शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २८१५ - उत्प्रेषण

भाग: २८ साल: २०४३ महिना: मंसिर अंक:

निर्णय नं. २८१५     ने.का.प. २०४३       अङ्क ८

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४३ सालको रिट नम्बर १४७७

आदेश भएको मिति : २०४३।७।१८।३ मा

 

निवेदक : का.जि.मनमैजु गा.पं.वडा नं.५ दथुटोल बस्ने पू्र्णमान महर्जन

विरुद्ध

विपक्षी : बागमती अञ्चलाधीश कार्यालय काठमाडौंसमेत

 

विषय : उत्प्रेषण

 

(१)         ऐनमा प्रष्ट नभएको अधिकारलाई आफूमा निहित भएको सम्झी सो को प्रयोग कुनै पनि निकायले गर्न मिल्दैन ।

(प्रकरण नं. ८)

(२)        अनाधिकृत निकायबाट कागज गराएकै भए पनि त्यस्तो कागजले कानुनी मान्यता प्राप्त गर्न नसक्ने ।

(प्रकरण नं. ८)

 

आदेश

न्या.सुरेन्द्रप्रसाद सिंह : विपक्षी अञ्चलाधीश कार्यालयले आफ्नो अधिकारक्षेत्र भित्र भन्दा  बाहिरको विषयमा निवेदन लिई कारवाही गरी कागज गराएबाट अनाधिकृत कागज बदर गरी पाउँ भनी नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनमा लिएका जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ ।

२. का.जि.मनमैजु गाउँ पञ्चायत स्थित मनमैजु देवताको पूजाआजा गर्नको लागि राखिएको ऐ.गाउँ पञ्चायत वडा नं.५ हाल नापीबाट कायम भएको कि.नं.१३२, २२२, २७० को जग्गा मैले मोहियानीमा कमाई आएको उपरोक्त जग्गा चौ. दीपकुमारीको नाममा दर्ता भएबाट वहाँलाई तिरो तिरान गरी आएका थिएँ । पछि विपक्षी र शान्ति देवी थापा समेत बीच चली आखिर जगतकुमारीले पाएँ भनेको बकसपत्र पास नहुने ठहरी सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति २०३२।७।६ गते फैसला भएको थियो । यसै बीच २०३१ सालको बाली नारायणजड्ड भन्ने दक्ष जग पराक्रम शाह समेत ८ जनाले बाली बुझी लिनुभएको थियो । २०३८ साल सम्मको बाली निजहरूले नै बुझेको र २०३९ सालको बाली शान्ति देवी थापा र २०४० सालको बाली दीपकुमारीको नाममा मनमैजु गाउँ पञ्चायतमा धरौटी राखेको थिएँ । उपरोक्त जग्गाबारे विभिन्न व्यक्तिहरूको बीच दावी विरोध चलिआइरहेको छ । कुनै टुड्डो लागेको छैन । विपक्षीहरूको हक अधिकार भएको थाहा छैन । २०४२ सालको बाली मालपोत कार्यालय काठमाडौंमा दीपकुमारीको नाउँमा धरौट राखेको छ ।

३. यसै बीच विपक्षी जगतकुमारीले २०३६ सालदेखिको बाली बाँकी भनी विपक्षी अञ्चलाधीश कार्यालयमा झुठ्ठो निवेदन दिएको रहेछ । सो आधारमा मलाई २०४३।३।१ गते बालाजुको प्रहरी मार्फत बोलाउनु पठाई लगेको थियो । २०३६ सालदेखि २०४२ साल सम्मको बाली ऐ.साउन १२ गते सम्ममा तिर्नु बुझाउँछु भनी अञ्चलाधीश कार्यालयको कर्मचारी प्रहरी समेतले घेरी कागज देखाई लिएको जग्गाधनी र बाली विषय कागज लेखाउने विपक्षी अञ्चलाधीश कार्यालयलाई कुनै ऐनको अधिकार छैन । यसरी मबाट गराइएको कागजहरू र तारीख पर्चाको नक्कल चाहियो भन्दा दिन मिल्दैन भनी दिइएको छैन । यसरी आफ्नो अधिकारक्षेत्र भन्दा बाहिरको विषयमा निवेदन दिई कारवाही गरी मलाई माथि लेखिए बमोजिम कागज गराएबाट मेरो नेपालको संविधानको धारा १०, ११(२)ङ धारा १५ द्वारा प्रदत्त हक हनन् गरिएबाट सो हक प्रचलन गराई माग्न संविधानको धारा १६, ७१ अन्तर्गत निवेदन गर्न आएको छु । उपरोक्त अनाधिकृत कागज बदर गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन ।

४. विपक्षीहरूबाट लिखितजवाफ गराई आएपछि पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको आदेश ।

५. विपक्षी निवेदक मनमैजु नित्यपूजा विधि गुठी जग्गा मोही भई कमाई आउनु भएकोमा सावितै हुनु हुन्छ । सो आयस्ता बालीबाट नित्य पूजा पर्वपूजा समेत चलाउनु पर्ने कुरा निर्विवाद छ । विपक्षीले कि.नं.१३२। २२२ र २७० को जग्गाको मोही भई कमाई भएको कुरा लेख्‍नु भएकै छ । जग्गाधनीको प्रमाण पूर्जा समेत मैले पाइसकेको छु र २०३५ साल सम्मको बाली विपक्षी निवेदकले मलाई बुझाइसकेको र विपक्षीका पेटमा बाँकी रहेको २०३६ सालदेखि २०४२ साल सम्मको बाली माग्दा हकै नपुग्ने व्यक्तिलाई बुझाइसकेको छ । अब बाली माग्न आएमा नराम्रो होला भनी म अवला बृद्ध स्त्री जातीलाई हेपी उल्टै हप्काई अशान्ति मच्चाएको र धर्म, गुठी रीतिस्थितिमा समेत आघात पुर्‍याउन नहुने कुरा स्वयं विदितै छ । नित्य पूजा पर्व पूजालाई असरपारी उल्टै मेरो ज्यू ज्यान धनको समेत असुरक्षा भएकोले बाँकी बाली दिलाई शान्ति सुरक्षा गरी पाउन श्री बागमती अञ्चलाधीश कार्यालयमा निवेदन गरेकोलाई अनाधिकृत कारवाहीको संज्ञा दिनु भएको हो । विपक्षीको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको जगतकुमारी शाहको लिखितजवाफ ।

६. मनमैजु नित्यपूजा गुठीको जग्गा रोपनी ०२ को बाली पूर्णमान महर्जनले नदिई ज्यू ज्यानको असुरक्षाको वातावरण खडा गरी नित्यपूजामा खलल गरी आएको ज्यू ज्यान समेतको शान्ति सुरक्षा गरी पाउँ भन्ने बारेमा जगतकुमारी शाहको निवेदन पर्न आएकोले शान्ति सुरक्षा गरी पाउँ भन्ने बारेमा जगतकुमारी शाहको निवेदन पर्न आएकोले शान्ति सुरक्षाको दृष्टिबाट बास्तविकता बुझ्न निवेदक पूर्णमान महर्जनलाई यस कार्यालयमा बोलावट सम्म गरिएको हो । निवेदकको कानुनी हकलाई असर पर्ने कुनै कार्य यस कार्यालयबाट भए गरेको छैन निवेदकको लेखाई झुठ्ठा हो । तसर्थ निवेदकको माग बमोजिम आदेश जारी हुनुपर्ने होइन यो रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको अञ्चलाधीशको कार्यालय बागमती अञ्चल, काठमाडौंको लिखितजवाफ ।

७. नियम बमोजिम निर्णयार्थ बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनमा मुख्यतया प्रस्तुत विवादमा निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो वा होइन सो को निर्णय दिनु पर्ने हुनआएको छ ।

८. यसमा निर्णयतर्फ विचार गर्दा विपक्षी जगतकुमारीले २०३६ सालदेखि २०४२ साल सम्मको बाली बाँकी भनी विपक्षी अञ्चलाधीश कार्यालयमा झूठो निवेदन दिएको र सोही आधारमा अञ्चलाधीश कार्यालयबाट मलाई मिति २०४३।३।१ गते बालाजुको प्रहरी मार्फत बोलाउन पठाई ऐ.५ गते कागजपत्रहरु लिई हाजिर हुन आउनु अन्यथा जेल जानु पर्ला भनी डर धम्की दिई कागज लेखाई छाडेको ऐ.५ गते जाँदा ०३६ सालदेखि ०४२ साल सम्मको बाली ऐ.साउन १२ गते सम्ममा दिन्छु तिर्छु बुझाउँछु भनी कागज लेखाए । त्यस्तो कागज लेखाउने विपक्षी अञ्चलाधीश कार्यालयलाई कुनै ऐनले पनि अधिकार छैन । यसरी आफ्नो अधिकारक्षेत्र भन्दा बाहिरको विषयमा निवेदन लिई कारवाही गरी मलाई माथि लेखिए बमोजिमको कागज बदर गरी पाउँ भन्ने मुख्य रिट निवेदन जिकिर रहेको पाइन्छ । सोतर्फ हेर्दा अञ्चलाधीशलाई माथि उल्लेख गरिए बमोजिमको कागज गराउने अधिकार कुनै पनि ऐनले प्रदान गरेको देखिँदैन । ऐनमा प्रष्ट नभएको अधिकारलाई आफूमा निहित भएको सम्झी सो को प्रयोग कुनै पनि निकायले गर्न मिल्ने होइन । सो बाहेक विपक्षी अञ्चलाधीशको कार्यालयको लिखितजवाफ हेर्दा आफूले त्यस्तो कुनै पनि प्रकारको कागज गराएको नभई केवल शान्ति सुरक्षाको लागि वास्तविकता बुझ्न यस कार्यालयमा बोलाएको सम्म हो भन्ने उल्लेख गरिएबाट अञ्चलाधीश कार्यालयबाट कुनै कागज निवेदकलाई गराएको रहेछ भन्न मिल्ने देखिएन । अनाधिकृत निकायबाट कागज गराएकै भए पनि त्यस्तो कागजले कानुनी मान्यता प्राप्त गर्न सक्ने देखिँदैन । यस्तो स्थितिमा निवेदकलाई विपक्षी अञ्चलाधीश कार्यालयको लिखितजवाफबाट कागज गराएको नदेखिएको हुँदा प्रस्तुत रिट निवेदकको माग बमोजिमको आदेश जारी गरी रहन परेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । नियमानुसार गरी फाईल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या. महेशरामभक्त माथेमा

 

इतिसम्वत् २०४३ साल कार्तिक १८ गते रोज ३ शुभम् ।



 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु