निर्णय नं. २११३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. २११३ ने.का.प. २०४१ अङ्क ९
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०३९ सालको रि.नं. १२६५
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
निवेदक : जिल्ला महोत्तरी धमौरा गा.पं. वार्ड नं. १ बस्ने औंली मोहमद शेष
विरुद्ध
विपक्षी : ऐ ऐ गा.प. वार्ड नं. २ घर भै हाल जि.ध. जनकपुर न.पं. वार्ड नं. २ बस्ने सरधावती तेलीनी
भू.सु.का. महोत्तरी का. भू.सु.अ.
आदेश भएको मिति : २०४१।३।१३।३ मा
§ पञ्च भलाद्मीको रोहवरमा आफैंले म्याद बुझी म्याद भित्र प्रतिवाद नगरी चुप लागी बसेपछि अहिले रिट क्षेत्रमा आई प्रतिवाद गर्ने मौका पाइँन भनी लिएको जिकिरमा कुनै सार नदेखिने ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमनारायण दास
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार
उल्लेखित मुद्दा : x
आदेश
न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अनुसार भू.सु.का. महोत्तरीको ०३९।६।२५ को निर्णय बदर गरिपाउँ भनी यसअदालत समक्ष पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकारको छ ।
२. विपक्षीको नाउँमा दर्ता रहेको जि.म.धमौरा भवानीपुर गा.पं. वार्ड नं. १ कि.नं. २९७ को ०–५–१० र ऐ. वार्ड नं. २ ख कि.नं. ७७ को ०–१०–१ तथा ऐ. वार्ड नं. १क कि.नं. २९८ को ०–३–८ समेत जग्गाको भू.सु. ऐनको दफा २५(१) अनुसारको मोही भई जोती आएको, ०३७ साल सम्मको साल सालैको बाली विपक्षीलाई व्यक्तिगत विश्वासमा निजले ऐनको दफा ३४(२) अन्तर्गतको भर्पाई नदिए तापनि जग्गा जोत भोग गरी कूत बुझाउँदै आएको कि विपक्षले ०३६ सालको कूत ऐनका म्यादभित्र बुझी लिनु भई सदा सर्वदादेखि आपसी विश्वास अनुसार भर्पाई दिनु भएन पछि ०३६ सालको कूत नदिएकोले कूत भराई मोही निष्कासन गरिपाउँ भनी उजूर दिनु हुँदा ०३७।३।४।३ को मेरो नाउँको तामेली म्याद कूत व्यक्तिको सही गराई गायब गराएकोले मैले प्रतिवाद गर्न नपाई भू.सु.का.बाट दावी बमोजिम मलाई मोही हकबाट निष्कासन गरी कूत भराउन नपाउने ठहर्याई ०३९।६।२५ का दिन निर्णय भयो ।
३. मेरा नाउँमा जारी भएको म्याद मलाई कहिले पनि प्राप्त भएको छैन जुन म्याद मेरो नाउँमा ०३७।३।४ का दिन मैले बुझी लिएको भनी तामेली गरिएको छ त्यो म्यादको तामेली म्याद हेर्दा औंली नाउँको म्याद र फिरादपत्रको नक्कल साफी थान २ बुझी लिएको ठीक साँचो हो फरक छैन देख्ने साक्षी भन्ने शब्दहरू लेखी बोली महमद भन्ने सही गरेको देखिन्छ । मैले औंली महमद भनी सही पनि गर्ने गरेको छैन र सो म्याद पनि मैले बुझी लिएको छैन । विपक्षीले आफ्नो गफ मेलमा मानिसहरूबाट बोली महमद भनी सही गराई म्याद गायब गरी मलाई थाहा जानकारी नदिई एकतर्फीले प्रतिवाद नगरेको कारणबाट मोही निष्कासन हुने ठहर्याएको निर्णय प्राकृतिक न्याय सिद्धान्तको बिपरीत हुनुको साथै अ.बं.११० नं. प्रमाण ऐन, २०३१ को दफा २६।५४ भू.सु.ऐन, २०३१ को दफा २९(१) अ.बं.१८४क, १८५ र १८९ समेतको प्रत्यक्षतः त्रुटि भएको उक्त निर्णयले उल्लिखित कानुनी हकहरू तथा संवैधानिक हकहरूमा समेत आघात भएकोले संविधानको धारा १६।७१ अन्तर्गत उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरी उपरोक्त हकहरू संरक्षण तथा प्रचलन गराई पाउँ भन्ने समेत रिट निवेदन रहेछ ।
४. यसमा विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको ०३९।१०।२६ को आदेश ।
५. दावी बमोजिमको फिरादपत्रको नक्कल राखी प्रतिवादी औंली महमद शेषलाई इतलायनामा जारी गरी पठाउँदा ०३८।३।४।३ मा साक्षी तथा पञ्चहरूको रोहवरमा आफ्नै हातले बुझी कुनै प्रतिवाद समेत नगरी थमाउने म्याद समेत गुजारी चित्त बुझाई बसेकोले अधिकार प्राप्त अधिकारीको निर्णय कानुन अनुरुप नै भएको हुँदा रिट निवेदकको कुनै पनि संवैधानिक हकहरूमा आघात पुर्याएको नहुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भू.सु.का.महोत्तरीको लिखितजवाफ ।
६. विपक्षी रघावतीको नाउँमा रीतपूर्वकको म्याद तामेल भई प्रतिवाद नगरी बसेको रहेछ ।
७. निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री कमलनारायण दासले रिट निवेदकलाई भू.सु. कार्यालयले निर्णय गर्दा कुनै प्रतिवादको मौका नै नदिई बेरीतसँग म्याद तामेल गरी गरिएको निर्णय त्रुटिपूर्ण छ भन्ने र प्रत्यर्थी कार्यालय तर्फबाट बहस गर्न उपस्थित हुनु भएका विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारले निवेदकले पञ्चभलाद्मीको रोहवरमा आफ्नो हातले म्याद बुझी लिई प्रतिवाद नगरेबाट र बाली धरौट समेत राखेको नदेखिएकोले निवेदकलाई मोही निष्कासन गर्ने गरी गरेको निर्णयमा कुनै त्रुटि छैन भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
८. प्रस्तुत विषयमा निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने हो होइन सो को निर्णय दिनु पर्ने हुन आएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा वादीले कूत पाइन कूत दिलाई पाउँ भन्ने र प्रतिवादीले म्याद आफ्ना हातले बुझी कुनै प्रतिवाद नगरी चित्त बुझाई बस्नुका साथै यी नै वादी र प्रतिवादी भएको ०३७ सालको कूत नदिएकोले कूत दिलाई मोही निष्कासन गरिपाउँ भन्ने मुद्दा चली कारवाही चलिरहेकोले यसरी बाली नबुझाउने र कार्यालयबाट म्याद काटी झिकाउन म्याद बुझी अटेर गरी बस्ने मोहीलाई कायम राख्नु मनासिव नदेखिएकोले मोही निष्कासन हुने ठहर्छ भनी मिति ०३९।६।२५ मा भूमिसुधार कार्यालय महोत्तरीबाट निर्णय गरेको देखिन्छ ।
१०. निवेदकले आफ्नो रिट निवेदनमा म्याद बेरीतसँग तामेल भएकोले प्रतिवाद गर्ने मौकाबाट बञ्चित भएँ भन्ने जिकिर लिएको देखिन्छ । तर सरकारी अधिवक्ताले बेञ्च समक्ष देखाएको सम्बन्धित मिसिल हेर्दा रिट निवेदकले उक्त म्याद पञ्चभलाद्मीको रोहवरमा आफैंले बुझेको देखिन्छ । त्यसरी आफैंले म्याद बुझी म्यादभित्र प्रतिवाद नगरी चुपलागी बसी पछि अहिले रिट क्षेत्रमा आई प्रतिवाद गर्ने मौका पाइँन भनी लिएको जिकिरमा कुनै सार देखिएन । तसर्थ उक्त मिति ०३९।६।२५ को भू.सु.का महोत्तरीको निर्णय त्रुटिपूर्ण छ भनी भन्न सकिने स्थिति देखिँदैन ।
११. अतः अधिकार प्राप्त अधिकारीले आफ्नो अधिकार क्षेत्रभित्र रही सबूत प्रमाणको मूल्यांकन गरी निर्णय गरेको देखिन आएको हुँदा निवेदकको माग अनुसारको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०४१ साल असार १३ गते रोज ३ शुभम् ।