शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१०० - उत्प्रेषण

भाग: २६ साल: २०४१ महिना: मंसिर अंक:

निर्णय नं. २१०० ने.का.प. २०४१             अङ्क ८

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री महेरामभक्त माथेमा

सम्वत् २०४० सालको रिट नं. १९०५

विषय : उत्प्रेषण

निवेदक : जि. बारा औरेया गोढ गा.पं. वार्ड नं. ८ बस्ने सर्वजित राउत अहिर

विरुद्ध

विपक्षी : भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय बारा

जि. वारा औरेया गा.पं. वार्ड नं. ८ बस्ने सर्वनाथ राउत अहिर

आदेश भएको मिति : २०४१।८।७।५ मा

§  वादीले दावी लिएको कुरासँग सम्बन्धित कुरा मात्र प्रमाण लिन मिल्ने ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री श्याम प्रसाद खरेल

विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री लोकभक्त राणा र विद्वान सरकारी अधिबक्ता श्री र्इन्द्रराज पाण्डे

उल्लेखित मुद्दा : x

आदेश

          न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : संविधानको धारा ७१ अन्तर्गत दायर भई यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ ।

          २.   विपक्ष सर्वनाथले जि.बारा वडकी फुलवारीया गा.पं. वार्ड नं. ९(ख) कि.नं. १४० को ज.वि. ०० कि.नं. १४२ को ज.वि.०१३१० ज.ध.पनमतिया मार्फत मौखिक बटैयामा कमाउन पाई कमाई आएको हुँदा गा.पं.ले गरी दिएको सिफारिश पत्र र गाउँ सरजमीन मुचुल्का थान २ समेत पेश गरेको हुँ । जग्गाधनीलाई झिकाई मोही कायम गरी प्रमाणमा समेत पाउँ भनी ०३९।४।२९ मा कलैया हुलाकबाट विपक्ष कार्यालयमा पठाई ०२९।६।१ मा विपक्ष कार्यालयमा दाखिल भई ०३९।५।२ मा दर्ता भई ०३९।६।१८ मा सनाखत गरी सो मितिबाट तारिखमा रहेछन् र ज.ध.प.पनमतियालाई १० दिने इतलायनामा पठाएकोमा हाजिर नभई बसेको र गा.पं.को मुचुल्का तथा कूल कबुलियतके दोहरी समेतका आधारमा भू.सु.ऐन, ०२१ को २५(१) बमोजिम मोही कायम हुने ठहर्छ भनी ०३९।१०।२० मा फैसला भएको । सो पश्चात मेरो दाता पनमतियाले बेरीतको म्याद तामेलीबाट एकतर्फी फैसला भएछ भनी अ.बं.२०८ नं. अन्तर्गत उजूर सहित प्रतिउत्तर पत्र दिएछन् र तारिखमा राख्नु भन्ने आदेश भएछ मेरो दाताले प्रतिवाद गर्दा विवादका जग्गाहरू कमाउन दिएको भू.सं.ऐन, ०२१ को दफा २४ अनुसार कबुलियत हुन पर्ने यो जग्गा सर्वजितलाई हक छाडी दिइसकेको छु भन्ने देखाएको र दर्ता श्रेस्ताबाट समेत म जग्गाधनी भइसकेको देखिए अनुसार मलाई झिकाइँदा जग्गा आफैंले जोती भोगी आएको छु अनधिकृत व्यक्तिले गरिदिएको कबुलियतबाट मोही कायम नहुने हुँदा खारेज गरिपाउँ भन्ने समेत मेरो बयान भएको थियो । विपक्षी अधिकारीज्यूको फैसलामा वादी दावीको जग्गा प्रतिवादी मध्येको पनमतिया चमाइनको एका सगोलका विफाई महरा चमारले वादीलाई कुनै शर्तमा दोहरी कबुलियत गरी कमाउन दिनु भएको र कमाई आएको भन्ने पेश हुन आएको कबुलियत नक्कल र गा.पं.को सिफारिशबाट देखिन आउँछ । अभिव्यक्तिको कबुलियत भनी प्रतिवादीहरूले दावा लिएको भएतापनि भू.सं.ऐन, ०२१ को जग्गाधनीको परिभाषा अनुसार पनमतियाको पति विफाई महरा चमार समेत जग्गाधनीको परिभाषा भित्र पर्न आउनु हुन्छ कबुलियत अनाधिकार भन्न मिलेन र हाल जग्गाधनी सर्वजित राउत अहिरलाई मोही स्वीकार गरेको देखिँदा निवेदन दावीको जग्गा निवेदक सर्वनाथ राउत अहिर, पूर्व फैसला अनुसार नै भू.सु.ऐन, ०२१ को दफा २५(१) बमोजिम मोही कायम हुने ठहर्छ भनी ०४०।९।६ मा फैसला गर्नु भएकोमा विपक्षी सर्वनाथले हुलाकमार्फत चढाएको उजूरीनिवेदनबाट कारावाही चलाउन सकिने कुनै पनि कानुनी व्यवस्था छैन । सरकार वादी हुने मुद्दाका सम्बन्धमा अ.बं.९० नं. मा व्यवस्था छ र सरकार वादी हुने ठाडो बुझ्नु पर्ने कुराको निवेदन पत्रमा ठाडो बुझ्न आदेश भई आएकोमा सम्म सनाखत गराई कारवाही गर्न सकिने व्यवस्था छ तर प्रस्तुत मोही कायमसम्बन्धी विवाद अ.बं.९० नं. तथा ९१ नं. भित्र नपर्ने र पक्षस्वयंले नै उपस्थित भई कार्यालयमा निवेदन दर्ता गर्नु पर्नेमा बेरीतसँग ०३९।४।२९ मा हुलाक मार्फत दिएको निवेदनमा ०३९।६।१८ मा सनाखत गराई कारवाही चलाइएको प्रत्यक्षतः कानुन त्रुटिपूर्ण हुनुको साथै विपक्ष कार्यालयको मिति ०४०।९।६ को फैसला र विपक्षीलाई दिइएको मोहीयानी हकको प्रमाण पत्र समेतले मेरो संविधानद्वारा प्रदत्त हकमा आघात परेको हुँदा उत्प्रेषण वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरी बदर गरी हक प्रचलन गराई पाउँ भन्ने समेतको निवेदन जिकिर ।

          ३.   यसमा विपक्षीहरूबाट लि.ज.मगाई आएपछि पेशगर्नु भन्ने मिति ०४०।१०।१२ को सिं.बे.को आदेश ।

          ४.   पञ्चायतको मुचुल्का समेतबाट म मोही देखिनुको अलावा स्वयं यस रिट निवेदनमा निवेदकले जिल्ला कार्यालयमा मलाई मोही स्वीकार पनि गरेको छ त्यस उपर विपक्षीको उजूरी पनि छैन भने अब अन्यथा भन्न कदापि मिल्दैन तसर्थ प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको सर्वनाथ राउत अहिरको लिखितजवाफ ।

          ५.  निवेदन दावीको जग्गामा मोही सर्वनाथ राउत अहिरलाई भू.सं.ऐन, ०२१ को दफा २५(१) बमोजिम मोही कायम गरेको प्रष्ट भएबाट ऐन नियमको परिधि भित्र रही यस कार्यालयबाट भएको निर्णयमा कुनै कानुनी त्रुटि नहुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको भू.सु.का.बाराको लिखितजवाफ ।

          ६.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत विषयमा निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले विपक्षी भू.सु.का.बाराको ०४०।९।६ को फैसला गैरकानुनी एवं त्रुटिपूर्ण हुँदा बदर गरी हुनु पर्ने भन्ने र विपक्षीतर्फ सर्वनाथ राउत अहिरकातर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री लोकभक्त राणाले निवेदकको रिट निवेदन गर्ने हकदैया नै नहुँदा प्रस्तुत रिट खारेज हुनु पर्ने भन्ने र विपक्षी कार्यालयका तर्फबाट रहनु भएका विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले निर्णय ऐन नियमको परिधि भित्र रही भएको यस कार्यालयको निर्णयमा कुनै कानुनी त्रुटि नहुँदा प्रस्तुत रिट खारेज हुनुपर्ने भन्नेसमेतको बहस प्रस्तुत गर्नुभयो ।

          ७.  प्रस्तुत विषयमा निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने हो वा होइन सो तर्फ नै मुख्य निर्णय दिनु पर्ने हुन आएको छ ।

          ८.   यसमा भू.सु.का.बाराको निर्णय हेर्दा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) बमोजिमको मोही कायम हुने ठहर्छ भन्ने फैसला गरेको देखिन्छ । उक्त दफा २५(१) बमोजिमको मोही कायम हुनलाई भूमिसम्बन्धी ऐन, २०२१ अन्तर्गत बनेका नियमानुसार १ नम्बर लगत भरेको २ नम्बर अनुसूची प्रकाशित भएको र ४ नम्बर अनुसूची र जोताहा अस्थायी निस्सा प्राप्त गरेको हुनुपर्छ जो देखिँदैन । निर्णयमा कबुलियतको आधार लिएको पाइन्छ । तर सर्वजित अहिरले भूमिसुधार कार्यालयमा निवेदन दिंदा कबुलियतको आधार लिएको देखिँदैन । मौखिक बटैयामा कमाएको भन्ने उल्लेख छ । वादीले दावी लिएको कुरा सँग सम्बन्धित कुरामात्र प्रमाण लिन मिल्छ । अतः कबुलियत भएको भन्ने कुरा अप्रासंगिक देखिन आउँछ । तसर्थ भू.सु.कार्यालयबाट भएको निर्णय कानुनी त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई नियम बमोजिम गरी फायल बुझाई दिनु ।

         

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४१ साल मंसीर ७ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु