निर्णय नं. २८२० - बकसपत्र लिखत पारित

निर्णय नं. २८२० ने.का.प. २०४३ अङ्क ८
संयुक्तइजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४१ सालको दे.पु.नं. ५५७
फैसला भएको मिति : २०४३।८।१६।२ मा
निवेदक/प्रतिवादी : महोत्तरी जिल्ला वलवा आदर्श गाउँ पञ्चायत वडा नं.१वलावा गोठ बस्ने वर्ष ७३ को अयोध्यादेवी माथेमासमेत
विरुद्ध
विपक्षी/वादी : ऐ.बस्ने पदमकुमार माथेमाको मु.स.गर्ने गंगादेवी माथेमासमेत
मुद्दा : बकसपत्र लिखत पारित
(१) म्याद नघाई परेको फिरादमा कारवाही नै गर्न नपर्नेमा कारवाही गरी निर्णय गरेको म.क्षे.अ.को इन्साफ मिलेको देखिन नआएको ।
(प्रकरण नं. १३)
निवेदिका/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुङ्गाना
विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी यस अदालतमा निवेदनपत्र पर्न आएकोमा अनुमति प्राप्त भएकोमा प्रस्तुत मुद्दाको तथ्य संक्षेपमा निम्नानुसार छ :
२. विपक्षी अयोध्यादेवीको भिन्न बसेका सौता हरिमाया देवीलाई मैले सेवा सुसार गरेकोले रिझाए बापत निज हरिमाया देवीले मलाई मिति २०३२।५।६ का दिन बकसपत्र लिखत लेखी दिएको सो बकसपत्र लिखत पास नहुँदै निज हरिमाया आफ्ना काल गतिले मिति २०३२।७।१८ मा स्वर्गीय हुनुभएकोले निज हरिमायाको सबभन्दा नजिकको हकदार विपक्षीलाई सो बकसपत्र पारित गरी दिनोस् भन्दा गरी नदिएकोले सो बकसपत्र लिखित रजिष्ट्रेशन पारित गराई पाउँ भन्ने समेत फिरादपत्र ।
३. पति योगकुमारको जीवनकालमा र वहाँ स्वर्गीय भएपछि सौता सौता सगोलमा नै बसी जीवन निर्वाह गरी आएका थियौं । विपक्षीलाई सौता हरिमायाले बकसपत्र लिखत गरी दिनु पर्ने अवस्था नै थिएन । हाम्रो सगोलको जेथा भएकोले त्यस्तो सगोलको जेथा बकसपत्र गरी दिनु पर्ने अवस्था नै थिएन सौता हरिमायाले बकसपत्र गर्न पनि नपाउने र गरी दिएको पनि होइन, सो लिखत मलाई देखाई सुनाएमा लिखतको नामाकरण गर्ने छु भन्ने समेत प्रतिउत्तरपत्र जिकिर ।
४. वादीबाट पेश भएको हैसियत रु.११,०२५।– मोल विगो रहेको मिति २०३२।५।६ गतेको बकसपत्र प्रतिवादीलाई देखाई सुनाउँदा बकसपत्रको पेज ३ मा लागेको ल्याप्चे सहिछाप हरिमाया मर्दाको अवस्थामा लगाएको हो र लेखात्मक सहिछाप दिने हरिमायाको होइन मनोहर कुमारले हरिमायाको नामबाट सही गरेको हो । ०३२ सलामा हरिमाया बिरामी हुँदा म बाहिर दबाइको इन्तजाममा बाहिर गएको अवस्थामा हरिमाया मर्न लागेको मौका परी रेखात्मक सही गराएको लेखात्मक सही मनोहर कुमारले गरेको हो । त्यस ठाउँमा सुन्दरलाल, भक्तकुमार र अरुहरू समेत थियो । निजहरू पनि यसमा सरिक छन् । सिर पुच्छारमा लागेको लेखात्मक सही कीर्ते हो भन्ने समेत प्रतिवादीको वा.शम्शेरबहादुरको बयान ।
५. प्रतिवादीको भनाई अनुसार कीर्ते गरेको होइन, हरिमाया जीवित रहेका बखत राजीखुसीले बकसपत्र लेखी निजको सहिछाप गरी दिएको हो । कीर्ते होइन सद्दे हो भन्ने समेत वादीको वा.मोहनमानको बयान ।
६. प्रतिवादीको भनाई अनुसार मैले लेखात्मक सही गरी कीर्ते गरेको होइन, सद्दे हो निज प्र.को भनाई झुठ्ठा हो भन्ने समेत मनोहरको बयान ।
७. प्रतिवादीको भनाई अनुसार हामी समेत सम्मिलित भई बकसपत्र कीर्ते गरेको होइन । हरिमाया जीवित छँदै राजीखुसीले बकसपत्र लेखाई राजीखुसीबाट रेखात्मक र लेखात्मक सही गरेको हो । प्रतिवादीको भनाई झुठ्ठा हो भन्ने समेत महावीर यादव, संजुग शाही, गोपाल सिंह श्रेष्ठ, सुन्दरलाल, चन्द्रकुमार समेतको पृथकपृथक बयान ।
८. वादीबाट पेश भएको मिति २०३२।५।६ को बकसपत्रमा लेखिएको विवादास्पद हरिमाया भन्ने लेखात्मक सही र माइनर बुकको मिति २०२०।४।१० मा निर्णय भएको वादी र प्रतिवादीहरूले प्रमाणित गरी दिएको पेज पुच्छारमा लेखिएको हरिमाया भन्ने दस्तखत सहीसंग भिडाई जाँच गर्न विशेषज्ञ कहाँ पठाउँदा सो माइनट बुकमा हरिमायाले गरेको सहीसंग बकसपत्रमा गरेको लेखात्मक सहीसंग भिडाई हेर्दा सही मिल्न नआई फरक देखिएको भनी विशेषज्ञ रामबहादुर थापाले राय व्यक्त गरी पठाएकोले बकसपत्रको लेखात्मक सही कीर्ते ठहरेकोले बकसपत्र लिखत पारित हुने ठहर्दैन भन्ने समेत शुरु महोत्तरी जिल्ला अदालतको मिति २०३७।८।२२ को फैसला ।
९. उक्त फैसला उपर चित्त बुझेन भन्ने वादी समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।
१०. हरिमाया माथेमाको मु.स.गर्ने गंगामाया माथेमाका पति पदमकुमार माथेमालाई स्याहार सम्भार गरेको रिझ बापत मिति २०२०।२।२९।४ को पारित बण्डापत्र लिखतबाट हुनआएको आफ्नो अंश हकको सम्पत्ति मिति २०३२।५।६ मा गरी दिएको बकसपत्र लिखतमा हस्ताक्षर सहीको साथै हरिमायाकै ल्याप्चे सहिछाप समेत परेको पाइन्छ । सो ल्याप्चे सहिछापमा प्रतिवादी अयोध्यादेवीले कीर्ते हो भनी विवाद उठेको देखिन नआई लिखत सुनाउँदा हरिमाया बिरामी भएकोमा दबाई लिन बाहिर गएको अवस्था मौका पारी हरिमायाको सहिछाप लागेको हो भनी हरिमायाको सहिछापलाई स्वीकार गरेको पाइन्छ, लिखत मितिमा विवाद उठेको पाइँदैन । मिति २०३२।५।६ मा लिखत भएको र हरिमायाको मृत्यु मिति २०३२।७।१८ मा भएको छ । प्रत्यर्थी अयोध्यादेवीको बयान जिकिर अनुसार हरिमायालाई निजले आफ्नो घरमा राखी स्याहार पालन पोषण रेखदेख गरी आएको बिरामी भई मरणासन्न अवस्थामा भएको हरिमायालाई एक्लै छाडी दबाई लिन अयोध्यादेवी बाहिर गएको अवस्था हरिमायाको सहिछाप गराएको भन्ने कुरा विश्वासनीय देखिन आउँदैन । कारण हरिमायालाई अयोध्यादेवीले आफ्नो घरमा ल्याई राखेको र निजको शारीरिक अवस्था ठिक नरहेकोमा अयोध्यादेवी आफैं वा अरु कुनै न कुनै व्यक्ति हरिमायाको छेउमा रहे बसेको हुनुपर्दछ । अतः यस स्थितिमा हरिमायाको सहिछाप लगाउने मौका नै पर्न नआउने अवस्था विद्यमान रहेको पाइन्छ । मिति २०३२।५।६ का लिखत लेखक साक्षी गोपाल सिंह श्रेष्ठ समेत र लिखतमा लागेको ल्याप्चे सहिछाप सही समेत हरिमायाको भई लिखत सद्दे हो भनी बयान गरेको पाइन्छ । दुबै थरीले स्वीकार गरेको मिति २०२०।४।१७।४ को माइनर बुकमा रहेको हरिमायाको हस्ताक्षर सही मिति २०३२।५।६ को लिखतमा रहेको हरिमायाको हस्ताक्षर सही मिल्दैन भनी विशेषज्ञले मिति २०३५।८।५ मा दिएको रायको आधारमा लिखतलाई कीर्ते ठहर गरेको देखिन्छ । माइनर बुक हेर्दा बैठकको क्रम नमिल्नुको साथै अन्य बैठकहरूमा पनि हरिमायाको हस्ताक्षर अंकित भएकोमा अन्य हस्ताक्षरसंग मिति २०३२।५।६ को लिखतको हस्ताक्षर सही भिडेको देखिन आउँदैन । हरिमायाले चन्द्रकुमारी श्रेष्ठलाई २०३२।८।१२ मा गरी दिएको पारित राजीनामा लिखतमा पनि हस्ताक्षर सही भएको सो लिखतमा रहेको हरिमायाको हस्ताक्षर सही मिति २०३२।५।६ को लिखतको हस्ताक्षर सहीसंग सामान्य आँखाले हेर्दा पनि मिल्न भिड्न आएको देखिन्छ । मिति २०२०।२।२९।४ को बण्डापत्र लिखतबाट आफ्नो हक भएको अंश हकको सम्पत्ति बकसपत्र गरी दिने अधिकार दान बकसको १ नं.अन्तर्गत हरिमायालाई भई मिति २०३२।५।६ मा गरी दिएको बकसपत्र लिखतमा लागेको हरिमायाको हस्ताक्षर सहीमा माइनर बुकको मिति २०२०।४।१७।४ को बैठकमा लागेको एक मात्र हस्ताक्षर सहीसंग नभिडेको भन्ने विशेषज्ञको रायको आधारमा हस्ताक्षर सही बाहेक ल्याप्चे सहिछाप समेत लागेको लिखतलाई सो ल्याप्चे सहित प्रत्यर्थी अयोध्यादेवीको बयान जिकिर अनुसार अन्यथा प्रमाणित नभएसम्म कीर्ते हो भनी भन्न प्रमाणको अभावमा मिल्ने देखिँदैन । अतः मर्ने बेलामा हरिमायाको ल्याप्चे सहिछाप लागेको हो भन्ने तथ्ययुक्त प्रमाणको अभावमा अयोध्यादेवीलाई साक्षी नराखेको, हरिमायाको उमेर घटी लेखिनु, स्वीकार गरेको हस्ताक्षरसंग भिड्न नआएको हुँदा मिति २०३२।५।६ को लिखत कीर्ते ठहर गरेको जिल्ला अदालतको इन्साफ सदर हुनुपर्दछ भन्ने प्रत्यर्थी तर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद पन्तको बहस जिकिरसंग सहमत हुन सकिएन । मिति २०३२।५।६ को शेषपछिको बकसपत्र लिखतमा लेखात्मक सहीको साथै हरिमायाको ल्याप्चे सहिछाप समेत भएको र सो ल्याप्चे सहिछापलाई अन्यथा प्रमाणित गर्न प्रत्यर्थी अयोध्यादेवीले नसकेबाट सद्दे देखिन आई कानुनको रीतपूर्वक देखिँदा मिति २०३२।५।६ को शेषपछिको बकसपत्र लिखत सद्दे ठहर्छ । सद्दे ठहर्ने भएकोले मिति २०३२।५।६ को शेषपछिको बकसपत्र लिखत पुनरावेदकको फिराद दावी बमोजिम पारित हुने ठहर्छ । लिखत कीर्ते ठहर गरी पारित नहुने ठहर्याएको महोत्तरी जिल्ला अदालतको इन्साफ गल्ती देखिँदा बदर हुन्छ, भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
११. उक्त मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन । पुनरावेदनको अनुमति पाउँ भनी यस अदालतमा दिनु भएको निवेदनमा यसमा रजिष्ट्रेशनको ८ नं.मा रजिष्ट्रेशन गराउनु पर्ने घरसारको लिखित सो लिखत गरी दिने गरी म्यादभित्र रजिष्ट्रेशन हुन नसकेकोमा उ मुनिका हकदारले रजिष्ट्रेशन गरी दिने म्याद ३५ दिन भन्दा बढी बाँकी छँदै मरेकोमा बाँकी म्यादभित्र र पैंतिस दिन भन्दा घटी बाँकी छँदै मरेमा मरेका मितिले पैंतिस दिन भित्रै रजिष्ट्रेशन गराई लिनु दिनुपर्छ भन्ने कानुनी व्यवस्था भएको पाइन्छ । विवादको मिति २०३२।५।६ को बकसपत्र लिखत गरी दिने हरिमायाको बकसपत्र पारित गरिदिनु पर्ने म्याद ३५ दिन भन्दा बढी बाँकी छँदै मिति २०३२।७।१८ मा मरेको देखिन्छ । यस स्थितिमा रजिष्ट्रेशनको ४ नं.बमोजिम लिखत गरेको मितिले ६ महीना भित्र अर्थात् मिति २०३३।११।५ वादीको नालिश परिसक्नु पर्नेमा मिति २०३२।११।२८ मा मात्र वादीको नालेश परेको रजिष्ट्रेशन ८ नं. विपरीत देखिएकोले लिखत पारित हुने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा रजिष्ट्रेशन ८ नं. को त्रुटि देखिएको त्यस्तो त्रुटि सार्वजनिक महत्वको समेत देखिँदा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको मिति २०४१।३।३२।१ को डिभिजनबेञ्चको आदेश ।
१२. नियमानुसार निर्णयार्थ यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा निवेदिका प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुड्डाना र विपक्षीवादीतर्फका विद्वान अधिवक्ता श्री कमलनारायण दाशको बहस जिकिर समेत सुनियो । मुख्यतः म.क्षे.अ.को इन्साफ मिले नमिलेको के हो त्यसतर्फ निर्णय दिनु पर्ने हुन आयो ।
१३. यसमा विवादीत लिखत प्रतिवादी अयोध्यादेवीको सौता हरिमाया माथेमाले वादी पदमकुमार माथेमालाई मिति २०३२।५।६ मा शेषपछिको बकसपत्र लिखत लेखिदिएको र सो लिखत पारित नहुँदैका समय ०३२।७।१८ मा दाता हरिमाया स्वर्गे परलोक भएकोमा विवाद देखिएन । सो २०३२।५।६ को शेषपछिको बकसपत्र लिखत पारित गरी पाउँ भनी २०३२।११।२८ मा वादीको फिराद दायर भएकोमा पनि विवाद छैन । अब प्रस्तुत फिराद म्यादभित्र परेको छ, छैन भनी त्यसतर्फ हेर्दा रजिष्ट्रेशनको ५ नं.मा रजिष्ट्रेशन गराउनु पर्ने घरसारको लिखत ऐनका म्यादभित्र लिने दिने दुबै थरी अड्डामा गई रजिष्ट्रेशन गराउनु पर्छ भन्ने उल्लेख भएको र ऐ.ऐ.को ८ नं. मा रजिष्ट्रेशन गराउनु पर्ने घरसारको लिखत सो लिखत गरिदिने मरी म्यादभित्र रजिष्ट्रेशन हुन नसकेकोमा उ मुनिका हकदारले रजिष्टे«शन गरी दिने म्याद पैंतिस दिन भन्दा बढी बाँकी छँदै मरेकोमा बाँकी म्यादभित्र र पैंतिस दिन भन्दा घटी बाँकी छँदै मरेमा मरेका मितिले पैंतिस दिन भित्रै रजिष्ट्रेशन गराई लिनु दिनुपर्छ । लेखिएका म्यादभित्र मर्ने पछिका मुख्य हकदार जो हो, उसलाई ल्याई रजिष्ट्रेशन गराउन आएमा लिखत सकारी रजिष्टे«शन गरी दिन मञ्जूर गरे सो लिखतको शीरमा व्यहोरा जनाई सहिछाप गराई ऐन बमोजिम रीत पुर्याई रजिष्ट्रेशन गरी दिनुपर्छ भन्ने उल्लेख भएको पाइन्छ । वादीले प्राप्त गरेको शेषपछिको बकसपत्र लिखत मिति २०३२।५।६ मा लिखत भएको मितिले रजिष्ट्रेशनका ४ नं.बमोजिम ६ महीना भित्र रजिष्ट्रेशन गराउनु पर्ने, कानुनी व्यवस्था भए अनुसार उक्त लिखत ०३२।११।६ सम्ममा पारित गराई लिनु पर्नेमा, वादीका दाताको ०३२।७।१८ मा मृत्यु हुँदा पारित गराई लिने म्याद ३५ दिन भन्दा बढी नै रहेकोले, उक्त उल्लिखित रजिष्ट्रेशनको ८ नं. बमोजिम बाँकी म्याद भनेको, रजिष्ट्रेशनका ४ नं.मा उल्लिखित लिखत भएको मितिले ६ महीना अर्थात् लिखत भएको मिति ०३२।५।६ बाट ६ महीना ०३२।११।६ सम्ममा पारित गराउनु गर्नु पर्नेमा यो फिराद गर्नु पर्ने कानुनले प्रष्ट किटानी गरी बाध्यात्मक व्यवस्था गरेको म्याद भएकोमा ०३२।११।२८ मा मात्र फिराद परेकोले म्याद नाघी परेकोमा कुनै विवाद देखिएन । यस्तो स्थितिमा म्याद नघाई परेको फिरादमा कारवाही नै गर्न नपर्नेमा कारवाही गरी निर्णय गरेको म.क्षे.अ.को इन्साफ मिलेको देखिन नआएकोले पुनरावेदक प्रतिवादीका जिकिरबमोजिम वादी दावी खारेज हुने ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी अयोध्यादेवीके माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी नै खारेज भएकोले निजलाई म.क्षे.अ.को फैसलाले गर्ने गरेको जरिवाना रु.२७५६।२५ निजले यस अदालतमा अ.बं.१९४ नं.बमोजिम जरिवाना बापत जेथा जमानी राखी पुनरावेदन गरेकोले सो जरिवानाको र प्रतिवादीबाट वादीलाई भराई दिने गरेको रु.११।५० समेत सम्पूर्ण लगत कट्टा गरी जमानी राखेको महोत्तरी जिल्ला बनौटा गा.पं.वडा नं.९(ख) को कि.नं.६१ को जग्गा कट्टा ०–५–० फुकुवा गरी दिनु भनी सम्बन्धित कार्यालयलाई पुर्जी गरी दिन भनी महोत्तरी जिल्ला अदालतमा लेखी पठाउन भनी का.जि.अ.मा लगत दिनु..........१
प्रतिवादी पुनरावेदकले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१।५० वादीको यसै सरहदको जेथा देखाई भरी पाउँ भनी म्यादमा दर्खास्त परे कानुन बमोजिम भराई दिनु भनी शुरु महोत्तरी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु..........२
मिसिल नियमानुसार गरी मिसिल बुझाई दिनु......................३
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४३ साल मंसिर १६ गते रोज २ शुभम् ।