शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २८०८ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

भाग: २८ साल: २०४३ महिना: मंसिर अंक:

निर्णय नं. २८०८     ने.का.प. २०४३       अङ्क ८

पूर्णइजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डलाल अनिल

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४२ सालको रि.फु.नं. २१

आदेश भएको मिति : २०४३।८।१०।३ मा

 

निवेदक/प्रत्यर्थी : श्री ५ को सरकार निजामती किताबखाना

विरुद्ध

विपक्षी/रिट निवेदक : ल.पु.न.पं.वडा नं.१० सौगल टोल चालाछें बस्ने रामकृष्ण नापित

 

विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 

(१)         अनिवार्य अवकाश पाउने उमेरको हिसाब निजले नै भरेको सिटरोलमा उल्लिखित उमेरबाट कायम गर्नु पर्ने ।

(प्रकरण नं. १४)

 

रिट/निवेदककातर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ

प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह

 

आदेश

प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा डिभिजनबेञ्चबाट मिति ०४१।८।१ मा निर्णय भएको उपरोक्त उत्प्रेषण मुद्दा दोहर्‍याई पाउँ भनी निवेदकले न्यायिक समिति मार्फत बिन्तिपत्र चढाएकोमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्‍याई दिनु भन्ने मौसुफ सरकारबाट हुकुम बक्स भई आएबमोजिम यस अदालतको फुलबेञ्च लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ ।

२. निवेदक २००४।३।२९।१ मा निजामती मध्यमा परीक्षामा उत्तिर्ण भई २००५।३।१५ मा ल.पु.अ.को नौसिन्दारबालीमा भर्ना हुँदा सर्टिफिकेटको पिठमा भर्ना हुँदाको मिति लेखी अड्डाको छाप लगाई फिर्ता दिनु भएको उक्त अवस्थामा निवेदकको उमेर २२ वर्षमा प्रवेश भएकोले जन्म मिति लेखिएको छैन । म.क्षे.अ बाट ०३९।१०।२।१ मा भ.पु.जि.अ.का डिठ्ठामा सरुवा गरी दिनु भई ०३९।१०।५ बाट रमाना दिनु भएकोले अवकाश पाउन ६ महीना अगावै अवकाशको जानकारी पाउनु पर्नेमा जानकारी नै पाएको छैन अवकाश पाएकै दिनमा थाहा दिनु भएकोले उजूर गर्ने मौका नै पाएको छैन । २०४०।३।१७ बाट मौकैमा किताबखानामा निवेदन गर्दा आलटाल गरी निवेदन दर्ता गरी नदिएबाट म.क्षे.अ.मा निवेदन दिई सोधी पठाउँदा १ महीना पछि पर्न आएको निवेदन हुँदा उमेर संशोधन गर्न मिल्दैन भनी २०४०।४।१६। मा जानकारी दिनु भएको २००५ सालमा सिटरोल भर्दा ६० वर्षको हदम्याद लागू भइसकेको नहुँदा उमेरको त्यतिको विचार गर्नु पर्ने अवस्था नभएको नि.से.ऐन, २०१३ दफा ३ मा दर्जा घटाउने वा मनमानी बर्खासीबाट ६(१) मा सफाइको सबूद दिने मनासिब माफिकको मौका नदिई बर्खासी गरी वा दर्जा तलब घटाउनै हुँदैन नियम ०२१ को परिच्छेद ४ को दफा ७ को उपदफा (११) ले निर्धारित गरेको अवधि पाउनु पर्ने म.क्षे.अ. वा भ.पु.जि.अ.बाट समेत पाएको छैन नि.से.ऐन, २०१३ को दफा ९(१) मा नालिश गर्ने उपाय भनी संकेत गरिएको उक्त दफामा दफाको उपदफा (१) बमोजिम रीत नपुर्‍याई कर्मचारीलाई सेवाबाट हटाउनमा गैरकानुनी हुन्छ दफा ७(१) मा ६० वर्ष पूरा भएपछि नोकरीबाट अवकाश दिने छ भन्ने स्पष्टीकरणको (क) दफामा नोकरीमा प्रवेश गरेको बेलामा शैक्षिक संस्थाको प्रमाणपत्रमा किटिएको जन्म दिन वा वर्षबाट हुनआएको उमेर भन्ने र दफा (ख) मा त्यस्तो रिकर्ड नभएमा नोकरीमा प्रवेश गरेको बेलामा सिटरोलमा लेखिएको जन्म दिन वा वर्षबाट हुनआएको उमेर भनी किटानी कानुन प्रावधान भएको । अवकाश बुझी लिएपछि सर्टिफिकेट बमोजिम उमेर कायम गर्न मिल्दैन भनी कुनै कानुन प्रावधान भएको नभई बुझाएको अवकाश नै गैरकानुनी हुँदा बदर गर्नु पर्नेमा मिलाउन नमिल्ने भनी जानकारी दिएको गलत प्रष्ट छ । निजामती किताबखानाबाट उमेर संशोधन गर्न मिल्दैन भनी २०४०।४।१६ मा दिएको बोधार्थ भ.पु.जि.अ.बाट ०४०।३।१७।६ मा दिनु भएको अनिवार्य अवकाशको फोटोकपी समेत साथै राखी रित नपुर्‍याई सेवाबाट हटाएमा गैरकानुनी अवकाश दिएकोले संविधानको धारा १६ ले प्रदान गरेको अनुसार धारा ७१ अनुसार असाधारण अधिकारक्षेत्र अन्तर्गत रिट निवेदन गर्न आएको छु भन्ने समेत मुख्य निवेदन जिकिर रहेछ ।

३. निवेदकले मिति ०४०।३।१४ मा ६० वर्ष पूरा गरेको भनी मिति ०४०।३।२९ मा निवृत्तिभरण माग फाराम गरी यस विभागमा पेश गरेको छ । निजले एकातर्फ ६० वर्ष पूरा गरेको भनी निवृत्तिभरणको माग फाराम भरी पेश गरेको छ भने अर्कोतर्फ ६० वर्ष पूरा हुन बाँकी नै छ भनी दावी गरेकोमा निवेदक स्वयंले आफूलाई ६० वर्ष पूरा भएको यकीन गरिसकेको देखिन आएकोले निजको रिट निवेदनमा सत्यता देखिँदैन । आफ्नो नाम थर लेखी औंठाको सहिछाप गरी स्वयंले भरेको सिटरोललाई निराधार मानी झुठ्ठो विवरण र अनावश्यक गन्थन पेश गरी यस विभागलाई झुठ्ठो आरोप  लगाई रिट निवेदन गरेको हुँदा प्रस्तुत रिट निवेदन खारेज गरी पाउँ भन्ने समेतको विपक्षी निजामती किताबखानाका लिखितजवाफ ।

४. सम्बन्धित कर्मचारी रिट निवेदकलाई अवकाश दिने सिलसिलामा निजामती किताबखानाबाट मिति २०३९।१०।४ मा पठाएको सूचनापत्रको जानकारी रिट निवेदकलाई दिएको छ छैन ? दिएको भए कुन मितिमा दिएको हो सम्पूर्ण व्यहोरा खुलाई पठाई दिनु भनी भ.पु.जि.अ.लाई लेखी पठाउनु भन्ने समेतको यस अदालतको डिभिजनबेञ्चको मिति २०४१।४।७ गतेको आदेश ।

५. निज रामकृष्ण नापिक साविक मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०३९।६।२० को निर्णयले यस अदालतमा सरुवा भई आएकोले सो अवकाश पत्र मध्यमाञ्चल क्षेत्रीय अदालतमा प्राप्त भई अवकाश हुने रामकृष्ण नापिकलाई देखाएको र निजले पछि एकैपटक बुझौंला भनेपछि एकैपटक नि.भ्र.माग फाराम बुझी लिएको भन्ने भक्तपुर जिल्ला अदालतबाट प्राप्त भएको पत्र ।

६. यसमा निवेदकले अनिवार्य अवकाश पाउने सूचना ६ महीना अघिनै निजामती किताबखानाले २०३९।१०।४ मा दिएको सूचना निवेदकलाई बुझाइएको भन्ने कुरा भक्तपुर जिल्ला अदालतको पत्रबाट नदेखिएकोले यस विषयमा निजले पहिले नै प्रमाणपत्र पेश गर्ने अवस्था पर्न नआएको र निजले २००४ साल आषाढ २९ गते रोज १ को निजामती मध्यमा परीक्षा पास भएको प्रमाण भनी पेश गरेको प्रमाणपत्रको पिठमा २००५ साल आषाढ १५ गते २ मा ल.पु.अ.त.को नौसिन्दामा भर्ना भनी अड्डा छाप लागेको पनि देखिएको सो प्रमाण मौकामा पेश गरेको भन्ने देखिएकोले २०४०।३।१५ देखि निवेदकले अनिवार्य अवकाश पाउने विषयको निजामती किताबखानाको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिइएको छ । अब जो बुझ्ने भिडाउनु पर्ने बुझी भिडाई नियम बमोजिम निर्णय गर्नु भनी परमादेशको आदेश समेत जारी हुने ठहर्छ भनी मिति २०४१।८।१।६ मा डिभिजनबेञ्चबाट निर्णय भएको रहेछ ।

७. रिट निवेदक रामकृष्ण नापिकले हाल पेश गरेको शैक्षिक प्रमाणपत्र सिटरोल फारामसाथ पेश नगरेको हाल मात्र सो प्रमाणपत्रको आधार लिन खोजिएको र निजले २००५ साल आषाढ १५ गते २५ वर्ष जनाई सिटरोल फाराम भरेको भन्ने किताबखानाको लिखितजवाफमा उल्लेख भएकोले सिटरोल बमोजिम किताबखानाले उमेर यकीन गरेको देखिन्छ । अनिवार्य अवकाशको सूचना निजामती किताबखानाबाट समयमै अर्थात् २०३९ माघमा नै पठाइएको देखिन्छ । सूचना अवकाश पाएकै दिन प्राप्त भएको भन्ने रामकृष्ण नापिकको भनाई भएकोमा सर्वोच्च अदालतबाट भक्तपुर जिल्ला अदालतसंग सोधिएको पत्रको जवाफमा निज रामकृष्ण नापिकलाई पत्र देखाएको र पछि एकैपल्ट बुझुंला भनेका भन्ने भक्तपुर जिल्ला अदालतको पत्रबाट देखिन्छ । यस्तोमा आफैंले जानी जानी सूचना पढी हेरी नबुझेकोमा सूचना जानकारी नपाएको भन्न मिलेन विपक्षी रामकृष्ण नापिकले २०४०।३।१४ मा ६० वर्ष पूरा गरेको भनी २०४०।३।२९ मा निवृत्तिभरण माग फाराम भरी यस विभागमा पेश गरेको भन्ने समेत किताबखानाको लिखितजवाफको अन्तिम प्रकरणमा उल्लेख भएको छ । यस स्थितिमा किताबखानाको उमेर संशोधन नगर्ने निर्णय बदर गरिएबाट विद्यमान निजामती सेवा नियमावलीको ७१ को प्रतिकूल भई त्रुटिपूर्ण हुनाले नेपालको संविधानको धारा ७२(ख) बमोजिम सर्वोच्च अदालतको उक्त निर्णय दोहर्‍याउन आदेश बक्सन श्री ५ महाराजाधिराज सरकारका हजूरमा सिफारिश जाहेर गर्ने ठहर्छ भन्ने समेत न्यायिक समितिको मिति २०४२।१।२८।६ को पर्चा ।

८. रिट निवेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठले मेरो पक्षले निजामती मध्यमा परीक्षामा पास भएको प्रमाणपत्र २००५ साल  आषाढ १५ गते जागिरमा भर्ना हुँदा नै पेश गरेको थियो र उक्त प्रमाणपत्रमा निजको उमेर २२ वर्ष लेखिएको छ । शैक्षिक प्रमाणपत्रमा उल्लिखित उमेर अनुसार २०४३।१।१ मा मात्र मेरो पक्षले नोकरीबाट अवकाश पाउनु पर्नेमा ०४०।३।१५ मा साठी वर्षको हद पुगी सकेको भनी मिति २०४०।३।१७ मा बुझाएको अवकाश र उमेर संशोधन गर्न मिल्दैन भन्ने निजामती किताबखानाको निर्णय गैरकानुनी हुँदा बदर हुनुपर्दछ भन्ने समेत र निजामती किताबखानाको तर्फबाट बहस गर्न उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंहले रिट निवेदकले नोकरीमा प्रवेश गर्दा भरेको सिटरोलमा आफ्नो उमेर २५ वर्ष लेखी औंठाको सहिछाप समेत गरेको छ । निजले भरेको उक्त सिटरोलमा उल्लिखित उमेरको हिसाबबाट मिति २०४३।३।१५ मा अनिवार्य अवकाश हुने सूचना यस कार्यालयबाट मिति २०३९।१०।४ मा पठाएको हो । रिट निवेदकले अवकाश गरेको स्वीकार गरी मिति २०४०।३।२९ मा निबृत्तिभरणको माग दावी गरिसकेको समेत आधारमा उमेर संशोधन गर्न मिल्दैन भनी गरेको निर्णयमा कुनै त्रुटि नहुनाले रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत बहस गर्नु भयो ।

९. यसमा डिभिजनबेञ्चबाट भएको आदेश मिलेको छ छैन निर्णय गर्नु परेको छ ।

१०. निर्णयतर्फ हेर्दा यसमा उमेरको हदले अनिवार्य अवकाश पाएको एक महीना पछि निजामती किताबखानामा उमेर संशोधन गरी पाउँ भनी निवेदन दिँदा अवकाश पाएको एक महीना पछि निवेदन पर्न आएको र सिटरोलबाट ६० वर्ष उमेर पुगी सकेको देखिएकोले उमेर संशोधन गर्न मिल्दैन भनी गरेको निजामती किताबखानाको निर्णय बदर गरी पाउँ भन्ने मुख्य जिकिर लिई रिट निवेदन पर्न आएको देखिन्छ । रिट निवेदक २००५।३।१५ मा ल.पु.जि.अ.को नौसिन्दा पदमा भर्ना हुँदा निजामती मध्यमा परीक्षा उत्तिर्ण भएको सर्टिफिकेटको प्रतिलिपि लिनु भई सक्कल सर्टिफिकेटको पिठमा भर्ना हुँदाको मिति समेत लेखी अड्डाको छाप लगाई मलाई फिर्ता दिएको र उक्त सर्टिफिकेटमा मेरो उमेर २२ वर्ष उल्लेख छ भन्ने कुराको जिकिर पनि रिट निवेदकले लिएको पाइन्छ । तर रिट निवेदकले नोकरीमा प्रवेश गरेपछि निवेदक स्वयंले भरेको सिटरोलमा मिति २००५ साल आषाढ १५ गतेमा २५ वर्ष जनाई सहिछाप गरेको कुरा विद्वान सहन्यायाधिवक्ताले बेञ्च समक्ष देखाएको फायलबाट देखिन्छ ।

११. सिटरोलमा आफ्नो सहिछाप परेको कुरा स्वयं रिट निवेदकले आफ्नो रिट निवेदनमा स्वीकार गर्नुभएको छ । रिट निवेदकले सिटरोल भर्दाका अवस्था उक्त निजामती मध्यमा परीक्षा पास भएको प्रमाणपत्रको प्रतिलिपि पेश भएको देखिँदैन ।

१२. कुनै निजामती कर्मचारीको उमेर साठी वर्ष पूरा भएपछि निजलाई सरकारी सेवाबाट अवकाश दिइनेछ भन्ने व्यवस्था निजामती सेवा नियमावली, २०२१ को परिच्छेद ७ को नियम ७.१(१) मा पाइन्छ । यसरी निजामती कर्मचारीको उमेरको हिसाब गर्दा निम्न दुई किसिमबाट गरिनेछ भन्ने कुराको व्यवस्था पनि ऐ.नियमावली ऐ.ऐ.नियमको स्पष्टीकरणमा भएको पाइन्छ :

(क)   नोकरीमा प्रवेश गरेको बेलामा निजले पेश गरेको शैक्षिक संस्थाको प्रमाणपत्रमा किटिएको जन्म दिन वा वर्षबाट हुनआएको उमेर ।

(ख)   त्यस्तो रेकर्ड नभएमा निजले नोकरीमा प्रवेश गरेको बेलामा सिटरोलमा लेखी दिएको जन्म दिन वा वर्षबाट हुनआएको उमेर ।

१३. उपरोक्त व्यवस्थानुसार निजामती कर्मचारीले नोकरीमा प्रवेश गरेको अवस्थामा निजले आफ्नो उमेर खुलेको शैक्षिक प्रमाणपत्र पेश गरेको  रहनेछ भने निजले नोकरीमा प्रवेश गरेको बेलामा सिटरोलमा लेखिएको जन्म दिन वा वर्षबाट हुनआएको उमेर कायम गर्नु पर्ने हुन्छ ।

१४. प्रस्तुत मुद्दामा रिट निवेदक रामकृष्ण नापिकले निजामती मध्यमा परीक्षा पास भएको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि निज नोकरीमा प्रवेश गरेपछि भरेको सिटरोलका साथ पेश गरेको देखिँदैन । उक्त शैक्षिक प्रमाणपत्रको पिठमा २००५ साल आषाढ १५ गते २ मा ल.पु.अ.त.को नौ. मा भर्ना भएको भन्ने सम्म मात्र उल्लेख भएको पाइन्छ । तसर्थ शैक्षिक प्रमाणपत्र मौकामा पेश भएको मान्न मिलेन । रिट निवेदकको अनिवार्य अवकाश पाउने उमेरको हिसाब निजले नै भरेको सिटरोलमा उल्लिखित उमेरबाट कायम गर्नु पर्ने हुन आउँछ । रिट निवेदकले २००५ साल आषाढ १५ गते २५ वर्ष जनाई सिटरोल फाराम भरेको पाइन्छ र सोही सिटरोल फाराम बमोजिम नै निजामती किताबखानाको निजको उमेर यकीन गरी मिति २०४०।३।१५ देखि अनिवार्य अवकाश दिएकोलाई त्रुटिपूर्ण भन्न मिलेन प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ ।

१५. २०४०।३।१५ देखि निवेदकले अनिवार्य अवकाश पाउने विषयको निजामती किताबखानाको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्‍याई परमादेशको आदेश समेत जारी गर्ने गरेको यस अदालत डिभिजनबेञ्चको मिति २०४१।८।१।६को निर्णय मिलेको देखिएन । फायल नियमबमोजिम गरी बुझाइदिनु ।

 

उक्त रायमा हामी सहमत छौं ।

न्या.प्रचण्डराज अनिल,

न्या.रुद्रबहादुर सिंह

 

इतिसम्वत् २०४३ साल मंसिर १० गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु