शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २०७० - अंश

भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक:

निर्णय नं. २०७०  ने.का.प. २०४१                   अङ्क ७

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४० सालको दे.पु.नं. ४३६

मुद्दा : अंश

पुनरावेदक/वादी : जि.सुनसरी भोक्राहा गा.पं. वार्ड नं. ७ बस्ने सहबुद अन्सारी मियाँ

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने हनिफ अन्सारी मियाँ समेत

फैसला भएको मिति : २०४१।७।२१।३ मा

§  वादी प्रतिवादीका नाउँमा अलग अलग जग्गा दर्ता देखिंदैमा अंशबण्डा भएको अनुमान गर्न नमिल्ने ।

(प्रकरण नं. ११)

पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी

विपक्षी, प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

उल्लेखित मुद्दा : x

फैसला

          न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०३९।२।२५ को निर्णय उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

          २.  सुद्धि अन्सारीका ५ भाइ छोरामा जेठा स्वर्गीय बजीर, माहिला स्वर्गीय हाकिम, साहिला हनिफ, काइला सर्हिव, कान्छा पाँचु हुन्, सुद्धि अघिनै स्वर्गीय भइसकेका र स्वर्गीय बजिरका दुई मा जेठा कमिद, कान्छा छोरा समिद वावा, स्वर्गीय हाकिमको एकमात्र छोरा म सहबुद, काका हनिफको २ छोरामा जेठा सफीद, कान्छा हबिब, हुन् । सफिदको छोराहरू नभई ३ छोरी भएको, निजहरू अघि नै बिहे गरी सकेका र कान्छा काका स्वर्गीय पाँचुका ४ भाइ छोरामा क्रमशः हफाज, रहमान, सदिक र कान्छा जलिल हुन् । ठूला परिवार भएकोले हित्तचित्त नमिली ०३३ साल फाल्गुणदेखि नै भुलिया बाहेक सबै अलग बसी आएका छौं, हाम्रो हजुरबाबुका नाउँको सम्पत्ति बजिर, हनिफ र निजका स्वास्नी छोराहरूका नाउँमा दर्ता रहेको हुँदा अंशबण्डाको २० नं. बमोजिम फाँटवारी तायदाती लिई ५ भागको एक भाग अंश छुट्याई पाउँ भन्ने समेत समिद अन्सारी मियाँ समेत २ जनाको संयुक्त फिरादपत्र ।

          ३.  प्रतिवादी मध्येका हनिफ मियाँको बाबु म सुद्धि मियाँ, सप्तरी जिल्लाको मैनाहा मौजामा बस्नु भएको र हामीहरूको जन्म सोही ठाउँमा भएकोले कोशी नदीले हाम्रो जग्गा सम्पूर्ण कटान गरी बाबु म सुद्धी मियाँले बिक्रमपुर मौजामा ल्याई बसीबुतो गरी पालनपोषण गरिरहेको अवस्था बुबा आमा कालवस हुनु भई घरको मुख्य जेठो दाजु वादीका बाबु बजिर मियाँ र माइलो हाकिम मियाँ थिए, अवस्थाले गर्दा साथमा बस्न नसकी हनिफ मियाँ १९६६ सालमा टप्पुतर्फ घरबाट भागी विराटनगर निवासी स्व.चन्द्रप्रसादको घरमा नोकरी गरी बसेका थिए । १४९८ सालमा दाजु बजिर मियाँ आई मलाई भेटी मेरो मालिकबाट रु.१२०। दुई वर्षको तलब लिई बिक्रमपुरमा ज.वि.३। ।९.जग्गा दाजु बजिर मियाँको नाउँमा लिनु भई त्यसै जग्गामा चारभाइले घरबनाई बसेका थिए, म प्रतिवादी मध्येका हनिफ मियाँले भोक्राहा मौजामा घर बसी ०३४ सालमा नोकरी गर्न छाडी आफ्नै कामकाज गरी आएको छु म हानिफ मियाँ प्र.कुरामी मियाँ, सफीद मियाँ, हविव मियाँले अंश दिनु पर्ने छैन, भन्ने समेत हनिफ मियाँ समेत ४ जनाको संयुक्त प्रतिउत्तर पत्र ।

          ४.  प्रतिवादी मध्येकी म मरिचन मियाँयिनको वादी मध्येका समिर मियाँको अंश भाग हामी मरिचन र समिरको बिचमा गरेको छैन अरु ससुराका सन्तानलाई अंश दिनपर्ने र लिनपर्ने समेत छैन ०३३ सालमा ससुराका सन्तानसँग भात भान्सा छुट्याएको छैन भन्ने मरिचन मियाँइनी वादीहरूलाई हामीले अंश दिनुपर्ने बाँकी छैन भन्ने समेत व्यहोराको मूलिया मियाइनी समेत ७ जनाको संयुक्त प्रतिउत्तर पत्र ।

          ५.  वादी प्रतिवादी घरसारमा मानो छुट्टी बेग्लै बसी आफ्नो आर्जन दर्ता तिरो भरो गर्न थालेको भन्ने सिद्ध भएकाले अंशपाउँ भन्ने वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत सुनसरी जिल्ला अदालतको ०३८।३।२३।३ को फैसला ।

          ६.  सो फैसलामा चित्त बुझेन, शुरु इन्साफ बदर गरी वादी दावी बमोजिम इन्साफ गरिपाउँ भन्ने समेत अन्सारी मियाँको पुनरावेदन पत्र ।

          ७.  वादी दावी मुद्दा ठहर गरेको शुरु सुनसरी जि.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३९।२।२५ को फैसला ।

          ८.  पू.क्षे.अ.बाट भएको ०३९।२।२५ को फैसला सार्वजनिक महत्वको विषयमा गम्भीर कानुनको त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भनी सहबुद अन्सारीको निवेदन परेकोमा, पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालतबाट मिति ०४०।७।१६ मा आदेश भएको रहेछ ।

          ९.  पुनरावेदक (वादी) तर्फबाट बहसमा उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले मेरो पक्ष र विपक्षी प्रतिवादीहरूका बिच अंशबण्डा भएको लिखत प्रमाण नभएकोले र हनिफ मियाँको प्रतिउत्तरको प्रकरण नं. ३ मा अंशलिन बाँकी छ भन्ने उल्लेख भएबाट अंश भएको छैन भन्ने स्पष्ट हुन्छ । अंशियारहरूको नाउँमा जग्गा अलग अलग दर्ता देखिंदैमा अंशबण्डा भइसकेको अनुमान गर्न मिल्दैन, मेरो पक्षले दावी बमोजिम अंश पाउने ठहर हुनु पर्ने भन्ने समेत र विपक्षी प्रतिवादीहरू तर्फबाट बहसमा उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले मेरो पक्षहरू र पु.वे.वादी अघि देखिनै भिन्न भई बसी आफ्नो नाउँमा जग्गा दर्ता तिरोभरो गरी बसी आएको हुँदा पु.वे.लाई मेरो पक्षहरूले अंश दिनु पर्ने होइन भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

          १०. प्रस्तुत मुद्दामा वादीले अंश नपाउने ठहर गरेको शुरु सुनसरी जि.अ.को इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अ.को इन्साफ मिले नमिलेको के छ, सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

          ११.  यसमा मालपोतको पत्रबाट वादीका नाउँमा जग्गा दर्ता रहेको देखिएको वादी प्रतिवादी अलग अलग बसी अलग अलग जग्गा दर्ता देखिएकोले अंश भाग भएको मान्नुपर्ने हुँदा शुरु सुनसरी जि.अ.को इन्साफ मनासिव भनी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट मिति ०३९।२।२५ मा फैसला भएको पाइन्छ । पेश भएको प्रस्तुत मुद्दाको शुरु मिसिल हेरिएमा प्रतिवादी मध्येका हनिफ मियाँले दिएको प्रतिउत्तरको प्रकरण नं. ३ मा बजिर मियाँबाट अंश लिन बाँकी छ भन्ने लेखाई भएको हुँदा स्वयंम प्रतिवादीले पनि सगोलमै रहेको कुरा स्वीकार गरेको देखिन्छ । यस्तो अवस्थामा अंश नभएको कुरामा वादी प्रतिवादीकै मुख मिलेको देखिएकाले वादी प्रतिवादीका नाउँमा अलग अलग दर्ता देखिंदैमा अंश बण्डा नभएको अनुमान गर्न नमिल्ने हुँदा अघि अंश भइसकेको र वादी दावी नपुग्ने ठहराएको शुरु सुनसरी जि.अ.को इन्साफ सदर गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । ऐन बमोजिम तायदाती लिई कानुन बमोजिम गर्नु भनी पक्ष विपक्षलाई तारेख तोकी मिसिल शुरु सुनसरी जि.अ.मा पठाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४१ साल कार्तिक २१ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु