निर्णय नं. २१०४ - लिखत बदर

निर्णय नं. २१०४ ने.का.प. २०४१ अङ्क ९
फुल बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०४० सालको दे.फु.नं. ४८
मुद्दा : लिखत बदर
निवेदक/वादी : का.जि.न.पं. वडा नं. २६ को हाल वडा नं. १ सेतो दरवार बस्ने देवेन्द्र शमशेर ज.ब.रा.
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने स्वर्गे भइसकेको लिला शमशेर ज.ब.रा.
ऐ ऐ वडा नं. ७ को हाल वडा नं. २३ ओमबहाल बस्ने लामु अमात्य
फैसला भएको मिति : २०४१।९।७।६ मा
(१) अदालतले गरेको निर्णयलाई वादीले चित्त बुझाई बसेको देखिँदा त्यसतर्फ विचार गरी रहन नपर्ने ।
(प्रकरण नं. १५)
निवेदक वादीके तर्फबाट : विद्वान बरिष्ठ अधिबक्ता श्री शम्भु प्रसाद ज्ञवाली र विद्वान अधिबक्ता श्री गंगा प्रसाद उप्रेती
विपक्षी प्रतिवादीको तर्फबाट : विद्वान अधिबक्ता श्री गणेशराज शर्मा
उल्लेखित मुद्दा : x
फैसला
न्या. धनेन्द्रबहादुर सिंह : यस अदालतको डिभिजन बेञ्चबाट मिति २०३९।१।२९।४ मा फैसला भएको उपरोक्त मुद्दा नेपालको संविधानको धारा ७२ को खण्ड (ख) बमोजिम दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भई पेश हुन आएको छ । प्रस्तुत मुद्दा निर्णयार्थ यस बेञ्चमा पेश हुन आएकोछ । प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :
२. मेरो समेत अंश हक लाग्ने सम्पत्ति मेरो मञ्जूरी बेगर रु.१ लाख मात्र लिनु दिनु गरी ६ लाखको अंक बढाई प्र.लामु अमात्य धनी र मे.ज.लिला शमशेर ऋणी भई ०२९।९।१५ का दिन एक लाख मात्र लिनु दिनु गरी ६ लाखको अंक हाली पास भएको र द.नं. १७७५ को लिखतमा उल्लिखित विवरण सहित ४ किल्लाभित्रको जग्गा रोपनी ३–१–२ र सो जग्गामा बनेको घर समेत रजिष्ट्रेशन पास भएको रहेछ । ०२९।९।१७ मा नक्कल लिंदा थाहा पाएँ । म फिरादी मात्र सगोलमा रहेको हुनाले आधा मेरो हक जति बिक्री बदर गरी आधा घर जग्गा लिनु दिनु भएको रुपैयाँ दिई निखन्न पाउँ । थैलीमा मुख नमिलेको हुनाले लेनदेन व्यवहारको १०, ११ र १६ नं. अनुसार नालेस गर्न आएको छु भन्ने समेत फिराद दावी ।
३. वादीले आफ्नो बाबुबाट अंश लिइसकेको र सो बमोजिम व्यवहारहरू भइसकेको हुनाले अंशमा नालिस गर्न सकेको छैन । वादीले नक्कल लिएपछि थैली धरौट नराखेको र अधिकार प्राप्त अड्डामा पनि जानु भएको छैन । साथै बुबाले बिक्री गरेको सम्पत्ति के कति पैत्रिक छ के कति लिलाशमशेरको आफ्नो आर्जनको हो ९० सालको भूइँचालो पछि लिलाशमशेरले आफ्नो आर्जनबाट बनाएको घर दरवार भन्ने कुरा प्रकाशमा नल्याई यसलाई मात्र पैत्रिक सम्पत्ति भन्ने आधारमा हक पुग्ने दावी जिकिर लिएको कानुनसंगत छैन अड्डाको कर्मचारीको उपस्थितिमा थैली लिनु दिनु गरेकोमा झुठ्ठा हो भन्ने झुठ्ठा वादी हुँदा नालिस खारेज गरिपाउँ भन्ने समेत प्र.लामु अमात्यको प्रतिउत्तर जिकिर ।
४. विपक्ष छुट्टी भिन्न भएको मैले अंशबण्डामा १९ नं. ले आफू खुश गर्न पाउने जति थैली लिएको उतिमा राजीनामा गरिदिएको हो विपक्षले ०२३।९।१७ मा थाहापाएँ भन्ने दावा झुठ्ठा हो । विपक्षको मञ्जूर लिनु पर्ने पनि होइन । आधा बदर हुने पनि होइन झुठ्ठा दावाबाट फुर्सद गराई पाउँ भन्ने समेत प्र.लिलाशमशेरको प्रतिउत्तर जिकिर ।
५. लिखत बदर गर्न छोराको हकदैया नलाग्ने हुँदा अ.बं.१८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत ०३१।४।२८।२ को का.जि.अ.को फैसला ।
६. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन ।
७. अंशबण्डाको १९ नं. बमोजिम वादीका भाग जति बदर गरियोस् भनी दावी गरिएकोमा अ.बं.१३३ नं. बमोजिम खुलाउनु पर्ने कुरा वादीबाट खुलाई खुलाएका कुरा प्रतिवादीलाई प्रतिवाद गर्ने मौका दिई कानुन बमोजिम कारवाही किनारा गर्नु भनी का.जि.अ.मा पठाई निखन्नेतर्फ वादीबाट धरौट नराखेको कारणबाट मिलेकै देखिन्छ भन्ने समेत म.क्षे.अ.डि.बे.को ०३२।११।२५ को फैसला ।
८. उक्त म.क्षे.अ.को फैसला बमोजिम कारवाही गर्दा पैत्रिक सम्पत्ति हाल वादीको बयानबाट १२–१२ भएको भनिएको छ । यसबाट आधा ६–६ हुन आउँछ । वादीले बयानमा खुलाएको बिक्री भएको ८–७–२ देखिएको र वीरगञ्ज न.पं.को रसिदबाट ०–१४–० कठ्ठा जग्गा देखिएको छ । १ विगहामा १३–८–० हुने भएकोले १४ कठ्ठा जग्गा र आधा बिक्री गर्न पाउने देखिएको ६–६ समेत गर्दा लिलाशमशेरले अंशबण्डाको १९ नं. बमोजिम आधा खुश गर्न पाउने जग्गा आधाभन्दा बढी नैदेखिनाले वादी दावा पुग्न नसक्ने ठहर्छ भन्ने समेत शुरु का.जि.अ.को ०३५।१०।३ को फैसला ।
९. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादी देवेन्द्रशमशेरको पुनरावेदन ।
१०. अंशबण्डाको १९ नं. बमोजिम शुरुको वादी दावी नपुग्ने ठहराएको इन्साफ मनासिव ठहर्छ भन्ने समेत म.क्षे.अ.डिभिजन बेञ्चको ०३७।१२।११।३ को फैसला ।
११. उक्त म.क्षे.अ.को ०३७।१२।११ को फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत वादी देवेन्द्रशमशेरको नि.नं. १३२८ को निवेदनपत्र ।
१२. यही पक्ष विपक्ष समेत भएको नि.नं. १३२७ मा पुनरावेदनको अनुमित दिइएको र प्रस्तुत मुद्दामा पनि उही विषय समावेश भएको देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत डिभिजन बेञ्चको मिति ०२८।४।२८।४ को आदेश रहेछ ।
१३. वादी देवेन्द्र शमशेर लिलाशमशेरसँग २०१६।१।१६ मा नै मानो छुट्टिई बेगल बसेको भन्ने प्रमाणको अंश मुद्दाको फिरादपत्र लेखबाट देखिनाले समेत र लिलाशमशेरले बिक्री गरेको जग्गाभन्दा बढी नै जग्गा लिलाशमशेरका नाउँमा बाँकी हुँदा वादी दावी नपुग्ने ठहराएको शुरुको इन्साफ सदर गरी निर्णय गरेको म.क्षे.अ.को फैसला मिलेको हुँदा म.क्षे.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने मिति ०३९।१।२९।४ को यस अदालतको डिभिजन बेञ्चको फैसला ।
१३. उक्त फैसला नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्याई हेरी दिनु भन्ने श्री ५ महाराजा धिराजबाट हु.प्र.बक्स भई निर्णयार्थ यसबेञ्चमा पेश हुनआएको प्रस्तुतमुद्दामा निवेदकवादी देवेन्द्र शमशेरका तर्फबाट विद्वान व.अ.श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अ.श्री गंगाप्रसाद उप्रेती तथा विपक्षी प्रतिवादी लामु अमात्यका तर्फबाट विद्वान अ.श्री गणेशराज शर्माले गर्नु भएको बहस समेत सुनियो ।
१४. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा यस अदालत डिभिजन बेञ्चबाट वादी दावी नपुग्ने ठहर्याएको मिलेको छ छैन हेर्नु पर्ने हुन आयो । यसमा बुबा लिलाशमशेरले म सगोलमा बसेको छोराको अंश मार्ने नियतले ०२९।९।१५।६ मा ३–१–२ घर जग्गा लामु अमात्यलाई राजीनामा पारित गरी दिनु भएकोले मेरो अंश हकको आधा जग्गाको लिखत बदर गरी मेरो हक कायम गरी आधा जग्गा निखनाई पाउँ भन्ने वादीको मुख्य दावी रहेछ, प्रतिवादीहरूले प्रत्युत्तरपत्रमा वादी लिलाशमशेरको अंशियार होइन भन्ने जिकिर लिएका छन् तापनि यही वादीले लिला शमशेर उपर दिएको अंश मुद्दामा सर्वोच्च अदालत फुल बेञ्चबाट ०२९।८।२३ मा भएको फैसलाबाट वादी अंशियार होइन भन्ने ठहर नभई अंशबण्डाको २८ नं. ले छोराले बाबुलाई अंशमा कर लगाउन पाउने कानुनी व्यवस्था नभएकोले बाबुबाट अंश दिलाई पाउँ भन्ने छोरा वादीका दावा पुग्न सक्दैन भन्ने पाइन्छ । उक्त निर्णयबाट वादी देवेन्द्र शमशेर लिलाशमशेरको अंशियार होइन भन्न सकिने अवस्था देखिन आएन ।
१५. अब वादी दावीअनुसार प्र.लिलाशमशेरले प्र.लामु अमात्यलाई ०२९।९।१५।६ मा राजीनामा पारित गरी दिएको लिखतको जग्गामध्ये आधा जग्गाको हकमा लिखतबदर हुने नहुने र बाँकी आधा जग्गा वादीले निखन्न पाउने नपाउने विषयमा विचार गर्दा निखन्नपाउँ भन्नेतर्फ वादीदावी खारेज हुने ठहर्याई का.जि.अ.ले गरेको निर्णयलाई मनासिव ठहर्याई म.क्षे.अ.ले गरेको निर्णयमा यी वादीले चित्तबुझाई बसेको देखिँदा त्यसतर्फ विचार गरी रहन परेन । अब आधा जग्गाको लिखत बदर हुने नहुने के हो भन्ने विषयमा विचार गर्दा वादीले गरेको बयानअनुसार लिला शमशेरको नाममा दर्ता रहेको पैत्रिक सम्पत्ति रोपनी १२–१२–०–० रहेको देखिन्छ । त्यसको अतिरिक्त प्रतिवादीले प्रत्युत्तर साथ पेश गरेको प्रमाण वीरगञ्ज न.पं.बाट दिएको रसिदबाट १४ कठ्ठा जग्गा पनि देखिन आएकोछ । १४ कठ्ठा जग्गाको रोपनीमा परिवर्तन गर्दा रोपनी ९–७–० चान चुन हुन आउने हुनाले प्र.लिला शमशेरका नाममा रहेको कूल जग्गा २२–३–० चानचुन रहेकोमा निजले अंशबण्डाको १९ नं. ले कसैको मञ्जूरी नलिई आधा अर्थात् रोपनी १२–१–२ ऐनले गरेको व्यवस्था अनुसार आफू खुस गर्न पाउने देखिन्छ । प्र.लिलाशमशेरले बिक्री गरेको जम्मा रोपनी ८–७–२ मात्र देखिँदा आधा भन्दा कमै बिक्री गरेको देखिँदा वादी दावी बमोजिम लिखत बदर नहुने ठहर्याई स.अ.डिभिजन बेञ्चले ०३९।१।२९ मा गरेको सम्म निर्णय मनासिव ठहर्छ । निवेदक तर्फबाट कोर्टफी दाखिल भई सकेकोले केही गर्नु परेन । मिसिल नियम बमोजिम गर्नु ।
उक्त रायमा हामीहरू सहमत छौं ।
न्या. पृथ्वीबहादुर सिंह,
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव
इति सम्वत् २०४१ साल पौष ७ गते रोज ६ शुभम् ।