निर्णय नं. २०८५ - उत्प्रेषण

निर्णय नं. २०८५ ने.का.प. २०४१ अङ्क ८
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४० सालको रि.नं. १७०५
विषय : उत्प्रेषण
निवेदक : दोलखा जिल्ला सुका ठोकर गा.पं. वार्ड नं. २ विष्णुप्रसाद ढकाल
विरुद्ध
विपक्षी : जिल्ला कार्यालय भूमिसुधार शाखा दोलखा
सुकाठोकर गा.पं. वार्ड नं. २ बस्ने गोविन्द राम ढकाल
आदेश भएको मिति : २०४१।८।१८।२ मा
§ दावीको जग्गा ४ अंशियारले पाउने भन्ने निवेदक सावित भएको तर अरु अंशियारको मञ्जूरनामा समेत नभएकोले ऋण निश्चित गर्न मिलेन अदालतमा भोगबन्धकी ठहराई सबै अंशियार समेतले निवेदन दिन आएमा छुट्टै कारवाही हुने ।
(प्रकरण नं. ८)
निवेदक तर्फबाट :
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे र विद्वान अधिवक्ता श्री प्रकाश वस्ती
उल्लेखित मुद्दा : x
आदेश
न्या. बासुदेव शर्मा : विपक्षी भू.सु.शाखा दोलखाको मिति ०४०।६।१९ को निर्णय उत्प्रेषणको आदेश बदर गरिपाउँ भनी यस अदालतमा मिति ०४०।८।६।३ मा रिट निवेदकको निवेदन दर्ता भएको प्रस्तुत विषयको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छन् ।
२. डिल्लीबहादुरको बारी साँधदेखि पश्चिम मानबहादुरको साँध उत्तर ठाडो गल्लीदेखि दक्षिण यति ४ किल्लाभित्रको सुका ठकोर गा.पं. वडा नं. १ अन्तर्गत पर्ने कमाने भोटे बस्नेको कुमारे विर्ता बारी मकै बीउमाना ।।१२ को जग्गामध्ये ३ भागको १ भाग जग्गा मेरा बाबु उमाकान्तको हकबाट विपक्ष मध्येको गोविन्दरामका बाबु राम ढकाललाई भोगबन्धकी दिई निज बाबुराम भोगीले आउनु भएको नगद रु.३३०। रुपैयाँ ३ खण्डको १ खण्ड ११०। रुपैयाँ निज बाबुरामलाई बुझाई सो भोगबन्धकी निखनी नलिएको कारणले उक्त ३ भागको १ भाग समेत पूरै जग्गा निज साहु बाबुरामले भोग चलन गरी आएको सो भोगबन्धकी निखनी लिन नपाउँदै मेरो बाबु उमाकान्त स्वर्गे हुनु भई घरको मुख्य म भई व्यवहार चलाई आएको र भो.ब.लिने साहु बाबु रामको पनि स्वर्गे भई निजको छोरा विपक्ष मध्येका गोविन्दरामले भो.ब.मा भोगी आएको । साँवाको दोब्बर ब्याज भन्दा बढी खाई सकेको कारणबाट ऋण साधन भइसकेको देखाउँदा पनि विपक्षी गोविन्दरामले उक्त जग्गा फिर्ता नदिंदा भू.सु.ऐन ०२१ को दफा ५० को आधारमा भू.सु.शाखा दोलखामा मेरो शुरु निवेदन परी कारवाही भएकोमा भोगबन्धकी लिई भोगको छैन सो जग्गा बिर्ता उन्मूलन हुँदा बाबुरामको नाउँमा दर्ता भई भोग चलन गरी आएको छु भन्ने विपक्षीको पनि इन्कार भएको र भोगबन्धकी दिएको भन्ने ठोस प्रमाण निवेदकले दिन नसकेको ४ अंशीको ४ भाग हुने भन्ने निवेदक सावित भएको अरु अंशियारको उजूर दावी नभएको अदालतमा गई भो.ब.ठहराई सबै अंशियारको उजुर भएमा कारवाही गर्ने भनी उजूर खारेज गर्ने भनी ०४०।६।१९ गते विपक्षी भू.सु.शाखाले निर्णय गरेको रहेछ । मकै विजन माना ।।१२ जाने बारीको मो.रु.३३०। दामासाहीले लागेको रुपैयाँको सबै भाइले तमसुक लेखी दिनु पर्ने पछि थैली बुझाई जग्गा लिएका बखत दामासाहीले जग्गा बाँडी लिने भनी आफ्नो हस्ताबाट लेखेको लिखत कागज जाँचको ५ नं. २ दफाले यो कागज सदर हुनेमा सो कानुनी लिखतको भू.सु. शाखाबाट मेरो प्रमाणको कुनै वास्ता गरिएन । भोगबन्धकी जग्गा बन्धकीवाला साहुको नाउँमा दर्ता हुँदैमा विर्ता उन्मूलन ऐन, ०१६ को दफा ४(२) ख मा प्रचलित नेपाल कानुन बमोजिम निखन्न दिन्न भन्न पाउँदैन । भोगबन्धकीमा जुनसुकै निखन्न पाउने लेनदेन व्यवहारको १४ नं. र साँवाको दोब्बर ब्याज भन्दा बढी आयस्ता साहूले खाएमा ऋण निश्चित गराउन पाउने भू.सु.ऐन, २०२१ को दफा ५० को कानुनी व्यवस्था पनि भू.सु. शाखाबाट वास्ता नगरिएबाट मेरो कानुनी हक प्रचलनको लागि अन्य हकको उपचार नहुँदा उत्प्रेषणको आदेश जारी गरी विपक्षी भू.सु.शाखाले ०४०।६।१९ मा गरेको निर्णय बदर गराई भोगबन्धकी ऋण निश्चित गराई सम्पत्ति फिर्ता लिन पाउँ भन्ने व्यहोरा उल्लेख गरी रिट निवेदकले जिकिर लिएको रहेछ ।
३. यस अदालत सिं.बे.को ०४०।११।१६ को आदेशानुसार प्राप्त हुनआएको लिखितजवाफ यस प्रकार छन् ।
४. भोगबन्धकी दिएको कानुन बमोजिमको सबूत प्रमाण नहुँदा र हकबेहक सम्बन्धमा कारवाही गर्न यस कार्यालयको कार्यक्षेत्र भित्र नपर्ने भएबाट अदालतमा भई भोगबन्धकी ठहराई निवेदन दिएमा छुट्टै कारवाही हुने व्यहोरा सुनाई खारेजी गर्ने गरेको निर्णयमा कुनै कानुनी त्रुटि नहुँदा झुठ्ठा उजूरी खारेज गरिपाउँ भन्ने भूमिसुधार शाखा दोलखाको लिखितजवाफ रहेछ ।
५. उल्लिखित जग्गा अंश हकबाट मेरो पिताको भागमा परी ०१६ सालमा विर्ता उन्मूलनमा लगत परी रैकर परिणत भइसकेको, भू.सु.लागू हुँदा ७ नं. फाँटवारी मेरो पिताले गर्नु भएको छ । दर्ता बदर समेतमा दावी केही नभएको र भोगबन्धकी नभएको स्थितिमा विपक्षीको रिट निवेदन गर्न हक नभएबाट रिट निवेदन खारेज गरिपाउँ भन्ने व्यहोराको गोविन्दराम ढकालको लिखितजवाफ रहेछ ।
६. नियम बमोजिम दैनिक पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा विपक्षी भूमिसुधार शाखा दोलखाको तर्फबाट खटिई उपस्थित हुनुभएको विद्वान स.अधिवक्ता श्री इन्द्रराज पाण्डे र विपक्षी गोविन्दराम ढकालको तर्फबाट विद्वान अधिवक्ता श्री प्रकाश वस्तीको बहस समेत सुनियो ।
७. प्रस्तुत रिट निवेदनमा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनु परेको छ ।
८. यसमा बन्धकी दिएको ठोस प्रमाण पक्षबाट पेश हुन नसकेको निवेदन दावीको जग्गा म समेत ४ अंशियारले पाउने भन्ने निवेदक सावित भएको तर अरु अंशियारको मञ्जूरनामा समेत नभएकोले ऋण निश्चित गर्न मिलेन अदालतमा गई भोगबन्धकी ठहराई सबै अंशियार समेतले निवेदन दिन आएमा छुट्टै कारवाही हुने व्यहोरा सुनाई निवेदन दावी खारेज हुने ठहर्छ भनी भूमिसुधार शाखा दोलखाको अधिकार प्राप्त अधिकारीले गरेको ०४०।६।१९ को निर्णयमा कुनै कानुनी त्रुटि भए गरेको नदेखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन पत्र खारेज हुने ठहर्छ । नियम बमोजिम फायल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४१ साल मार्ग १८ गते रोज २ शुभम् ।