निर्णय नं. २१४० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. २१४० ने.का.प. २०४१ अङ्क १०
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०३९ सालको रिट नं. ९१३
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
निवेदक : संदिप इन्टरप्राइजेज लाहानको प्रोप्राइटर जिल्ला सप्तरी वार्ड नं. ६ भै हाल का.जि. त्रिपुरेश्वर बस्ने शिवरत्न सारदा
विरुद्ध
विपक्षी : श्री त्रिभुवन विमानस्थल भन्सार कार्यालय
श्री राजश्व न्यायाधीकरण काठमाडौं
आदेश भएको मिति : २०४१।६।४।५ मा
§ त्रि.वि.भन्सार कार्यालयको निर्णयले डेमरेज चार्ज लगाएकोलाई बाहेक गरी राजस्व न्यायाधीकरणबाट भएको निर्णयमा कानुनको प्रत्यक्ष त्रुटि छ भन्न सकिने स्थिति नहुने ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुशिलकुमार सिन्हा
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार
उल्लेखित मुद्दा : x
आदेश
न्या. धनेन्द्रबहादुर सिंह : मिति ०३९।३।१० को राजस्व न्यायाधीकरणको फैसला बदर गरिपाउँ भनी नेपालको संविधानको धारा, ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ ।
२. निवेदकले ब्लेन्डेड पोलिष्टर र पोपलिन पोलिस्टर ६५ प्रतिशत र कटन ३५ प्रतिशतको मिश्रण भएको ४४।३५ को २०,००० बीस हजार गज प्रति गज .४३ सेन्टका दरले बैंकका थाई सिनोटिक टेक्सटाइल इन्डष्ट्रिज लि. संग लेटर अफ ल्फोडर रा.बा.बैंक काठमाडौंमा उक्त कम्पनीको लागी ९ आषाढ २०३५ (२३ जुन १९७८) मा खोली सूचना गरेपछि उक्त कम्पनीले १४ जुलाई १९७८, ९ आषाढ ०३५ मा दी टुर रोयल एयर कार्गो कं.लि.को एयर वे विल बनाई माल हवाई जहाजबाट पठाएकोमा उक्त माल ०३५।४।११ मा आई पुगेको हुँदा माल चलान भएको ०३५।३।३० मा लागू रहेका मूल्यांकन दर ४७ सेन्ट प्रतिगज मूल्य कायम गरी भन्सार ऐन, ०१९ को दफा १३(१) वा १३ अनुसार भन्सार लिई माल छाड्नु) पर्नेमा त्रि.वि.भन्सार कार्यालयले कानुन बमोजिम नगरी एयर वे. विलको मितिमा मूल्यांकन सूची अनुसारको मूल्यले भन्सार लगाई माल छाड्नु पर्नेमा भन्सार विभागबाट कुन मूल्यमा भन्सार लाग्ने भनी मूल्यांकन भई आए पछि मात्र छाडिने भन्नु र भन्सार ऐन, ०१९ को दफा १३(६) बमोजिम धरौटीमा पनि छाड्नु पर्नेमा छाड्न इन्कार गरी १० महिना पछि सो ब्लेन्डेड पोलिष्टर पोपलिनको सी.आई.एफ. कलकत्ता ५८ सेन्ट प्रतिगज भन्सार लिनु भनी मिति ०३६।२।९ मा भन्सार विभागबाट लेखी आएपछि कानुन बमोजिम सो दरले मूल्य कायम गरी भन्सार बिक्रीकर लिई माल छाड्नु पर्नेमा सो बमोजिम गरी ०३५ साल श्रावण १ गतेदेखि लागू रहेको मूल्य सूचीको पृष्ठ ३(क१) सर्टिग थाइलैण्डको क्रमसंख्या २ मा ६५.३५ प्रतिशत टेक्सटाइल जुनसुकै मार्क र नम्बर भए तापनि सेतो र रंगिनको मूल्य ५८ सेन्ट भएको सो अनुसार मोल कायम हुने भनी उल्लेख भए बमोजिम भन्सार लिनु पर्नेमा १० महीना माल रोकी ०३५।४।१ देखि लागू रहेको मूल्यांकन सूची दर ५८ सेन्टले मूल्य कायम गर्नु र सो भन्सार प्रयोजनको लागि मूल्यांकन गर्ने दर प्रतिगज ५८ सेन्टले हुने मूल्य र भाडा समेतको जम्मा रु.२,२३,२२०।५० र वास्तविक मालको खरीद इन्भ्वाइस मूल्य फ्रेटको जम्मा रु. १,४७,६९५।४० को फरक रकम रु.७५,५२५।१० मा पुनः थप ८५ प्रतिशतले भन्सार महसूल रु.६४,१९६।३४ र जरीवाना ४९९। लगाई र आफूले मूल्यांकन सिलसिलामा रोकी राखेको अवधिको गोद डेमरेज भन्सार ऐन, ०१९ को दफा १३(५) ले लाग्दैन भन्ने प्रष्ट कानुनको बिपरीत डेमरेज रु.१६,४९०। असूल गर्नुपर्ने भएको र बिक्रीकर पनि भन्सारमा नै असूल हुँदा सो कायम भएको भन्सार मूल्य रु.२,२३,२२०।५० लाई बढाई रु.५,५८५५१।२५ कायम गर्ने कुनै कानुनको आधार नदेखाई १५ प्रतिशतले डेढी बढी बिक्रीकर समेत रु.६६,९६८।३० असूल गर्नु भएको बेकानुनी आधार छ भनी राजस्व न्यायाधीकरण काठमाडौंमा पुरावेदन गरेकोमा डेमरेज नलाग्ने हुँदा डेमरेज रकम असूल गरेको फिर्ता दिने र अरु भन्सार कार्यालयको निर्णय मनासिव ठहर्छ भनी मिति २०३९।३।१० मा फैसला भयो ।
३. भन्सार (संशोधन सहितको) ऐन, ०१९ को दफा १३(१) मा निकासी वा पैठारी गरिने कुनै माल वा वस्तुको भन्सार महसुलको तात्पर्यको लागि श्री ५ को सरकारबाट मूल्य निर्धारण गरिएको रहेछ भने त्यस्तो माल वा वस्तुको धनीले दाखिल गरेको विल बमोजिमको मूल्य र श्री ५ को सरकारबाट निर्णय गरिएको मूल्य मध्ये जुन बढी हुन्छ सोही बढी मूल्यलाई त्यस्तो माल वा वस्तुको मूल्य मानिनेछ भन्ने दफा १३(२) मा श्री ५ को सरकारबाट मूल्य निर्धारण नगरिंदै माल वा वस्तुको हकमा साधारणतः माल वा वस्तु धनीले दाखिल गरेको विल बमोजिम मूल्य लाग्ने त्यस्तो माल वा वस्तुको मूल्य मानिनेछ ऐ. ऐनको दफा १३(३) मा श्री ५ को सरकारबाट मूल्य निर्धारण नगरिएको मालको विल मालधनीले पेश गर्न नसकेमा वा पेश भएको विलमा भन्सार अधिकृतलाई चित्त नबुझेमा निजले त्यस्तो मालको मूल्य निर्धारण गर्न सक्नेछ भन्ने र दफा १३(४) मा त्यस्तो श्री ५ को सरकारबाट मूल्य निर्धारण भई नराखेकोमा २५ हजार भन्दा बढी मोलको माल भएमा भन्सार अधिकृतले अनुमानित मूल्य उल्लेख गरी मूल्य निर्धारणको लागि श्री ५ को सरकार समक्ष पठाउनु पर्नेछ र श्री ५ को सरकारबाट मूल्य निर्धारण हुनेछ र तथा मूल्य निर्धारण भई नआएसम्म डेमरेज लाग्ने छैन भन्ने कानुनी व्यवस्था भएकोमा भन्सार विभागले त्यसरी मालको एल.सी. खोलिएको व्यवस्था र एयर विल बनेको मितिमा कायम रहेको मूल्य ४७ सेन्टको मोलको दरमा भन्सार लिन नलगाई ०३५ साल श्रावण १ गतेदेखि लागू भएको मूल्य सूची अनुसार ५८ सेन्टले मूल्यांकन गरी भन्सार असूल गर्न लगाउनु पर्ने भन्सार विभागको कर्तव्य हुँदाहुँदै सो नगरी मूल्य सूचीमा मोल कायम भइरहेकोबाट भन्सार विभागले मोल कायम गर्नुपर्ने प्रश्न उठाउनु नपर्नेमा मोल कायम नगरुञ्जेल भनी भन्सारमा माल राखी राख्न र १० महीना पछि सोही श्रावण ०३५ ले लागू मूल्य सूचीको मूल्य कायम गर्न पठाउनु तथा डबल भन्सार जरीवाना डेमरेज लिन लगाउनु कानुन बिपरीत छान्ने समेतको रिट निवेदन जिकिर रहेछ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने मिति ०४१।२।७ को सिङ्गलबेञ्चको आदेश रहेछ ।
५. भन्सार दरबन्दीको मूल्यांकनको सिलसिलामा भाडा भरोट कायम गर्दा प्रति के.जि.यु.एस.डलर १.२५ कायम गर्ने श्री ५ को सरकारको निर्णय अनुसार भाडा कायम गरी भन्सार महसूल लिएको हिसाब मिलेको देखिन्छ र डेमरेज रकम पूरा फिर्ता पाउने ठहर्छ भनी यस न्यायाधीकरणबाट भएको फैसलामा कुनै कानुनी त्रुटि छैन भन्ने समेतको राजस्व न्यायाधीकरण काठमाडौंको लिखितजवाफ रहेछ ।
६. निवेदकले पेश गरेको मालको इन्भ्वाइसमा प्रतिगज यु.एस.डलर ०.४३ सेन्ट मात्र भई भन्सार विभागको मूल्यांकन प्रतिगज ०.५८ सेन्ट भई १० प्रतिशत भन्दा बढी न्यून बिजकीकरण भई आएको यसमा प्रतिगज ०.५८ सेन्टका दरले कायम गरी श्री ५ को सरकारको निर्णय अनुसार फरक मूल्यमा भन्सार एनेको दफा ३४(३) अनुसार गर्ने भन्ने भन्सार ऐन, ०१९ को दफा ३४ को उपदफा ३ अनुसार फरक मूल्यमा दोब्बर महसुल जरीवाना समेत असूल गर्ने कार्य विधिवत गरिएको हुँदा निवेदकले अधिकार नाघी कार्य गरेको भन्न मिल्दैन र बिक्रीकर बढी लिएको भन्ने सम्बन्धमा आ.व.०३५।०३६ को बिक्रीकर दरबन्दी अनुसार भन्सारबाट कायम भएको मूल्यम १५० प्रतिशत थप गरी सो माथि नियमानुसार बिक्रीकर लगाई असूल गरेको कानुनसंगत छ भन्ने समेतको भन्सार विभाग र त्रि.वि.भन्सार कार्यालयको छुट्टछुट्टै लिखितजवाफ रहेछ ।
७. निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सुशीलकुमार सिन्हाले त्रि.वि.भन्सार कार्यालयले कानुन बिपरीत डबल भन्सार महसूल र जरीवाना समेतको साथै २१/२ दोब्बर गरी बढी मूल्य कायम गरी १५ प्रतिशतले वृद्धि बिक्रीकर लगाई भन्सार विभागको पत्रानुसार भनी भन्सार लिई जरीवाना समेत लगाई गरेको निर्णय भन्सार ऐन बिपरीत छ भन्ने र प्रत्यर्थी भन्सार विभाग समेत तर्फबाट बहस गर्न खटिई उपस्थित हुनु भएका विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारले प्रचलित ऐन नियम बमोजिम कारवाही भई भन्सार असूल गरेको कानुनसंगत छ रिट खारेज हुनु पर्दछ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
८. प्रस्तुत मुद्दामा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो वा होइन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा संदिप इन्टरप्राइजेजले बैंककबाट आयत गरी ल्याएको इन्भ्वाइस नं. टि.एस.१३३.७८ मा उल्लिखित टेरीकटन कपडा २०,००० बीस हजार गजको प्रतिगज सी.आई.एफ. कलकत्ता यू.एस.डरल ०.५८ अन्ठाउन्न सेन्ट मूल्य कायम गरी फरक परेकोमा भन्सार ऐन, ०१९ को दफा ३४(३) अनुसार गरी नियम बमोजिम माल छाडी दिनु हुन श्री ५ को सरकारको मिति ०३६।१।३१ को निर्णयानुसार अनुरोध गरिन्छ भनी भन्सार विभागबाट ०३६।२।२।४ को पत्र पठाए अनुसार फरक परी न्यून हुन गएको रकममा डबल भन्सार महसुल असूल गर्ने र जरीवाना रु.४९९। हुने भनी त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट निर्णय गरेको सरकारी अधिवक्ताले बेञ्च समक्ष देखाएको फाइलबाट देखिन्छ ।
१०. त्यसरी फरक परी न्यून हुन गएको रकममा डबल भन्सार महसूल असूल गर्ने र जरीवाना रु.४९९। हुने भनी गरेको निर्णय उपर रिट निवेदकको राजस्व न्यायाधीकरणमा पुनरावेदन परेकोमा भन्सार दरबन्दीको मूल्यांकनको सिलसिलामा भाडा भरौट कायम गर्दा प्रति के.जी.यू.एस.डलर १.२५ कायम गर्ने श्री ५ को सरकारको निर्णय अनुसार भाडा कायम गरी भन्सार महसूल लिएको हिसाव मिलेकै देखिन्छ । डेमरेज बापत असूल गरिएको रु.१६४९३।७० रकम पुनरावेदकले फिर्ता पाउने ठहर्छ भनी राजस्व न्यायाधीकरणबाट निर्णय गरेको पाइन्छ ।
११. प्रत्यर्थी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको लिखितजवाफबाट ०३५ श्रावण १ गतेदेखि लागू भएको मूल्यांकन सूची बमोजिम मालको मूल्य निर्धारण गरी भन्सार लगाएको भन्ने देखिन्छ । सरकारी अधिवक्ताले बेञ्च समक्ष देखाएको फाइलबाट उक्त मालसामान त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आउनु भन्दा पहिले नै सो मूल्यांकन सूची दाखिल भई लागू भएको पाइन्छ । तसर्थ प्रचलित मूल्यांकन सूची बमोजिम मूल्य निर्धारण गरी भन्सार लगाएको देखिन्छ । त्यस प्रकार त्रि.वि.भन्सार कार्यालयको निर्णयले डेमरेज चार्ज लगाएकोलाई बाहेक गरी राजस्व न्यायाधीकरणबाट भएको निर्णयमा कानुनको प्रत्यक्षतः त्रुटि छ भन्न सकिने स्थिति नहुँदा निवेदकका माग अनुसारको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फायल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरिहरलाल राजभण्डारी
इति सम्वत् २०४१ साल आश्विन ४ गते रोज ५ शुभम् ।