निर्णय नं. २०५८ - कर्तव्य ज्यान

निर्णय नं. २०५८ ने.का.प. २०४१ अङ्क ७
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४० सालको फौ.पु.नं. ४३३
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक/वादी : दुखी राउतको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्ष/प्रतिवादी : जि.पर्सा टिहुकी ग.पं. वडा नं. ९ मिर्जापुर बस्ने जयगोविन्द अहिरसमेत
फैसला भएको मिति : २०४१।७।६।२ मा
(१)प्र.को चोट मृतकलाई लागेको तर सो चोटको प्रहार निजको आमा माथि भएको भन्ने कुरा स्वयंको बकपत्रबाट समेत देखिएबाट भवितव्य भई मृतक मरेको हुँदा ज्यान सम्बन्धीको ६ नं. को दफा (४) बमोजिम ६ महीना कैद गर्ने ठहर्याई भएको फैसला मनासिव ठहर्ने ।
(प्रकरण नं. १८)
(२) मुलतवी राख्नु पर्नेमा सो बमोजिम मुलतवी नराखी गरेको शुरु जि.अ.को निर्णय सदर गरेको फैसला सो हदसम्म नमिल्ने ।
(प्रकरण नं. १९)
पुनरावेदक वादी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्त
विपक्षी प्रतिवादी तर्फबाट : x
उल्लेखित मुद्दा : x
फैसला
न्या. बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षे.अ.को मिति ०४०।५।१६ को निर्णय उपर वादी श्री ५ को सरकार तर्फबाट पुनरावेदन पर्न आई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. ०३७ साल श्रावण ३१ गतेका दिन बेलुका जयगोविन्द समेतले हान्दा मेरो श्रीमती जटहीको काखमा भएको ६ महीनाको नावालिका छोरीलाई लागि मर्न गएकोले विपक्षहरूलाई ज्यान मारेकोमा सजाय गराई पाउँ भन्ने समेतको जाहेरी दर्खास्त ।
३. म समेतको चोटबाट धर्म सिलाको मृत्यु भएको होइन उजूरी झुठ्ठा हो भन्ने व्यहोराको जयगोविन्द, देवनन्दन र मोती राउत अहिरले प्रहरीमा गरेको कागज ।
४. धर्म शिलाको मृत्यु कर्तव्यबाट लाठीको चोटले हुन गएको देखिएको र यसैको चोटबाट मरेको भन्ने खुल्न नआएकोले वारदातमा सरिक हुने जयगोविन्द राउत, कन्हैया राउत, अनोगी राउत, कैलाश, विकाउ राउत, प्रयाग राउत, प्रकाश राउत,बहादुर राउत, धुधली राउत, छोटेलाल राउत समेत उपर ज्यान सम्बन्धीको १३(३) अनुसार सजाय हुन अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
५. वारदातका दिन म आफ्नो गाउँघरमा छु । धर्मशिला के भई मरिन थाहा छैन भन्ने समतेको जयगोविन्दको अदालतमा भएको बयान ।
६. वारदात घट्दाको दिन म धुधली राउतसँग झलमहियामा छु । मैले धर्मशिलालाई मारेको होइन भन्ने समतेको विकाउ राउतले गरेको बयान ।
७. वारदातको दिन भन्दा २।३ दिन अघि उदयपुर कुर्मी कहाँ गएको थिएँ । धर्मशिला के भई मरिन् थाहा छैन भन्ने समेतको छोटेलालको बयान ।
८. वारदातको दिन म झलमैयामा थिए मैले प्रहरी प्रतिवेदन दावा अनुसारको कसुर गरेको छैन भन्ने समेतको प्र.धुधली राउतले गरेको बयान ।
९. वारदातको दिन विहानदेखि भैंसी चराउन गएको बेलुका ८ बजे घर फर्केको हुँ । आरोपित कसुर गरेको छैन भन्ने समेत प्र. कन्हैया राउतको बयान ।
१०. वारदातको दिन म बारा जिल्लाको मझिलिया गाउँको इनरमन राउतको घरमा भैंसी किन्न गएको हुँदा सोही ठाउँमा छु । मृतकलाई कसले मारे थाहा छैन भन्ने समेतको प्र.प्रयाग राउतको बयान ।
११. वारदातको दिन हरिहरपुर कम राउतको घरमा भएकोले वारदातको सम्बन्धमा केही थाहा छैन भन्ने समेतको प्रकाश राउतको बयान ।
१२. प्र.बहादुर राउत अहिर र प्र.अनोगीले म्याद गुजारेको रहेछ । कुटपीट भएको ठाउँमा जटहाले धर्मशिलालाई लगेको र बच्चीलाई लगी भुइँमा खसी मर्न गएको देखिनाले वारदात ज्यान सम्बन्धीको ५ नं. अन्तरको भवितव्य ठहर्छ ज्यान सम्बन्धीको १३ नं. को दावीबाट प्रतिवादीहरूले सफाई पाउने ठहर्छ । ज्यान सम्बन्धीको दफा ६ को देहाय ४ अनुसार प्र.जयगोविन्दलाई १ वर्ष कैद र रु.२५०। जरिवाना हुने ठहर्छ भन्ने समेतको पर्सा जि.अ.को फैसला ।
१३. सो फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट र प्र.जयगोविन्दको तर्फबाट मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको ।
१४. भवितव्य ठहर्याएको शुरु इन्साफसम्म मनासिव ठहर्छ सजायको हकमा उक्त घटनाको परिप्रेक्ष्यमा प्र.जयगोविन्दलाई ज्यान सम्बन्धीको ६(४) बमोजिम कैद छ महीना हुन्छ भन्ने समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१५. मध्यमाञ्चल क्षेत्रीय अदालतको उक्त फैसला उपर वादी श्री ५ को सरकारका तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको ।
१६. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक श्री ५ को सरकार तर्फबाट विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्तले अघिदेखि नै प्रतिवादी र जाहेरवाला दुःखी राउतको परिवारको बीचमा झैझगडा भइरहेको हुँदा रिसइवीको कारणबाट धर्मशीलालाई प्रहार गरेको हुँदा प्रतिवादीहरूलाई प्रहरी प्रतिवेदन दावी बमोजिम सजाय हुनु पर्दछ भन्ने समतेको बहस प्रस्तुत गर्नु भयो ।
१७. यसमा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको ईन्साफ मनासिव बेमनासिव के रहेछ सो कुराको निर्णय दिनु परेको छ ।
१८. निर्णयतर्फ विचार गर्दा यसमा जाहेरवाला र प्रतिवादीहरूका बीच कुटपीट झगडा भएको र सो झगडामा मर्नेको आमा जटहीले मर्ने धर्मशिलालाई काखमा लिई गएको भन्ने सम्पूर्ण मिसिलबाट स्पष्ट देखिन्छ । मार्ने नियतले धर्मशिलालाई प्रतिवादीहरूले कुटेको भन्ने कतैबाट पनि प्रमाणित हुन सकेको छैन । मृतक धर्मशिलाको आमा जटहीले अदालत समक्ष उपस्थित भई बकपत्र गर्दा जयगोविन्दले मलाई हिर्काउँदा मेरो काखको बच्ची धर्मशिलालाई लागी मृत्यु भएको भनी लेखाई दिएकी छिन् । यस्तो स्थितिमा प्र.जयगोविन्द बाहेकका अन्य कसैको चोट मृतक धर्मशिलालाई परेको कुनै प्रमाणबाट पनि नदेखिँदा प्र.जयगोविन्द बाहेकका अन्य प्रतिवादीहरू कन्हैया राउत, कैलास, विकाउ राउत, प्रयाग राउत, प्रकाश राउत, धुधली राउत, छोटेलाल राउतलाई सफाई दिने ठहर्याई र प्र.जयगोविन्दको चोट मृतक धर्मशिलालाई लागेको तर सो चोटको प्रहार निजको आमा जटही माथि भएको भन्ने कुरा स्वयं जटहीको बकपत्रबाट समेत देखिएबाट भवितव्य भई मृतक धर्मशिला मरेको हुँदा निज प्र.जयगोविन्दलाई ज्यान सम्बन्धीको ६ नं. को दफा (४) बमोजिम ६ महीना कैद गर्ने ठहर्याई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला मनासिव ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
१९. प्र.अनोगी राउत अहिर र बहादुर राउत अहिरले शुरु म्यादै गुजारी बसेको देखिएबाट निजहरूको हकमा अ.बं.१९० नं. बमोजिम मुलतवी राख्नु पर्नेमा सो बमोजिम मुलतवी नराखी गरेको शुरु जि.अ.को निर्णय सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट गरेको फैसला सो हदसम्ममा नमिलेको ठहर्नाले निज प्र.अनोगी राउत अहिर र बहादुर राउतको हकमा अ.बं.१९० नं. बमोजिम मुलतवी राख्नु भनी शुरु मिसिल शुरु पर्सा जि.अ.मा पठाइदिने ठहर्छ ।
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४१ साल कार्तिक ६ गते रोज २ शुभम् ।