शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१०७ - ज्यान

भाग: २६ साल: २०४१ महिना: पौस अंक:

निर्णय नं. २१०७ ने.का.प. २०४१             अङ्क ९

डिभिजन बेञ्च

इजलाश

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०४० सालको फौ.पु.नं. ३६१

मुद्दा : ज्यान

पुनरावेदक/वादी : रामशंकर कुर्मीको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जि.बाँके फत्तेपुर गा.पं. वा.नं. ६ बस्ने जोद्धि भन्ने अयोध्याप्रसाद कुर्मी समेत

फैसला भएको मिति : २०४१।५।३१।१ मा

§  प्रतिवादीले गराएको घाउ जाँच फारममा घाउ चोटको उल्लेख भई धार नभएको चीज सम्भवतः लाठीले हानिएको भन्ने समेत उल्लेख भएको देखिएबाट समेत प्रहरीमा भएको निजको साविती बयान समेत स्वेच्छाबाट भएको भन्ने स्थिति नरहने ।

 (प्रकरण नं. १८)

पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री भैरब प्रसाद लम्साल

विपक्षी प्रतिवादी तर्फबाट : x

उल्लेखित मुद्दा : x

फैसला

          प्र.न्या. नयनबहादुर खत्री : मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर श्री ५ को सरकारको पुनरावेदन परी पेश हुन आएको मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

          २.   २०३८ साल बैशाख १८ गते मेरो भतिजा खाना खाई खरिहान कुर्न गएको भोलिपल्ट मेरो दाजु खरिहानमा गई भतिजा आज्ञारामलाई बोलाउँदा नबोलेकोले गई हेर्दा आज्ञारामको टाउकोबाट खुन निस्केकोले राम्ररी हेर्दा मरी सकेको रहेछ उक्त कुरा प्रधानपञ्चलाई भनेकोले प्रधानपञ्चले प्रहरी चौकीमा मौखिक जाहेरी दिएका हुन्, मर्ने आज्ञारामको गाउँकै खेदु नाउँको स्वास्नी मानिससँग अवैध सम्बन्ध भएकोले जोद्धी कुर्मीसँग झगडा भएको थियो र आशाराम राढसँग पनि झैझगडा भएको थियो सोही रिसइवीले जोद्धीको सम्धी विरक्षा कुर्मी, जोद्धी कुर्मी, आशाराम राढ समेत सबैजना मिली भतिजा आशाराम कुर्मीलाई मारेकोले निजहरूलाई पक्राउ गरी सजाय गरिपाउँ भन्ने रामशंकर कुर्मीको जाहेरी दर्खास्त ।

          ३.   देउपुर गाउँको उक्त आँपको बगियामा खरिहान कुर्न राखेको खाटमा पूर्व गोडा पश्चिम सिरानी भएको मृतकले नीलो रंगको कमीज र सेतो धोती लगाएको लाशको गोडा दुवै कुनै सारो चिजले थिचेको गोडामा चोट लागी खुन निस्केको छाती मुनि दाहिने तर्फ केही चीजले किची नीलडाम भएको टाउकोको दाहिनेपट्टि कन्चटमा तिखो हतियारले रोपेको ठाउँबाट खुन निस्केको मुखमा दाहिने पट्टिबाट खून निस्केको भन्ने समेत लाश प्रकृति मुचुल्का ।

          ४.   मर्ने आज्ञाराम कुर्मीलाई चिन्दछु निजको मेरो कुनै रिसइवी छैन ०३८ साल बैशाख १८ गतेको रात खरिहान कुर्न गएकोले खरिहानमा नै छु राति विरक्षा र जोद्धी कुर्मीले लाठी फर्सा लिई आज्ञारामको छाती घाँटीमा दवाए अरुको को कसले के गरे थाहा छैन भन्ने समेत प्र.आशाराम राढले प्रहरीमा गरेको बयान कागज ।

          ५.  ०३८।१।१८ गतेको राति विरक्षा मुन्सी वल्गर मायाँराम समेत आई मलाई जगाई आज्ञारामलाई मार्न जाउँ भनी मलाई समेत लिई आज्ञारामको खरिहानमा निजलाई साथै लग्यो मैले लाठी लगेको थिएँ मृतक सुती निदाएको अवस्था मेरो हातको लाठी विरक्षाले लिई मृतकको घाँटी, छातीमा च्यापी मैले पनि बलपूर्वक लाठी दबाएँ त्यसैले आवाज निस्कन सकेन बल्गरले टाउकोमा र हातमा समेत हानेर मारी छाडी दिएका हौ भन्ने समेत प्र.जोद्धी भन्ने अयोध्या कुर्मीले प्रहरीमा गरेको बयान कागज ।

          ६.   ०३८।१।१८ गते आज्ञाराम कुर्मी खरिहान कुर्न गएको सोही रात निजलाई कर्तव्य गरी मारेको भन्ने कुरा सुनी त्यहाँ गई हेर्दा लाश प्रकृति मुचुल्कामा लेखिए बमोजिम देखेका हौ मर्ने आज्ञाराम र जोद्धी कुर्मी समेतको खेदु नाउँकी स्वास्नी मानिससँग अनैतिक सम्बन्ध भएको कुरा एक अर्कालाई थाहा भएकोले दुश्मनी थियो सोही कारणले जाहेरीमा लेखिए बमोजिम प्र.हरूको मिलीमतोबाट आज्ञारामलाई कर्तव्य गरी मारेमा विश्वास लाग्छ भन्ने समेत सरजमीन मुचुल्का ।

          ७.  आशाराम राढले आज्ञाराम कुर्मीलाई मार्न मतलबमा पसी मृतकको शरीरमा छोएको सम्म नदेखिँदा ज्यान सम्बन्धीको १७(१) को अपराध गरेको हुँदा निजलाई सोही बमोजिम सजाय गरिपाउँ र जोद्धी भन्ने अयोध्या कुर्मी, विरक्षा कुर्मी, मुन्सी कुर्मी, बल्गर कुर्मी, मायाराम कुर्मी समेतले मिलिमतो गरी आशाराम कुर्मीलाई थिची दबाई चक्कूले प्रहार गरी कर्तव्य गरी मारेको सिद्ध हुन आएकोले सरहदिमा फेला परेको जोद्धी भन्ने अयोध्या कुर्मीलाई ज्यान सम्बन्धी १३(१) बमोजिम सजाय गरिपाउँ अन्य प्र.हरू भारतीय हुँदा सरहदमा फेला परेका बखत सजायको माग गरी पेश गरिनेछ भन्ने प्रहरी प्रतिवेदन दावी भएको ।

          ८.   मर्ने आज्ञारामलाई मैले कर्तव्य गरी मारेको होइन कसले कसले मार्‍यो थाहा छैन आज्ञारामलाई मार्न मैले लाठी लगेको होइन, खेदु नाउँको श्रीमतीसँग मैले अनुचित सम्बन्ध राखेको छैन भारत जिल्ला वहराइच ग्राम बनगाईमा मेरो सारु रामफेरन कुर्मी बिरामी हुँदा ०३८ साल बैशाख १० गते त्यहाँ गई ऐ. १९ गते फर्की घर आएको हुँ प्रहरीमा मलाई कुटपीट गरी डर त्रास देखाई कागज गराएका हुन् भन्ने समेत जोद्धी भन्ने अयोध्या कुर्मीले अदालतमा गरेको कागज ।

          ९.   प्रहरी समक्ष मैले राजीखुशीले कागज गरेको होइन प्रहरीले मलाई कुटपीट गरेकोले डरको मारे सो कागज गरी सहीछाप गरी दिएको हुँ । ०३८ साल बैशाख १८ गतेको दिन रात म मेरै घरमा थिएँ, मैले मर्ने आज्ञारामलाई मार्न मराउनमा सहमति भई सहयोग पुर्‍याएको होइन अरु प्रतिवादीहरूले मारे मराएको पनि मलाई थाहा छैन खेदु नाउँको स्वास्नीमानिसँग मेरो कुनै अनुचित सम्बन्ध छैन सरजमीनको मानिसले किन त्यस्तो लेखे मलाई थाहा छैन भन्ने समेत आशाराम राढले अदालतमा गरेको बयान ।

          १०.  १९८१ अप्रील ३० तारिखका दिन प्र.अयोध्या कुर्मी दिनरात हाम्रो गाउँका रामफेरनको घरमा थिए मई १ तारिखका दिन आफ्नु घर फर्केका हुन् निज अयोध्या कुर्मीले आज्ञाराम कुर्मीलाई मारेको होइन निज उपरको अभियोग झुठ्ठा हो भन्ने समेत प्र.अयोध्या कुर्मीको साक्षीहरूको बकपत्र ।

          ११.  ०३८ साल बैशाख १८ गते रात ९१० बजे खाना खाई खरिहान कुर्न भनी आज्ञाराम कुर्मी खरिहानमा गएको सोही रात निजलाई कर्तव्य गरी मारेछन् भोलिपल्ट दाजु गरदीन खरिहानमा गई आज्ञारामलाई बोलाउँदा नबोलेकोले भित्र सुतेको ठाउँमा गई हेर्दा मृत अवस्थामा परी हात खुट्टाबाट खुन निस्केको देखी हल्ला गरेकोले गई हेर्दा आज्ञारामलाई मृत अवस्थामा देखी भगवानपुर थानामा खबर गरेको हुँ आज्ञारामलाई विरक्षा कुर्मी, मुन्सी बल्गर, अयोध्या, मायाराम कुर्मी समेत भई कर्तव्य गरी मारेका हुन् भन्ने समेत जाहेरवाला रामशंकर कुर्मीले अदालतमा गरेको बकपत्र ।

          १२.  प्र.अयोध्या कुर्मीले प्रहरीमा साविती कागज गरेपनि यस अदालतमा बयान गर्दा कसूर गरेमा इन्कार भई प्रहरीले कुटपीट गरी कागज गराएको भनी बयान गरेको र निजको घा जाँच भई आएको फैसला फारामबाट निजको शरीरमा नील घा परेको देखिन आएकोले निजले प्रहरीमा राजीखुशीले बयान गरेको भन्न नमिल्ने र वारदात समयमा निज अयोध्या कुर्मी अन्यत्र रहे भएको भन्ने निजले गरेको, बयानलाई समर्थन गरी निजको साक्षीहरूले बकपत्र गरेको समेतबाट निज अयोध्या कुर्मीले आज्ञारामलाई कर्तव्य गरी मारेको ठहराउन न्यायोचित नपर्ने र मर्ने आज्ञारामलाई मार्नमा प्र.आज्ञाराम राढ मतलबमा पसेको ठोस सबूतप्रमाण गुजार्न नआएकोले प्र.जोद्धी भन्ने अयोध्याकुर्मी र आज्ञारामराढसमेतले अभियोग बाट सफाई पाउने ठहर्छ भन्ने बाँके जिल्ला अदालतको २०३८।८।२६ को जाहेरी फैसला ।

          १३.  उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको मध्यपश्चिमाञ्लच क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

          १४.  वारदात घटेको एक हप्तापछि गाउँघरको सल्लाहको आधारमा दिएको दर्खास्त शंकास्पद हुने, खेदु नाउँको स्वास्नी मानिससँग यस्तो अवैध सम्बन्ध थियो भन्ने प्रमाणित रुपमा कुनै ठोस सबूत प्रमाण पेश नभएको लाठी बरामद भएकोमा पनि उक्त लाठी नै उक्त वारदात गर्दाको बखत प्रयोग भएको थियो भन्न पनि नमिल्ने भएबाट सफाई दिने गरेको शुरु जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्यपश्चिमाञ्ल क्षेत्रीय अदालतको फैसला ।

          १५.  उक्त फैसला उपर श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन ।

          १६.  नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालको बहस समेत सुनियो ।

          १७.  यसमा निर्णयतर्फ हेर्दा फतेहपुर गा.पं.का प्रधानपञ्चको शुरुको जाहेरीमा मृतक आज्ञा रामलाई कर्तव्य गरी मार्ने भनी प्र.अयोध्याप्रसाद कुर्मीको नाम उल्लेख हुन सकेको छैन । त्यस्तै वारदात स्थलको ३०।४० गज आसपासमा सुतेका भनेका जयराम अहिर तथा रामदत्त कुर्मी समेतले ०३८।१।१९ मा कागज गर्दा कसले कर्तव्य गरी मार्‍यो भन्न सक्दैनौ भन्ने उल्लेख गरेको पाइन्छ । त्यसपछि मिति ०३८।१।२४ मा परेको रामशंकर कुर्मीको जाहेरीमा मात्र यो प्रतिवादी जोद्धी भन्ने अयोध्याप्रसाद कुर्मीको नाम उल्लेख भएको पाइन्छ । ०३८।१।१८ को रातमा वारदात भएको भन्ने छ । वारदात अवस्थामा घटना स्थलमा थिएँ भन्ने जाहेरवालाको जाहेरीमा उल्लेख भएको छैन, र यस अगाडिको पहिलो जाहेरीमा कसैको नाम उल्लेख नभएको तथा घटना स्थलको ३०।४० गज आसपासमा भएका व्यक्तिहरूले समेत प्रतिवादीको नाम उल्लेख गर्न नसकेको स्थितिमा वारदातको करीब एक हप्ता पछि गाउँघरमा सल्लाह गरी पत्ता लगाउँदा भनी प्र.अयोध्या समेतको नाम उल्लेख गरी दिएको रामशंकरको जाहेरी शंकास्पद देखिन आउँछ ।

          १८.  अब खेदु नाउँ गरेकी स्वास्नी मानिससँग यी प्रतिवादी समेतको अनुचित सम्बन्ध भएको र मृतकसँग झगडा परेको भन्ने तथा अयोध्याप्रसादको घरमा भारतीय डाँकाहरू प्र.अयोध्याको घरमा आएको कुराको जानकारी मृतक आज्ञारामले प्रहरीलाई गराएको भन्नेतर्फ हेर्दा सो सम्बन्धमा कुनै किसिमको सबूत प्रमाण गुज्रन सकेको देखिँदैन । प्र.अयोध्याप्रसाद कुर्मीले प्रहरीमा साविती बयान दिए पनि अदालत समक्ष बयान गर्दा मृतकलाई मारेमा इन्कारी बयान गरेको पाइन्छ । प्रहरीमा भएको बयान स्वेच्छाले भएको नभई कुटपीट गरी सावित गराइएको हो भन्ने निजको भनाई छ । प्रतिवादीले गराएको घाउजाँच फाराममा घाउ चोटको उल्लेख भई घटना धार नभएको चिज संभवतः लाठीले हानिएको भन्ने समेत उल्लेख भएको देखिएबाट समेत प्रहरीमा भएको निजको साविती बयान समेत स्वेच्छाबाट भएको भन्ने स्थिति रहेन । त्यस्तै प्रहरीमा सावित हुने भनिएको प्रतिवादी मध्येको आशाराम राढले अदालतमा इन्कारी बयान गरेको देखिएको समेतबाट वादी दावी भै प्रमाणित हुन सकेको देखिएन ।

          १९.  अतः प्र.अयोध्याप्रसाद कुर्मीले मृतक आज्ञारामलाई कर्तव्य गरी मारेको भन्ने शंकारहित तवरबाट प्रमाणित हुन आएको देखिएको हुँदा सफाई दिने ठहराएको शुरु इन्साफ सदर गरेको म.प.क्षे.अ.को इन्साफ मनासिव ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४१ साल भाद्र ३१ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु