शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २०७२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक:

निर्णय नं. २०७२ ने.का.प. २०४१               अङ्क ७

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४१ सालको रिट नं. १२८१

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

निवेदक : जाथुमंडर भनेको जि.सप्तरी तिलाठी गा.पं. वा.नं. ४ तिलाठी बस्ने नाथुमंडर यादव परलोक भई निजको छोरा रमेशकुमार यादव

विरुद्ध

विपक्षी : जि.सप्तरी तिलाठी गा.पं. वडा नं. ८ बेलही बस्ने जोखन यादव

भूमिसुधार कार्यालय सप्तरी भूमिसुधार अधिकारी

आदेश भएको मिति :  २०४१।५।२९।६ मा

§  म्याद रीतपूर्वक तामेल भएको देखिन आएन साथै भू.सु.का.सप्तरीको निर्णयमा विवादको जग्गाको २ नं. अनुसूची प्रकाशित भएको छ छैन ? सो केही उल्लेख सम्म पनि भएको देखिन आउँदैन तसर्थ भू.सु.का.सप्तरीको निर्णय उत्प्रेषणको आदेशद्धारा बदर हुने ।

 (प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री शिवानन्द दास सरस

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री र्इन्द्रराज पाण्डे र विद्वान अधिबक्ता श्री भानुराज अर्याल

उल्लेखित मुद्दा : x

आदेश

          न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : नेपालको संविधानको धारा १६।७१ बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार रहेछ ।

          २.   जि.सप्तरी तिलाठी गा.पं. वार्ड नं. ८(क) कि.नं. १८२ को ०१२० जग्गा भागवत भनेको माग भागवतलालबाट ०३६ सालमा मेरा बाबु नाथुमंडरले राजीनामा लिई आफैं खेती गरी आएको छु । साविक जग्गामा त्यस अघि मोही कहिले पनि थिएन ०४०।३।१ गते विपक्षी जोखन यादवले सो जग्गा आवाद गर्छु भनी हलो लिई आएकोदेखि निजलाई जोडकोड गर्न नदिई भूमिसुधार कार्यालयमा गई सोधखोजी गर्दा विपक्षीले मलाई जानकारी समेत नहुने गरी एकतर्फी मोही कायम गरेको कुरा थाहा पाई ०४०।३।३ मा नक्कल लिई पुरा विवरण थाहा भयो । विपक्षीले उक्त जग्गाको मोहीयानी हक दर्ता गरी प्रमाणपत्र पाउँ भनी ०३८।५।२६ मा उजूर गर्नु भएकोमा जग्गाधनी भागवतलाई बुझ्दै नबुझी दर्ताबाट देखिएको भनी नाथुमण्डलका नाउँमा म्याद जारी गरी ०३९।९।२९ मा नै परलोक भइसकेका मेरा बाबु नाथुमण्डरको सट्टा नाथुमण्डलको नाउँको म्याद नाथुयादवले हातैमा बुझी लिएका भनी बेरीतसँग तामेल गरी मलाई थाहा जानकारी नहुने गरी मुद्दालाई एकतर्फी पार्न लगाई वादीले उक्त जग्गाको मोही प्रमाणपत्र पाउने ठहर्छ भनी भूमिसुधार अधिकारीज्यूले ०४०।२।२६ मा निर्णय गर्नु भएको र सो निर्णय उपर अ.बं.२०८ नं. बमोजिम प्रतिउत्तर पत्र लिई उपस्थित हुन जाँदा जे हुने भइसक्यो प्रतिउत्तर दर्ता गर्दिन दरपिठ पनि गर्दिन भनी अधिकारीज्यूले मेरो प्रतिउत्तर नलिई जवाफ दिएबाट समेत प्रत्यक्ष त्रुटिपूर्ण छ।

          ३.   विपक्षीले उजूरी दिंदा जग्गाधनी प्रतिवादी भनी भागवतलाल दासलाई बनाउनु भएको छ तर सो बमोजिम विपक्षी नबनाइएको व्यक्तिका नाउँमा म्याद जारी गरिएको त्रुटिपूर्ण छ । दर्ताबाट जग्गाधनी देखिएको नाथुमंडरको सट्टा नाथु मंडल प्रतिवादी बनाई नाथु मण्डलका नाउँमा म्याद जारी भएको छ तामेलीमा नाथु यादवलाई हातैमा बुझिलिएको हस्ताक्षर देखिन्छ जबकि मेरो बाबु हस्ताक्षर गर्न नसक्ने हुनुहुन्थ्यो । मेरा बाबु ०३९।९।२९ मा परलोक भई सक्नु भएको हुँदा ०३९।१२।८ मा तामेल भएको म्याद निजले बुझ्न असंभव छ अ.बं.११० नं. बमोजिम बेरीतको म्यादलाई मान्यता दिई प्राकृतिक न्याय सिद्धान्त बिपरीत भूमिसुधार अधिकारीले गरेको निर्णय बदरभागी छ ।

          ४.   जोताहा अस्थायी निस्सा अनुसार मोही देखिएको भन्ने सम्बन्धमा सो जो.अ.नि.मा कुनै जग्गाधनीको नाउँ छैन जग्गाको किल्ला मिल्दैन, जग्गाधनी भागवतलाल दास र जोताहा जोखन यादवका नाउँबाट २ नं. लगत प्रकाशित भएको भू.सु.का.सप्तरीमा समेत त्यसको लगत छैन विपक्षीसँग कबुलियत पनि छैन, अतः भूमिसुधार अधिकारीज्यूको मिति ०४०।२।२६ को निर्णय भू.सु.ऐन, ०२१ को दफा २५(२), ३४(१), अ.बं.७८ अ.बं.११० समेतको बिपरीत भएबाट बदर गरिपाउँ भन्ने समेतको रिट निवेदन जिकिर ।

          ५.   यसमा के कसो भएको हो विपक्षीबाट लिखित जवाफ मगाउनु भन्ने समेतको स.अ. सिङ्गलबेञ्चको मिति ०४०।८।१९ को आदेश ।

          ६.   मोहीको लगत भरी तयार भएको प्रमाणहरूका आधारमा हाल नापीको श्रेस्तामा मोही दर्ता गरी मोहीयानी हकको प्रमाणपत्र दिने गरी ०४०।२।२६ मा भएको निर्णय कानुन सँगत हुँदा रिट खारेज हुन अनुरोध छ भन्ने समेतको भू.सु.का.सप्तरीको लिखित जवाफ ।

          ७.   मैले कमाई आएका जग्गामा मेरो मोहियानीको अधिकार सुरक्षित गराई भू.सु.का.सप्तरीबाट भएको निर्णय सदर गरिपाउँ भन्ने समेतका जोखन यादवको लिखित जवाफ ।

          ८.   नियम बमोजिम पेश भएको प्रस्तुत रिट निवेदन अध्ययन गरी रिट निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शिवानन्ददास सरसले बेरीतको म्यादलाई विचारै नगरी मोहीयानी प्रमाणपत्र दिने ठहर्‍याएको त्रुटिपूर्ण छ भन्ने समेत र विपक्षी कार्यालय तर्फबाट खटिई आउनु भएका विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले कानुन बमोजिम प्रमाणको मूल्याङ्कन गरी गरेको भूमिसुधार अधिकारीको निर्णयमा त्रुटि नहुँदा रिट खारेज हुनुपर्ने भन्ने समेत र विपक्षी जोखन यादवका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री भानुराज अर्यालले कानुन बमोजिम जोखन यादवलाई मोही ठहर्‍याएको निर्णयमा त्रुटि नहुँदा रिट निवेदन खारेज हुन पर्दछ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।

          ९.   प्रस्तुत विवादमा रिट निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो कुरामा निर्णय दिनु परेको छ ।

          १०.  निर्णयतर्फ विचार गर्दा यसमा नाथुमंडलका नाममा भू.सु.का.सप्तरीबाट जारी भएको म्याद मिति ०३९।१२।८ मा निज आफैंले बुझी लिएको भनी तामेल भएको देखिन्छ । तर निज नाथुमण्डल यादव मिति ०३९।९।२९ गते नै परलोक भइसकेको भन्ने तिलाठी गाउँ पञ्चायतको मिति २०४०।३।२६ को सिफारिश पत्रबाट देखिन्छ । यस्तो अवस्थामा उक्त म्याद रीतपूर्वक तामेल भएको देखिन आएन । साथै भू.सु.का.सप्तरीको निर्णयमा विवादको जग्गाको २ नं. अनुसूचि प्रकाशित भएको छ छैन ? सो केही उल्लेख सम्म पनि भएको देखिन आउँदैन तसर्थ भू.सु.का.सप्तरीको मिति ०४०।३।२६ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्धारा बदर हुने ठहर्छ । अब पुनः कानुन बमोजिम जो जे बुझ्नु पर्दछ बुझी निर्णय गर्नु भनी विपक्षी भू.सु.का.सप्तरीका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । जानकारी निमित्त आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४१ साल भाद्र २९ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु