निर्णय नं. २०६६ - ज्यान डाँका

निर्णय नं. २०६६ ने.का.प. २०४१ अङ्क ७
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३९ सालको फौ.पु.नं. २७३।३४५
सम्वत् २०४० सालको फौ.सा.नं. ९५
मुद्दा : ज्यान डाँका
पुनरावेदक/प्रतिवादी : लालबहादुर यादव समेत
विरुद्ध
पुनरावेदक/वादी : उद्धवकुमार कार्कीको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : लालबहादुर यादव समेत
फैसला भएको मिति : २०४१।५।१२।३ मा
§ अभियोगमा चित्त बुझाई पुनरावेदन समेत नगरी बसेको देखिएकोले निजलाई ज्यान सम्बन्धीको १३(१) बमोजिम सर्वस्व सहित जन्मकैदको सजाय गर्ने गरेको शुरु जि.अ.को इन्साफ सदर गरेको पु.क्षे.अ.को इन्साफ मनासिव हुने ।
(प्रकरण नं. २९)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना
पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
उल्लेखित मुद्दा : x
फैसला
न्या. पृथ्वीबहादुर सिंह : म.क्षे.अ.को फैसला उपर प्रतिवादी लालबहादुर यादव र वादी श्री ५ को सरकार समेतको दोहोरो पुनरावेदन परी साधक समेत जाहेर भई पेश हुन आएको मुद्दाको व्यहोरा संक्षेपमा यस प्रकारको रहेछ ।
२. २०३५ साल आषाढ १३ गते राति परिवार सहित निदाएको अवस्थामा अन्दाजी ३१–३२ जना हातमा टर्च, भाला, बन्दूक भएका डाँकाहरू आई जहान बच्चाहरूलाई कुटपीट समेत गरी बिगो रु.२४,५३७। को धनमाल लाँदै गरेको अवस्था भतिजो रामबहादुर दाज्यू प्रेमबहादुर कार्की समेत केही मानिसहरू साथमा लिई डाँका भइरहेको ठाउँमा जाँदा हामीहरू भएतर्फ टर्च बाल्दा टर्चको उज्यालोमा जनक महाला, छठुवा महतो, महावीर महतो, महावीरको ज्वाइँ नाम नजानेको, लालबहादुर याद, भालु मुसहर, राय किसन यादव, किसुन दुसाद, जनक मुसहर, भरत कार्की, कोइनीको ज्वाइँ, नाम नजानेको राजपुत, मुनीलाल साहुतेली, सुनहरा खत्वे मधुवती भन्ने नाम नजोनको दुसाद, डोमी मिया, गुदश खत्वे समेत १५ जनालाई चिने अरुलाई चिनिन, हामीहरूलाई देख्ने साथ गोली हान भन्नासाथ म उद्धव र जैकुमार सहित भागेकोमा पछाडिबाट फायर गर्दा म जाहेरवालालाई छर्राले लागेको र दाज्यू प्रेमबहादुर पनि उत्तरतर्फ भाग्दाको अवस्थामा तीन पल्ट गोली फायर गर्दा दोस्रा पटक गोली लाग्दा २०० गजपर गई लड्नु भयो र दाज्यू प्रेमबहादुरलाई औषधी उपचारको लागि हेल्थपोष्टमा लाँदा उपचार हुन नसकी घाइते प्रेमबहादुर ०३५।३।१४ गते बिहान ३ बजे लाहान हेल्थपोष्टमा मरेको हुँदा डाँका खून गरेमा विपक्षीहरूलाई कानुन बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त ।
३. जाहेरवालाको घर भित्रको वाकसहरूको कब्जा समेत टुटफुट भएको भन्ने समेत व्यहोराको घटनास्थलको मुचुल्का ।
४. अभियुक्त मध्ये लालबहादुर यादवको घर खानतलास गर्दा १ हजारको नोट र धुर्वकुमार कार्कीका नाउँको पासबूक र चेकबूक २. उद्ववकुमार कार्कीको नाउँको पासबूक र चेकबूक दुई बाकसमा १ समेत बरामद भएको २०३५।३।१४।५ को बरामदी मुचुल्का ।
५. लालबहादुरको घरबाट बरामद भएको बाकसमा रुपैयाँ कागजपत्र मेरै हो भन्ने समेत व्यहोराको जाहेरवालाको सनाखत ।
६. पक्राउ परेका अभियुक्त डोमा मियाको कागज गराउँदा २०३५ साल आषाढ महीनाको गते वार याद भएन । जाहेरवालाको घरमा डाँका गरेको हुँ भनी डोमा मियाँ सावित भई जनक मलाहा, लालबहादुर यादव, मुनिलाल साहु, गिरिजा चौधरी समेतलाई पोल गरी दिएको साविती कागज ।
७. जाहेरवालाको घरमा डाँका खून गरे गराएको होइन, जाहेरवालाहरूले किन मलाई किटान गरे मलाई थाहा छैन भन्ने समेत व्यहोराको मुनिलाल साहुतेलीको बयान कागज ।
८. मैले डाँका गरेको र जाहेरवालाको दाज्यू प्रेमबहादुर कार्कीलाई गोली हानी मारेको हो भनी सावित भई कमल चौधरीकारीमूल कामी, सन्तु चौधरी, धुरन चौधरी, सुवरलाल चौधरी, सिंगर चौधरी, रामवृक्ष कामी, समेतलाई पोली गरेको गिरिजा चौधरीको बयान कागज ।
९. जनक महाला समेतका मानिसहरूले बिगो रु.२४,५३७। को धनमाल डाँका गरी जाहेरवालाको दाज्यू प्रेमबहादुरको डाँकाहरूको गोलीबाट मृत्यु भएको भन्ने समेत जगेश्वर साहुतेली समेतले गरिदिएको सरजमीन मुचुल्का ।
१०. लाल चौधरी समेत १४ जना उपर कारवाही चलाउन नमिल्ने र अभियुक्त खण्डमा लेखिएका १२ जनाले जाहेरवालाको बिगो रु. २४,५३७। को धनमाल डाँका गरेको सिद्ध हुन आएकोले जाहेरवालाको बिगो भराई अभियुक्त मध्ये गिरिजा चौधरीलाई मु.ज्यान सम्बन्धीको १३(१) बमोजिम सजाय हुन र अन्य प्र.जनक मलाह समेतलाई ऐ. ऐनको १३(३) बमोजिम सजाय समेत गरिपाउँ भन्ने समेत व्यहोरा भएको प्रहरी प्रतिवेदन ।
११. २०३५।३।१३ गतेका दिन रात म आफ्नो गाउँघरमा नभई जि.स.लाहान न.पं.भगवानपुर फकि र महत्तो कोइरीको घरमा ३ गते गई ऐन १७ गते घर आएकोले डाँका खून गरेको होइन भन्ने समेत व्यहोराको छटुवा महत्तोको अदालतमा गरेको बयान ।
१२. ०३५।३।१३ गते आफ्नै घरमा छु । मेरो घरबाट धगेडी ३ कोष टाढा हुँदा जाहेरवालालाई चिन्दिन, म उपर सरजमीन समेतले किन शंका देखाए जाहेरवालाको घरमा डाँका खून गरेको होइन भन्ने समेत नारायण महत्तोले अदालतमा गरेको बयान ।
१३. ०३५।३।१३ गतेका दिन रात म विदेश भारत जिल्ला दरभंगा पंडा सरायमा त्यसै बसेको थिएँ । जाहेरवालालाई नचिनेको हुँदा डाँका खून समेत मैले गरेको होइन, प्रहरीमा भएको कागज मेरो खुशीराजीबाट भए गरेको होइन भन्नेसमेत व्यहोराको गिरिराज चौधरीले अदालतमा गरेको बयान ।
१४. ०३५।३।१३ गतेका दिन म आफ्नो गाउँघरमा नभई ऐ. १२ गतेका दिन आफ्नो घरबाट नवराजपुर वार्ड नं. २ बस्ने सितारामको घरमा गएको थिएँ । त्यहाँ मेरो जग्गा भएकोले जग्गा विक्री गर्न गएको थिएँ र ०३५।३।१५ गते मात्र घर आएको हुँदा जाहेरवालाको घरमा डाँका खून समेत गरेको होइन भन्ने समेत व्यहोराको प्र.लालबहादुर यादवको अदालतमा भएको बयान ।
१५. २०३५।३।१३ गतेका दिन रात ज्वरो आई विरामी परेको हुँदा घरमै छु । जाहेरवालाको घर र मेरो घर १।। कोष फरकमा छ मलाई रिसइवीबाट पोल गरेको मात्र हुन् जाहेरवालाको घरमा डाँका खून गरेको समेत होइन भन्ने समेत व्यहोराको गुदरी खत्वेले अदालतमा गरेको बयान ।
१६. ०३५।३।१३ का दिन रात जाहेरवालाको घरमा मैले डाँका खून गरेको समेत होइन कसले डाँका खून गरे मलाई थाहा छैन । विरामी हुँदा १३ गतेभन्दा अगाडि औषधी गर्न विदेश भारत खुटौनामा भर्ना भएको हुँदा ६ महीना पछाडि गाउँघरमा आएको हुँ भन्ने समेत व्यहोराको महावीर महतोले अदालतमा गरेको बयान ।
१७. २०३५।३।१३ गतेका दिन राति जाहेरवालाको घरमा डाँका खून गरेको छैन । प्रहरीमा भएको कागज मेरो खुशीराजीबाट भएको होइन भन्ने समेत व्यहोराको डोमी मियाँले अदालतमा गरेको बयान ।
१८. प्रतिवादी जनक मलाहाले ०३६।१।४।३ गतेका प्र.रामाकसुन यादवले २०३६।३।२ गतेको प्र.जनक महसरले ०३६।१।४ गतेको प्र.मुलर मुसहरले २०३६।३।१२ गतेमा प्र.मुनीलाल साहुले ०३६।३।३ गते समेत तामेल भएको म्याद गुजारी बसेको ।
१९. जनक मलाहा, रामकिसन यादव, जनक मुसहर, भुलर मुसहर, भूमिलाल साहुले शुरु म्याद गुजारी बसेकोले अ.बं.१९० नं. बमोजिम मुलतवी राख्ने र गिरिराज चौधरीले ज्यान मारेको र डाँका गरेको ठहर्छ र प्र.लालबहादुर यादव डोमी मियाँ समेतले डाँका गरेको ठहर्छ । अन्य प्रतिवादीहरूले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको सिराहा जिल्ला अदालतको ०३८।३।१५ को फैसला ।
२०. शुरु जि.अ.को फैसला कानुन तथा न्याय प्रतिकूल भएको स्पष्ट देखिने हुँदा उक्त फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको लालबहादुर यादवको पु.क्षे.अ.मा पर्न आएको पुनरावेदन रहेछ ।
२१. प्रतिवादी गुदर खत्वे, महावीर महतो, छटुवा महतो, नारायण महतो समेतलाई सफाई दिएको शुरु जि.अ.को फैसला मिलेको नहुँदा बदर गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकार तर्फबाट पु.क्षे.अ.मा पुनरावेदन परेको रहेछ ।
२२. शुरु जि.अ.को फैसलामा लेखिएका पुरा प्रमाण समेतबाट सिराहा जि.अ.को फैसला मनासिव छ भन्ने समेत व्यहोराको मिति ०३९।२।२ गतेको पु.क्षे.को फैसला रहेछ ।
२३. उक्त फैसला उपर श्री ५ को सरकार तथा प्र.लालबहादुर यादवको समेत पुनरावेदन परी र प्र.गिरिजा चौधरीको हकमा साधक जाहेर भई पेश हुन आएको रहेछ ।
२४. नियम बमोजिम पेशहुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहित मिसिल अध्ययन गरी पुनरावेदक प्र.लालबहादुर यादवको तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री दमन ढुंगानाले मेरो पक्ष उपर ज्यान सम्बन्धीको १३(१) को अभियोग लगाएकोमा सोबाट निजले सफाई पाइसकेको र निज उपर डाँकामा दावी नहुँदा डाँकामा सजाय गरेको मिलेन, निजको घरबाट सामान बरामद भएको भनेकोमा बरामदी मुचुल्कामा बसेका व्यक्तिहरूलाई यस अदालतबाट बुझ्दा ४ जना मध्ये ३ जनाले बरामद भएको होइन भनी वकी लेखी दिएको समेत हुँदा निजले सफाई पाउनु पर्छ भन्ने समेत र श्री ५ को सरकारको तर्फबाट खटिई उपस्थित हुनु भएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले गोली चलाउने एकजना गिरिजा चौधरी खुल्न आएको र अन्य प्रतिवादीहरू मध्ये कसले मारे भन्ने कुरा खुल्न नआएपछि निजहरूलाई ज्यान सम्बन्धीको १३(३) अनुसार नै सजाय हुनु पर्नेमा सो नगरी सफाई दिएको फैसला कानुन बमोजिम छैन । वारदात स्थलको प्रकृति गोली फायरको संख्या, वारदातमा प्रयोग भएको बन्दूकको संख्या तथा जाहेरी र सरजमीनको भनाई मूल्यांकन भएको छैन । प्रतिवादीहरू सबै वारदात स्थलमा आई ६।७ नाले बन्दूक समेतका घातक हतियार प्रयोग गरी ज्यान समेत मारेको देखिँदा प्र.डोमी मियाँ र लालबहादुरलाई डाँका गरेकोसम्म ठहर्याई अन्य प्रतिवादीहरूलाई सफाई दिएको फैसला मिलेको नहुँदा बदर भई वादी दावी बमोजिम सजाय गरिपाउँ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
२५. अब पु.क्षे.अ.को इन्साफ मनासिव बेमनासिव के रहेछ सो कुरामा निर्णय दिनु परेको छ ।
२६. निर्णयतर्फ विचार गर्दा यसमा पुनरावेदक प्रतिवादी लालबहादुर यादवलाई ज्यान तर्फ सफाई दिई डाँका तर्फ सजाय गरी शुरु सि.जि.अ.बाट भएको फैसलालाई सदर गरी पु.क्षे.अ.बाट भएको फैसला रहेछ ।
२७. वारदात भएको दिन ०३५।३।१३ गते म घरमा नभई नवराजपुर स्थित आफ्नो जग्गा बिक्री गर्न ०३५।३।१२ गते गई ०३५।३।१५ गते मात्र घर फर्केको हुँदा रिसइवीले गर्दा फसाउन दिएको झुठ्ठा जाहेरीको आधारमा डाँका सजाय गर्ने गरेको फैसला त्रुटिपूर्ण हुँदा त्यस्तो फैसला बदर भई सफाई पाउँ भन्ने पुनरावेदक प्रतिवादी लालबहादुर यादवको पुनरावेदन जिकिरको हकमा विचार गर्दा पुनरावेदक प्रतिवादी लालबहादुर यादव अपराध गरेकोमा अदालतमा पूर्ण इन्कारी रहेको देखिन्छ । निजले वारदातको दिन आफ्नो घरमा नभई अन्यत्र रहेको भन्ने जिकिरलाई निजको साक्षीले समर्थन गरी बकपत्र गरेको पाइन्छ । सरजमीनका व्यक्तिले किटान नगरी शंकासम्म देखाएको देखिन्छ । निजको घरबाट डाँकाको मालसामान बरामद भएको भन्ने कुराको हकमा बरामदी मुचुल्काका साक्षीहरूलाई प्रमाण ऐन, २०३१ को दफा ५० को रीत पुर्याई बकपत्र गराएको नदेखिएकोले ऐनको रीत पुर्याई बकपत्र गराई पठाउनु भन्ने यस अदालतको ०४०।१२।२३।५ को आदेश बमोजिम प्रमाण ऐन, २०३१ को दफा ५० को रीत पुर्याई बरामदी मुचुल्काका ४ जना साक्षीहरूको जि.अ.सिराहाबाट बकपत्र गराउँदा ३ जना (मागैन सदा मुसलमान, सुरवैर चौधरी थारु र मधु मण्डल) ले मिति ०३५।३।१४ गतेका दिन बरामदी मुचुल्कामा उल्लेख भए बमोजिमको धनमाल प्र.लालबहादुर यादवको घरबाट बरामदी भएको होइन, छैन भनी बकपत्र गरेको पाइयो रातको समयमा डाँका गरी रहेको व्यक्तिलाई टर्चको रोशनी (जुन डाँकाहरूले जाहेरवालापट्टि बालेका थिए) बाट टर्च बाल्ने व्यक्तिलाई चिनेको हुँ भन्ने जाहेरवालाको भनाईमा पनि सत्यता झल्किदैन । यस्तो शंकास्पद एवं विवादास्पद स्थितिमा पुनरावेदक लालबहादुर यादवलाई दोषी ठहर्याउन न्यायोचित हुँदैन । शंकाको सुबिधा अभियुक्तले पाउँछ भन्ने फैजदारी न्याय सिद्धान्त अनुसार निज लालबहादुर यादवले डाँकाको अभियोगबाट पनि सफाई पाउने ठहर्छ । ज्यानमा सफाई दिई डाँकामा मात्र सजाय गरेको मिलेको छैन भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन ।
२८. सफाई अन्य प्रतिवादीहरूको हकमा श्री ५ को सरकारको पुनरावेदन परेकोमा अभियोग पुष्टी गर्ने सबूत प्रमाणहरू वादी पक्षबाट प्रस्तुत गर्न नसकी सबूत प्रमाणको अभावमा प्रतिवादीहरू मध्ये प्र.छटुवा महतो कोइरी महावीर महतो कोइरी नारायण महतो कोइरी र गुदर खत्वेलाई दुवै खून तथा डाँकाको अभियोगबाट सफाई दिने गरेको शुरु सिराहा जि.अ.को इन्साफ सदर गरेको पु.क्षे.अ.को इन्साफ मनासिव देखिँदा निजहरू सबैलाई सजाय हुनुपर्छ भन्ने श्री ५ को सरकारको जिकिर पुग्न सक्तैन ।
२९. साधकको हकमा विचार गर्दा दाजु प्रेमबहादुर कार्की समेत केही मानिसहरू डाँका भइरहेको ठाउँमा जाँदा हामीहरूलाई देख्नासाथ ठोक भनेपछि भाग्दा पछाडिबाट जाहेरवालालाई छर्राले लागेको र जाहेरवालाको दाजु प्रेमबहादुर कार्कीलाई गोली लागी लडेपछि हेल्थपोष्टमा उपचारार्थ लैजाँदा ०३५।३।१४ गते विहान ३ बजे हेल्थपोष्टमा मरेको भनी मृतकको भाइ उद्धवकुमार कार्कीको जाहेरी परेको, पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण गोली लागी रक्तश्राव भई मरेको भन्ने लेखिएको र अभियुक्त मध्ये गिरिजा चौधरीले चलाएको गोलीबाट प्रेमबहादुरको मृत्यु भएको भन्ने मिसिलबाट देखिएको र अभियोगमा चित्त बुझाई पुनरावेदन समेत नगरी बसेको देखिएकोले निजलाई ज्यान सम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरेको शुरु सिराहा जि.अ.को इन्साफ सदर गरेको पु.क्षे.अ. को इन्साफ मनासिव छ । प्र. लालबहादुर यादवले डाँका तर्फ पनि सफाई पाएकोले डाँका तर्फ सजाय गर्ने गरेको शुरु सि. जि.अ.को इन्साफ सदर गरेको पु.क्षे.अ. को इन्साफ केही उल्टी हुन्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्र.लालबहादुर यादवको माथि इन्साफ खण्डमा लेखिए अनुसार शुरु सिराहा जि.अ.ले खूनतर्फ सफाई दिई डाँकातर्फ सजाय गरेकोलाई पु.क्षे.अ.बाट सदर भएको इन्साफ केही उल्टी भई निजले डाँकामा समेत सफाई पाउने ठरहेकाले निजलाई शुरु जि.अ.ले गरेको कैद वर्ष ६ र जरिवाना रु.३६८०५।५० र अ.बं.३०३ नं. ले पुनरावेदन गरे बापत सयकडा १० ले जरिवाना रु.३६८०।५५ र कैद महीना ७।६ गर्ने गरी पु.क्षे. अ. बाट लगत कसेकोमा सो केही नलाग्ने हुँदा सो लगत कट्टा गर्नु भनी शुरु सि.जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु ..................१
प्र.लालबहादुर यादवके निजले निजलाई लागेको यस अदालतमा कैद र जिरिवाना बापत पुनरावेदन गर्दा जेथा जमानी राखेकोमा उक्त जरिवाना नलाग्ने भई सफाई पाएकोले निजले यस अदालतमा राखेको र सोही बापत क्षेत्रीय अदालतमा राखेको जेथा जमानी समेत फुकुवा नभएको भए उक्त जेथा जमानी फुकुवा गर्न लेखी पठाउनु..............१
नियम बमोजिम गरी मिसिल बुझाई दिनु....................
उक्त रायमा मेरो सहमति छ ।
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव
इति सम्वत् २०४१ साल भाद्र १२ गते रोज ३ शुभम् ।