शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २११४ - कर्तव्य ज्यान

भाग: २६ साल: २०४१ महिना: पौस अंक:

निर्णय नं. २११४ ने.का.प. २०४१             अङ्क ९

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४० सालको स.फौ.पु.नं. ४४६

मुद्दा : कर्तव्य ज्यान

पुनरावेदक/वादी : आशादेवी मगरनीको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जि.धनकुटा झीझ गा.पं. वार्ड नं. ३ बस्ने गोपालबहादुर विष्ट

जि.ध. हसनपुर घर भै सर्लाही कारागारमा थुनामा बसेको रेशमी धमार्नी

ऐ नक्टा झीझ गा.पं. वार्ड नं. ३ बस्ने गफुर मिया

फैसला भएको मिति : २०४१।८।१९।३ मा

§  एउटा कार्य गर्दा अर्को परिणाम हुन गई मृतकको मृत्यु हुन गएको अवस्थालाई भवितव्य कायम गरी गरेको मध्यमाञ्लच क्षेत्रीय अदालतको निर्णयलाई अन्यथा भन्न सकिने स्थिति नहुने।

(प्रकरण नं. १९)

पुनरावेदक (वादी) तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री बलिराम कुमार

विपक्षी तर्फबाट : x

उल्लेखित मुद्दा : x

फैसला

          न्या. धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३९।११।२५ को निर्णय उपर वादी श्री ५ को सरकारको पुनरावेदन पर्न आएका प्रस्तुत कर्तव्य ज्यान मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

          २.   २०३६।३।२४ गते बेलुका मेरा लोग्ने बाहिर जानु भएको म सुती निदाई सकेको थिएँ, रातको अं.११।१२ बजे लोग्ने आई उठाई आँगनदेखि दक्षिण बारीको छेउमा को मानिस सुतेकोछ भनी गई हेर्दा मेरो दिदी मनची रहिछन्, उठाउँदा नउठेकोले हेर्दा मरी सकेकी रहिछन् । गोपालबहादुर विष्ट र निजको घरमा काम गर्ने गफुर मियाले कर्तव्य गरी मारी लास मेरो घर आँगन छेउमा ल्याई राखी दिएको शंका लाग्छ, निजहरूलाई पक्राउ गरी कारवाही गरिपाउँ भन्ने समेत आशादेवीको जाहेरी ।

          ३.   मिति ०३६।३।२७ गतेको लासप्रकृति मुचुल्का ।

          ४.   गोपालको घरमा मनची मरेको वा अन्य ठाउँमा मरेको हो भन्न सकिंदैन तर गर्भ खसाल्ने औषधी खाए पछि कमजोरबाट निजको मृत्यु भएको हुनुपर्छ भन्ने समेत गफुर मियाँको प्रहरीमा भएको कागज ।

          ५.  मैले मनची मगरनीलाई गर्भ तुहिने औषधी दिए बापत मलाई गोपालले आधा मन धान र १५। रु.दिएको हो भन्ने समेत रोशमी चमार्नीको प्रहरीमा भएको कागज ।

          ६.   मनची आफ्नै कालगतिले मरेको हुनुपर्छ मैले मारेको होइन भन्ने समेत गोपालबहादुरको प्रहरीमा भएको कागज ।

          ७.  मनची मगरनीको मृत्यु कर्तव्यबाट भएको वा कालगतिले भएको हो हामीहरूले नदेखेको हुँदा भन्न सक्दैनौ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

          ८.   गोपालबहादुरको आदेशानुसार रेशमी चमारनीले गर्भ तुहाउने उद्देश्यले मनची देवीको योनीमा औषधी दिएको र सोही जरियाबाट मनचीको मृत्यु भएको सिद्ध हुन आएकोले आदेश दिने गोपालबहादुर विष्टलाई ज्यानसम्बन्धीको १३(४) र औषधी प्रयोग गर्न रेशमी चमारनीलाई ज्यानसम्बन्धीको १३(३) र गर्भ पतन गर्नमा सहयोग गर्ने गफुर मियाँलाई १७ (३) अनुसार सजाय गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।

          ९.   प्र.गोपालले मनचीलाई प्राइभेट स्वास्नी बनाई राखेको रहेछ गोपालले गफुरलाई मलाई बोलाउन पठाई जाँदा मनचीको गर्भ भएछ दवाई दिई खसाई दिनु पर्‍यो भनेबाट मैले निजको योनीमा दवाई हाली दिए भोलिपल्ट जामुन सिंहको खेतमा काम गरिरहेको अवस्था गफुरले दवाइले काम गरेन भनी भन्दा म सँग अब दवाई छैन भनेकी थिई । त्यसको १०।१५ दिन पछि मनची मरी भन्ने सुने के कारणले मरिन् भन्न सक्दैन मेरो दवाइको असरले मरेको होइन भन्ने समेत अदालतमा रेशमी चमारनीको बयान ।

          १०.  मनचीको गर्भ थियो थिएन थाहा छैन मेरो गर्भ होइन, जाहेरवालाको लोग्ने मानबहादुरसँग बैशाखमा पोइल गएकी हो, गर्भ भए उसकै होला गर्भ खसाउन मैले दवाई दिएको पनि छैन के भई मरिन् थाहा छैन भन्ने समेत गोपालबहादुर विष्टको अदालतमा बयान ।

          ११.  मनची मगरनीको गर्भ थियो थिएन म भन्न सक्दिन निजलाई गर्भ खसाउन गोपालले भनेको पनि छैन रेशमीलाई बोलाउन पनि गएको छैन मनची के भई मरिन् मलाई थाहा छैन भन्ने समेत प्र.गफुर मियाँले अदालतमा गरेको बयान ।

          १२.  अभियुक्तहरूले मृतक मनचीलाई मार्न नखोजी गर्भ पतन गराउन लाग्दा अर्को कुरा हुन गई मर्न गएको देखिँदा ज्यानसम्बन्धीको ५ नं. भवितव्य भित्रको पर्न आएपनि अभियुक्तहरूको हेल चक्र्याँई र असावधानी देखिँदा ज्यानसम्बन्धीको ६ नं. को देहाय २ अनुसार मूल अभियुक्त रेशमी चमारनीलाई तजबिजी कैद वर्ष २ (दुई) प्र.गोपालबहादुर र गफुर मियाँलाई सो नं. बमोजिम तजबिजी रु.५००। हुने ठहर्छ भन्ने समेत धनुषा जि.अ.को ०३८।१।२ को फैसला ।

          १३.  ज्यान सम्बन्धीको ६(२) अनुसार प्र.हरूलाई कम सजाय गर्ने गरेको शुरु धनुषा जि.अ.को इन्साफमा चित्त बुझेन माग दावी बमोजिम हक इन्साफ गरिपाउँ भन्ने समेत वादी श्री ५ को सरकार तर्फको म.क्षे.अ.मा पुनरावेदन ।

          १४.  शुरु धनुषा जि.अ.ले २ वर्ष कैद गर्ने गरेको इन्साफमा चित्त बुझेन आरोपित कसूरबाट सफाई पाउँ भन्ने समेत रेशमी चमार्नीको म.क्षे.अ.मा परेको पुनरावेदन ।

          १५.  शुरु धनुषा जि.अ.को इन्साफ मनासिव ठहर्छ पुनरावेदक वादी श्री ५ को सरकार र पु.(प्र) रेशमी चमारनीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३९।११।२५ को फैसला ।

          १६.  शुरु इन्साफ सदर गर्ने गरेको म.क्षे.अ.को इन्साफमा चित्त बुझेन दावी बमोजिम हक इन्साफ गरिपाउँ भन्ने समेत श्री ५ को सरकार तर्फको यस अदालतमा पुनरावेदन ।

          १७.  पुनरावेदक (वादी) श्री ५ को सरकार तर्फबाट बहसमा उपस्थित हुनु भएका विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारले गर्भ पतन जस्तो एक अङ्गबाट अर्को अङ्ग छुट्याउने कार्य गर्दा गर्भवती मर्न सक्छ भन्ने जानी जानी अभियुक्तहरूले मर्ने मनचीको योनीमा औषधी हाली सोही जरियाबाटै मनची मर्न गएकोले शुरु जि.अ.ले ज्यान सम्बन्धीको ६(२) अनुसार कम सजाय गरेको इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ त्रुटिपूर्ण हुँदा बदर भई दावी बमोजिम प्र.हरूलाई सजाय हुनुपर्ने भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

          १८.  प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

          १९.  यसमा निर्णयतर्फ हेर्दा अभियुक्त मध्येका रेशमी चमारनी, गोपालबहादुरले अराए बमोजिम गर्न मनचीको गर्भ पतन गराउन योनीमा दवाई हालेको कुरामा सावित रहेको पाइन्छ भने मनची र प्र.गोपालबहादुर विष्टका बीच मार्नु पर्ने कारणसम्मको रिसइवी परेको भन्ने कतैबाट पनि देखिँदैन । मनचीको गर्भ पतन गराउनसम्म मर्नेको योनीमा औषधी हालेको देखिन्छ । गर्भ पतन गराउन प्रयोग गरिएको औषधीबाट मनचीको मृत्यु हुन गएको भन्ने देखिन्छ । यसरी एउटा कार्य गर्दा अर्को परिणाम हुन गई मृतकको मृत्यु हुन गएको अवस्थालाई भवितव्य कायम गरी मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयलाई अन्यथा भन्न सकिने स्थिति नहुँदा प्रहरी प्रतिवेदन दावी अुनसार प्रतिवादीहरूलाई सजाय हुनुपर्छ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । ज्यान सम्बन्धीको ६(२) नं. अनुसार प्रतिवादीहरूलाई सजाय गर्ने गरेको शुरु धनुषा जि.अ.को इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन हुँदा केही गर्नु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इति सम्वत् २०४१ साल मार्ग १९ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु