शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१४२ - नाता कायम ।

भाग: २६ साल: २०४१ महिना: माघ अंक: १०

निर्णय नं. २१४२   ने.का.प. २०४१                   अङ्क १०

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४० सालको दे.पु.नं. ५३१

मुद्दा : नाता कायम

पुनरावेदक/वादी : जि. मोरङ वि.न.न.पं. वा.नं. २२ जन्मी ऐ बस्ने सविर मियाँ

  ऐ बस्ने फिरोज मियाँ

२ जनाको संरक्षक भै आफ्ना हकमा समेत कारी मियाँको पत्नी ऐ बस्ने सुरिया बेगम भन्ने सकिता खातुन

विरुद्ध

विपक्षी/प्रतिवादी : जि. मोरङ विराटनगर न.पं. वा.नं. २१ बस्ने महकुल मियाँ

ऐ ऐ बस्ने आहिम मियाँ भन्ने आहिया मियाँ

फैसला भएको मिति :  २०४१।१०।१४।१ मा

§  शंकारहित स्वतन्त्र एवं विश्वासनीय प्रमाणको अभावमा वादीलाई कारी मियाको पत्नी नाता कायम गर्न नमिल्ने ।

(प्रकरण नं. १२)

पुनरावेदक वादी तर्फबाट : x

विपक्षी प्रतिवादी तर्फबाट : x

उल्लेखित मुद्दा : x

फैसला

          न्या. सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर निम्न प्रकारको छ ।

          २.  कारिमियाँको श्रीमती मध्ये स्वर्गीय जेठी पत्नीबाट जन्मेको विपक्षी मध्येका मकहुल स्व.साहिली पत्नीबाट जन्मेको विपक्षी मध्येका आहिया मिया हुन् । कान्छी पत्नी म तर्फबाट २ छोरा ३ छोरी भएकोमा मेरो तर्फको छोरा छोरी सवै नावालखै छन् पति कारी मियाँ ०३७।७।९ गते परलोक हुनु भयो । ०२२ साल फाल्गुण १५ गतेदेखि विपक्षीहरू र म तथा पति कारी मिया अलग बसेका पति कारी मिया परलोक भएपछि विपक्षी छोराहरूले सवै जग्गा जमीन कब्जा गरी नावालक छोराछोरीलाई हेला समेत गरेको र अंश माग्दा समेत नदिई आलटाल गरेकोले फिराद गर्न आएको छु अंशबण्डाको २०, २२, २३ नं. अनुसार विपक्षीहरूबाट तायदाती लिई ५ भागको ३ भागको अंश छुटयाई पाउँ भन्ने फिराद ।

          ३.  वादीहरू हाम्रा अंशियार होइनन् । वादीहरू भारत विहार प्रान्त अन्तर्गत जिल्ला पूर्णया बस्ति नरपत गञ्ज बस्ने एनामुल मियाँको पत्नी वादी सकिना खातुन हुन् । निजबाट नै वादी सकिना खातुनलाई ३ छोरी २ छोरा भएको छ वादी फिरोज मियाँ र सविर मियाँ एनामुल मियाँको छोरा भएकोले हामीहरूको अंशियार नहुँदा हामीले अंश दिनु पर्ने होइन । पिता कारी मियाँको ३ पत्नी मध्ये जेठी नमिरा एवातुनबाट जन्मेका म मकहुल मियाँ, माहिली असर्फ खातुनबाट जन्मेको म महमद याहीँ मियाँ कान्छी स्व.सकिना खातुनबाट एकमात्र छोरी आमना खातुन भएको स्व.सकिना खातुन पिता कारी मियाँ स्वर्गवास हुनुभन्दा ५ वर्ष अघि नै मृत्यु भएको कारणबाट निज सकिना खातुनको नाम मिलेकोले वादीले हामीहरू उपर झुठ्ठा उजूर मात्र गरेको हो । पिता कारी वादीको पति भए ०३० साल जेष्ठ १ गते कारी मियाँबाटै जग्गा खरीद गर्दा पति भन्ने लेख्न सक्नु पर्दथ्यो सो समेत लेख्न नसकेबाट वादी अंशियार नहुँदा झुठ्ठा दावीबाट अलग गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।

          ४.  पति कारी मियाको ३ वटी पत्नीहरू मध्ये कान्छी पत्नी म वादी सकिना र जेठी माहिली सौता तर्फका छोरा विपक्षीहरू हुन पति कारी मियाँ मेरो खास पति हुँदा मेरो छोरा साविर हुसेनको स्कूलमा नाम लेखिएको प्रमाण मतदाता नामावली सूचीत पारिवारिक लगतको नक्कल समेत पेश गरेको छु सो समेतको सबूत प्रमाणबाट नाता कायम गरी अंश पाउँ भन्ने समेत वादीको बयान ।

          ५.  विपक्षी वादी हाम्रो अंशियार होइन भारतको विहार नरपतगंज बस्ने एनामुल मियाँको स्वास्नी छोरा हुन् वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादीको बयान ।

          ६.  वादी मध्ये कि सकिना खातुन कारी मियाँको पत्नी सविर, फिरोज कारीवतीको छोरा हुन् भन्ने शंकारहित स्वतन्त्र एवं विश्वासनीय रुपबाट प्रमाणित हुन नआएको हुँदा वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको मोरङ जि.अ.को फैसला ।

          ७.  शुरु मोरङ जि.अ.को फैसला कानुनसंगत नभएकोले वादी दावी अनुसार अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको वादी सकिना खातुनको पु.क्षे.अ.मा गएको पुनरावेदन ।

          ८.  वादी दावी अनुसार कारिकै पत्नी हुन भन्ने प्रमाणित एवं निश्चयात्मक आधारको अभावमा वादी दावी नपुग्ने गरेको शुरु मोरङ जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ, भन्ने समेतको व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।

          ९.  पूर्वाञ्चल क्षेत्रीयको इन्साफ उपर पुनरावेदनको अनुमति पाउँ भनी वादी सकिना खातुनको यस अदालतमा निवेदन पर्न आउँदा पु.क्षे.अ.को निर्णयमा प्रमाणको मूल्यांकन भएको नदेखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत डिभिजन बेञ्चको आदेश ।

          १०. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा मुख्यतः पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मिले नमिलेको के रहेछ सो को निर्णय दिनुपर्ने हुन आयो ।

          ११.  स्वर्गीय पति कारी मियाको ३ जना श्रीमती मध्ये जेठी माहिली परलोक भई निजहरूको क्रमशः मकहुल र आहिया मियाँ २ छोरा र म कान्छी तर्फ २ छोरा र ३ छोरी भएकोमा विपक्षी सौतानी छोराहरूले सबै जग्गा जमिन कब्जा गरी बसेकोले र अंश माग्दा नदिएकोले विपक्षीहरूबाट तायदाती लिई ५ भागको ३ भाग अंश दिलाई पाउँ भन्ने समेत वादी दावी भएको देखिन्छ । वादीहरू हाम्रा अंशियार नै होइनन् भारत विहार प्रान्त अन्तर्गत जो पूर्णीमा वस्थित रेवाई थाना नरपतजञ्ज बस्ने एनामूल मियाँको पत्नी यी वादी भएको छोरा छोरी पनि निज तर्फबाटै भएको हुँदा हामीहरू पिता कारीका ३ श्रीमतीमा जेठी नमीरा खातुनबाट म मकहुल र माहिली असर्फी खातुनबाट जन्मेको म महमद याहिमियाँ कान्छी स्वर्गीय सकिना खातुनबाट एकमात्र छोरी आमता खातुन भएकी र कान्छी सविना बाबु भन्दा ५ वर्ष पहिल्यै मृत्यु समेत भइसकेकोले समेत निज हाम्रा अंशियार होइनन्, एदीबाबु कारी मियाँकै पत्नी वादी भएको भए ०३०।२।१ मा कारीबाटै जग्गा खरीद गरी लिंदाँ कारीको पत्नी भन्ने उल्लेख हुनुपर्ने सो समेत नभएकोले वादी अंशियार नहुँदा झुठ्ठा दावीबाट फुर्सत पाउँ भन्ने प्रतिवादीहरूको प्रतिवाद भएको पाइन्छ ।

          १२. शंकारहित स्वतन्त्र एवं विश्वासनीय प्रमाणको अभावमा वादीलाई कारी मियाँको पत्नी नाता कायम गर्न नमिल्ने र सो नमिले पछि अंश पाउन नसक्ने ठहराई शुरु जिल्ला अदालतले गरेको इन्साफ सदर गरी पूर्वाञ्चल क्षेत्रीय अदालतले निर्णय गरेको देखिन्छ ।

          १३. यसमा वादीले कारी मियाँको कान्छी पत्नी हुँदा अंश पाउँ भनेकोमा कारी मियाँकी कान्छी पत्नी कारी मियाँ स्वर्गे हुनुभन्दा ५ वर्ष पहिल्यै मृत्यु भएको र उनी तर्फ १ मात्र छोरी आमना खातुन भएकी भन्ने प्र.जिकिरलाई वादीले अन्यथा भन्न नसकेको र कारीमिया बाटै ०३० साल जेष्ठ १ गते जग्गा खरीद गरी वादीले लिँदा सो लिखतमा पनि कारीको श्रीमती भने कुनै नाता नदेखिएको र त्यस कुरालाई पनि वादीले कुनै प्रमाणिक रुपमा खण्डन गरेको पनि पाइँदैन । यस्तो स्थितिमा वादी कारी मियाँकी पत्नी हुन् भन्ने ठहराउन सकिने ठोस एवं भरपर्दो पक्का प्रमाणको अभावमा वादी कारीकी पत्नी ठहर्न नसकेकोले अंशमा दावी पुग्न नसक्ने ठहराई शुरु मोरङ जिल्ला अदालतले गरेको इन्साफ सदर गरी पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव ठहर्छ । वादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी लागि पुनरावेदन दायर भएकोले केही गर्नपरेन । मिसिल नियमानुसार गरी बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४१ साल माघ १४ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु