलाई दिएको छ कि पक्षले क्षतिपूर्तिमा दावी गर्न पाउने तसर्थ क्षतिपूर्तिमा दावी गर्ने कानूनी व्यस्वथाको अभावमा मुद्दा दायर हुन सक्तैन वादीको भनाईमा ०२९ साल आश्विन १ गते गोदाम खोलेको भनिएको छ तर २०३० साल आश्विन १ गते अञ्चलाधीश कार्यालय समेतलाई साक्षी राखी खोलिएको छ खोल्दा मालको निसाना समेत पनि नदेखिएको तसर्थ बैंक उपर यस्तो दावी गर्ने कानूनी व्यवस्थाको अभाव हुनुको साथै म्यादभित्र उजूरी पनि छैन बैंकले धितोलाई हानी नोक्सान पुर्याएको छैन भनी र विपक्षी वादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले लेनदेन व्यवहारको ३९ नं. को उल्लेख गर्दैमा फिराद खारेज हुने होइन वादीले ऋण लिँदा विभिन्न माल धितो राखी माल रहेको गोदाममा २ वटा ताल्चा लगाएको बैंकमा राखेको धितो बैंकले समयमा लिलाम नगरेकोले सडी गली गई नोक्सान भएको भनी वादीको दावी भएकोले उजूर लाग्न नसक्ने भनी र विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंहले प्रतिवादीले ने.बैं.,लि.पुनरावेदकको रूपमा मुद्दा चलाउन सक्ने होइन बैंकको जिम्मा पनि एउटा ताल्चा रहन्छ तसर्थ वादीले मात्र माल झिक्न सक्ने होइन भनी बहस गर्नुभयो दुवै तर्फको बहस सुनी म.क्षे.अ.को फैसला मिले नमिलेको के हो निर्णय दिनु पर्ने प्रश्न उपस्थित हुनआएको छ ।
१०. यसमा नेपाल बैंक लिमिटेडसँग कर्जा लिए वापत बैंकको नियमबमोजिम हामीहरूले विभिन्न जिन्सी माल अदत १९०३ को जम्मा रु.४,८३,२००। रुपैयाँ बराबरको माल कर्जा सुरक्षण वापत बैंकमा राखेको र कर्जाको कागज अनुसार ६ महीना भित्र साँवा ब्याज असूल हुन नआए जमानतमा राखेको सुरक्षणको मालहरू बिक्री गरी आफ्नो साँवा ब्याज भर्ना गर्नुपर्नेमा सो नगरी हामीहरूको माल बैंकले सडाई दिएकोले सुरक्षणमा राखिएको मालको नोक्सानी बिगो दिलाई भराई पाउँ भनी फिराद दावी भएकोमा वादी दावी बमोजिमको रुपैयाँ प्रतिवादीबाट वादीहरूले भराई पाउने ठहर्छ भन्ने समेत म.क्षे.अ.बाट फैसला भएको पाइन्छ । म.क्षे.अ.को उक्त फैसला मिले नमिलेको के हो भनी त्यसतर्फ हेर्दा वादीहरूले दावी लिएको जिन्सी मालहरू नेपाल बैंक लिमिटेडले वादीहरूलाई दिएको ऋणको सुरक्षणमा वादीहरूकै गोदाममा राखेको कुरामा विवाद देखिन्न । उक्त कर्जाको रुपैयाँ तोकिएको भाखामा नबुझाएमा सुरक्षणमा राखिएको मालहरू लिलाम बिक्री गरी आफ्नो कर्जाको साँवा ब्याज असूल उपर गर्नुपर्ने लिखतको शर्त भएकोमा सो बमोजिम नगरी हामीहरूको माल सडाई दियो भनी जिकिर लिएकोमा बैंकको गल्तीले माल सडी गली गएको हो होइन भन्ने सम्बन्धमा विचार गर्दा वादीहरूले फिरादमा उक्त सुरक्षणको मालहरू रहेको गोदाम ०२९।६।१ मा बैंकले खोलेको हो भनी भने तापनि उक्त गोदाम नेपाल बैंक लिमिटेडको तर्फबाट अञ्चलाधीश कार्यालय समेतलाई साक्षी राखी ०३०।६।१ मा खोलिएको र गोदाममा नरिवलको तेलको ड्रोम जस्तो नसड्ने वस्तु निसानासम्म पनि भेटाउन नसकिएको कुरा ०३०।६।१ मा भएको मुचुल्काबाट देखिन्छ । गोदाममा माल सडेगलेको भए नसडने वस्तुहरूको केही न केही निसानासम्म हुनु पर्ने हो सो केही रहे भएको देखिन नआएबाट सुरक्षणमा राखिएको माल रहेको गोदाम ०२९।६।१ मा खोलिएको र गोदाममा रहेको जिन्सी माल बैंकले दियो भन्ने वादीहरूको जिकिर पत्यारलायक देखिन्न । उक्त सुरक्षणको माल रहेको गोदाम वादीहरूको हुनुको साथै वादीहरूले नै त्यसमा ताल्चा समेत लाएको हुँदा बैंकले माल सडाई दियो भन्न सकिने अवस्था छैन । अब प्रतिवादी नेपाल बैंक लिमिटेडलाई पुनरावेदन गर्ने अधिकार छैन पुनरावेदन खारेज हुनु पर्ने भन्ने वादीहरूको विद्वान वरिष्ठ अधिवक्ताको जिकिरतर्फ विचार गर्दा वादीहरू आफैंले प्रतिवादी बनाई लिई आएको मुद्दामा प्र.नेपाल बैंक लिमिटेडले पुनरावेदन गर्न पाउँदैन भन्न मिल्ने देखिन्न । तसर्थ बैंकको गल्तीले वादीहरूले सुरक्षणमा राखेको जिन्सी माल सडी गली गएको ठहर्याई वादी दावी बमोजिमको रुपैयाँ नेपाल बैंक लिमिटेडबाट भराई दिने ठहर्याएको म.क्षे.अ.को फैसला मिलेको देखिन्न । पुनरावेदन जिकिर बमोजिम म.क्षे.अ.को फैसला उल्टी हुने ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहर भएकोले वादीहरूलाई हर्जाना रु.४,८३,२००। ने.बैं.लि.बाट भराई दिने गरेको अब भराउनु पर्दैन त्यसको लगत कट्टा गरी दिनु भनी शुरू जिल्ला अदालतमा लेखी पठाउन का.जि. अ.मा लगत दिनु .......................१
नेपाल बैंक लिमिटेडले म.क्षे.अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१२९०।३० र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१२९०।३० समेत गरी जम्मा रु.२,५८०।६० दिलाई भराई पाउँ भनी ऐनका म्यादभित्र प्रतिवादीको निवेदन परे दस्तूर केही नलिई वादीहरूबाट दामासाहीले भराई दिनु भनी शुरू जि. अ.मा लेखी पठाउन का.जि. अ.मा लगत दिनु..................... २
मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी वास्तोला
इति सम्वत् २०४१ साल आषाढ २९ गते रोज ५ शुभम् ।