शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २०९३ - लोग्ने स्वास्नी नाता कायम

भाग: २६ साल: २०४१ महिना: मंसिर अंक:

निर्णय नं. २०९३ ने.का.प. २०४१               अङ्क ८

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४० सालको फौ.पु.नं. ५०९

मुद्दा : लोग्ने स्वास्नी नाता कायम

पुनरावेदक/वादी : जि.सिरहा साविक राजपूर गा.पं. वार्ड नं. ६ को हाल थलाहाकट्टा गा.पं. वार्ड नं. २ बस्ने भजन यादव

विरुद्ध

विपक्षी/प्रतिवादी : जि.सिरहा ठेगही गा.पं. वार्ड नं. ५ बस्ने कारीवती यादवनी

फैसला भएको मिति :  २०४१।८।५।३ मा

§  विवाहिता लोग्ने स्वास्नीको सम्बन्ध कायमै रहेको अवस्थामा उक्त पत्नीको पेटमा रहे भएको गर्भ अन्य बलियो प्रमाणको अभावमा लोग्नेकै भन्नु पर्ने ।

(प्रकरण नं. १३)

पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह

विपक्षी प्रतिवादी तर्फबाट : x

उल्लेखित मुद्दा : x

फैसला

          न्या. त्रिलोकप्रताप राणा : पू.क्षे.अ.को मिति ०३९।११।१५ को फैसला उपर चित्त नबुझेकोले पुनरावेदन गर्न पाउँ भनी भजन यादवको यस अदालतमा पर्न आएको निवेदनमा मिति ०४०।११।४ मा पुनरावेदनको अनुमति प्राप्त भई बेञ्चसमक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ ।

          २.   विपक्षी कारीवतीसँग २०२० साल बैशाखमा विवाह भएकोले निज विवाहित पत्नी हुन् । मेरो बिहेबाट सन्तान नभएको कारणले, नसोधी जथाभावी माइत गई बस्न लागेकोले सम्बन्ध बिच्छेद गरिपाउँ भनी मुद्दा दिई सम्बन्ध बिच्छेद नहुने ठहरी अञ्चल अदालत समेतबाट फैसला भएपछि विपक्षले मेरा उपर अंश मुद्दा दिई कारवाही चल्दै जाँदा अंश दिनुपर्ने ठहरी फैसला भएपछि बिगो रु.५००। को ०२ जग्गा विपक्षीलाई दिने गरी ०३३।११।१ मा अञ्चल अदालतबाट मिलापत्र भएपछि मुद्दाको रिसइवीले विपक्षीसँग बोलचाल र सहवास समेत थिएन, मैले अर्को विवाह गरेपछि विपक्षी झन् रिसाई रामचन्द्रको घरमा आउने जाने हँसी मजाक दिल्लगी गर्न हाट बजार सँगै जाने एउटै घरमा सुत्ने बस्ने गरेको र रामचन्द्रको विर्यबाट कारीवतीको गर्भ समेत रहन गई ६।७ महीनाको भएको कुरा थाहा पाई विपक्षी रामचन्द्रलाई भेटी तिम्रो विर्यबाट कारीवतीको गर्भ रहन गएकोले दुवै पति पन्ती भई बस भनी ०३७।६।२८ गते भन्दा र पञ्चायत गराउने प्रयत्न गर्दा विपक्षीहरू हाजिर नभएकोले पञ्चायत हुन सकेन । विपक्षीहरू पति पत्नी भई मेरो सत्य डगाई कारीवतीले विपक्षी रामचन्द्रलाई पति बनाई निजको वीर्यबाट गर्भ धारण समेत गरेकोले निजहरूलाई पति पत्नी कायम गरिपाउँ भन्ने भजन यादवको ०३७।७।१७ को फिरादपत्र ।

          ३.   कारीवतीको गर्भ मेरो करणी विर्यमा रहेको होइन मुद्दा चली रिस अदावत भएको पत्नीलाई मेरो जिम्मा लगाई कारीवतीले प्राप्त गरेको घरजग्गा सम्पत्ति आफ्नो गराई मेरो तर्फको अंश दिलाई घरायस अदावत साधन गर्न मेरो उपर झुठ्ठा नालेस गरेको हो भन्ने समेत रामचन्द्र यादवको र म रामचन्द्र यादवसँग करणीमा बोरिएको र निजकै करणी विर्यबाट गर्भ रहेको समेत नहुँदा मैले रामचन्द्र यादवसँग पति पत्नीको सम्बन्ध कायम गर्नुपर्ने होइन भन्ने समेत कारीवती यादवनीको छुट्टाछुट्टै प्रतिउत्तरपत्र ।

          ४.   प्रमाण मिसिल साक्षीको भनाई र सरजमीनबाट समेत वादी र प्रतिवादी बीच करणी लिनु दिनु भएको कुरामा बढी प्रमाण देखिन आई प्र.रामचन्द्रले कारीवतीको जमीन भोग गरेको स्वीकार गरेकोले समेत कारीवती र रामचन्द्रको बीच लोग्ने स्वास्नीको नाता कायम हुने ठहर्छ भन्ने शुरु सिरहा जिल्ला अदालतको ०३८।५।१९ को फैसला ।

          ५.   शुरुको इन्साफमा चित्त बुझेन । सन्तान छोरीलाई वादीकै सन्तान कायम गर्ने गरी सिरहा जिल्ला अदालतको फैसला उल्टी गरी वादी दावीबाट मुक्त गरिपाउँ भन्ने समेत प्र.कारीवती यादवनीको ०३८।८।२ को पुनरावेदन पत्र ।

          ६.   नाता कायम मुद्दा न्या. प्र.सु.ऐन, ०३१ को दफा १३(१)ख. ले पूर्वाञ्चल क्षेत्रीय अदालतको क्षेत्राधिकार भित्रको देखिनाले प्रस्तुत मुद्दाको दायरी लगत काटी क्षेत्रीय अदालतमा पठाई दिने भन्ने सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको ०३८।११।२८ को आदेश ।

          ७.   कारीवती यादवनीको र रामचन्द्रको करणी लिनु दिनु गरेको कुराको प्रमाणिक आधार नभएकोले शुरुको इन्साफ फरक फरक पर्ने भएबाट विपक्षी झिकाई पेश गर्नु भन्ने यस अदालत डिभिजन बेञ्चको ०३९।६।११।२ को आदेश ।

          ८.   कारीवती र रामचन्द्रको बीच करणी लिनु दिनु भएको कुनै तथ्ययुक्त व्यहोरा नदेखिएकोले सत्य मान्न नहुने हुँदा वादी दावी बमोजिम निज रामचन्द्र र कारीवती यादवनीले लोग्ने स्वास्नी कायम गर्न नहुनेमा सिरहा जिल्ला अदालतले लोग्ने स्वास्नी कायम गर्ने गरेको फैसला उल्टी हुने ठहर्छ भन्ने समेतको पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३९।११।१५ को फैसला ।

          ९.   उक्त क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदन गर्न अनुमती पाउँ भन्ने समेतको भजनलाल यादवको यस अदालतमा पर्न आएको निवेदनपत्र ।

          १०.  वादी र प्रतिवादी अलग अलग बसेको देखिन आएको प्रस्तुत जातक वादीको विर्यबाट जन्मेको होइन प्रतिवादी माइती घरमा बसेको र खेती रेखदेख गर्न आउँदा रामचन्द्रको घरमा बस्ने गरेको भनी अधिकांश व्यक्तिको भनाई भएको सो प्रमाणको बिपरीत वादी प्रतिवादीलाई लोग्ने स्वास्नी कायम राखी गरेको पु.क्षे.अ.को फैसलामा अ.बं.१८४, १८५ को त्रुटि देखिएको हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेतको यस अदालतको ०४०।११।४ को आदेश ।

          ११.   नियम बमोजिम पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक भजन यादवकोतर्फबाट विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंहले प्रस्तुत गर्नु भएको बहस समेत सुनियो ।

          १२.  मुख्यतः यसमा पू.क्षे.अ.ले गरेको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने देखिन्छ ।

          १३.  निर्णयतर्फ विचार गर्दा यसमा वादी भजन यादव र प्रतिवादी कारीवती यादवनी विधिवत् लोग्ने स्वास्नी रहेकोमा विवाद देखिन्न । यिनै वादी प्रतिवादीको बीचमा अघि ०३२ सालमा अंश मुद्दा परे तापनि ०३३ सालमा मिलापत्र भएको देखिँदा यी वादी र प्रतिवादी कारीवतीको बीच घरसारमा मेलमिलाप भएकै रहेछ भन्ने स्थिति देखिन्छ । ०३२ सालपछि प्र.कारीवती अन्य पुरुष रामचन्द्रसँग हाँस खेल ठट्टा प्रेम गर्ने गरेको भए सो तर्फ वादी भजन यादवले समयमा नै उजूर बाजूर गर्नुपर्ने अवस्था छ तर सो तर्फ मौकाको उजूरी पर्न सकेको देखिँदैन कसैले आफ्नो स्वास्नी अन्य लोग्ने मानिससँग उठबस हाँस खेल गरेको मन पराउँदैनन् साथै भारत माइती धेरै समयसम्म बसेको भए सम्बन्ध बिच्छेद गराई माग्ने स्थिति समेत पर्दछ म र वादीबाट सम्बन्ध बिच्छेदतर्फ ०३२ साल पछि फेरि उजूर गरेको देखिन्न । सरजमीनका आधि व्यक्तिहरूले कारीवतीको गर्भ वादीको हो भनेको पाइन्छ । विवाहिता लोग्ने स्वास्नीको सम्बन्ध कायमै रहेको अवस्थामा उक्त पत्नीको पेटमा रहे भएको गर्भ अन्य बलियो प्रमाणको अभावमा लोग्नेकै भन्नु पर्ने स्थिति पर्छ । रामचन्द्रको गर्भ हो भन्ने तथ्य कुनै ठोस प्रमाण नआएकोले वादी दावी नपुग्ने ठहराएको पू.क्षे.अ.को इन्साफ मनासिव ठहर्छ । रामचन्द्रले पुनरावेदन नगरे पनि अ.बं. २०५ नं. ले उसको हकमा समेत उल्टी हुने अवस्था हुँदा रामचन्द्रको पुनरावेदन नपरेकै नाताबाट पू.क्षे.अ.को निर्णय गल्ती भन्न मिलेन पुनरावेदक वादी भजन यादवको पुनरावेदन जिकिर पुग्न सक्दैन । तपसीलका कलमहरूमा तपसील बमोजिम गर्नु ।

         

तपसील

पुनरावेदक वादी भजन यादव के माथि इन्साफ खण्डमा लेखिए बमोजिम पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर ठहरेकाले निजलाई उक्त क्षेत्रीय अदालतबाट रु.२५। जरिवाना गरेकोमा पुनरावेदन गरे बापत अ.बं.२०३ नं. बमोजिम पूर्वाञ्चल क्षेत्रीय अदालत उपरको यो पहिलो पुनरावेदन हुँदा सयकडा दशका दरले रु.२।५० थप जरिवाना लाग्छ वारेस भई वेरुजु हुँदा कानुन बमोजिम असूल गर्नु भनी शुरु सिरहा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु ................१

मिसिल नियमानुसार बुझाई दिनु ................ २

 

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४१ साल मार्ग ५ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु