निर्णय नं. २७८२ - डाँका

निर्णय नं. २७८२ ने.का.प. २०४३ अङ्क ७
डिभिजनबेन्च
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०४१ सालको फौ.पु.नं. ६३६, ३७७
पुनरावेदक/वादी : बकसमान राईको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : जि.धनकुटा गा.पं.खोकू वार्ड नं. ९ बस्ने मर्दबहादुर राईसमेत
पुनरावेदक/प्रतिवादी : जिल्ला कार्यालय कारागार शाखा नखुमा थुनामा रहेको पानबहादुर राई
विरुद्ध
विपक्षी/वादी : वकसमानको जाहेरीले श्री ५ को सरकार
मुद्दा : डाँका
(१) कसैले आफ्नो हकको सम्पत्ति हरण गरी लैजानु संविधान तथा कानुनको विपरीत हुनजान्छ । अनिकाल वा खडेरी पर्यो भन्दैमा अर्काको सम्पत्ति हरण गरी लान पाउने कुनै पनि कानुनमा व्यवस्था भएको नपाइने ।
(प्रकरण नं. ३२)
पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलिराम कुमार
प्रत्यर्थी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा
फैसला
न्या.बब्बरप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।२।१६।२ को फैसलामा गम्भीर कानुनी त्रुटि हुँदा चित्त बुझेन भनी वादी श्री ५ को सरकारतर्फबाट तथा प्रतिवादी पानबहादुरको तर्फबाट पुनरावेदनको अनुमति पाउँ भनी पर्न आएको निवेदनमा अनुमति प्राप्त भई बेञ्च समक्ष पेश भई आएको प्रस्तुत डाँका मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ :
२. ०३६।३।१८ गते पञ्चलाल राई समेत चिनेका २३ जना र नचिनेका ५ जना समेतको हुल भई मेरो घरसारमा आई बास समेत बसी, धान नगद र अरु सामान समेत गरी बिगो रु.३९२६।– को धनमाल डाँका गरी लगेकोले कानुन बमोजिम कारवाही गरी प्रतिवादीबाट बिगो भराई पाउँ भन्ने व्यहोराको जाहेरी दर्खास्त ।
३. चिन्ताबहादुरको घरमा डाँका गर्दा मान्भफीडको ४० जना जति र आखी सल्लाको मात्र नभई खोकूको समेत भई चिन्ताबहादुरको घरसारमा डाँका गरेको र कृष्णबहादुरको घरमा ०३६ साल आषाढ १८ गते विहान ३ मुरी कोदो र रु.६००।– नगद समेत डाँका गरी बाँडी खाएको हो । त्यसपछि १९ गते बकसमानको धान डाँका गरी लगेको भन्ने समेत व्यहोराको छत्रमान राईको प्रहरीमा कागज ।
४. ०३६।३।१८ गते कृष्णबहादुरको घरमा कोदो ३ मुरी र नगद रु.६००।– डाँका गरी सकेपछि १९ गते बकसमानको घर धनसारमा धान समेत डाँका गरेको भनी मानबहादुर राईले प्रहरी समक्ष गरेको कागज ।
५. ०३६।३।१८ गते मर्दबहादुर राई समेत भई कृष्णबहादुर राईको घरमा गई नगद रु.६००।– र कोदो ३ मुरी डाँका गरी जम्मा २९ जनाले बण्डा गरी खाएको ऐ.१९ गते बकसमानको घरमा सो २९ जना र अरु समेत भई १६ मुरी जति धान डाँका गरेको भनी नारायणदत्त राईले गरेको कागज ।
६. कृष्णबहादुर राईको घरमा मर्दबहादुर समेतका २९ जना भई नगद कोदो डाँका गरेका हो त्यसपछि बकसमानको घरमा अं.१६ मुरी धान डाँका गरेको हो भन्ने समेत प्र.सुरुफुङ तामा मोतीलालले गरेको बयान कागज ।
७. रु.६००।– नगद र ३ मुरी कोदो डाँका वारदात हुँदा म समेत भई डाँका गरी बण्डाभण्डा गरी खाएका हौं त्यसपछि अं.१६ मुरी जति धान बकसमान राईको घरमा १९ गते डाँका गरेको हो भनी चौलिहाङले गरेको बयान कागज ।
८. कुनै डाँका वारदातमा म गएको छैन छत्रबहादुर मेरै घरमा आई गाउँको गरीब जनतालाई भोगमरीले सताएकोले ठूला ठालूहरूको अन्न नगद लुटपिट गर्नु पर्छ भनेकोले डाँका गरेको होइन कुनै तरहले खानु खुवाउनु सम्म मैले भनेको छु भनी हर्कमानले गरेको बयान कागज ।
९. मैले कसैको डाँका गरेको छैन भन्ने परशुराम र विष्णुप्रसादको कागज । १८ गते कृष्णबहादुरको घरमा र १९ गते बकसमानको घरमा डाँका गरेको भन्ने जितबहादुर र ३ नै ठाउँमा डाँका गरेको र बाँडी खाएको भन्ने समेत गंगारामको कागज ।
१०. कृष्णबहादुर र बकसमानको घरमा डाँका गर्न गएको भन्ने समेत शेर राई, मनोजकुमार, आषाढ ८ गते चिन्ताबहादुरको घरमा, १८ गते कृष्णबहादुरको र १९ गते बकसमानको घरमा डाँका गर्न गएको भन्ने समेत भिमबहादुर डियम राई तथा १८ गते कृष्णबहादुरको घरमा डाँका गरी २ पाथी कोदो र २० रुपैयाँ मेरो भागमा लिएको हुँ १९ गते बकसमानको घरमा गई निजकी श्रीमती म समेत भई डोरीले बाँधी धान डाँका गरी लगेका हौं भन्ने समेत कुमार राईको कागज ।
११. आषाढ १७ गते पोखमान राई आई मलाई भिमबहादुर डियम राई समेतलाई डाँका गर्न भरत भागेकोले कृष्णबहादुरको घरमा जम्मा २९ जना भई डकैती गरेका हौं र बकसमानको घरमा गई बास बसी १९ गते धान डाँका गरी नारान ढलको गोठमा लगी राख्यौं रात परेपछि टुटुराई पडारमा लगी राख्यौं त्यसपछि पोखमान समेतले धान के के गरे भन्ने समेत भकुने राईले गरेको कागज ।
१२. मैले डाँका गरेको छैन वारदात स्थलमा समेत गरेको छैन भन्ने समेत जपनबहादुर, बलबहादुर, रामबहादुर तुमिहाङले गरेको कागज ।
१३. बकसमानको जाहेरीको जाहेरी अनुसार निजको घर धनसारबाट उल्लेख बिगो अनुसारको धान माल सामानहरू डाँका भएको ठीक हो, प्रहरीद्वारा धान बन्दूक लगायतका हातहतियार बरामत भएको समेत ठीक हो, पक्राउ परेका हर्कमान राई समेतका मानिस डाँका गर्ने गराउने मुख्य मानिस हुन् भन्ने समेत व्यहोराको २४ जनाको सरजमीन मुचुल्का ।
१४. मिसिल संलग्न भएको सबूद प्रमाण र कागजातबाट जाहेरवालाको बिगो रु.३,९२६।– को धनमाल डाँका गरी लगेको सिद्ध हुनआएको हुँदा प्रतिवादीहरुले डाँका गरेमा मु.ऐ.चोरीको ६ नं. को अपराधमा ऐ.ऐनको १४(४) बमोजिम सजायँ हुन र जाहेरवालाको बिगो प्रतिवादीहरूबाट भराई पाउँ भन्ने समेत व्यहोराको प्रहरीको प्रतिवेदन ।
१५. ०३६।३।१९ गते बकसमानको घरमा गई अन्न पैसा माग्दा नदिएकोले जबरजस्ती धान झिकी हामीले बाँडी लगेका हौं भन्ने समेत व्यहोराको पानबहादुर, चुलिहाङ कुमार राई, जितबहादुर समेतले गरेको बयान ।
१६. ०३६।३।१९ गते बकसमानको घरबाट अं.३५ मुरी धान झिकी हामी सबैले बाँडी लगेका हौं भन्ने समेत व्यहोराको छत्रबहादुर, गंगाबहादुर, शेरबहादुर नारायणदल, भिमबहादुर, पौषमान, मर्दबहादुर, भिमबहादुर सुरफोड समेतले अदालतमा गरेको बयान ।
१७. ०३६।३।१९ गते जाहेरवालाको घरबाट जबरजस्ती बिगो रु.३,९२६।– को धनमाल ढुकुटीबाट निकाली हामी सबैले बाँडी लगेका हौं, भन्ने समेत व्यहोराको पञ्चलालले अदालतमा गरेको बयान ।
१८. ०३६।३।१९ गते बकसमानको घरमा गई पैसा, धान माग्दा नदिएकोले म घरतर्फ गएँ अरुले के के गरे थाहा छैन भन्ने समेत व्यहोराको चित्रमानले अदालतमा गरेको बयान ।
१९. ०३६।३।१९ गते जाहेरवालाको घरमा डाँका गर्न गएका छैनौं भन्ने समेत व्यहोराको जगतबहादुर, नन्दलाल, खड्गबहादुर, कनकबहादुर, सत्य राई, पुष्पबहादुर, धमान सिंह, भिमबहादुर र साथै अनिकाल पर्दा धनीहरूसंग शान्ति रुपले मागी खानु पर्छ भनी सम्म भनेको हुँ जाहेरवालाको घरमा डाँका गर्नु पर्छ भनी बयान दिएको थिइन भन्ने समेत व्यहोराको हर्कबहादुर राई समेतको अदालतमा भएको बयान ।
२०. ०३६।३।१९ गते घरमा नभई अन्त गएको हुँदा जाहेरवालाको घरमा डाँका गर्न गएको थिइन भन्ने समेत व्यहोराको समनबहादुर, चन्द्रध्वज, रामबहादुर, खगेन्द्र राई, देसुराम, लाइनध्वज, विष्णुबहादुर, मनसुवे राई, शेरबहादुर राई, मोतिलाल राई, अर्जुनबहादुर, हरिमान, मनसुराम, लेखमान समेतले अदालतमा गरेको बयान ।
२१. ०३६।३।१९ गते जाहेरवालाको घरमा डाँका गरेकोमा सावित हुने प्रतिवादी मर्दबहादुर, कुमार राई, छत्रबहादुर राई, भिमबहादुर डियम राई, भिमबहादुर सुप्कोई, थामशेर राई, नारायणदत्त राई, पानबहादुर राई, पोखमान राई, गड्डाराम राई समेत मिसिल संलग्न सबूद प्रमाण समेतबाट डाँका गरेको ठहर्छ भन्ने समेत धनकुटा जिल्ला अदालतको ०३८।९।२९ को फैसला ।
२२. साथै प्रत्यक्ष सबूद प्रमाणको अभावमा डाँका जस्तो गम्भीर अभियोगमा प्रतिवादीहरूलाई कसूरदार ठहर्याउन नमिल्ने हुँदा प्रतिवादीहरू हर्कमान, अर्जुनबहादुर, पञ्चबहादुर भन्ने पञ्चलाल राई, ईन्द्रसेर राई, भक्तशेर राई, मनसुने राई, मुक्तिहाङ राई, मनसुराम राई, विष्णुबहादुर राई, लाईनध्वज राई, बैशुराम राई, खगेन्द्र राई, रामबहादुर राई, चन्द्रध्वज राई, समनबहादुर राई, नन्दलाल राई, भिमबहादुर राई, थमान सिंह राई, पूर्णबहादुर राई, सत्य राई, कनकबहादुर राई, लेखमान राई, डगबहादुर राई, जगम राई, अविरमान राई, चितमान राई, हरिमान राई, मोतिलाल राई, मनराम राई समेतले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको धनकुटा जिल्ला अदालतको ०२९।९।४ को फैसला ।
२३. ०३८।९।२९ गतेको शुरु धनकुटा जिल्ला अदालतले डाँका गरेको ठहर्याई सजायँ गर्ने गरी गरेको इन्साफमा चित्त बुझेन सो इन्साफ बदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको मानबहादुर राई समेतको पू.क्षे.अ.मा परेको छुट्टाछुट्टै पुनरावेदन ।
२४. शुरु जि.अ.को ०३९।९।४ को फैसलाले प्रतिवादीहरूलाई सफाई दिने गरी गरेको इन्साफ मिलेको नहुँदा सो बदर गरी प्रहरी प्रतिवेदन माग दावी बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको तर्फबाट पू.क्षे.अ.मा परेको पुनरावेदन ।
२५. उल्लिखित निम्न प्रतिवादीहरू डाँका गरेमा प्रहरी तथा अदालत समक्ष साविति बयान दिएका, डाँका गरेको भनी सरजमीनका मानिस समेतले लेखाई दिएका र प्रतिवादीहरूले दिएको साविति बयान अन्यथा भन्न सकिने अवस्था समेत नहुँदा प्रतिवादी छत्रबहादुर, जितबहादुर (खोकू) कुमार राई, मकुने राई, थामसेर राई, भीमबहादुर, शुरफोड, नारायणदत्त, मानबहादुर चोलिहाङ तथा पोषमान समेतको प्रतिवादीहरूले जाहेरवाला बकसमानको घरमा पहिलो पटक डाँका गरेको ठहर्छ । शुरु धनकुटा जिल्ला अदालतको ०३८।९।२९ को इन्साफ केही उल्टी हुन्छ । अन्य प्रतिवादीहरूको हकमा डाँका गरेमा वारदातामा इन्कार रहेका र आरोपित कसूर गरेको निश्चयात्मक एवं भरपर्दो आधार केही नहुँदा सफाई दिने गरी गरेको शुरु जि.अ.को ०३९।९।४ को इन्साफ मनासिब ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । साथै माथि ठहर भएका प्रतिवादीहरूको पनि सो हदसम्म पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत पू.क्षे.अ.को ०४०।२।१६।२ को फैसला रहेछ ।
२६. पहिलो दाश्रो र तेश्रो पटक साथ डाँका गरेको भनी प्रतिवादीहरूले साविती बयान गरेकोबाट समेत पटक समेत कायम गरी प्रतिवादीहरूलाई सजायँको माग दावी गरेकोमा सोही बमोजिम शुरु जि.अ.ले समेत ठहर गरेको तर पूर्वाञ्चल क्षेत्रीय अदालतले ठहर गर्दा त्यसतर्फ केही नबोली केही प्रतिवादीहरूलाई मात्र पहिलो पटक सजायँ गर्ने गरिएको र ठहर गरिए बाहेकका अन्य प्रतिवादीहरू समेतले साविति बयान दिएकोमा सो बयानलाई किन प्रमाणमा नलिइएको हो त्यसतर्फ समेत नबोली प्रमाण ऐन, २०३१ को दफा ९ को उपदफा (२) को (क) को समेत गम्भीर कानुनी त्रुटि गरी फैसला भएकोले उक्त फैसलामा चित्त बुझेन उक्त फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादी श्री ५ को सरकारको तर्फबाट यस अदालत समक्ष पर्न आएको निवेदनमा पू.क्षे.अ.को फैसलामा गम्भीर कानुनी त्रुटि देखिँदा न्या.प्र.सु.ऐन ०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको ०४०।११।१०।४ को आदेश रहेछ ।
२७. साथै जाहेरवालाले आफ्नो जाहेरीमा मेरो नाउँ किटानी उल्लेख गर्नसकेको छैन मबाट समेत कुनै किसिमका माल सामान बरामद हुनसकेको छैन, सहअभियुक्तहरूले समेत मेरो नाम उल्लेख गर्नसकेका छैनन्, जाहेरवाला तथा सरजमीनका मानिसहरू अदालत समक्ष उपस्थित भई बकपत्र गर्नसकेको छैनन् यसर्थ फौज्दारी मुद्दामा शंकारहित तबरबाट वादीले दोषी सिद्ध गर्नु पर्नेमा सो नगरी केवल शंकाको भरमा मात्र डाँका गरेको ठहर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफमा गम्भीर कानुनी त्रुटि हुँदा उक्त फैसलामा चित्त बुझेन, पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादी मानबहादुर राईको जिल्ला कार्यालय कारागार शाखा नखु मार्फत पेश हुनआएको निवेदनमा पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा गम्भीर कानुनी त्रुटि देखिँदा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेन गर्न अनुमति प्रदान गरिएको भन्ने समेत यस अदालत डिभिजनबेञ्चको ०४१।१०।१६।३ को आदेश रहेछ ।
२८. नियम बमोजिम दैनिक पेश सूचीमा चढी बेञ्च समक्ष पेश भई आएको प्रस्तुत मुद्दामा तारेखमा रही बेञ्च समक्ष उपस्थित हुन ल्याइएका प्र.समेतलाई रोहवरमा राखी पुनरावेदक वादीको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री बलिराम कुमारले जाहेरवालाले जाहेरी दर्खास्तमा लेखिए बमोजिमको धनमाल डाँका गरेमा अधिकार प्राप्त अधिकारी समक्ष साविति बयान गरेका र सोही बयानलाई अदालत समक्ष पुष्टि गरी बयान गरेका छन् । घटनास्थलमा मौकामा सरजमीन हुँदा सरजमीनका सबै मानिसहरूले जाहेरवालाको घरमा प्र.हरूले डाँका गरी लगेको भन्ने सत्य साँचो व्यहोराको सरजमीन मुचुल्का लेखाई दिएका छन् । डाँका वारदात हुँदा बखतका भाला लाठी, समेत प्रहरीद्वारा बरामद भएका छन् । खुर्पा, खुकुरी समेतका हतियार बोकेको बोकेको भन्ने कुरामा प्रतिवादीहरू अदालतमा समेत सावित रहेका छन् साथै विभिन्न डाँका वारदातमा संलग्न रहेको भन्ने समेत देखिएकोमा पूर्वाञ्चल क्षेत्रीय अदालतले केही प्रतिवादीहरूलाई मात्र पटके सजायँ गरी गरेको इन्साफ मिलेन वादी दावी बमोजिमका सम्पूर्ण प्रतिवादीहरूलाई सजायँ हुनु पर्छ, डाँका चोरीको वारदात नै होइन भन्ने विपक्षी प्रतिवादीतर्फका विद्वान अधिवक्ताहरूको बहस जिकिर समेत मिलेको छैन, जबकी प्रतिवादीहरूले नै अदालत समक्ष डाँका गरेको स्वीकारी बयान दिएका छन् साथै सुख्खा परेमा वा खडेरी परेमा भन्दैमा अर्काको धनमाल डाँका गरी लग्न कानुनले छुट छैन भन्ने समेतको बहस जिकिर र प्रत्यर्थी प्रतिवादीतर्फको विद्वान अधिवक्ता श्री शुम्भु थापाले जाहेरवालाले जाहेरीमा यो यसले यस परिबन्धबाट डाँका गरी लग्यो भनी किटानी जाहेरी दिन सक्नु भएको छैन, साथै निजको अदालत समक्ष बकपत्र भएको छैन सरजमीन मुुचुल्काका मानिसहरूलाई अदालत समक्ष बकपत्र गराएको छैन, उपस्थित भई बकपत्र गर्ने अन्य मुद्दाका व्यक्तिहरूले समेत डाँका वारदात नै भएको भन्नसकेको छैनन्, प्रतिवादीहरूले अदालत समक्ष बकपत्र गर्दा जाहेरवालाको धनमाल बाँडी लगेको भन्ने कुराबाट समेत प्रस्तुत मुद्दाको वारदात चोरीको नभई लुटपिटको महल अन्तर्गत पर्ने देखिन्छ । तसर्थ शुरु तथा क्षेत्रीय अदालतले प्रतिवादीहरूलाई डाँका वारदात कायम गरेको फैसला उल्टाई मेरो पक्षलाई उक्त डाँका मुद्दाबाट सफाई दिनु पर्दछ भन्ने समेतको बहस जिकिर प्रस्तुत गर्नु भयो ।
२९. प्रस्तुत मुद्दामा डाँका वारदात ठहर्याई केही प्रतिवादीहरूलाई सजायँ गर्ने गरेको उक्त पू.क्षे.अ.को इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
३०. यसमा वादी प्रतिवादी दुबै पक्षतर्फका विद्वान अधिवक्ताहरूले बहसको सिलसिलामा प्रस्तुत मुद्दा डाँका वारदातभित्र पर्ने नपर्ने भन्ने लिइएको मुख्य जिकिर समेतबाट प्रस्तुत मुद्दामा पहिलो प्रश्नमै प्रस्तुत मुद्दाको वारदात डाँका वारदात भित्र पर्ने नपर्ने के हो सो तर्फ हेर्नु परेको देखिन्छ । प्रतिवादीहरू कुन मनसायले जाहेरवालाको घरमा गई के कस्तो क्रियाकलाप गरे भन्नेतर्फ प्रतिवादीहरूको प्रहरी समक्ष भएको बयान कागज तथा अदालतमा गरेको बयानलाई हेरिएमा खडेरी परी अनिकालको परिस्थिति श्रृजना भई खान नपाई जाहेरवाला साथै अन्य व्यक्तिहरूको समेत गई खाद्य संकट निवारण गर्न खाद्य पदार्थ समेत माग गर्ने कुरा गरी जाहेरवाला र त्यसपछि अन्य व्यक्तिहरूको घरमा गई जाहेरवालासंग सोही अनुसारको खाद्य पदार्थको माग दावी गरेको भन्ने देखिन्छ ।
३१. प्रस्तुत मुद्दाको प्रकृतिसंग अन्य संग साथ पेश गरिएका फौ.पु.नं. ६०८, ३७८, ६०७, ३७९ चिन्ताबहादुर पौडेलको जाहेरी तथा जाहेरवाला कृष्णबहादुर राई समेतका मुद्दाहरूमा घटनास्थलको बस्तुस्थिति प्रतिवादीहरूको प्रहरीमा भएको बयान कागज तथा अदालतमा भएको बयान, सरजमीन मुचुल्काहरू समेतबाट चिन्ताबहादुर पौडेलको जाहेरी अनुसार वारदात मिति ०३६।३।८ गते कृष्णबहादुरको जाहेरी परेको उक्त मुद्दाको वारदात मिति ०३६।३।१८ गते भएको र प्रस्तुत मुद्दाको वारदात मिति ०३६।३।१९ गते भएको देखिन्छ । तापनि उपरोक्त बयान कागज, मुचुल्का साथै ३ नं. मुद्दामा भएका प्रतिवादीहरू धेरै मात्रामा एउटै व्यक्ति देखिएबाट पनि यी मुद्दाहरूको प्रकृति एक आपसमा मिल्ने देखिन्छ । प्रस्तुत मुद्दाको जाहेरवाला अदालत समक्ष उपस्थित भई बकपत्र गरेको पाइएन तर कृष्णबहादुरको जाहेरी परे बमोजिम जाहेरवाला कृष्णबहादुरले अदालत समक्ष गरेको बकपत्रमा प्रतिवादीहरू घरमा आई तिमी कहाँ जे जस्तो खाद्यान्न छ सो देउ भनी माग गर्दा हामीहरूले पनि छोरा छोरी पाल्नु पर्छ, सबैलाई दिएर साध्य हुँदैन भनी सकेपछि बाकसमा भएको पैसा र घरमा भएको कोदो समेत झिकी सबैले त्यहीं भागबण्डा लगाई जाहेरवालाको भाग समेत छुटाई यो यसको भागमा यति भनी लेखी प्रतिवादीहरूले लगेको भन्ने देखिन्छ । अदालत समक्ष भएका प्रतिवादीहरूका बयानमा यसरी नै जाहेरवालाको घरबाट खाद्य संकट समाधानार्थ खाद्यान्न लिएको भन्ने देखिन्छ । खाद्य संकट परेको भन्ने कुरामा समेत वादी पक्षले स्वीकार गरेको पाइन्छ । तीनै मुद्दाको प्रकृति तथा स्वरुप बेग्लै प्रकारको भन्ने वादीतर्फबाट संकलित बुँदा प्रमाणहरूबाट देखिँदैन ।
३२. अब प्रस्तुत डाँका मुद्दा चोरीको महल अन्तर्गत पर्दैन लुटपिटको महल अन्तर्गत पर्दछ भन्ने प्रत्यर्थी प्रतिवादीतर्फको जिकिरको सम्बन्धमा यस सम्बन्धमा कानुनी व्यवस्था के रहेछ भन्नेतर्फ हेर्दा चोरीको महलको १ नं.मा आफ्नो हक नपुग्ने अचल भइरहेकोलाई चलको हिसाब गराई वा चल धनमाल समेत हक पुग्ने धनीलाई थाहा नदिई वा उसको मञ्जूरी नलिई धनीको हक मेटाई आफूले लिन खानका लागि जुनसुकै कुरा गरी बेइमानीको नियतले लग्यो भने चोरी गरेको ठहर्छ भन्ने व्यवस्था भएको पाइन्छ । उपरोक्त परिभाषा बमोजिम चोरीको माल बस्तु हक पुग्ने भनी धनीलाई थाहा नदिई उसको मञ्जूरी नलिइकन धनीको हक मेटाई आफूले लिन खानको लागि बेइमानीका नियतले लगेको हुनुपर्ने देखिन्छ । तर प्रस्तुत मुद्दामा जाहेरवालाको स्वामित्वमा रहेको धनमाललाई भागबण्डा लगाई सो बमोजिम लगेको भन्ने देखिन्छ । जाहेरवाला कृष्णबहादुरको अदालतमा भएको बयान समेतलाई हेर्दा प्रतिवादीहरूले आफ्नो घरबाट लगेको धनमालमा कागज गरी लगेको भन्ने देखिन्छ । प्रतिवादीहरूले जाहेरवालाको घरबाट डाँका गरी लग्ने मनसाय नभई खाद्य संकट अर्थात् खडेरी परी घरमा खानाको अभाव भई जाहेरवालासंग गई मागी ल्याउने मनसाय राखी जाहेरवालाको घरमा गई निज जाहेरवालाको हकको धनमाल उठाई लगेको देखिन्छ । डाँका गर्ने नै मनसायबाट सामान हात पारेको भन्ने देखिँदैन । साथै चोरीको परिभाषामा बेइमानीको नियत शब्दको समेत प्रयोग भएको पाइन्छ तर सो समेतलाई दृष्टी गर्दा प्रतिवादीहरूले प्रहरीतर्फ, अदालतमा गरेको बयान, विभिन्न वारदातहरूको प्रकृति र त्यस समयमा भएको सामाजिक खाद्य संकटको परिस्थिति समेतलाई विचार गर्दा के प्रतिवादीहरूमा पूर्ण बेइमानीको नियत छ त ? भन्ने कुरा पनि प्रश्नवाचक रुपमा नरहेको होइन तर कसैले पनि आफ्नो हकको सम्पत्ति हरण गरी लैजानु संविधान तथा कानुनको विपरीत हुन जान्छ । अनिकाल वा खडेरी पर्यो भन्दैमा अर्काको सम्पत्ति हरण गरी लान पाउने कुनै पनि कानुनमा व्यवस्था भएको पाइँदैन । आफ्नो हक नपुग्ने सम्पत्ति आफूले लिन खानका लागि लगेको देखिए तापनि चोरी गरी लगेको भन्ने उपरोक्त परिबन्धबाट देखिन आएन । मुलुकी ऐन लुटपिटको महलको १ नं.हेर्दा वारदातको रुपबाट चोरीको महल बमोजिम अपराध ठहर्ने बाहेक अरु यसै महलका नम्बर नम्बरमा लेखिएका रुपबाट उठान भई सोही जरियाबाट झगडा कुटपिटसम्म भई वा सो केही नभई अर्काको हकको जिम्माको नगदी जिन्सी धनमाल दोपाया चौपाया जग्गाको बाली समेत हात हाली जबरजस्ती संग खोसी लैजान वा कुनै किसिमसंग नोक्सान गराई दिन समेत हुँदैन गरे लुटपिट ठहर्छ” भन्ने व्यवस्था भएको पाइन्छ । चोरीको महलको ६ नं. मा चारजना भन्दा बढ्ताको जमात भई जबरजस्ती चोरी वा रहजनीमा लेखिएका रीतसंग वा हातहतियार लिई उठाई छाडी वा हुलहुज्जत गरी चोरी गरेको डाँका ठहर्छ भन्ने समेत उल्लिखित उक्त व्यवस्थालाई हेर्दा प्रस्तुत मुद्दाको वारदात जबरजस्ती चोरी वा रहजनी चोरीका रितसंग नभई तथा हुलहुज्जत नभई जाहेरवालाको हकको धनमाल प्रतिवादीहरूले हात हाली लुटपिट गरी लगेको देखिन्छ । चोरीको महलको उक्त धनमा व्यवस्था भए बमोजिम प्रतिवादीहरूले त्यसप्रकारको बल प्रयोग गरी धनमाल लगेको भन्ने समेत देखिँदैन । डाँका वारदात गरेको प्रस्तुत मुद्दामा विद्यमान अवस्था समेत छैन । तसर्थ उपरोक्त प्रमाण आधारहरू समेतबाट प्रतिवादीहरूले डाँका गरेको ठहर्याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको रायसंग सहमत हुन सकिएन । प्रस्तुत मुद्दाको वारदात चोरीको महल अन्तर्गतको देखिन नआएकोले सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ (संशोधन सहित) को दफा ७(क) बमोजिम सरोकारवाला व्यक्ति (जाहेरवाला) ले लुटपिटमा मुद्दा चलाउन सकार गरेमा यसै मुद्दाको मिसिलबाट सकार गराई कानुन बमोजिम तहकिकात निर्णय गर्नु भनी मिसिल शुरु धनकुटा जिल्ला अदालतमा पठाई दिने ठहर्छ । डाँका वारदात कायम ठहर्याई सजायँ गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी भई सम्पूर्ण प्रतिवादीहरूले डाँका मुद्दाको अभियोगबाट सफाई पाउने ठहर्छ वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु जि.अ.तथा क्षे.अ.ले गरेको फैसला उल्टी भई प्रतिवादीहरूले सफाई पाएको हुँदा उक्त शुरु धनकुटा जिल्ला अदालतमा २०३८।९।२९।४ का फैसला तथा पू.क्षे.अ.को मिति ०४०।२।१६।२ का फैसलाले कायम गरेको सम्पूर्ण लगत कट्टा हुने हुँदा उक्त जि.अ.तथा क्षे.अ.का फैसलाका लगत कट्टा गरी दिनु भनी लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु...........१
ऐ.ऐ.ठहरी फैसला भएकोले शुरु जि.अ.का उक्त ०३८।९।२९।४ का फैसला तथा पू.क्षे.अ.का मिति ०४०।२।१६।२ का फैसलाका तपसील खण्डमा उल्लिखित प्रतिवादीहरूबाट कैद जरिवाना बापत लाग्ने गरेको उक्त रकम असूल उपर भइसकेको भए फिर्ता र नभए व्यहोरा जनाई उक्त लगत कट्टा गरी दिनु भनी शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु.........२
ऐ.ऐ.ठहरी फैसला भएकोले प्रस्तुत मुद्दामा थुनामा रहेका सम्पूर्ण प्रतिवादीहरूलाई यस मुद्दा बाहेकका अन्य मुद्दामा थुनामा राख्नु पर्ने नभए थुनाबाट मुक्त गरी दिनु भनी शुरु धनकुटा जि.अ.मा लेखी पठाउन का.जि. अ.त मा लगत दिनु............३
माथि इन्साफ खण्डमा लेखिए बमोजिम पू.क्षे.अ.को इन्साफ उल्टी भई फैसला भएको हुँदा उक्त पू.क्षे.अ.का माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको उल्टीमा रेकर्ड राख्नु..............४
मिसिल नियम बमोजिम गरी बुझाई दिनु ..........५
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वीबहादुर सिंह
इतिसम्वत् २०४३ साल ज्येष्ठ २८ गते रोज ३ शुभम् ।