शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २८०९ - दर्ता बदर

भाग: २८ साल: २०४३ महिना: मंसिर अंक:

निर्णय नं. २८०९     ने.का.प. २०४३       अङ्क ८

पूर्णइजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४३ सालको दे.फु.नं. ९०

फैसला भएको मिति : २०४३।८।३।३ मा

 

निवेदक/प्रतिवादी : ल.पु.जि. ठैव गा.पं.वडा नं.२ ठनीटोल बस्ने सन्तुमाया श्रेष्ठसमेत

विरुद्ध

विपक्षी/वादी : ल.पु.जि. ठैव गा.पं.वडा नं.३ बेखाटोल बस्ने देवमाया श्रेष्ठ

 

मुद्दा : दर्ता बदर

 

(१)         शेषपछि खान पाउने गरी आएको सम्पत्तिको हक कायम हुन नपाउँदै शेषपछिको बकसपत्र दिने धनलक्ष्मी जीवित अवस्थामा ज्ञानमान परलोक भएको हुनाले सो शेषपछिको बकसपत्र स्वतः निस्कृय हुन गई सो को बकसपत्रबाट पनि प्रतिवादीहरूको हक हुने अवस्था रहेन ।

(प्रकरण नं. १५)

(२)        मर्नेको नाउँ दर्ताको जग्गाको तिरो हस्तेवारीबाट तिरेको आधारमा मात्र प्रतिवादीहरूलाई हक प्राप्त व्यक्ति भन्न मिलेन ।

(प्रकरण नं. १५)

 

निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट फैसला भएको मुद्दा दोहर्‍याई पाउँ भनी चढाएको बिन्तिपत्र फुलबेञ्चबाट दोहर्‍याई हेरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसुफ सरकारका विशेष जाहेरी विभागबाट तोक लागी आर्ई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ ।

२. मेरी आमा धनलक्ष्मीको म बाहेक अरु सन्तान कोही नभएको मेरो पिताजी परलोक भई सक्नु भएको मेरो आमा ०२६ सालमा परलोक हुनुभएको ३ पुस्ता भित्रको हकदार कोही नभएबाट आमाको श्रीसम्पत्तिको अपुतालीको २ नं.ले विवाह भएको छोरी मेरो हक भई भोगचलन गरी अएको छु । आमा धनलक्ष्मीका नाउँमा साविक ल.पु.जि. ठैव मौजा रै.नं. ७५ को हाल ठैव गा.पं.वार्ड नं. ७ को कि.नं.३० को जग्गा रोपनी ४० विपक्षीले हकदार हुँ भनी ढांटी गराएको नाउँसारी दर्ता गराएको बदर गरी मेरो नाउँमा नाउँसारी गराई पाउँ भन्ने समेत फिरादपत्र रहेछ ।

३. धनलक्ष्मी ०२६ सालमा परलोक हुनुभएका तथ्यलाई स्वीकार गरी वहाँको अपुतालीको दावी लिई ०३२ साल चैत्रमा विपक्षीले दिनु भएका फिराद हदम्याद नाघी परेको हुँदा खारेज हुनु पर्छ, धनलक्ष्मीको श्रीसम्पत्ति वहाँले गरी दिनु भएको बकसपत्र तथा उहाँलाई पालनपोषण तथा काज क्रिया समेत सन्तुमाया र म मेरो पिताजी, तुल्सीनारायण समेतले गरे गराएको कारणबाट सन्तुमायाको उजूरी बमोजिम मैले नाउँसारी दर्ता गराएको हुँ मैले नाउँसारी गराए उपर विपक्षीको उजूर लाग्न सक्ने होइन भन्ने समेत प्रतिउत्तरपत्र रहेछ ।

४. फिल्डबूकको उतार मे.ना.शा.बाट र जग्गाको दर्ता समेतको उतार जि.का.भू.प्र. शाखाबाट प्राप्त हुनआएको रहेछ ।

५. वादीले दावी लिएका कुरा सम्बन्धमा प्रतिवादी मध्ये चतुरमानले प्र.सन्तुमायाको हक हुनआएको र निजको संरक्षकको हैसियतले आफ्नो नाममा दर्ता गराएको स्वीकारेकोले धनलक्ष्मीको अपुताली छोरी देवमाया हुँदाहुँदै बीच बीचमा अर्कै मुद्दा गरी सो मुद्दाको आधारबाट सन्तुमायाको हक भएको भनेकाले लेनदेन मुद्दाको फैसला बदर हुने आजैका मितिमा भएको फैसलाबाट सो फैसला बदर भएकोले सो आधारबाट दर्ता भएको मूल कारण नै निस्कृय भएकोले दर्ता बदर हुने ठहर्छ भन्ने समेत ललितपुर जिल्ला अदालतको फैसला रहेछ ।

६. उक्त फैसलामा चित्त नबुझी बा.अं.अ.मा पुनरावेदन परी बा.अं.अ.को ०३५।१२।८ को आदेशले म.क्षे.अ.मा सरुवा भएको रहेछ ।

७. अपुतालीको २ नं.ले आमाले अपुताली म विवाह भएकी छोरीको हक कायम गरी पाउँ भनी लिएको दावीमा अपुतालीको २० नं. बमोजिम उजुर गरी वादीले आफ्नो हक स्थापित गर्न नसकेकोले वादी दावी नपुग्ने भनी म.क्षे.अ.डिभिजनबेञ्चबाट ०३६।९।२३।२ मा फैसला भएको प्रमाण मिसिलबाट देखिन आएको र हक कायम मुद्दाको मिसिल समेतबाट हक कायम भएको देखिन नआएकोले सो फैसला प्रमाणबाट धनलक्ष्मीको जग्गा अपुतालीबाट वादीले हक कायम गराउन नसकेको स्थितिमा नाउँसारी दर्ता बदरमा वादीको दावा पुग्छ भन्न मिल्ने नदेखिँदा ललितपुर जिल्ला अदालतको फैसला गल्ती हुँदा उल्टी हुने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको ०३८।५।२१।१ को फैसला ।

८. विपक्षी चतुरमान समेतका व्यक्तिहरूले मुद्दा गरेको जस्तो गरी मेरो हक मेटाउने दुष्प्रयास गरेको कुरा हकदार नभएकोले हकदार हुँ भनी आमाको सम्पत्ति खान नामसारी दर्ता गराएकोबाट समेत लेनदेन मुद्दा मेरो बेहक गराई अकानुनी र अनुचित तवरले हारजित गरेको प्रष्ट हुन आउँछ, हक कायम मुद्दा र जग्गाखिचोला मुद्दामा अनुमति प्राप्त भएमा यसमा पनि अनुमति पाउने नै हुँदा कानुनी त्रुटि भएकोले पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत व्यहोराको निवेदनपत्र रहेछ ।

९. यसमा अपुतालीको २ नं.अनुसार धनलक्ष्मीको अपुतालीमा देवमायाको हक नहुने ठहराएको फैसलामा उपरोक्त कानुनको विपरीत भई सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएको देखिन आएको र एकै लगाउको फैसला बदर मुद्दामा पुनरावेदन गर्ने अनुमति प्रदान गरेको समेत हुँदा प्रस्तुत मुद्दामा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५) ख अनुसार पुनरावेदन गर्ने अनुमति दिइएको छ कानुनबमोजिम गर्नु भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।७।२३ को आदेश रहेछ ।

१०. धनलक्ष्मीको वादी देवमाया बाहेक अरु सन्तान हकदार पनि देखिन नआएको आफ्नो आमा पछि छोरा हकवालाले नामसारी पर्न आएमा जग्गा पजनीको महलको २(क) बमोजिम रु.१०।दस्तूर लिई जतिसुकै अवधि व्यतित भए पनि दाखिल खारीज गरी दिनुपर्छ भन्ने उल्लेख भएको पाइन्छ । यस स्थितिमा वादी दावी नपुग्ने भनी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मिलेको देखिन नआएकोले उल्टी हुने र शुरु ललितपुर जिल्ला अदालतले गरेको फैसला मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०४०।६।९।१ को फैसला ।

११. श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट फैसला भएको मुद्दा दोहर्‍याई पाउँ भनी चढाएको बिन्तिपत्रमा फुलबेञ्चबाट दोहराई हेरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसुफ सरकारका विशेष जाहेरी विभागबाट तोक लागी आएको रहेछ ।

१२. निवेदक प्रतिवादीहरूको तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले धनलक्ष्मी २०२६ सालमा मरेको कुरा वादीले स्वीकार गरेको छ । धनलक्ष्मी मरेपछि निजको सम्पत्ति चतुरमानले अपुतालीबाट भोगेको भन्ने परेको लेनदेन मुद्दाको फिरादमा देखाए बमोजिम बागमती अञ्चल अदालतबाट समेत २०३०।७।२३ मा अपुताली खाने ठहरी फैसला भएको छ । धनलक्ष्मीका नाउँको जग्गाको निज मरेपछि तिरो भरो प्रतिवादीहरूले हस्तेवारीबाट तिरी आएको छ । यी सब कुराबाट धनलक्ष्मीको सम्पत्ति ३ वर्ष भित्र प्रतिवादीहरूले भोगी आएको स्पष्ट छ । नामसारीमा दर्खास्त परी मर्नेका हकदारका नाउँमा म्याद टाँस भएकोमा वादीको उजूर नपरेकोबाट समेत वादीको दावी झुठ्ठा हो तसर्थ सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ मिलेको छैन । मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो । विपक्षी वादीतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्यालले लेनदेन मुद्दामा बागमती अञ्चल अदालतबाट भएको २०३०।७।२३ को फैसला समेत बदर गरी पाउँ भनी फिराद परेको हुँदा सो फैसला अन्तिम भन्न मिल्दैन । प्रतिवादीहरू हकवाला नभएकोलाई हकवाला देखाउँदै फिराद प्रतिउत्तर दिँदैमा हकवाला कायम हुन सक्दैन । संतुमायालाई हकवाला माने पनि चतुरमानलाई संरक्षकसम्म कायम गरेको छ । त्यस्तो व्यक्ति चतुरमानले धनलक्ष्मीको जग्गा दर्ता गराउने कुनै आधार नभएकोले गैरकानुनी दर्ताले मान्यता पाउन हुँदैन । अपुताली खाने क्रम तोकेको छ । सो क्रममा विवाद परे मात्र अपुतालीको म्यादभित्र उजूर गर्ने हो । प्रतिवादीहरूले धनलक्ष्मीको हकदार भनी दावी लिन सकेको छैन । तर जग्गा नामसारी गर्दा धनलक्ष्मीको म बाहेक अरु हकदार अंशियार नभएको भनी दर्खास्त दिई नामसारी गराएकोले समेत सो दर्ता बदर गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ  सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो ।

१३. आज निर्णय सुनाउने तोकिएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट भएको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।

१४. यसमा निर्णयतर्फ हेर्दा प्रतिवादीहरूले मुद्दा दोहोराई पाउँ भनी चढाएको बिन्तिपत्रमा विपक्षी धनलक्ष्मीको छोरी भए पनि कुनै सम्बन्ध नराखेको धनलक्ष्मीलाई हामीहरूका पिता हामीहरूले स्याहार सुसार गरेको परलोक भएपछि काजक्रिया समेत हामीले गरेको संतुमायाको पिता ज्ञानमानलाई धनलक्ष्मीले २००६ सालमा शेषपछिको बकसपत्र गरी दिएको निर्विवाद हामीले अपुतालीको रुपमा नामसारी गरी तिरो तिरान गरी भोग गरी आएकोमा विपक्षीले अशुद्ध ह्दय लिई अपुतालीको २० नं. को म्याद गुजारी अदालत प्रवेश गर्दा निजको पक्षमा निर्णय भएबाट हामीले पाएको अपुताली हरण हुन गयो भन्ने समेत उल्लेख गरेको पाइन्छ ।

१५. धनलक्ष्मीले प्रतिवादी संतुमायाको पिता ज्ञानमानलाई २००६ सालमा शेषपछि बकसपत्र गरिदिएको ज्ञानमान २०१६ सालमा परलोक भएको र धनलक्ष्मी २०२६ सालमा परलोक भएकोमा विवाद देखिँदैन । धनलक्ष्मीको छोरी वादी र प्रतिवादी संतुमायाको बाबु ज्ञानमान र चतुरमानको बाबु तुल्सीमान धनलक्ष्मीको भानिज भन्ने कुरामा पनि मुख मिलेको देखिन्छ । धनलक्ष्मीले दिएको बकसपत्र तथा वहाँलाई हेरविचार परलोक भएपछि काजक्रिया समेत संतुमाया म समेतले गरेको कारणबाट संतुमायाको मञ्जूरी बमोजिम मैले नामसारी दर्ता गराएको हुँ भनी प्रतिवादी चतुरमानले प्रतिवाद गर्दा जिकिर लिएको पाइन्छ । प्रतिवादी संतुमाया र चतुरमान मर्ने धनलक्ष्मीको ३ पुस्ता भित्रको हकदार वा ऐन बमोजिम अपुताली खान पाउने हकवालाहरु भन्ने देखिँदैन । निज प्रतिवादीहरुले मर्ने धनलक्ष्मीको ऐन बमोजिम अपुताली खान पाउने हकवाला हो भनी किटान गरी भन्नसकेको पनि छैन । प्रतिवादी संतुमायाको पिता ज्ञानमानलाई २००६ सालमा धनलक्ष्मीले शेषपछिको बकसपत्र गरी दिएको भनेको तर्फ हेर्दा शेषपछिको बकसपत्र गरी दिने धनलक्ष्मी जीवित छँदैका अवस्था बकसपत्र पाउने ज्ञानमान २०१६ सालमा परलोक भएको भन्ने मिसिलबाट देखिन्छ । शेषपछि खान पाउने गरी पाएको सम्पत्तिको हक कायम हुन नपाउँदै शेषपछिको बकसपत्र दिने धनलक्ष्मी जीवित अवस्थामा ज्ञानमान परलोक भएको हुनाले सो शेषपछिको बकसपत्र स्वतः निस्कृय हुन गई सो बकसपत्रबाट पनि प्रतिवादीहरूको हक हुने अवस्था रहेन । मर्ने धनलक्ष्मीको नाउँ दर्ताको जग्गाको तिरो हस्तेवारीबाट तिरेको आधारमा मात्र प्रतिवादीहरूलाई हक प्राप्त व्यक्ति भन्न पनि मिलेन ।

१६. मर्ने धनलक्ष्मीको वादी देवमाया छोरी भन्ने मिसिलबाट देखिन्छ । निज धनलक्ष्मीको श्रीसम्पत्तिमा अपुताली खान पाउने अपुतालीको क्रममा विवाद उत्पन्न भएको देखिँदैन । अपुतालीको २ नं.ले पनि मर्नेको अपुताली छोरा, लोग्ने नभएमा छोरीले अपुताली पाउने व्यवस्था गरेको पाइन्छ । तसर्थ मर्ने धनलक्ष्मीको सम्पत्तिमा निजको छोरी वादी देवमायाको अपुतालीबाट हक भएको देखिन आयो । त्यस्तो वादीको अपुताली हकको जग्गा हक नपुग्ने प्रतिवादीले गराएको दर्ता कायम रहन्छ भन्न न्यायोचित नहुँदा निवेदक प्रतिवादीहरूको निवेदन जिकिर पुग्न सक्दैन । प्रतिवादीले गराएको दर्ता बदर गर्ने ठहराएको ललितपुर जिल्ला अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

कोर्टफी लागि दायर भएको मुद्दा हुँदा कसैलाई केही गर्नु परेन............१

सर्वोच्च अदालत डिभिजनबेञ्चका ०४०।६।९।१ को फैसलाले वादी देवमायालाई प्रतिवादीहरूबाट कोर्टफी रु.१।५० भराउने गरेकोमा प्रतिवादीहरूले मुद्दा दोहराई ल्याई मिति ०४२।१०।२१ मा सर्वोच्च अदालत (ल.न.शाखा) ( मार्फत काठमाडौं जिल्ला अदालतमा धरौट राखेको देखिँदा सो धरौट रहेकोबाट भराई पाउँ भनी वादीको ऐनको म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई उक्त धरौट रहेकोबाट भराई दिनु र डिभिजनबेञ्चका फैसला बमोजिम भराउने गरेको लगत काटी दिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु......२

मिसिल नियम बमोजिम गरी बुझाई दिनु..........३

 

उक्त रायमा हामी सहमत छ ।

न्या.हिरण्येश्वरमान प्रधान,

न्या.रुद्रबहादुर सिंह

 

इतिसम्वत् २०४३ साल मार्ग ३ गते रोज ३ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु