निर्णय नं. २१०६ - लिखत बदर

निर्णय नं. २१०६ ने.का.प. २०४१ अङ्क ९
फुल बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०३९ सालको दे.फु.नं. ४०
मुद्दा : लिखत बदर
निवेदक/प्रतिवादी : जि.काठमाडौं फोहरा दरवार बस्ने पुरुषोत्तम शमशेर ज.ब.रा.
विरुद्ध
विपक्षी/वादी : जि.धनुषा रघुनाथपुर गा.पं. वा.नं. ६ बस्ने फुलनाना राणा
ऐ ऐ बस्ने चलाक बहादुर राणा मरी मु.स. गर्ने मधुसदन राणा
सितावदन मरी हक खाने तथा आफ्ना हकमा समेत जि. धनुषा जनकपुर धाम नगर पञ्चायत वा.नं. १ घर भै हाल का.जि. भिमसेनस्थान डेरा गरी बस्ने कुञ्ज बहादुर राणा
फैसला भएको मिति : २०४१।८।२९।६ मा
§ अंश मुद्दा दायर भइसकेपछि निर्णय नभएसम्म विवादित सम्पत्तिको कुनै चिज कसको भागमा पर्ने हो सो कुरा अनिश्चित हुँदा अन्तिम निर्णय हुनुभन्दा अगावै आपस्तमा भागबण्डा गरेकोलाई कानुनसंगत मान्न नमिल्ने ।
(प्रकरण नं. १६)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री अनुपराज शर्मा
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल र विद्वान अधिवक्ता श्री केदारचरण राय
उल्लेखित मुद्दा : x
फैसला
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा ०३८।१२।१३ मा डिभिनजबेञ्चबाट छिनिएको लिखत बदर मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी दिनु भन्ने मौसूफ सरकारका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. ज.प्रताप शमशेर ज.ब.रा.को माधव शमशेर छोरा र फुलनाना पत्नी र परलोक हुने चलाकबहादुर र म कुञ्जबहादुर छोरा म मधुसुदन चलाकबहादुरको छोरा हो । माधव शमशेर समेतले हामीलाई प्रतापशमशेरको पत्नी पुत्र नै होइनन् भन्ने प्रतिवाद गर्नु भएको, हकदार कायम गरिपाउँ भन्ने मुद्दामा हामी श्री ज.प्रतापको पत्नी पुत्र समेत ठहरी श्री सर्वोच्च अदालत फुल बेञ्चबाट समेत फैसला भइसकेको छ । अंश दिलाई पाउँ भनी दिएको मुद्दा बागमती अञ्चल अदालतमा दायरै छ । हामी समेतको अंश लाग्ने लालदरवार मौजा क्याम्प भित्रको फोहरा दरवार सहितको घर जग्गाहरूमा हाम्रो हक अंश मेट्ने उद्देश्यले आपसमा अंश बण्डा छुट्याई लिनु दिनु गरी २०२०।१२।२८ गते बण्डापत्र रजिष्ट्रेशन गरेको कुरा ०२१।११।१।६ मा मात्र थाहा पाएकोले हाम्रो अंश नछुट्याई माधवशमशेरको अंशतर्फ यो यति भन्न छुट्टिन नसक्ने स्थितिमा बण्डा छुट्याई लिन नपाउने हुँदा उक्त बण्डापत्र लिनु दिनु गरेको ०२०।१२।२८ को बण्डापत्र बदर गरिपाउँ भन्ने समेत फिराद ।
३. विपक्षीहरू प्रतापशमशेरका स्वास्नी छोरा नाति समेत नभएका, अंशियारै नभएका यस सम्बन्धका व्यक्तिहरूले प्रतापशमशेरको स्वर्गे भएको २२ वर्ष पछिको दावा लिई नालेश दिएकोमा अंश नपाउने ठहराई रा.का.दे.दो.बाट फैसला भइसकेकोमा सो उपर विपक्षीहरूको अपील परी वा.अं.अ.मा दायरै छ बुबाज्यू प्रतापशमशेरको श्रीसम्पत्ति ९६।११।१ मा बण्डा हुँदा नाउँ लेखाउन सक्नुपर्ने अथवा मौकैमा कानुनका म्यादभित्रै उजूर गरी सो बदर गराउन सक्नु पर्ने सो समेत गर्न नसकेको बण्डापत्र बमोजिम म माधवशमशेरको अंशभागमा परेको अचल समेत गैर श्रीसम्पत्ति हुँदा सो अवस्था देखिनै आफूले भोगी खाई आएको चल अचल छुट्याई ०२०।१२।२८ गते पास गरी दिएको हुँ सो सम्पत्तिहरूमा विपक्ष वादीहरूको कुनै अंश हक लाग्न सक्ने होइन । झुठ्ठा वादी दावीबाट फुर्सद पाउँ भन्ने समेत माधवशमशेर, माधवनीकुमारी देवी, अच्युत शमशेर ज.ब.रा., अनन्त शमशेर ज.ब.रा., पुरुषोत्तम शमशेर ज.ब.रा.को संयुक्त प्रतिउत्तरपत्र र सोही व्यहोराको दामोदर शमशेर ज.ब.रा.तथा सिवा राज्यलक्ष्मी राणाको छुट्टै प्रतिउत्तर र सोही व्यहोराको सचित शमशेर ज.ब.रा.को छुट्टै प्रतिउत्तरपत्र ।
४. यिनी वादी प्रतिवादीको २०१३ सालदेखि अंश मुद्दा कारवार चली दायर रहेको देखिनाले त्यस्तो अंश मुद्दाको अन्तिम निर्णय नभएसम्म सो मुद्दा दायर भइरहेको अवधिभित्र प्रतिवादीहरूले आपसमा गरेको बण्डापत्र सदर नहुने हुनाले बदर हुने ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको फैसला ।
५. उक्त निर्णय उपर प्रतिवादीहरूको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन।
६. प्रतिवादी मध्ये ज.माधवशमशेरले आफ्ना परिवारहरूमा आपसमा बण्डा लिने दिने गरेको भए पनि वादीहरूले अंश पाउने ठहरी आजै निर्णय भएकाले अंशबण्डाको ९ नं. ले अंश खान सबैबाट दामासाहीले सट्टा भर्ना लिन पाउने अवस्था भइरहेकैदेखिनाले प्रतिवादीहरूतर्फ ०२०।१२।२८ मा पास भएको बण्डापत्रले वादीहरूको अंश भागमा कुनै असर नपर्ने देखिँदा सो बण्डापत्र बदर हुने देखिँदैन शुरुले गल्ती इन्साफ गरेको ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
७. उक्त निर्णय उपर पुनरावेदनको अनुमति भई डिभिजन बेञ्च समक्ष पेश हुँदा २०१३ सालमा गरेको अंश मुद्दा तह तह हुँदै ०३६।३।२७ गतेमा यस अदालतबाट भएको फैसला अनुसार यी वादीहरूले प्रतिवादीहरूबाट अंश पाउने ठहरी फैसला भइसकेको देखिन्छ । ०२०।१२।२८ गते पास भएको बण्डापत्रमा उल्लेख भएको श्रीसम्पत्ति प्रतिवादीहरू मात्रको अंश भागमा परेको देखिन आउँछ । अंशबण्डाको १ नं. मा अंशबण्डा गर्दा बाबु आमा स्वास्नी छोराको जीय जियको अंश गर्नु पर्छ भन्ने अंशबण्डाको ३ नं. मा संग बसेको दाजुभाइको छोराहरूमा आफ्ना बाबुको भाग अंश पाउँछ भन्ने उल्लेख भएको पाइन्छ यी वादीहरू र प्रतिवादीहरूको बीच अंश नभई प्रतिवादीहरूबाट माथि उल्लेख भए बमोजिम वादीहरूले अंश पाउने ठहरी सर्वोच्च अदालतबाट फैसला भइसकेको देखिन्छ । तसर्थ पुनरावेदन जिकिरअनुसार म.क्षेत्रीय अदालतको फैसला उल्टी भई ०२०।१२।२८ को बण्डापत्र बदर हुने ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३८।१२।१३ को फैसला ।
८. उक्त फैसला दोहर्याई हेरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई फुल बेञ्च समक्ष पेश हुँदा अच्युतशमशेर, अनन्तशमशेर, माधवशमशेर, सचितशमशेर, दामोदरशमशेर, दीवाराज्यलक्ष्मी राणा, माधवीकुमारी देवी समेतलाई झिकाई आएपछि पेश गर्नु भन्ने फुल बेञ्चको आदेश ।
९. निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले अंशबण्डाद्वारा विवादको सम्पत्तिमा वादीहरूको हक पुगेको स्थितिमा अंशबण्डाको २९ नं. अन्तर्गत हक कायम गराउन सक्ने नै हुँदा ०२०।१२।२८ को बण्डापत्र बदर गर्न मिल्दैन भन्ने समेत बहस गर्नुभयो । माधव शमशेर समेतको तर्फबाट विद्वान अधिवक्ता श्री अनुपराज शर्माले १९९३ सालमा अंशबण्डा भई माधवशमशेरले अंश पाएको र आफ्नो स्व–आर्जित सम्पत्ति समेतबाट आफ्ना छोराहरूमा ०२०।१२।२८ मा बण्डा गरेको र उक्त बण्डापत्र कुनै कानुनको बिपरीत नहुँदा सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो । प्रतिवादी दामोदरशमेशर समेतको तर्फबाट विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेलले १९९३ सालमा बण्डापत्र बदर हुन नसकेको स्थितिमा ०२०।१२।२८ को बण्डा लिखत बदर गर्न मिल्दैन भन्ने समेत बहस गर्नुभयो । विपक्षी वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री केदारचरण रायले सर्वोच्च अदालतबाट अंश मुद्दामा भएको फैसलाबाट १९९३ सालको बण्डाबाट माधवशमशेरले पाएको सम्पत्तिबाट पनि बण्डा हुने ठहरेको हुँदा ०२०।१२।२८ को बण्डापत्र बदर हुने ठहरिएको सर्वोच्च अदालत डि.बेञ्चको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
१०. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा हामी समेतको अंश हक लाग्ने लालदरवार मौजा क्याम्पभित्रको फोहरा दरवार सहितको घर जग्गाहरूमा विपक्षीहरूले आपसमा बण्डा छुट्याई दिनु लिनु गरी २०२०।१२।२८ गते बण्डापत्र रजिष्ट्रेशन पास गर्नुभयो भन्ने कुरा ०२१।११।१ मा थाहा पाएकोले हाम्रो अंश नछुट्याई माधवशमशेरको अंश यस तर्फ यो यति भन्न छुटिन नसक्ने अचल सम्पत्ति आपसमा यस यसको यति गरी भनी बण्डा छुट्टिन नसक्ने कुरो बण्डा छुट्याई लिन दिन नपाउने हुँदा उक्त बण्डापत्र लिनु दिनु गरी पास गरेको ०२०।१२।२८ को बण्डापत्र बदर गरिपाउँ भन्ने समेत वादी दावी देखिन्छ । वादी र प्रतिवादीहरू बीच हकदार कायम मुद्दा चलेकोमा हकदार कायम हुने ठहरी सर्वोच्च अदालत फुल बेञ्चबाट ०२८।३।४।६ मा फैसला भई अन्तिम भइरहेको र त्यसपछि यी वादीहरूले प्रतिवादी माधवशमशेर, गोविन्द शमशेर समेत उपर ०१३।४।१६।३ मा दायर गरेको अंश मुद्दा तह तह हुँदै सर्वोच्च अदालत डि.बे.बाट ०३६।३।२७।४ मा वादीहरूले अंश पाउने ठहरी फैसला भई अन्तिम भइरहेको पाइन्छ ।
११. प्रतिवादी माधव शमशेर समेतसँग यसरी अंश मुद्दा चलिरहेको अवस्थामा प्र.माधवशमशेरले आफ्ना स्वास्नी छोराछोरीहरूका बीच ०२०।१२।२८ मा प्रस्तुत अंशबण्डाको कागज खडा गरेको देखिन्छ । ०९३ सालदेखि १९९६।११।१ सम्म भएका बण्डापत्र बमोजिम म माधव शमशेरको अंश भागमा परेको अचल समेत गैह्र श्रीसम्पत्ति हुँदा सो अवस्थादेखि नै आफूले भोगी खाई आएको अचल श्रीसम्पत्ति आफ्ना स्वास्नी छोराहरूमा अंशबण्डा गरी छुट्याई ०२०।१२।२८ गते पास गरी दिएको हुँ भनी प्र.माधव शमशेर समेतले जिकिर लिएको देखिन्छ ।
१२. यी प्रतिवादीहरूको सोही किसिमको जिकिर अंश मुद्दामा समेत लिएको पाइन्छ । उक्त अंश मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट फैसला हुँदा अचलको हकमा सो तायदातीमा उल्लिखित मोल बिगो रु.१२,५०,३१०।१८ मध्ये पुनरावेदन जिकिरमा हाल कायम छैन भनेका घर जग्गा समेतको हकमा प्रतिवादीहरूले आपसमा बण्डापत्र खडा गरी ०२०।१२।२८ मा पास गरेको बण्डापत्रसँग भिडाई हेर्दा वादीले दिनु भएको तायदातीमा फोहरा दरबार भित्रका अरु जग्गा भिड्न नआएको, भिड्न आएसम्म सो क्याम्प भित्रको जग्गा रोपनी ३०।।३ र त्यसभित्र कायम रहेका घर समेतबाट अंश पाउने ठहर्छ भन्ने समेत उल्लेख भएको र मध्यमाञ्चल क्षेत्रीय अदालतको सोही इन्साफ सर्वोच्च अदालत समेतबाट सदर भएको पाइन्छ । यसरी उक्त अंश मुद्दामा बण्डा हुने ठहरेको सम्पत्ति भित्र वादीले अहिले बदर गरिपाउँ भनेको ०२०।१२।२८ को बण्डापत्रमा परेको जग्गा समेत परेको देखियो ।
१३. अब म.क्षे.अ.बाट भएको फैसला हेर्दा अंशबण्डाको २९ नं. को आधार लिएको देखिन्छ । उक्त अंशबण्डाको २९ नं. यस प्रकार छ :
१४. “अंशबण्डा भएका मितिले तीन वर्ष भित्र आफ्ना अंश भागमा परेको चल अचल अर्काको हकको ठहरिए वा सो तीन वर्षभित्र नालिस परेकोबाट अर्काको हकको ठहरिन गएको भए अंश खाने सबैबाट दामासाहीले सट्टा भर्ना लिन पाउँछ ।”
१५. प्रस्तुत मुद्दामा ०२०।१२।२८ मा अंशबण्डा भएको मितिले तीनवर्षभित्र प्रतिवादीको अंश भागमा परेको सम्पत्ति वादीको हकको ठहरिएको भन्न हुने स्थिति छैन । यसमा वादीहरूको मिति ०१३।४।१६।३ मै अंश मुद्दा परी अन्तिम रुपमा मिति ०३६।३।२७।४ मा मात्रै अंश पाउने ठहर भई सर्वोच्च अदालतबाट निर्णय भएको देखिन्छ । फेरि २०२०।१२।२८ मा प्रतिवादीहरूले गरेको बण्डापत्रबाट यो प्रतिवादीको भागमा परेको यो सम्पत्ति वादीको हकको ठहरेको छ भन्न सकिने अवस्था पनि छैन । कारण ०३६।३।२७ को सर्वोच्च अदालतको फैसला कार्यान्वयन भई यो वादी अथवा प्रतिवादीको भागमा यो यो सम्पत्ति परेको भन्न हुने अवस्थैदेखिँदैन । अतः म.क्षे.अ.ले मिति ०३४।५।२ मा गरेको फैसलामा आधार लिएको अंशबण्डाको ३९ नं. यस मुद्दामा लागू हुन नसक्ने देखिन्छ ।
१६. वादीहरूको ०१३।४।१६ मा अंश मुद्दा दायर भइसकेपछि निर्णय नभएसम्म विवादित सम्पत्तिको कुनै चीज कसको भागमा पर्ने हो सो कुरा अनिश्चित हुँदा अन्तिम निर्णय हुनुभन्दा अगावै प्रतिवादीहरूले आपस्तमा अंशबण्डा गरेकोलाई कानुनसंगत मान्न नमिल्ने हुँदा ०२०।१२।२८ गतेमा पास भएको बण्डापत्रमा उल्लेख भएको श्रीसम्पत्ति प्रतिवादीहरूको मात्र अंश भागमा परेको र वादीहरूले अंश पाउने ठहरी सर्वोच्च अदालत समेतबाट फैसला भइसकेको समेतको कारणले ०२०।१२।२८ को विवादित अंशबण्डाको लिखत बदर हुने ठहर्याई सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति ०३८।१२।१३।६ मा गरेको इन्साफ मनासिव ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या. महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय
१७. यसमा विवादको ०२०।१२।२८ को माधवशमशेरले आफ्ना स्वास्नी छोराहरूलाई गरी दिएको बण्डापत्रको लिखत बदर गरिपाउँ भन्ने वादीहरूको मुख्य दावी देखिन्छ । १९९३ सालदेखि १९९६।११।१ सम्म भएका बण्डापत्र बमोजिम आफ्नो भागमा परेको अचल सम्पत्तिबाट आफ्ना स्वास्नी छोराहरूमा अंशबण्डा गरी दिएको र सो बण्डा बदर गरिपाउँ भन्ने वादीको हक नपुग्ने हुँदा झुठ्ठा वादी दावीबाट फुर्सद पाउँ भन्ने समेत प्र.माधव शमशेर ज.ब.रा.समेतको प्रतिउत्तर जिकिर देखिन्छ । प्रतिवादीलाई आफ्नो हकको सम्पत्ति आफ्ना स्वास्नी छोराहरूमा बण्डा गर्न कुनै कानुनले रोक लगाएको पाइँदैन र विवादको ०२०।१२।२८ को लिखत कुनै कानुनको बिपरीत देखिँदैन । अब यी वादी र प्रतिवादी बीच अंश मुद्दा चल्दा चल्दैको अवस्थामा अंशबण्डाको लिखत खडा भएको भन्ने जिकिर तर्फ विचार गर्दा अंशबण्डाको २९ नं. मा अंशबण्डा भएका मितिले तीन वर्षभित्र आफ्ना अंश भागमा परेको चल अचल अर्काको हकको ठहरिए वा सो तीन वर्षभित्र नालिस परेकोबाट अर्काको हकको ठहरिन गएको भए अंश खाने सबैबाट सट्टाभर्ना गरी लिन पाउँछ भन्ने व्यवस्था भएको देखिन्छ सर्वोच्च अदालत समेतबाट वादीहरूले अंश पाउने भइरहेको र कानुन बमोजिम अंशबण्डा हुँदाको अवस्थामा विवादको ०२०।१२।२८ को लिखतबाट प्रतिवादीहरूले प्राप्त गरेको सम्पत्तिमा पनि यी वादीहरूको हक देखिन आएको खण्डमा अंशबण्डाको उक्त २९ नं. बमोजिम हक कायम गराउन पाउने वादीहरूको अधिकार सुरक्षित नदेखिँदा विवादको ०२०।१२।२८ को लिखतबाट वादीको अंश भागमा कुनै असर नपर्ने देखिँदा बदर गराई पाउँ भन्ने वादी दावी नपुग्ने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३४।५।२ को निर्णय मनासिव ठहर्छ । मध्यमाञ्चल क्षे.अ.को उक्त इन्साफ उल्टी गरेको सर्वोच्च अदालत डि.बेञ्चको इन्साफ सदर गरेको बहुमतको रायसँग सहमत नहुँदा आफ्नो छुट्टै व्यक्त गरेको छु ।
इति सम्वत् २०४१ साल मार्ग २९ गते रोज ६ शुभम् ।