शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २०५६ - अंश

भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक:

निर्णय नं. २०५६     ने.का.प. २०४१                        अङ्क ७

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४० सालको दे.पु.नं. ४४१

मुद्दा : अंश

पुनरावेदक/वादी : ल.पु.जि.छप्पी गा.पं. वडा नं. ७ बस्ने मानसिंह तामाङ

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने शेरबहादुर मार्पा तामाङ

ऐ ऐ बस्ने कान्छा मार्पा तामाङ

फैसला भएको मिति : २०४१।७।२।५ मा

§  मानो छुटिएको मिति भनी मुख मिलेको अवस्था हुँदा सोही मितिलाई मानो छुटिएको मिति कायम गर्नु पर्नेमा फिराद परेको मितिको अघिल्लो दिनलाई मानो छुटिएको मिति कायम गरी सो मिति सम्मको तायदाती फाँटवारी लिई अंशवण्डा छुट्याई दिने गरी फैसला गरेको त्रुटिपूर्ण हुँदा बदर हुने ।

(प्रकरण नं. ९)

पुनरावेदक वादी तर्फबाट : x

विपक्षी प्रतिवादी तर्फबाट : x

उल्लेखित मुद्दा : x

फैसला

            न्या. बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतका ०३८९।८।७ को फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

            २.    बाबु धर्मपाल सिंह र आमा घिस्या तामाङको ३ छोरामा जेठा शेरबहादुर माइला कान्छा तामाङ र कान्छो म भई आमा ०५ सालमा परलोक भई बाबुले कान्छी स्वास्नी ल्याई ०२८ सालमा सौतेनी आमा र ०३५।९।७ मा बाबु धर्मपाल परलोक हुनुभयो । बाबु र सौतेनी आमाले मलाई ०२०।२।८ गते घरबाट निकाला गरेको र बाबुको मृत्युपछि दाजुसँग अंश माग्दा नदिएकोले ३ भागको १ भाग अंश पाउँ भन्ने समेतको फिरादपत्र ।

            ३.    विपक्षी मानसिंह, बाबु आमा जीवित छँदै ०२०।२।८ मा ६ भागको १ भाग अंश लिई बसेको र निजको भाग निजले कमाई भोगचलन गरी सर्भेमा निजकै नाउँमा जोतपोत कायम गरी प्रमाणपूर्जा समेत पाएको छ भन्ने समेतको प्रतिउत्तरपत्र ।

            ४.    वादीका नाउँमा जग्गा के कति छ भनी फिल्डबुक उतार र जग्गाधनी श्रेस्ता हेर्दा वादीका नाउँमा १९१०० जग्गा देखिएको र प्र.का.बाबुका नाउँमा २९ रोपनी चानचुन दर्ता देखिएको र प्र.हरूका नाउँमा दर्ता नहुँदा वादीले अंश पाएको छैन भन्न मिलेन वादी दावी पुग्न सक्तैन भन्ने ल.पु.जि.अ.बाट भएको फैसला ।

            ५.    उक्त फैसलामा चित्त बुझेन भनी वादीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको ।

            ६.    वादीले अंश पाएको जग्गा यो यसका नाउँबाट सरी आएको भन्ने प्रतिवादीले जिकिर दिन नसकेको र बाबुका नाउँबाट गरी आएको भन्ने भन्न नसकेको हुँदा फिराद परेको मितिदेखि अघिल्ला दिनसम्मको तायदाती लिई दाखिल हुन आएको सम्मको सम्पत्तिमा ३ भागको १ भाग वादीले अंश पाउने ठहर्छ भन्ने समतेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

            ७.    सो फैसला उपर पुनरावेदनको अनुमती पाउँ भनी वादीको निवेदन पत्र परेको ।

            ८.    ०२०।२।८ गते घरबाट निकाला गरेको भनी फिराद गरेकोमा प्रतिवादीहरूले पनि सोही गते नै वादीलाई अंश छुट्याई दिएको भनेका छन् । मानो छुट्टिएको सम्बन्धका वादी प्रतिवादीको मुख मिलेकोमा नालेस परेको अघिल्लो दिन मानो छुट्टिएको कायम गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसलामा त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेतको यस अदालत डिभिजन बेञ्चको २०४०।७।२३ को आदेश ।

            ९.    नियम बमोजिम आज पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक मानसिंह एवं विपक्षीको वा.शेरबहादुर तामाङलाई रोहवरमा राखी छलफल समेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा वादी मानसिंह तामाङले शुरु ललितपुर जिल्ला अदालतमा फिराद दायर गर्दा बाबु र सौतेनी आमा भई ०२०।२।८ मा घरबाट निकालेको भन्ने कुरा उल्लेख गरेका छन् । सोही मिति ०२०।२।८ मा नै वादीले आफूले पाउने ५ भागको १ भाग अंश लिई छुट्टिई अलग बसेको भनी प्रतिवादीहरूले प्रतिउत्तर दिएको देखिन्छ । यसरी वादी प्रतिवादीको ०२०।२।८ लाई मानो छुट्टिएको मिति भनी मुख मिलेको अवस्था हुँदा सोही मितिलाई मानो छुट्टिएको मिति कायम गर्नु पर्नेमा फिराद परेको मिति ०३५।१०।२४ को अघिल्लो दिन ०३५।१०।२३ गतेलाई मानो छुट्टिएको मिति कायम गरी सो मिति सम्मको तायदाती फाँटवारी लिई अंशवण्डा छुट्याई दिने गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट फैसला गरेको त्रुटिपूर्ण हुँदा उक्त मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३९।८।७ को फैसला बदर हुने ठहर्छ । पुनः कानुन बमोजिम गरी निर्णय गर्नु भनी सम्बन्धित पक्ष विपक्ष लाई तारेख तोकी मिसिल मध्यमाञ्चल क्षे.अ.मा पठाई प्रस्तुत मुद्दाको लगत काटीदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४१ साल कार्तिक २ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु