शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २७९४ - लिखत बदर

भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक:

निर्णय नं. २७९४    ने.का.प. २०४३  अङ्क ७

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४१ सालको दे.पु.नं. ६३१

फैसला भएको मिति : २०४३।६।१४ मा

 

पुनरावेदक/वादी : काभ्रे पलाञ्चोक जि.कानपुर गा.पं.वार्ड नं. १बस्ने पुण्यप्रसाद मैनालीसमेत

विरुद्ध

विपक्षी/प्रतिवादी : काभ्रे पलाञ्चोक जिल्ला गा.पं.पलाञ्चोक वार्ड नं. १लामीडाँडा बस्ने लोकनाथ उप्रेती

 

मुद्दा : लिखत बदर

 

(१)         फ्नो हक दर्ताको जग्गा हक हस्तान्तरण तथा अरुलाई दान बकसको लिखत गरी दिन पाउने ।

(प्रकरण नं. २३)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री छविरमण सिटौला

विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

 

फैसला

न्या.हरगोविन्द सिंह प्रधान : मध्यमाञ्चल  क्षेत्रीय अदालतको मिति २०४१।४।१७ को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ ।

२. म पुण्यप्रसादका बाबा विष्णुलालले विष्णुबहादुर भण्डारीबाट १९९५।२।२३ गते राजीनामा पास गरी लिई विष्णुलालका नाउँमा दर्ता भएको उहाँपछि मेरो हक भएकोले हामीहरूको हक भएको सगोलमा बसी भोगी आएको हाम्रो समेत हक भएको पूर्व सोवर्ण कौशिका पश्चिम तल्लो कूलो उत्तर दुर्गाप्रसाद र पारवती समेतको साँध दक्षिण डि.गंगाधर खरेलको साँध यति ४ किल्ला भित्रको साविक कौशी देखा गा.पं.वडा नं.८ को हाल पलाञ्चोक गा.पं.वार्ड नं. २ को तिरो रु.७।५२ तिर्नु पर्ने माटो मुरी ।११।११ को तिमाल बेंसी साठी खेत म पुण्यप्रसादको हक टुटेको प्रमाण बेगर सो जग्गा हामीहरूको मञ्जूरी समेत नलिई हामीहरूलाई थाहा जानकारी नै नदिई रु.५०००।पर्ने भनी रामशरणले विपक्षी लोकनाथलाई ०३५।३।१३ गते हालैको बकसपत्र गरी दिएको रहेछ । गाउँ घरमा बकसपत्र लिने दिने गरे भनी हल्ला गरेकोले ०३५।१२।४ मा नक्कल सारी हेर्दा त्यस्तो हाम्रो हक भएको प्रमाण बेगर विपक्षी रामशरणले विपक्ष लोकनाथलाई हालैको बकसपत्र दिएको ५ खण्डको १ खण्ड रामशरणको हक हुनेमा पनि म ओमकुमारीको आधा हक लाग्ने हुँदा ५ खण्डको ४ खण्ड हामी पुण्यप्रसाद, रामेश्वर, श्रीलक्ष्मी, विष्णु लक्ष्मी समेतको र रामशरणको १ खण्ड मध्ये पनि आधी ओमकुमारीको हक हुँदा ५ खण्डको ४।। खण्ड हामीहरूको हक भएको हुँदा उक्त बकसपत्र बदर गरी पाउँ भन्ने समेत व्यहोराको पुण्यप्रसाद मैनाली समेतको ०३५।१२।१० को फिरादपत्र ।

३. मैले पारित गरी लिएको लिखत बदर हुनुपर्ने होइन, किनभने वादीमा लेखिएको खेत विष्णुलालको नाउँमा दर्ता थियो भनिएको छ, साथै उहाँ पछि म पुण्यप्रसादको हक दायित्वमा आएकोले हामीहरूको हक भएको भन्ने लेखाई छ । विष्णुलाल मरे बाँचेको केही लेखिएको छैन । विष्णुलाल मरेको हो भने पुण्यप्रसाद छँदै नाती, रामशरणको हक कसरी हुनआएको हो र रामशरणकी श्रीमती ओमकुमारी बाहेक अरु फिरादीहरूको वतन कानपुर लेखिएकोछ रामशरणको वतन वडा नं.६ भन्ज्यांग खर्क लेखिएको छ । यसबाट यो सिद्ध हुन्छ कि फिरादी र दाता रामशरण अलग अलग ठाउँमा बसी व्यवहार गरेका मात्र होइनन् कि भिन्ना भिन्दै भएको भन्ने प्रष्ट देखिन्छ । रामशरणले मलाई बकस दिँदा ०३४ सालको रसीदबाट मलाई पारित गरी दिएको हो । उक्त जग्गा रामशरणकै हो विपक्षीको होइन । लिखत बदर हुनुपर्ने होइन भन्ने समेत व्यहोराको लोकनाथ उप्रेतीको ०३६।३।२१।५ को प्रतिउत्तरपत्र ।

४. बकसपत्रको जग्गा वादीको नभई प्र.रामशरणकै देखिएबाट हक पुग्नेले गरी दिएको रसीद बमोजिम पारित भएको बकसपत्रलाई हक नपुग्नेले गरी दिएको बदर हुने भन्ने वादी दावी पुग्न नसक्ने भई बकसपत्र दिन पाउने ठहर्छ । अब बकसपत्र गरी दिने रामशरणको श्रीमती ओमकुमारीको हकमा लोग्नेको हकको जग्गामा आधा श्रीमतीको हक पुग्ने हुँदा निजको मन्जूरी नदेखिएकोले हक पुग्ने ओमकुमारीको आधा भागसम्म लेनदेन व्यवहारको १० नं. ले बदर हुने ठहर्छ भन्ने समेतको का.प.जि.अ.को मिति ०३८।५।७ को फैसला ।

५. उक्त फैसला चित्त बुझ्दो भएन भन्ने समेतको वादी पुण्यप्रसाद, श्रीलक्ष्मी, रामेश्वरको बा.अं.अ.मा परेको पुनरावेदनपत्र ।

६. का.प.जि.अ.को मिति ०३८।५।७ को फैसलामा चित्त बुझेन । सो फैसला बदर गरी मेरो प्रतिउत्तर जिकिर बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको पारी प्र.लोकनाथ उप्रेतीले बा.अं.अ.मा दिएको पुनरावेदनपत्र ।

७. शुरु जि.अ.बाट वादी मध्येकी ओमकुमारी बकसपत्र दिने रामशरणकै श्रीमती भएकोले निजको आधा अंशमा हक पुग्ने नै हुँदा सोही बमोजिम आधा भागमा सम्म ०३५।३।१३ को बकसपत्र लिखत बदर गरी पाउने गरी फैसला मिलेकै देखिएकोले सदर हुने ठहर्छ र पुनरावेदन जिकिर पुग्न सक्दैन । भन्ने समेतको बा.अं.अ. को ०३८।१०।१४ र ०३८।११।१ को फैसला ।

८. बा.अं.अ. को उक्त फैसला कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको पारी प्र.लोकनाथ उप्रेतीले म.क्षे.अदालतमा दिएको निवेदनपत्र ।

९. ओमकुमारी बाहेकको अरु वादी पुण्यप्रसाद समेत ४ जनाको दावी पुग्न नआएकोमा सम्पूर्ण लिखतबाट प्र.ओमकुमारीको दावी भन्दा बढी आधी लिखत नै बदर गर्ने गरेको बा.अं.अ. को इन्साफ उल्टिने देखिएबाट न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(३) अन्तर्गत पुनरावेदनको लागि अनुमति दिएको छ भन्ने समेतको म.क्षे. अदालत सिंगलबेञ्चको मिति २०४०।२।२६ को आदेश ।

१०. बा.अं.अ. को उक्त फैसलामा कानुनी त्रुटि विद्यमान हुँदा पुनरावेदनको लागि अनुमति पाउँ भन्ने समेतको वादी पुण्यप्रसाद समेतको म.क्षे. अदालतमा परेको निवेदनपत्र ।

११. वादी दावी बमोजिमकै लिखत बदर हुन सक्नेमा आधी मात्र लिखत बदर हुने ठहराएको बा.अं.अ. को फैसला कानुनी त्रुटियुक्त हुँदा निवेदकहरूलाई न्या.प्र.सु.ऐन, ०३१ को दफा १३(३) अन्तर्गत पुनरावेदन गर्न पाउने अनुमति प्रदान गरिएको छ भन्ने समेतको म.क्षे.अदालत सिंगलबेञ्चको ०४०।८।१ को आदेश ।

१२. प्र.रामशरणले आफ्नो नाममा दर्ता भएको दर्ता बमोजिमको जग्गा दान बकसको लिखत गरी दिन सक्ने नै भएकोले रामशरणकी श्रीमती ओमकुमारीको आधी हक बाहेक अरुमा वादी दावी पुग्न नसक्ने ठहराएको शुरु जि.अ.को इन्साफ सदर गरेको बा.अं.अ.को फैसला मिलेकै देखिएकोले सो फैसलामा केही परिवर्तन गरिरहनु परेन । दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।४।१७ को फैसला ।

१३. अंश नभई केवल मानोसम्म छुट्टिएका विपक्षी मध्येका रामशरणले खाई जीविका निमित्त दिएको जग्गा पञ्चायती लगतसम्म निजको नाम लेखे पनि रामशरणले अंश पाई निजको मात्र हक लाग्ने निजी आर्जनको हो भन्ने सबूद प्रमाण निजले पेश गर्नसकेको छैन । यस्तो स्थितिमा अंश नभएको परिवार मध्ये कसैका नाममा पञ्चायती लगत भएको मात्र कारणले त्यस्तो सम्पत्ति निजले एकलौटी आफूखुस गर्न पाउने गरी शुरु र बा.अं.अ.ले गरेको इन्साफ सदर गरेको म.क्षे.अ.को मिति ०४१।४।१७ को फैसलामा लेनदेन व्यवहारको १० नं. तथा अंशबण्डाको १९ नं. को देहाय (१) समेतको कानुनी त्रुटि विद्यमान हुँदा सो फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत पुण्यप्रसाद मैनाली समेतको मिति २०४१।७।१३ को यस अदालतमा पर्न आएको निवेदन ।

१४. रामशरणको स्वआर्जनको सम्पत्ति भए निजको श्रीमती ओमकारेश्वरीको हक जति बदर गर्नु पर्ने अवस्था पर्दैन तर क्षेत्रीय अदालतले निजको हक जतिमा लिखत बदर गरेकोबाट प्र.रामशरणले आफूखुस गर्न पाउने सम्पत्ति मानेको देखिएन । यस्तोमा अन्य वादीहरूको हकमा समेत सो लिखत बदर गर्नु पर्नेमा नगरेबाट लेनदेन व्यवहारको १० नं. को प्रत्यक्ष त्रुटि गरी क्षेत्रीय अदालतले निर्णय गरेको र सो त्रुटि सार्वजनिक महत्वको विषय समेत हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत डिभिजनबेञ्चको मिति २०४१।८।१३ को आदेश ।

१५. पुनरावेदक वादीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री छविरमण सिटौलाले विवादीत  वादी दावी जग्गा विष्णुलालले १९९५ सालमा राजीनामा गरी लिएको १९९८ सालको मोठमा विष्णुलाल दर्ता भएको जग्गा हो । अंश नभई मानोसम्म छुट्टिएका विपक्षी रामशरणका नाउँमा पञ्चायती लगतमा दर्ता हुँदैमा रामशरणको एकलौटी आफूखुस गर्न पाउने होइन । पञ्चायती लगतमा दर्ता भएकै कारणले विवादीत सम्पत्ति एकलौटी खुस गर्न पाउने गरी शुरु र बा.अं.अ. ले गरेको इन्साफ सदर गरेको म.क्षे.अ.को फैसला लेनदेन व्यवहारको १० नं. तथा अंशबण्डाको १९ नं. को देहाय (१) समेतको विपरीत भई त्रुटिपूर्ण हुँदा म.क्षे.अ.को दावी बमोजिम लिखत बदर हुनुपर्ने भन्ने र विपक्षी (प्रतिवादी) तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले विवादीत जग्गा वि.सं.१९९८ सालमा विष्णुलालका नाउँमा दर्ता भएको भन्ने भए पनि माल बुझ्दा विष्णुलालका नाउँमा दर्ता भएको नदेखिएको भन्ने जवाफ आएको छ । २०३२ सालमा रामशरणका नाउँमा पञ्चायती लगतमा दर्ता छ, यसबाट विवादीत सम्पत्ति रामशरणको स्वआर्जनको देखिएको छ । स्वआर्जनको सम्पत्तिमा रामशरणले आफ्नो खुस गर्न पाउने नै हुँदा वादी दावी खारेज हुनुपर्ने भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

१६. प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतको मिति ०४१।४।१७ को फैसला मिले नमिलेको के छ ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।

१७. यसमा निर्णयतर्फ हेर्दा म पुण्यप्रसादको बाबु विष्णुलालले विष्णुबहादुर भण्डारीबाट १९९५ साल ज्येष्ठ २३ गतेमा राजीनामा पारित गरी लिई विष्णुलालका नाउँमा दर्ता हकभोग भई उहाँको शेषपछि हामीहरूको समेत हक भएको सगोलमा बसी भोगी आएको पूर्व सोवर्ण कौशिका पश्चिम तल्लो कूलो उत्तर दुर्गाप्रसाद र पारवती समेतको साँध दक्षिण डि.गड्डाधर खरेलको साँध यति ४ किल्लाभित्रको साविक कोशी देखा गा.पं.वडा नं.८ को हाल पलाञ्चोक गा.पं वार्ड नं.२ को तिरो रु.७।५२ तिर्नु पर्ने माटो मुरी ।११।११ को तिमालबेसी साठी खेत हामीहरूको मञ्जूरी बेगर थाहा जानकारी नदिई विपक्षी रामशरणले विपक्षी लोकनाथ उप्रेतीलाई ०३५।३।१३ गते हालै देखिको बकसपत्र पारित गरी दिएको र उक्त जग्गामा ५ खण्डको एक खण्ड रामशरणको हक हुनेमा पनि ओमकुमारको आधा हक लाग्ने हुँदा ५ खण्डको ४ खण्ड हामी पुण्यप्रसाद, रामेश्वर, श्री लक्ष्मी, विष्णुलक्ष्मी समेतको र रामशरणको १ खण्ड मध्ये ओमकुमारीको आधा गरी ५ खण्डको ४।। खण्ड हामीहरूको हक जति उक्त बकसपत्र बदर गरी पाउँ भन्ने पुण्यप्रसादको फिराद दावी देखिन्छ ।

१८. विवादीत जग्गा विष्णुलालका नाउँमा दर्ता भई सो पछि हामीहरूको संयुक्त हकभोग भएको भन्ने वादी दावी छ ।

१९. शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट मालपोत कार्यालय काभ्रेमा दर्ता बुझ्दा विवादीत जग्गा पञ्चायती लगतमा रामशरण मैनालीको नाउँमा दर्ता रहेको भन्ने मालपोत कार्यालय काभ्रेबाट लेखी आएको तथा पञ्चायत दर्ता लगत उतार समेत मिसिल सामेल रहेको देखिन्छ ।

२०. विवादीत जग्गा पुर्खौलीबाट के कसरी प्रतिवादी रामशरण मैनालीका नाउँमा पञ्चायती लगतमा दर्ता हुन आयो भन्ने तथा उक्त जग्गामा वादीहरू मध्येका पुण्यप्रसाद मैनाली, विष्णुलक्ष्मी मैनाली, लक्ष्मी मैनाली र रामेश्वर मैनालीको हक हुन आयो, सो कुराको प्रमाण वादी पक्षबाट गुजार्नसकेको पाइँदैन ।

२१. वादी दावी बमोजिम विवादीत जग्गा विष्णुलालका नाउँमा साविक दर्ता भई सो निजको शेषपछि विष्णुलालको छोरा पुण्यप्रसादका नाउँमा दर्ता गरेको र तत्पश्चात प्रतिवादी रामशरणका नाउँमा दर्ता भएको भन्ने देखिँदैन ।

२२. यस्तो अवस्थामा प्रतिवादी रामशरण मैनालीका नाउँमा दर्ता रहेको विवादीत जग्गालाई दर्ता  प्रमाण लिखत बेगर वादी पुण्यप्रसाद, श्रीलक्ष्मी, विष्णु लक्ष्मी, रामेश्वर समेतको सगोलको कायम गर्न तथा उल्लिखित वादीहरूको हकको जग्गा मान्न नमिली विवादीत जग्गा रामशरण मैनालीकै दर्ता हकको जग्गा देखिन आयो ।

२३. अतः प्रतिवादी रामशरण मैनालीले आफ्नो हक दर्ताको जग्गा हक हस्तान्तरण तथा अरुलाई दान बकसको लिखत गरी दिन पाउने नै देखिन आएबाट वादी पुण्यप्रसाद, श्रीलक्ष्मी, विष्णुलक्ष्मी तथा रामेश्वर मैनाली समेतका वादीहरूको विवादीत जग्गामा हक पुग्न सक्ने देखिन आएन ।

२४. अब वादी ओमकुमारीको हकमा आधी लिखत बदर गरेतर्फ हेर्दा पनि मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादी लोकनाथ उप्रेतिको यस अदालतमा मिति ०४१।५।१९ मा पुनरावेदनको अनुमतिको लागि नि.नं.२०८ को निवेदन परेकोमा पुनरावेदनको अनुमति नपाउने ठहराई मिति ०४१।५।२० मा यस अदालत डिभिजनबेञ्चबाट आदेश भई अन्तिम भई बसी रहेको देखिएबाट त्यसतर्फ विचार गरी रहनु परेन ।

२५. अतः प्रतिवादी रामशरण मैनालीले लोकनाथ उप्रेतिलाई बकसपत्र गरी दिएको लिखतको जग्गामा वादी ओमकुमारीको आधी हकसम्मको लिखत बदर गरी अरुमा वादी दावी पुग्न नसक्ने ठहराएको शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला सदर गरेको बागमती अञ्चल अदालतको फैसला मनासिब ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।४।१७ को फैसला मनासिब ठहर्छ । पुनरावेदक वादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्ट फी रही डायर भएको मुद्दा हुँदा केही गर्नु परेन । फायल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या. रुद्रबहादुर सिंह

 

इतिसम्वत् २०४३ साल आश्विन १४ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु