शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २११५ - अंश

भाग: २६ साल: २०४१ महिना: पौस अंक:

निर्णय नं. २११५   ने.का.प. २०४१           अङ्क ९

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३९ सालको दे.पु.नं. ४९६

मुद्दा : अंश

निवेदक/प्रतिवादी : काठमाडौं जिल्ला नगरपञ्चायत वडा नं. १७ ठहीटी बस्ने रामबहादुर राजभण्डारी

ऐ ऐ बस्ने चेत बहादुर राजभण्डारी

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ. बस्ने केसरबहादुर राजभण्डारी

फैसला भएको मिति :   २०४१।३।२२।५ मा

§  हक लाग्ने भनी वादीका आमा जिम्मा रहेको श्रीसम्पत्तिमा ५ भागको १ भाग अंश छुट्याई पाउँ भनी वादीले दावी गरी आएकोलाई अघि अंशबण्डा भइसकेको कुरामा फेरि दावी गरी आएको भन्न मिल्दैन ।

(प्रकरण नं. १८)

पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ

विपक्षी वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल तथा विद्वान अधिबक्ता श्री सुधानाथ पन्त

उल्लेखित मुद्दा : x

फैसला

          न्या. धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षे.अ.को मिति ०३७।११।३० गतेमा गरेको फैसला उपर यस सर्वोच्च अदालतबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्ततथ्य निम्न अनुसारकोछ ।

          २.  बाबु किर्तिबहादुरका छ छोरा केशरबहादुर, केन्द्रबहादुर, कबिन्द्रबहादुर, नारायणबहादुर, रामबहादुर, चेतबहादुर हुन् । २०००।१०।१५ मा बाबु परलोक भएपछि घरको मुख्य आमा भई साराधन माल चल अचल श्रीसम्पत्ति आमाको रेखदेखमा रहेको र माइला भाइ केन्द्रबहादुर २००२ सालमा भिन्न भई रहेको फार्म पसल समेत सञ्चालन विपक्षी रामबहादुर चैनबहादुरले गरी आएस्ता एकलौटी गरी भाइ मार्ने नियत गरेकोले वादविवाद बढ्न गई आमा समेत सबै भाइ अंशियारको नाममा २०२०।१।३१ मा अंशमा कबिन्द्रबहादुरले उजूर गरेको घरको अर्थात् सम्पत्तिमा विपक्षी रामबहादुर, चैनबहादुरले जत्रतत्र गरेकाले मौकैदेखि जाहेर गर्दै आएको उजूरी सम्बन्धित कार्यालयमा छन् । अंश मुद्दा मिलाउन विपक्षीहरूले आमाको सामु प्रस्ताव ल्याएपछि म समेतका ५ भाइ आगे गराई आमा गिरिजालक्ष्मीले २०२०।१०।२७ गेत अंश छोडपत्रको र सोही मितिमा आमा आगे भई ५ भाइलाई गरी दिनु भएको जग्गा जमीन शेखपछिको बकसपत्र मञ्जूरनामाको लिखत भए पनि २०२०।११।१५ मा घर चलन गर्न मञ्जूरनामा छोडपत्र भई ०२१।३।३२ गते पारित पनि भए । २०२०।१०।२७ को मञ्जूरनामा छोडपत्र तथा २०२०।१०।१७ को शेषपछिको बकसपत्र समेत वा.अं.अ.को फैसलाले पास हुन सकेन । सो लिखितहरूबाट समेत रीतपूर्वकको अंश भएको नभई मानो छुट्टिएको मिति सम्म कायम गरेको सम्पूर्ण श्रीसम्पत्ति जिम्मा राख्ने आमा २०२५।१।२० गते परलोक भएको मानो छुटिएको मिति २०२१।३।३२ गतेको मिति कायम गरी अंशबण्डाको १२ नं. अंश धनको ५ नं. बमोजिम ५ भागको १ भाग विपक्षीहरूबाट तायदाती लिई अंश छुट्याई पाउँ भन्ने समेत व्यहोराको केशरबहादुरको फिराद ।

          ३.  आमालाई गरी दिएको अंश छोडपत्रको लिखत हामीलाई गरिदिएको शेषपछिको बकसपत्र र हामीले गरी दिएको छोडपत्रको लिखित समेतबाट अंश भइसकेको देखिने भन्ने समेत व्यहोराको नारायणबहादुरको प्रतिउत्तरपत्र ।

          ४.  हामी अंशियारको बीचमा हामीले आमा गिरिजालक्ष्मीलाई मिति २०२१।३।३२।४ मा जो दिनु पर्ने अंश घर जग्गा चल धन माल समेत लिई अंश छोडपत्र समेत गरी आमालाई दिएको हामीहरूको पनि सोही दिन अंश छुट्टी बेग्लै बसेको अंश बराबर भइसकेको भन्ने कुरामा वादी सावित छ भन्ने समेत व्यहोराको चैनबहादुरको प्रतिउत्तर पत्र ।

          ५.  आमा गिरिजालक्ष्मीबाट हामी वादी प्रतिवादी ५ छोराले घर जग्गा रोखपोख मिलाई २०२०।११।१५ मा कागज गरी दिएको र २०२१।३।३२।४ मा आमालाई अंश छोडपत्रको लिखित पास गरी दिएको हो अंश दिनु पर्ने बाँकी छैन भन्ने समेत व्यहोराको रामबहादुरको प्रतिउत्तर र सोही मिलानको कबिन्द्रबहादुरको प्रतिउत्तरपत्र ।

          ६.  आमालाई छोडपत्र गरी दिएको सम्पत्तिमा आमाको शेषपछि मरोणोपरान्त आफ्नो अंश लिई बण्डा उठाई बेगल बसेका अंशियार दाजुभाइ उपर अंशबण्डाका १।२ नं. र स्त्री धनका ५ नं. बमोजिम तायदाती लिई ५ भागको १ भाग अंश दिलाई पाउँ भन्ने वादीको नालेस खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको फैसला ।

          ७.  पास हुनुपर्ने लिखत पास नभएपछि बराबर नभएको सिद्ध भएको खारेज गरेको चित्त बुझेन भन्ने समेत व्यहोराको वादी केशरबहादुरको पुनरावेदन जिकिर ।

          ८.  इन्साफ गर्नुपर्नेमा खारेज गरेको चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादी कबिन्द्रबहादुरको पुनरावेदन जिकिर ।

          ९.  आमा स्वर्गीय भएकोले आमा जिम्माको श्रीसम्पत्तिको तायदाती लिई अंश दिलाई पाउँ भन्ने वादीको दावी देखिएकोले आमाको शेषपछिको श्रीसम्पत्ति सम्पूर्ण आमा जिम्माको सबै अंशियारले बाँडी खान पाउने ऐन व्यवहार समेत भएकोले सामेल रही रहेको तायदातीबाट समेत मध्यमाञ्चल क्षेत्रीय अदालतले अञ्चल अदालतको कार्यक्षेत्र कायम गरी वादी दावीलाई मान्यता दिएको हुँदा शुरु फैसला बदर गरी दिएको छ भन्ने समेत बागमती अञ्चल अदालतको फैसला ।

          १०.  बा.अं.अ.को फैसला कानुनी त्रुटिपूर्ण भएबाट पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदन यस अदालतमा पर्न आएकोमा पुनरावेदन गर्ने अनुमति प्रदान भएको छ भन्ने म.क्षे.अ.को आदेश ।

          ११.  हक भनेको कानुनी औपचारिकता मात्र नभई अदालतबाट संरक्षण गरिने यथार्थ कानुनी वास्तविकता हुनाले खारेज गर्न मिलेन । निर्णय गर्नु भनी शुरु फैसला बदर गरी वागमती अञ्चल अदालतले का.जि.अ.मा पठाउने ठहराएको फैसला कुनै पनि कानुनी त्रुटि देखिएन । हक पुग्ने अति कुरामा जे जो सबूत प्रमाण बुझ्नु पर्छ बुझी कानुन बमोजिम फैसला गर्नु भनी उपस्थित रहेका पक्ष विपक्षलाई तारेख तोकी मिसिल काठमाडौं जिल्ला अदालतमै पठाई दिनु भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०३७।११।३०।६ मा भएको फैसला ।

          १२.  उक्त मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी रामबहादुर, चैनबहादुरको यस सर्वोच्च अदालतमा पर्न आएको निवेदन यस सर्वोच्च अदालत डिभिजन बेञ्चमा पेश हुँदा के कति कुरामा वादी केशरबहादुर राजभण्डारीको हक पुग्ने हो उक्त फैसलामा खुलेको देखिएन तर अर्थ अस्पष्ट फैसला गरेको देखिएको र उक्त फैसलामा अ.बं.१८४क., अ.बं.१८५ तथा अ.बं.१८९ नं. को त्रुटि भएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने आदेश ।

          १३.  पुनरावेदकहरू तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले व्यवहार प्रमाणबाट वादी प्रतिवादीहरू बीच अंशबण्डा भइसकेको देखिन्छ । वादीले अपुताली तर्फ दावी गरेको छैन । अंश लिने वेगल बसेका दाजुभाइ उपर अंश पाउँ भनी दावी लिई गरेको फिराद खारेज हुनुपर्छ । इन्साफ गर्न पठाउने गरेको क्षेत्रीय अदालतको निर्णय मिलेको छैन भन्ने समेत र विपक्षी तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल तथा विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले वादी प्रतिवादीहरूका आमाले पाँच भाइ छोराहरूबाट अंश छोडपत्र गराई लिई छोडपत्र गरी दिए बापत आमाले छोराहरूलाई शेष पछिको बकसपत्र गरी दिएको पास हुन नसकेको आमा परलोक भई सो सम्पत्ति सबै अंशियारको हुने प्रष्ट छ । सोही सम्पत्तिमा दावी गरी फिराद परेको छ । त्यसकारण फिराद परे अनुसार इन्साफ गर्न पठाउने गरेको निर्णय मिलेको छ भन्ने समेत बहस गर्नुभयो ।

          १४. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

          १५. यसमा निर्णयतर्फ हेर्दा ०२०।११।१७ को शेषपछिको कबसपत्र समेत पास हुन सकेन सो लिखित हरूबाटसमेत रीतपूर्वक अंश भएको नभई मानो छुट्टिएको मितिसम्म कायम गरेको सम्पूर्ण श्री सम्पत्ति जिम्मामा राख्ने आमा ०२५।१।२० गते परलोक भएको मानो छुट्टिएको मिति ०२०।३।३२ गते कायम गरी विपक्षीहरूबाट तायदाती लिई ५ भागको १ भाग अंश छुट्याई पाउँ भनी अंशबण्डाको १ र २ नं. र स्त्री अंशधनको ५ नं. बमोजिम प्रस्तुत मुद्दाको फिराद परेको देखिन्छ ।

          १६.  गिरिजालक्ष्मी आगे भई ५ जना छोराहरूलाई जग्गा अंशको मञ्जूरीको लिखत र ५ जना छोरा आगे ऐ. गिरिजालक्ष्मीलाई अंश छोडपत्रका लिखत ०२०।१०।२७ मा भएको पाइन्छ । गिरिजालक्ष्मी आगे भई पाँच जना छोराहरूलाई जग्गा शेषपछिको बकसपत्र ०२०।११।१७ मा लेखी दिएको देखिन्छ । तर सो लिखतहरू पास हुन सकेको देखिँदैन ।

          १७. गिरिजालक्ष्मी आगे भई पाँच भाइ छोराहरूलाई ०२०।११।१५ मा घर अंशबण्डा गरी दिएको र सोही मितिमा पाँच भाइ छोराहरूले गिरिजालक्ष्मीलाई अंशमा दावी छाडी दियो भनी छोडपत्रको लिखत गरी दिई सो लिखतहरू ०२१।३।३२ मा रजिष्ट्रेशन पारित भएको देखिन्छ । त्यसमा नेपाल पहाड प्रदेशको जग्गा जतिमा आजै लिखत भई लिनु दिनु भएको भन्ने लेखिएको छ ।

          १८.  त्यसरी रजिष्ट्रेशन पारित भएको लिखत अनुसार अंशबण्डा भएको घरको हकमा प्रस्तुत मुद्दामा वादीले दावी गरी आएको देखिँदैन । फिराद लेखाईबाट जग्गाको अंशको मञ्जूरीको लिखित जग्गाको छोडपत्रको २०२०।१०।२७ को लिखत र ०२०।११।१७ को शेषपछिको बकसपत्र लिखत पास हुन नसकेकोले सो लिखतहरूबाट समेत रीतपूर्वक अंश नभएको सम्पूर्ण सम्पत्ति जिम्मा राख्ने आमा परलोक भएको भनी सो आमा जिम्माको सम्पत्तिमा वादीले ५ भागको १ भाग पाउँ भनी दावी गरी आएको पाइन्छ । आमा परलोक भई निज आमाको जिम्मा चल अचल श्रीसम्पत्तिमा निजका छोरा वादी प्रतिवादीहरू सबैको बराबर हक लाग्ने भन्ने जिकिर भएको । त्यस्तो हक लाग्ने भनी वादीका आमा जिम्मा रहेको श्रीसम्पत्तिमा ५ भागको १ भाग अंश छुट्याई पाउँ भनी वादीले दावी गरी आएकोलाई अघि अंशबण्डा भइसकेको कुरामा फेरि दावी गरी आएको भन्न मिल्दैन । सो श्रीसम्पत्तिमा वादीको हक लाग्ने भनी दावी गरी आएको वादीको उजूर खारेज हुनुपर्छ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । निर्णय गर्नु भनी शुरु फैसला बदर गरी बागमती अञ्चल अदालतले काठमाडौं जि.अ.मा पठाउने ठहराएको फैसलामा कुनै कानुनी त्रुटि देखिएन भन्दै हक पुग्ने जति कुरामा जे जो सबूत प्रमाण बुझ्नुपर्छ बुझी कानुन बमोजिम फैसला गर्नु भनी मिसिल काठमाडौं जि.अ.मा पठाउने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । कोर्टफी लागेको मुद्दा हुँदा केही गर्न परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

         

उक्त रायमा म सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०४१ साल आषाढ २२ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु