शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २०७१ - ज्यान

भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक:

निर्णय नं. २०७१   ने.का.प. २०४१                   अङ्क ७

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४१ सालको फौ.पु.नं. ३५०

सम्वत् २०४१ सालको फौ.सा.नं. १०१

मुद्दा : ज्यान

पुनरावेदक/प्रतिवादी : कैलाली कारागारमा थुनामा बस्ने धर्मराज भट्ट

ऐ ऐ कारागारमा थुनामा बस्ने रघुनाथ भट्ट

विरुद्ध

विपक्षी/वादी : श्री ५ सरकार (गौरीलालको जाहेरी)

फैसला भएको मिति : २०४१।७।२७।२ मा

§  सरजमीनहरूले मिलेमतोबाट मारेको हो भन्ने समेत बकी लेखी दिएको देखिँदा अभियुक्तलाई ज्यान सम्बन्धीको १३(४) बमोजिम सजाय गरेको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्ने ।

(प्रकरण नं. २१)

पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

विपक्षी वादी तर्फबाट : x

उल्लेखित मुद्दा : x

फैसला

          न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला उपर प्रतिवादी धर्मराज भट्ट समेतको पुनरावेदन र साधक निकासाको लागि समेत पेशहुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : कासीनाथ भट्टलाई नारायणदत्त भट्ट समेतले ०३४।११।२३ गतेको दिन वन कटौरी भन्ने जङ्गलमा टाउको काटी फालेको तहकिकात हुँदा चिन्न नसकेतापनि मृतकको श्रीमतीले लुगा समेत सनाखत गरेको नारायणदत्तसँग लेनदने सम्बन्धमा इवी भएकोले सो इवीबाट झगडा हुँदा तँलाई काशीनाथको जस्तै गरी मारी दिन्छु भनी अरुले भनेकाले मृतकको श्रीमती देवकुमारी समेतले निज ३ जनाको मिलोमतोबाट कासीनाथको ज्यान मारेमा कारवाही गरिपाउँ भन्ने गौरीलालको जाहेरी ।

          २.  धर्म भट्ट मेरो भाइ हो रंगे भट्टे भन्ने थाहा छैन । ०३४ साल फाल्गुण २३ गतेका दिन रात रा.प्रा. वि.म.साँडे पानीमा थिएं । धर्मरंगे भट्ट काहाँथिए थाहाछैन । कासीनाथलाई चिन्दछु । निजलाई कसले मार्‍यो थाहा छैन । उजूरवालाले आफू बच्नको लागि मेरो नाममा उजूर दिएको हो । काशीनाथ कर्तव्यबाट मरेको भन्ने सुनेको थिएं । रघुनाथ काशीनाथका घरमा २०३४ साल कार्तिक महीनामा आई फाल्गुणसम्म बसेको भन्ने सुनेको भन्ने समेत नारायण दत्त भट्ट समेतको बयान कागज ।

          ३.  मृतकको श्रीमती देवकुमारीसँग रघुनाथको अवैध सम्बन्ध भई ०३४।११।२३ गते घटना गराउने योजनाबनाई आएको शंकालाग्दछ भन्नेसमेत गौरीलालको सनाखतकागज ।

          ४.  ०३४ साल फाल्गुण महीना हो गते वारको सम्झना छैन । काशीनाथको श्रमितीको आमालाई धनगढी पुर्‍याउने लडियामा बसाली आइरहेको अवस्था छुधिया भन्ने जंगलको बीचमा पुगेपछि कोठारी काशीनाथको खुकुरी समाती निजको गर्धनमा प्रहार गरी मृतकको श्रीमतीले लडिया चलाउनु भनेकाले धनगढी तर्फ आयौं । कसैलाई नबताउनु भनी भनेको र मृतकको श्रीमतीसँग मृतक घटना भएको बखत कोठारीसँग सुत्ने गरेका थिए । काशीनाथलाई मारेको कुरा थाहा पाएसम्मको बताई दिएको छु भन्ने समेत सोमलालले गरी दिएको ततिम्बा बयान । काशीनाथको श्रीमतीको र निजको घरमा कोठारीसँग सुत्ने गरी आएको विश्वास लाग्छ भन्ने समेत श्यामलाल समेतको कागज ।

          ५.  काशीनाथको घरमा कोठारी भई काम गर्नेले मृतकको श्रीमती देवकुमारीसँग करणी गर्ने कुरा मृतकले थाहा पाई काशीनाथ रघुनाथको झगडा हुन्थ्यो र काशीनाथलाई मार्नु पर्‍यो सहयोग देउ भनी रघुनाथ भट्ट र काशीनाथको श्रीमती र नारायणदत्त बसेको समाचोरा गाउँमा रघुनाथ आई मार्नु पर्छ भनी निजले भनेबाट ०३४।११।२०।२१ गते काशीनाथ कथा लगाई आउँछ बन कट्टौरीको जङ्गलमा मार्नु पर्‍यो भनी काशीनाथको बाटो कुरी बसी बाटोमा पुग्दा रघुनाथले पछाडिबाट एक पटक लाठी प्रहार गर्‍यो काशीनाथ जमिनमा पछारियो रघुनाथसँग भएको खुकुरीले गर्धनमा २ पटक प्रहार गरी टाउको छुटियो । टाउको समाई रघुनाथ जङ्गलको बाटो भई भाग्यो । मानीसको चेवा मात्र गरेको हुँ । रघुनाथको प्रहारबाट मृत्यु भएको हो । देवकुमारीले लोग्नेलाई मारी देउ रु.२०००। दिन्छु भनी भनेकोले मैले थाहा पाएको भन्ने समेत धर्मराजको बयान ।

          ६.  ०३४।७।१८ गते काशीनाथको घरमा आएको थिएँ । काशीनाथको श्रीमतीसँग मेरो अवैध सम्बन्ध भई लोग्नेलाई मारी दिनुपर्‍यो भनी देवकुमारीले भनेकी । ०३४ फाल्गुण २०।२१ गते बन कट्टौरीको जङ्गलमा गई हामी लुकी बसेको हो काशीनाथलाई आई मैले लाठीले टाउकोमा हानी धर्मराजले काशीनाथलाई समातेको खुकुरी निकाली गर्धनमा २ पटक हानी मारी सकेपछि देवकुमारी भएको ठाउँमा आई धर्मराज समाचौर तर्फ गए । देवकुमारीको सहमतिबाट धर्मराज र मैले मारेको हो नारायणदत्तको सम्बन्धमा थाहा पाएको छैन भन्ने समेत रघुनाथ भट्टको बयान कागज ।

          ७.  मेरो र रघुनाथको रघुनाथसँग करणी लिने दिने व्यवहार रहेको लोग्नेले थाहा पाई झगडा हुन्थ्यो, कसैले थाहा नपाउने गरी मारी दिनुपर्‍यो । दुवैले सम्पत्ति पनि खाने र कार्यको बाधा समेत फुक्ने सल्लाह भई मार्नेलाई रु.२०००। दिने कुरा भई २०३४।११।२२ गते लोग्ने कथा लगाउन गएको थाहा पाई काशीनाथलाई मार्ने योजना गराई ०३४।११।२२ गते घटना गरी म र धर्मराजले बन कटौरी जङ्गलमा मारी दियौं । खुकुरी रघुनाथको हो भन्ने समेत मृतकको श्रीमती देवकुमारीको कागज ।

          ८.  मृतक काशीनाथलाई रघुनाथ र धर्म भट्ट र मृतकको श्रीमती देवकुमारी समेतको मिलेमतोबाट मारेमा पूर्ण विश्वास लाग्छ भन्ने समेत सरजमीन मुचुल्का ।

          ९.  बुझिएसम्मका प्रमाणबाट ज्यान मारेमा रघुनाथ भट्टलाई ज्यान सम्बन्धीको १३(१) बमोजिम र बचन दिने देवकुमारी र सहयोग दिने धर्मराजलाई १३ को देहाय ४ बमोजिम र ज्यान दवाउने नारायणदत्तलाई ऐ.को २५ नं. बमोजिम सजाय हुनुपर्ने भन्ने समेत प्रहरी प्रतिवेदन ।

          १०. काशीनाथ जीवित छैन देवकुमारी र रघुनाथ भट्टले मारेका हुन तँलाई रु.२०००। दिउँला सहयोग गर्नु पर्‍यो भनेको थिए । रघुनाथ समेत भई मारेपछि रुपैयाँ माग्दा पछि दिउँला भनी दिएको छैन । नारायणदत्त भट्टको कुरा थाहा छैन देवकुमारीको बचन मानी म समेतले काशीनाथलाई मारेको भन्ने समेत धर्मराज भट्टको अदालतमा गरेको बयान ।

          ११.  पुजा लगाउन गएका काशीनाथ भट्टलाई रघुनाथ भट्टसँग मेरो सम्बन्ध रहेको पनि छैन मैले लोग्नेलाई मराउन योजना बनाएको पनि हैन मेरो प्रहरीमा कुरै नसोधी आफु खुशी भएको कागज झुठा हो भन्ने समेत देवकुमारीले अदालतमा गरेको बयान ।

          १२. काशीनाथका र मेरो रिसइवी छैन देवकुमारीसँग मेरो बस उठ छैन जाहेरवालासँग जग्गा विषयमा झगडा भएको थियो म प्रति झुठ्ठा उजूर गरेको र प्रहरीमा गरेको कागज डर गरी नसुनाई कागज झुठ्ठा हो भन्ने समेत रघुनाथको बयान ।

          १३. काशीनाथ मेरो काका पर्छन्, धर्मराज मेरो दाजुभाइ नाताका हुन कसका कर्तव्यबाट मृत्यु भयो थाहा छैन भन्ने नारायणदत्तको बयान ।

          १४. रघुनाथलाई ज्यान सम्बन्धीको १ नं. बमोजिम अपराध गरेमा ज्यान सम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्व सहित जन्मकैद धर्मराज भट्टलाई ज्यान मार्नमा सहयोग दिएको अपराधमा ऐ. को १३(४) नं. बमोजिम जन्मकैदको सजाय देवकुमारीलई लोग्नेलाई मार्न सल्लाह दिएमा ऐ. को १३(४) बमोजिम जन्मकैद र अभियुक्त नारायणदत्त भट्टको हकमा बुझिएसम्मका सबूत प्रमाणबाट सफाई पाउने ठहर्छ भन्ने समेत कै.जि.अ.बाट भएको फैसला ।

          १५. सर्वस्व सहितको जन्मकैदको सजाय गर्ने ठहरेको शुरुको इन्साफमा चित्त बुझेन सफाई पाउँ भन्ने समेतको रघुनाथ भट्ट समेतको सुदूर पश्चिमाञ्चल क्षे.अदालतमा परेको पुनरावेदन पत्र ।

          १६. पुनरावेदन जिकिरमा मृतक काशीनाथको लास सनाखत भएको छैन भन्ने तर्फ लासको टाउको नभेटाईएबाट लास काशीनाथको होइन कि भन्ने सन्द्विग्ध अवस्था उत्पन्न हुन्छन् तापनि काशीनाथको लुगा र लासको आधारमा आफू उपर उक्त लास भएका व्यक्ति काशीनाथको हत्याको बचन दिएको अभियोग लाएको मृतक काशीनाथको श्रीमती देवकुमारीले नै लासको सदगत गरिदिएको र एउटा मानिसको सनाखत निजको पत्नी जस्तो प्रमाणित तवरले अरु कसले गर्न सक्ला भन्ने तर्फको आधारमा लास काशीनाथको हो भन्ने तुलनामा शंकाको गुन्जाइस हुन सक्दैन । अभियुक्त धर्मराज भट्ट काशीनाथको हत्या षडयन्त्र र कृयान्वयन सरिक रहेको कुरामा प्रहरी र अदालत समक्ष सावित छन् तर काशीनाथलाई लाठी र खुकुरी प्रहार रघुनाथले मात्र गरेको र आफू कोही आउँछ कि भनी चेवासम्म लिई हेरिरहेको भन्ने निज धर्मराजको भनाई छ । तर निजका दाजु रघुनाथ भट्टको प्रहरीमा गरेको बयानको प्रकरण ५,८ मा काशीनाथलाई पनि धर्मराजले सक्रिय सहयोग गरेको देखिन्छ । साथै देवकुमारीको प्रहरीमा गरेको बयानमा पनि रघुनाथ र धर्मराजले मिली खुकुरी प्रहार गरी काशीनाथलाई मारेको समेत देखिन्छ । अदालतमा पनि प्रहरीको डरले प्रहरीमा गरेको जस्तै बयान अदालतमा गरी दिएको छु भन्ने धर्मराजको पुनरावेदन जिकिर पनि युक्तिसंगत नदेखिँदा धर्मराज भट्टलाई ज्या.सं.को १३(४) बमोजिम सजाय गरेको जि.अ.को इन्साफ मनासिव छ । प्र.अभियुक्त रघुनाथको हकमा कसुर गरेमा निज प्रहरी समक्ष सावित भए पनि अदालत समक्ष इन्कार छन् प्रहरीमा गरेको बयान राजी खुसीले गरेको होइन । डर त्रास गरी सही गरिदिएको हुँ भन्ने निजको भनाई छ ज्यान जस्तो कसुरमा डरत्रासले सही गरेको भन्ने भनाई युक्तिसंगत छैन, साथै निज रघुनाथ भट्टका सहोदर भाइ अभियुक्त धर्मराजले प्रहरी र अदालत समक्ष बयान गरी उक्त वारदातमा सरिक रहेको दाजु रघुनाथ भट्टले नै काशीनाथलाई लठ्ठी र खुकुरीको प्रहारद्वारा मारेको हुन् भनी बयान गरका छन् । धर्मराज र रघुनाथ भट्टको बीच कुनै रिसइवी झगडा भएको पनि कतैबाट देखिँदैन । काशीनाथलाई मार्नु पर्ने कारणमा रघुनाथ र देवकुमारीको सम्बन्ध र सम्पत्ति खाने लोभ नै प्रमुख छ सो गर्नुपर्ने कारण पनि रघुनाथ भट्टलाई नैदेखिन्छ, सम्पूर्ण प्रमाणबाट रघुनाथ भट्ट नै मुख्य अभियुक्त र हत्यारा भन्ने छर्लङ्ग भएबाट निजलाई ज्यान सम्बन्धीको १३(१) अनुसार सर्वस्व सहित जन्मकैद हुने ठहर्‍याएको जि.अ.को इन्साफ मनासिव हुँदा सफाई पाउनु पर्छ भन्ने रघुनाथ भट्टको पनि पुनरावेदन जिकिर पुग्न सक्दैन ।

          १७. अभियुक्त देवकुमारीलाई कसूरदार ठहर्‍याई जन्मकैद गर्ने ठहर उपर निजको पुनरावेदन परेको देखिँदैन तापनि अ.बं.१८६ नं. बमोजिम साधक तहबाट ईन्साफ तर्फ विचार गर्दा देवकुमारी उपरको आफ्ना पति काशीनाथलाई मार्न वचन दिएको अभियोग छ । देवकुमारीले प्रहरी समक्ष बयान गर्दा उक्त अभियोगमा साविती छिन तर अदालतमा इन्कार दिन प्रहरीमा गरेको कागजलाई डरका मारे कुनै कुरा नसोधी अफूखुशी खडा गरी बनाएको कागज हो भन्ने निजको अदालतमा बयान जिकिर देखिन्छ । अदालतमा समेत सावित भई आफ्नो कसूरको स्वीकारोक्ति गर्ने सहअभियुक्त धर्मराज भट्टको बयानको प्रकरण ६ मा रुपैयाँ पनि दिन्छु भनेकोले देवकुमारीको बचन मानी म समेतले र रघुनाथले काशीनाथलाई मारेका नै हौं भनी वयान गरेको देखिन्छ । सोही बयानमा देवकुमारी काकी नाता पर्ने भन्ने समेत उल्लेख हुँदा निजहरू बीच कुनै इवी अदावत समेत नदेखिएबाट देवकुमारीले वचन नदेखिएको भन्ने विना रिसइवी निजलाई पोल्नु पर्ने धर्मराजलाई कुनै कारण देखिँदैन । मुद्दाको वस्तुस्थितिबाट रद्दघुनाथको र देवकुमारीको विवाह पूर्व नै अवैध अनैतिक सम्बन्ध भएको र सोही सम्बन्धलाई निस्कंटक पार्न व्यवधानको रुपमा रहेको काशीनाथलाई मार्ने नियत र स्वार्थ देवकुमारी र रघुनाथलाई भएको देखिन्छ । यस्तो स्थितिमा काशीनाथको सम्पत्तिमा पनि एक छिन अधिकार गर्न पाउने लोभ समेत निश्चित हुँदा काशीनाथलाई मार्नलाई रु.२०००। दिन्छु भनी देवकुमारीले भन्नु कुनै अस्वाभाविक नहुँदा देवकुमारी प्रत्यक्ष कसूर सम्बन्धित भएबाट निजलाई ज्यान सम्बन्धीको १३(४) बमोजिम कसूरदार ठहर्‍याई सजाय गर्ने जि.अ.को इन्साफ मनासिव हुँदा साधक सदर हुने ठहर्छ । अ.बं.१८८ नं. र न्या. प्र.सु.ऐन, ०३१ को दफा ४ अनुसारको साधकको अन्तिम निकासा दिने श्री सर्वोच्च अदालतमा मिसिल साधक सदरको लागि पठाई दिने भन्ने समेत सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०३९।१०।१०।२ को फैसला ।

          १८. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादी धर्मराज भट्ट समेतको यस अदालतमा पुनरावेदन परी साधक निकसाको यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादी पुनरावेदक धर्मराज भट्ट समेत तर्फका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले सबूत प्रमाण परिस्थितिको मूल्यांकन विवेचना गरी निर्णय गर्नु पर्नेमा सो कुराको कुनै विवेचना नगरी गरेकोले धर्मराज भट्टसमेतले सफाई पाउनु पर्छ भन्नेसमेत बहस गर्नुभयो ।

          १९. यसमा मृतक काशीनाथको घरमा कोठारी भई काम गर्नेले मृतकको श्रीमती देवकुमारीसँग करणी गर्ने कुरा मृतकले थाहा पाई काशीनाथ र रघुनाथको झैझगडा भइरहन्थ्यो र काशीनाथलाई मार्नु पर्‍यो सहयोग देउ भनी रघुनाथ भट्ट र काशीनाथको श्रीमती र नारायणदत्त बसेको सामाचौर गाउँमा रघुनाथ आई मार्नु पर्छ भनी निजले भनेबाट मिति ०३४।११।२०।२१ गते काशीनाथ कथा लगाउन आउँछ वन कटौरीयाको जंगलमा सार्नु पर्‍यो भनी काशीनाथको बाटो कुरी बस्यो बाटोमानै पुग्दा रघुनाथले लाठीले पछाडिबाट एक पटक प्रहार गर्‍यो । काशीनाथ जमिनमा पछारियो । रघुनाथसँग भएको खुकुरीले गर्धनमा २ पटक प्रहार गरी टाउको छुटियो । टाउको समाती रघुनाथ जंगलको बाटो भई भाग्यो । मानिसको चेवा मात्र गरेको हुँ रघुनाथको प्रहारबाट मृत्यु भएको हो । देवकुमारीले लोग्नेलाई मारी देउ रु.२०००। दिन्छु भनी भनेको हो भन्ने समेत धर्मराज भट्टको प्रहरीमा साविती बयान दिएको र सोही कुरालाई अदालतमा समेत साविती भएको समेत देखिँदा अभियुक्त धर्मराज भट्टलाई शुरु जिल्ला अदालतले ज्यान सम्बन्धीको १३(४) बमोजिम सजाय गरेको इन्साफ सदर गरेको सूदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ ।

          २०. अभियुक्त प्रतिवादी रघुनाथ भट्टको हकमा काशीनाथको श्रीमतीसँग मेरो अवैध सम्बन्ध भई लोग्नेलाई मारी दिनुपर्‍यो भनी देवकुमारीले भनेबाट लाठी र खुकुरीले प्रहार गरेको हो भन्ने समेत प्रहरीमा साविती बयान भई अदालतमा इन्कार भएतापनि आफ्नै भाइ धर्मराज भट्टले प्रहरीमा र अदालतमा बयान गरेकोमा दाजु रघुनाथको खुकुरी प्रहारबाट काशीनाथ मरेको हो भनी किटानीसाथ प्रहरी र अदालतमा समेत साविती बयान दिएको देखिँदा शुरु जि.अ.ले प्रतिवादी रघुनाथ भट्टलाई ज्यान सम्बन्धीको १३(१) बमोजिम सजाय गरेको इन्साफलाई सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले सदर गरेको इन्साफ मनासिव छ ।

          २१. प्रतिवादी देवकुमारीको हकमा साधक तहबाट सोध्दा रघुनाथको करणी लिनदिन व्यवहार रहिरहेको लोग्नेले थाहा पाई झगडा हुन्थ्यो, कसैले थाहा नपाउने गरी मारी दिनुपर्‍यो । दुवैले सम्पत्ति पनि खाने र कार्यको बाधा समेत पुग्ने सल्लाह भई मार्नेलाई रु.२०००। दिने कुरा भई २०३४।११।२२ गते लोग्ने कथा लगाउन गएको थाहा पाई काशीनाथलाई मार्ने योजना गराई २०३४।११।२३ गते घटना गरी म र धर्मराज भट्टले वन कटौरीको जङ्गलमा मारिदियौं । खुकुरी रघुनाथको हो भन्ने समेत मृतकको श्रीमती देवकुमारीले प्रहरीमा गरेको साविती कागजलाई मैले लोग्नेलाई मराउनु योजना बनाएको पनि छैन मेरो प्रहरीमा कुरै नसोधी आफूखुशी भएको कागज झुठ्ठा हो भन्ने समेत प्रतिवादी देवकुमारीले अदालतमा इन्कार गरेको पाइन्छ । सो इन्कार रहेको कुरालाई अभियुक्त प्रतिवादी देवकुमारीले लोग्नेलाई मारीदेउ रु.२०००। दिन्छु भनी धर्मराज भट्टको प्रहरी र अदालत समेतमा बकी लेखिदिएको र अधिकांश सरजमीनहरूले पनि देवकुमारीको मिलेमतोबाट मारेको हो भन्ने समेत बकी लेखिदिएको देखिँदा अभियुक्त देवकुमारीलाई ज्यान सम्बन्धीको १३(४) बमोजिम सजाय गरेको शुरु कैलाली जिल्ला अदालतको इन्साफ सदर गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । नियम बमोजिम मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४१ साल कार्तिक २७ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु