निर्णय नं. २०४५ - जालसाजी
निर्णय नं. २०४५ ने.का.प. २०४१ अङ्क ६
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४० सालको फौ.पु.नं. ४५६
मुद्दा : जालसाजी
पुनरावेदक/प्रतिवादी : का.जि. का.न.पं. वडा नं. २२ पाको पोखलडयाङ बस्ने रामदेवी मानन्धर
ऐ ऐ बस्ने साधुराम मानन्धर
विरूद्ध
विपक्षी/वादी : का.जि. का.न.पं. वडा नं. २२ पाको पोखलडयाङ घर भै हाल का.जि. मरु बस्ने पदमकुमारी मानन्धर
फैसला भएको मिति : २०४१।५।७।५ मा
§ कीर्ते कागजको ३ नं. हेर्दा अर्काको हक मेट्ने हदम्याद तारिख जाने वा कुनै तरहसँग नोक्सान पार्ने इत्यादि जुनसुकै मतलवले होस नगरे नभएको झुठ्ठा कुरा गरे भएको हो भनी वा मिति अंक व्यहोरा फरक पारी सहिछाप गरी दिने लिने दुवै थर मिली कागज लेखी सहिछाप गरी दिने लिने दुवै जालसाजी गर्ने ठहर्छ भन्ने उल्लेख भएको पाइने ।
(प्रकरण नं. ११)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
विपक्षी वादी तर्फबाट : विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय
उल्लेखित मुद्दा : x
फैसला
न्या. महेशरामभक्त माथेमा : म. क्षेत्रीय अदालतको फैसला उपर यस अदालतको डिभिजन बेञ्चबाट पुनरावेदनको अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. ०१५ सालमा साधुरामसँग विवाह सम्पन्न भई ०२२ सालमा छोरा जन्म भई आई बसेकोमा ०३९।१।१४ गतेमा साधुले छोरा समेत मलाई घरबाट निकाला गरेकोमा रामदेवीको नाउँमा माना चामलमा नालेश दिएको थिएँ । विपक्षी मेरा पतिले पनि छोरा र मलाई अंश बुझाई पाउँ भनी नालिश दिनुभएको रहेछ । ०३९।५।१ मानो छुट्टी घरबाट निस्की डेरा गरी बसी आएको बज्यै हकमाया र आमा रामदेवीसँग अंश मागी घर जग्गा लिई ०३५।६।१ म छोडपत्र गरी कागज लेखी ०३५।९।१३ मा पास भएको भन्ने कुरा झुठ्ठा जालसाज हो । हामीहरूको अंश भाग घटाउने अभिप्रायले मेरो नालेश परी सकेपछि अंश छोडपत्रको जालसाजी लिखत खडा गरेकोमा कीर्ते कागजको १० नं. बमोजिम सजाय गरी उक्त ०३५।९।१३ गतेको रजिष्ट्रेशन पारित भएको छोडपत्र रद्द गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र रहेछ ।
३. वादीको भनाई झुठ्ठा हो । ०३१।५।१ मा साधुरामसँग मानो छुट्टिएपछि ०३५।६।१ मा लेखिएको अंश छोडपत्रको लिखत ०३५।९।१३ मा मालपोत कार्यालय, काठमाडौंमा पास भएको हो । झुठ्ठा फिराद दायर गरेबाट वादीलाई नै सजाय गरी झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको हकमाया र रामदेवी मानन्धरको संयुक्त प्रतिउत्तरपत्र रहेछ ।
४. ०३१।४।१७ मा धनमाल मालसामान र छोरा समेत लिई वादी बेपत्ता भई र ०३१।५।१ मा म मानो छुट्टी आमा र बजैसँग भिन्न बसेकोमा चल अचल सम्पत्ति सगोलमा रहेकोमा मेरो अंश वापत घर सम्माली अंश छोडपत्र गरेको हुँ । माना चामलमा नालिश दिएको इवीले वादीको अंश भाग घटाउने अभिप्रायले अंश छोडपत्रको जालसाजी लिखत गरेको होइन । मेरो अंश छोडपत्र गर्ने अधिकार भएकोले ०३५।६।१ मा घरसारमा छोड पत्रको लिखत खडा गरी ०३५।९।१३ मा लिखत पास गरेको हो । वादीको झुठ्ठा दावीबाट फुर्सद पाउँ र झुठ्ठा दावीलाई नै सजाय गरिपाउँ भन्ने समेत व्यहोराको साधुरामको प्रतिउत्तर पत्र ।
५. वादीहरूको हक मेट्नको लागि प्रतिवादीहरू मिली जालसाजी गर्यो भन्नलाई प्र.साधुरामबाट पाउने अंशबाट वादीहरूले अंश पाउनेमा साधुरामले अंश छोडपत्र गरेमा साधुरामलाई पनि हानी हुने अवस्था छँदैछ भन्ने आफूलाई हानी पुर्याई पछि कुनैको आशा हुने भई तत्काल वादीलाई पछि हुने लाभाँसबाट बञ्चित गराएको भन्न उचित भएन । सो अवस्था भएपछि मात्र जालसाजी गरेको भन्न उचित देखिनेमा सोको कुरा लिई गरेको नालिश मिलेको देखिएन । फिरादपत्रको व्यहोरा कीर्ते कागजको ३ नं. अनुरूप नदेखिएकोले वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको ०३६।१०।१७ गतेको का.जि. अ.को फैसला ।
६. उक्त फैसलामा चित्त नबुझी वादी पदमकुमारीको ०३७।२।२ मा वा.अं.अदालतमा पुनरावदेन परेको ।
७. प्रतिवादीहरू बीच खडा भएको ०३५।९।१३।५ को अंश छोडपत्र जालसाजबाट प्रतिवादीहरूले खडा गरे गराएको भन्ने वादीको दावीमा प्रतिवादीहरू इन्कार रहेको देखिएकोले अंश घटाउन जालसाज गरेको भन्ने वादीको दावी भएकोमा सो लिखतले के कति सम्पत्ति घटी बढी हुन गई असर पर्न गएको छ कुनै उल्लेख समेत नभएकोले वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरू जि. अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत वा.अं.अदालतको ०३८।७।४ को फैसला ।
८. शुरू जि. अ.को फैसलालाई मनासिब ठहराई गरेको वा.अं.अदालतको फैसला उपर चित्त नबुझी म.क्षे.अदालतमा वादी पदमकुमारी मानन्धरको पुनरावेदन परेको ।
९. वादीले प्रतिवादी रामदेवी उपर माना चामल मुद्दा ०३५।६।१६ मा अदालतमा दायर गरी सकेपछि यो विपक्षी प्रतिवादीहरूले मिति ०३५।९।१३।५ मा अंश छोडपत्रको कागज रजिष्ट्रेशन पास गरेको देखिन्छ । अंश छोडपत्रको लिखतको पुछारमा ०३५।६।१ भनी मिति हालेको देखिन्छ तापनि सो घरसार मिति जहिलेसुकैको पनि हुन सक्ने अड्डामा पास गराएको मितिलाई नै लिनु पर्ने हुनआएकोले सो मिति हेर्दा वादीले माना चामलको मुद्दा दायर गराई सकेपछिको देखिन आएकोले सो अंश छोडपत्रको कागज शुद्ध रूपको भन्न ठहराउन मिलेन सो लिखत जालसाजी ठहर्छ । यस्तो जालसाजी ठहर्ने लिखतलाई जालसाजीमा दावी पुग्न नसक्ने भनी वादीलाई हराएको शुरू र अञ्चल अदालत दुवैको फैसला गल्ती भई उल्टी हुने ठहर्छ भन्ने समेतको मिति ०४०।३।७।३ को म.क्षे.अदालतको फैसला ।
१०. मध्यमाञ्चल क्षेत्रीय अदालतको उक्त फैसलामा प्रतिवादी साधुराम मानन्धर समेतको यस अदालतबाट पुनरावेदनको अनुमति प्राप्त गर्न आएको निवेदनमा यसमा यिनै पक्ष विपक्ष भएको रि.नं. ८९९ को अंश बुझाई पाउँ भन्ने मुद्दामा पुनरावेदनको अनुमति दिइएको हुँदा प्रस्तुत मुद्दा पनि यसै लगाउको हुँदा अनुमति दिइएको छ भन्ने डिभिजन बेञ्चको मिति ०४०।९।१३ को आदेश ।
११. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्तले म.क्षे.अ.को इन्साफ गम्भीर त्रुटिपूर्ण हुँदा उक्त इन्साफ उल्टाई का.जि. अ र वा.अं.अ.को ठहर फैसला सदर हुनुपर्छ भन्ने र विपक्षीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री बैद्यनाथ उपाध्यायले म.क्षे.अ.को इन्साफमा कुनै त्रुटि नुहँदा सोही फैसला सदर कायम हुनु पर्छ भन्ने समेतको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा हामीहरूको अंश भाग घटाउने अभिप्रायले मेरो नालिश परी सकेपछि अंश छोडपत्रको जालसाजी लिखत खडा गरेको कीर्ते कागजको १० नं. बमोजिम सजाय गरिपाउँ भन्ने दावी भएकोमा कीर्ते कागजको ३ नं. हेर्दा अर्काको हक मेट्ने, हदम्याद तारिख जाने वा कुनै तरहसँग नोक्सान पार्ने इत्यादि जुनसुकै मतलबले होस् नगरे नभएको झुठ्ठा कुरा गरे भएको हो भनी वा मिति अंक व्यहोरा फरक पारी सहिछाप गरी दिने लिने दुवै थर मिली कागज लेखी सहिछाप गरी दिने लिने दुवै जालसाजी गर्ने ठहर्छ भन्ने उल्लेख भएको पाइन्छ । वादी दावीमा स्पष्ट रूपले आफ्नो कुन किसिमले कति हक लाग्नेमा कुन किसिमले हक मेट्ने कुरा परेको छ सो खुल्न नसकेकोले कीर्ते कागजको ३ नं. को परिभाषा भित्र नपर्ने हुँदा वादी दावी खारेज हुने ठहर्छ । सो ठहर्नाले तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी रामदेवी मानन्धर समेतले माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी खारेज हुने ठहर भएकोले मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४०।३।७।३ को फैसलाले प्रतिवादीले गरेको ०३५।९।१३।५ मा पास भएको अंश छोडपत्र कागज जालसाजी ठहरेकोले सो छोडपत्र कागजमा जम्मा बिगो रु.८०००। लेखिएकोले कीर्ते कागजको १० नं. बमोजिम सयकडा २५। ले जम्मा रु.२०००। हुनेमा प्र.हरू ३ जवानबाट दामासहीले असूल गर्नुपर्नेमा प्र.हकमाया मरिसकेको भन्ने मिसिलबाट देखिनाले हकमायाको हकमा वाहेक प्र.हरू दुई जवानबाट देहाय बमोजिम असूल गर्ने भनी म.क्षे.अ.का फैसलामा लेखिएको सो असूल गर्नुपर्ने लगत काटी दिनु शुरू का.जि. अ.त.मा लेखी पठाउन का.जि. अ.त.मा पठाउनु ....................१
प्र.साधवुराम मानन्धर ६६६।६७, प्र.रामदेवी मानन्धर ६६६।६७
ऐ ऐ के शुरू का.जि. अ.को ०३६।१०।१७ को फैसलाले वादी पदमकुमारीलाई गर्ने गरेको जरिवाना ।२५ र वा.अं.अ.को ०३८।७।४ को फैसलाले गर्ने गरेको जरिवाना रु.३ समेत जम्मा ।२८ पैसाको हकमा वादी दावी नै खारेज भऐकोले केही गर्नु परेन मिसिल नियमबमोजिम गरी बुझाई दिनु........................२
उक्त रायमा म सहमत छु ।
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव
इति सम्बत् २०४१ साल भाद्र ७ गते रोज ५ शुभम् ।