निर्णय नं. २८२२ - उत्प्रेषण

निर्णय नं. २८२२ ने.का.प. २०४३ अङ्क ८
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४१ सालको रि.नं. १७४८
आदेश भएको मिति : २०४३।४।२१।३ मा
निवेदक : गोपी कपडा उद्योग, थानकोट काठमाडौंका प्रोप्राइटर १०।२६८ इन्द्रचोक काठमाडौं बस्ने गोपीचन्द्र अग्रवाल
विरुद्ध
विपक्षी : श्री ५ को सरकार बिक्री कर फछ्र्यौट आयोग लाजिम्पाट, काठमाडौंसमेत
विषय : उत्प्रेषण
(१) घरेलु लगायत सबै स्तरका उद्योगले आयात गर्ने कोरा माल सहायक कोरा माल रासायनिक पदार्थ आदीमा पैठारी अवस्थामै बिक्रीकर असूल गरिनेछ भन्ने र त्यसको देहाय ७ मा एक्रेलीक सेन्थेटिक यार्न भन्ने उल्लेख भएकोबाट उत्पादित कपडाको बिक्री मुल्यमा १५ प्रतिशत बिक्री कर लाग्ने भनी गरेको ०४०।१२।३० को बिक्री कर फछ्र्यौट आयोगको निर्णय र ०४१।१।२६ को बिक्री कर निर्धारण आदेश समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. २४)
निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली
विपक्षीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल
आदेश
न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ ।
२. यस उद्योगले सिन्थेटिक यार्नको कपडा उत्पादन गर्ने काम आ.ब. ०३५।३६ देखि शुरु गरेको र आ.ब. ०३८।३९ मा प्रज्ञापनपत्र नं. ४१ बाट मिति ०३९।१।३० का १०,००० के.जी. र प्रज्ञापनपत्र नं. २९ बाट मिति ०३९।२।१२ मा १०,००० के.जी. गरी जम्मा मोल रु.१३,४४,७५३।६४ को जम्मा २०,०००।– के.जी. सिन्थेटिक यार्न विदेशबाट पैठारी गरेको भए तापनि सो कच्चा पदार्थ आ.ब. ०३९।४० मा प्रयोग भएको र आ.ब. ०३९।४० मा प्रज्ञापनपत्र नं.क्रमशः २१, ५३, ३९६५, ४२५४, ४५१२, ४७११, ४८०७, ५०८२, ५०८३, ४०, २३०६ बाट मिति क्रमशः ०३९।४।११, २०३९।५।२०, २०३९।१०।१०, ०३९।१०।१०, २०३९।१०।१८, ०३९।१०।२७, २०३९।१०।२७, २०३९।११।८, ०३९।११।१८ ०३९।११।१८, ०३९।१२।१३, २०४०।३।८ मा गरी जम्मा मोल रु.४९,४३,७०९।६२ को जम्मा ७,९९,५३,९६० के.जी. सिन्थेटिक यार्न कच्चा पदार्थ पैठारी गरेको छ । आ.ब. ०३८।३९ र ०३९।४० मा गरी पैठारी गरेको जम्मा ९,९८,९३,९६० के.जी. सिन्टेथिक यार्न मध्ये आ.ब. ०३९।४० मा कपडा उत्पादन गर्दा ३,५४,२७,८३१ के.जी. खर्च भई ६,४४,६६,१२९ के.जी.मौज्दात रहन गएको थियो ।
३. सामयिक कर असूल ऐन, २०१२ अन्तर्गत श्री ५ को सरकारद्वारा मिति ०२९।३।२५ को नेपाल राजपत्रमा प्रकाशित आदेश सूचनाको दफा २ अनुसूची ५ को द्रष्टव्य २ को देहाय (७) अनुसार सिन्थेटिक यार्नबाट सुटिङ सर्टिङ कपडा उत्पादन गर्ने यस उद्योगले पैठारी गरेको कोरामाल सिन्थेटिक यार्नमा पैठारीकै अवस्थामा बिक्री कर असूल गरिने गरेको हुँदा निवेदकले पैठारी गरेको कच्चा पदार्थ सिन्थेटिक यार्नमा पैठारीकै अवस्थामा अनुसूची बमोजिम १० प्रतिशत बिक्रीकर असूल गरिनु पर्ने थियो । तर उस बखत बिक्री कर असूल उपर गरिएन ।
४. उद्योगले उत्पादनमा बिक्रीकर लाग्ने सम्झी उत्पादन गरेको सुटिड्ड सर्टिड्ड कपडा बिक्री गर्दाको अवस्थामा बिक्री मोलको १० प्र.श.का दरबन्दीबाट ७½ प्रतिशतका दरले बिक्रीकर लगाई सोको महीना महीनामा बिक्रीकर फाँटवारी कार्यालय समक्ष दखिल गरी महीना महीनामा बिक्रीकर रकम दाखिल गर्दै आ.ब. २०३९।४० को अवधिमा रु.४,१२,६१३।२१ बिक्रीकर रकम दाखिल गरेको थिएँ ।
५. त्यसपछि ०४०।४१ मा पनि बिक्रीकर दाखिला गर्दै आएकोमा कर कार्यालय काठमाडौंबाट आ.ब. ०३९।४० मा आर्थिक नियम ०३९ अनुसार १५ प्र.श.बिक्रीकर दाखिल हुनुपर्नेमा १० प्रतिशत बिक्रीमा मात्र दाखिल भएको भनी म.ले.प. बाट बेरुजु जनाएको भनी नपुग रकम दाखिल गर्नु पर्ने भन्ने ०४०।७।१६ को पत्र बुझाइयो र उद्योगको कच्चा माल कृत्रिम धागोमा श्रोत भई १० प्रतिशत बिक्रीकर लाग्ने व्यवस्था अनुरुप उत्पादनमा १० प्रतिशत बिक्रीकर लिई आएको र मास्केवारीहरु समयमा नै पेश गरी आएकोमा कार्यालयबाट यस सम्बन्धमा तत्काल मौकैमा कुनै निर्देशन नभएको हुँदा आयात गरिएका कच्चा पदार्थहरूमा १० प्रतिशत मात्र बिक्रीकर लाग्ने व्यवस्था अनुरुप अन्य उद्योगहरूलाई लिए झैं यस उद्योगको आयातित कच्र्चा पदार्थको लगत बमोजिम १० प्रतिशत बिक्रीकर तोकी पाउँ र बिक्रीकर नम्बर खारेज गरी पाउँ भनी मिति ०४०।७।२९ द.नं. ४१६९ मा कर कार्यालय समक्ष परेको निवेदन दिई मिति ०४१।९।२० सम्ममा अन्तिम मौज्दात रहेको सिन्थेटिक कपडामा लाग्ने बिक्रीकर बापत रु.१,४८,५४५।९२ र अन्तिम मौज्दात रहेको सिन्थेटिक यार्न धागोको मुल्य रु.२१,६८,१३५।७६ मा १०० प्रतिशत मार्कअप गरी हुन आउने मोल रु.४३,३६,२७१।५२ मा सयकडा १० प्रतिशतले हुने रु.४,३३,६२७।१५ समेत दाखिल गरे बिक्रीकर नम्बर खारेज भइसकेको छ । यसरी आ.ब. २०४०।४१ मा श्रावण देखि पौष सम्ममा पटक पटक दाखिला गरेको रु.४,९५,७०२।३२ र बिक्रीकर नम्बर खारेज गर्दाको अवस्थामा दाखिल गरेको रु.५,८२,१७३।०७ समेत जम्मा रु.१०,७७,८७५।३९ बिक्रीकर दाखिल भएको छ अर्थात् आ.ब. ०३९।४० मा दाखिला गरेको रु.४,१२,६१३।२१ र आ.ब. ०४०।४१ मा दाखिल गरेको रु.१०,७७,८७५।३९ समेत सिन्थेटिक यार्न बापत जम्मा रु.१४,९०,४८८।६० बिक्रीकर रकम कर कार्यालय काठमाडौंमा दाखिल भइसकेको छ ।
६. यस्तैमा श्री ५ को सरकार बिक्रीकर फछ्र्यौट आयोगले मिति ०४१।१।२६ मा गरेको आ.ब. २०३९।४० को बिक्रीकर निर्धारण आदेश निवेदकलाई मिति ०४१।८।२४ मा बुझाइयो । सो आ.ब. ०३९।४० को लागि रु.४,२७,९०३।५८ थप दाखिला गर्न पर्ने गरी गरेको बिक्रीकर फर्छ्यौट आयोग र यसपछि आयोग भनिएको बिक्रीकर निर्धारण आदेश र त्यसमा उल्लिखित ०४०।१२।३० को निर्णय आदेशमा गैरकानुनी र अन्यायपूर्ण भएको कुराहरू औल्याई सो बदर गराई माग्न यो निवेदन चढाएको छु ।
७. आयोगबाट भएको उक्त निर्णय आदेश निम्न लिखित कुरा र कारणले गैरकानुनी र अन्यायपूर्ण हुँदा बदरभागी छ ।
८. आर्थिक ऐन, ०३९ को दफा ४ अनुसूची ६ को द्रष्टव्य २ को देहाय (७) ले सिन्थेटिक यार्नबाट उत्पादन गर्ने उद्योगले आयात गर्ने कोरामाल सहायक कोरामाल रसायनिक पदार्थ आदिमा पैठारी अवस्थामा नै बिक्रीकर असूल गरिने र सोही ऐनको अनुसूची ६ को ३२ मा रेशम आर्टशिल्क तथा कृत्रिम धागोमा १० प्र.श.बिक्रीकर लाग्ने गरेको छ । उक्त कानुनी व्यवस्था प्रतिकूल उत्पादित कपडाको बिक्री मूल्यमा बिक्रीकर लाग्ने गरेको आयोगको निर्णयबाट निवेदक माथि गैरकानुनी किसिमसंग बढी करको मार पर्न गएको हुँदा बदरभागी छ ।
९. यस उद्योगले पैठारी गरेको कच्चा पदार्थ सिन्थेटिक यार्नमा जम्मा बिक्रीकर रु.१२,५७,६९२।६५ लाग्ने बुझाउनु पर्नेमा आ.ब. ०३९।४० मा पटक पटक गरी बुझाएको ४,१२,६१३।२१ र आ.ब. ०४०।४१ मा ०४० पौष २० गते सम्ममा पटक पटक गरी बुझाएको जम्मा रु.१०,७७,८७५।३९ समेत जम्मा रु.१४,९०,४८८।६० बिक्रीकर रकम दाखिल गरी सकेको हुँदा कानुन बमोजिम वास्तविक लाग्ने बिक्रीकर रकम भन्दा २,३२,७९५।९५ पैसा बढी नै दाखिल भइराखेको देखिन आउँछ र निवेदकले बिक्रीकर बुझाउन पर्ने बाँकी देखिन आउँदैन ।
१०. आर्थिक ऐन बमोजिम पैठारी गरिने कच्चा पदार्थमा बिक्रीकर लाग्नेमा उत्पादित मालको बिक्री मोलमा बिक्रीकर लगाउन कानुनले मिल्दैन ।
११. आयोगको निर्णयमा उल्लेख गरिएको बिक्री मूल्य र बिक्रीकर रकमको हिसाब कस्तो किसिमबाट गरिएको हो प्रष्ट छैन मिलेको देखिँदैन त्यस सम्बन्धमा कर कार्यालयको राय प्रतिवेदनको नक्कल नपाएकोले त्यसमा के कस्तो कुरा र आधार उल्लेख गरिएको छ भन्ने कुराको अनभिज्ञ हुँदा सम्मानीत अदालतबाट सम्बन्धित फायल कागजात झिकाई आएपछि त्यस सम्बन्धमा निवेदकको कानुन व्यवसायीद्वारा गर्नु हुने बहस जिकिरलाई समेत यसै निवेदनको अभिन्न अंग मानीयोस भनी जिकिर गर्दछु ।
१२. बिक्रीकर फछ्र्यौट आयोगको ०४०।१२।३० को उक्त निर्णय र सोको आधारमा भएको मिति ०४१।१।२६ को बिक्रीकर निर्धारण आदेश गैरकानुनी र अन्यायपूर्ण हुनुको साथै कानुनी हक तथा संवैधानिक एवं मौलिक हकमा आघात परेकोले संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी विपक्षी आयोगको उपरोक्त निर्णय आदेश बदर गरी पाउँ । निवेदनको अन्तिम किनारा नहुञ्जेल आयोगको आदेश कार्यान्वयन नगर्नु नगराउनु भन्ने अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने निवेदन जिकिर ।
१३. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो भनी विपक्षीहरूबाट लिखितजवाफ मगाई लिखितजवाफ आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने मिति ०४१।१०।१४।१ को सिंगलबेञ्चको आदेश ।
१४. गोपी कपडा उद्योगले आ.ब. ०३४।३५ देखि ०३७।३८ को फाल्गुणमा बिक्रीकर दर्ता नम्बर लिनु भन्दा अगाडिसम्म कच्चा पदार्थमा लाग्ने बिक्रीकर मोलमा नै बुझाउने गरेकोमा मिति ०३८।११।२२ मा बिक्रीकर दर्ता नं.११६।०३८।३९ प्राप्त गरेपछि सोही नम्बरको आधारमा पैठारी गरिएको कच्चा पदार्थको बिक्रीकर मोलमा नतिरी बिक्रीमा बिक्रीकर संकलन गरी यस कार्यालयमा दाखिल गर्ने गरेको हो ।
१५. बिक्रीकर ऐन, ०२३ को दफा ४(१) अनुसार निवेदन दिई ४(२) बमोजिम बिक्रीकर दर्ता प्रमाणपत्र प्राप्त गरेको उद्योगपतिहरूले विदेशबाट कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ पैठारी गर्दा र स्थायी खरीद गर्दा समेत श्रोतमा बिक्रीकर तिर्नु नपर्ने र सामान बिक्री गर्दाको अवस्थामा सम्बन्धित आर्थिक ऐनको बिक्रीकर दरबन्दी अनुसार बिक्रीकर संकलन गरी बिक्रीकर ऐन, ०२३ को दफा ६(१) बमोजिम दाखिल गर्ने व्यवस्था भएकोमा गोपी कपडा उद्योगले पैठारी गरेको कच्चा पदार्थको मोल र परिणाममा यस कार्यालयबाट कुनै थप घट गरिएको छैन । बिक्रीकर दर्ता प्रमाण पत्र प्राप्त गरेका विक्रेताहरूसंग बिक्रीकर बिक्रीमा मात्र असूल उपर गरिने हुँदा पैठारी गरिएको कच्चा पदार्थ र सोको परिणाम र मोलसंग बिक्रीकर असूली र दाखिलामा शंकास्पद देखा परेमा मात्र तुलनात्मक अध्ययन गरिन्छ ।
१६. सामयिक कर असूल ऐन, २०१२ अन्तर्गत श्री ५ को सरकारद्वारा मिति ०३९।३।२५ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाको दफा २ अनुसूची ५ को द्रष्टव्य २ को देहाय ७ तथा आर्थिक ऐन, २०३९ को दफा ४ अनुसूची ६ को द्रष्टव्य देहाय ७ मा उल्लिखित सिन्थेटिक यार्नबाट सुटिङ सर्टिङ कपडा उत्पादन गर्नको लागि उक्त यार्न पैठारी गर्दाको अवस्थामा प्रचलित ऐन नियम अनुसार कच्चा पदार्थको मूल्याङ्कन र मार्कअप समेत गरी आर्थिक ऐन, ०३९ को अनुसूची ५ (बिक्रीकर दरबन्दी) को संकेत नं. ३–२ अनुसार श्रोत (भन्सार कार्यालय) मा नै दालिख गर्नको लागि उद्योगले प्राप्त गरेको बिक्रीकर दर्ता प्रमाणपत्र फिर्ता वा रद्द भएमा मात्र बुझाउन सकिनेमा प्रमाणपत्र फिर्ता नै नगरी सोही दर्ता नम्बरको आधारमा सहुलियत उपभोग गरी श्रोतमा बिक्रीकर नतिरी पैठारी गरिएको कच्चा पदार्थबाट उत्पादित कपडामा बिक्रीकर उठाउनु बाहेक अन्य विकल्प नभएको हुँदा सोही बमोजिम उद्योगले कुनै बाधा विरोध नदर्शाई खुसीराजीसंग बिक्रीकर संकलन गरी दाखिला गरी रहेको हुँदा यसमा कुनै विवादास्पद कार्य भए गरेको छैन ।
१७. निवेदक उद्योगले उत्पादनमा बिक्रीकर संकलन गर्ने कार्य गर्दा आर्थिक ऐन, ०३९ को अनुसूची ५ (बिक्रीकर दरबन्दीको) संकेत नं. ३–६ अनुसार ऊनी रेशम नाइलन टेरीलीन डाइक्रोम तथा अन्य कृत्रिम रेशमबाट बनेका कपडाहरूमा लाग्ने बिक्रीकर सयकडा १५ प्रतिशतले उठाई दाखिल गर्नु पर्नेमा सो नगरी ऐनको विपरीत ७½ प्रतिशत मात्र उठाई दाखेल गरेको हुँदा निवेदकको रिट निवेदन बदरभागी छ । निवेदकले दावी गर्नुभएको जिकिरमा २५ प्रतिशत छुट आर्थिक ऐन, ०३९ को अनुसूची ५ को द्रष्टव्य ८ ले साना स्तरका घरेलु तथा ग्रामीण उद्योगलाई मात्र लागू हुने हो ।
१८. निवेदक गोपी कपडा उद्योगको २०३९।४० को सिन्थेटिक कपडाको कूल बिक्रीकर रु.५५,१,५०४।– को उल्लिखित आर्थिक ऐनहरू अनुसार हुने बिक्रीकर रु.८,४०,५१९।७९ मध्ये १,१४,६१३।२१ मात्र दाखिला गरेको हुँदा बाँकी नपुग रु.४,२७,९०३।८५ असूल गर्नु नै पर्ने हुँदा बिक्रीकर फछ्र्यौट आयोगको मिति ०४१।१२।३० को निर्णयानुसार भएको कर निर्धारण कानुन बमोजिम नै भएको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने कर कार्यालय काठमाडौंको लिखितजवाफ ।
१९. निवेदकले पैठारी गर्नुभएको सिन्थेटिक यार्न ९९८९३–९६० के.जी.को मोल रु.६२,८८,४६३।२६ को शत प्रतिशत मार्कअप गर्दा हुन आउने मोल रु.१,२५,७६,९२६।५२ को आर्थिक ऐन, ०३९ को दफा ४ अनुसूची ६ को ३–२ अनुसार १० प्रतिशतले हुने बिक्रीकर श्रोत (भन्सार कार्यालय) मा नै बुझाई पैठारी गरेको भए बिक्रीमा बिक्रीकर निर्धारण नहुने हो तर सो नगरी निवेदकले श्रोतमा कच्चा पदार्थमा लाग्ने बिक्रीकर नै नतिरी पैठारी गरी ल्याएको कच्चा पदार्थबाट उत्पादित कपडा बिक्री गर्दाको अवस्था आर्थिक ऐन, २०३९ को अनुसूची ६ को बिक्रीकर दरबन्दीको संकेत नं. ३–६ अनुसार बिक्रीकर दाखेल गर्नु पर्ने हुनआएको छ । निवेदकले उल्लेख गर्नुभएको रु.१०,७७,८७५।३९ निजले प्राप्त गर्नुभएको बिक्रीकर दर्ता नम्बर खारेज गर्दाको अवस्थामा मौज्दात रहेको कच्चा पदार्थको बिक्रीकर हुँदा उत्पादित बस्तु बिक्रीमा लाग्ने करसंग सम्बन्ध छैन । ०३९।४० को बिक्रीकर निर्धारणको बिक्रीकर फछ्र्यौट आयोगबाट भएको बहुमतको निर्णय कानुनसंगत र न्यायपूर्ण भएको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने बिक्रीकर फछ्र्यौट आयोगको लिखितजवाफ ।
२०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत विषयमा निवेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली र प्रत्यर्थी कार्यालय तर्फका का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्सालले गर्नुभएको बहस समेत सुनियो ।
२१. प्रस्तुत रिट निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन सो कुरामा नै निर्णय दिनु पर्ने हुनआएको छ ।
२२. यस उद्योगले आ.ब. ०३९।४० मा पैठारी गरेको कच्चा पदार्थमा सामयीक कर असूल ऐन, ०१२ अन्तर्गत श्री ५ को सरकारद्वारा मिति ०३९।३।२५ को नेपाल राजपत्रमा प्रकाशित आदेशको सूचनाको दफा २ अनुसूची ५ को द्रष्टव्य २ को देहाय ७ तथा आर्थिक ऐन, ०३९ को दफा ४ अनुसूची ६ को द्रष्टव्य २ देहाय ७ अनुसार सिन्थेटिक यार्नबाट सुटिङ सर्टिङ कपडा उत्पादन गर्न यस उद्योगले पैठारी गरेको कोरामाल सिन्थेटिक यार्नमा पैठारीकै अवस्था अनुसूची बमोजिम १० प्रतिशत बिक्रीकर असूल गर्नु पर्ने थियो उक्त बखत बिक्रीकर असूल उपर गरिएन कच्चा पदार्थमा १० प्रतिशत बिक्रीकर लाग्नेमा उत्पादित मालको बिक्री मोलमा १५ प्रतिशत बिक्रीकर लगाउने गरी बिक्रीकर फछ्र्यौट आयोगबाट भएको बहुमतको निर्णय र बिक्रीकर निर्धारण आदेश गैरकानुनी हुँदा विपक्षी आयोगको उपरोक्त निर्णय आदेश बदर गरी पाउँ भन्ने निवेदकको मुख्य निवेदन जिकिर ।
२३. प्रत्यर्थी कार्यालयको लिखितजवाफमा निवेदकले श्री ५ को सरकारले मिति ०३९।३।२५ मा प्रकाशित सूचनाको दफा २ अनुसूची ५ को द्रष्टव्य २ देहाय ७ तथा आर्थिक ऐन, ०३९ को दफा ४ अनुसूची ६ को द्रष्टव्य (७) मा उल्लिखित सिन्थेटिक यार्न पैठारी गर्दाको अवस्था आर्थिक ऐन बमोजिमको कच्चा पदार्थको मूल्याङ्कन र मार्कअप समेत गरी आर्थिक ऐन, ०३९ को अनुसूची ६ (बिक्री दरबन्दी) को संकेत ३–२ अनुसार श्रोत (भन्सार कार्यालय) मा नै दाखिला गरी सकेको भए विपक्षीबाट बिक्रीको अवस्थामा बिक्रीकर असूल उपर गरिने अवस्था थिएन । बिक्रीकर ऐन, ०२३ को दफा ४(२) अनुसार बिक्रीकर दर्ता प्रमाणपत्र प्राप्त गरेको उद्योगपतिहरूले बिक्री गर्दाको अवस्था बिक्रीकर संकलन गरी दाखिल गर्नु पर्ने व्यवस्था हुँदा पैठारी गर्दाको अवस्था कच्चा पदार्थमा बिक्रीकर नतिरी पैठारी गरेको कच्चा पदार्थबाट उत्पादित बिक्री मूल्यमा बिक्रीकर उठाउनु बाहेक अन्य विकल्प नभएको हुँदा उत्पादित बिक्री मूल्यमा नै बिक्रीकर निर्धारण भएको भन्ने लिखितजवाफ पाइन्छ ।
२४. यसमा निवेदक उद्योगले पैठारी गरेको कृत्रिम धागोमा १० प्रतिशत बिक्रीकर लाग्ने अथवा कच्चा पदार्थबाट तयार भएको सटिङ सुर्टिङ इत्यादि तयारी मालमा १५ प्रतिशत बिक्रीकर लाग्ने के हो त्यस सम्बन्धमा निर्णय दिनु पर्ने देखिन्छ । त्यस सम्बन्धमा कानुनी व्यवस्था के रहेछ भन्नेतर्फ हेरिएमा आर्थिक ऐन, २०३९ को अनुसूची ६ प्रकरण ३ धागो तथा कपडा शीर्षक अन्तर्गत संकेत नं. ३–२ मा रेशम आर्टशील तथा कृत्रिम धागोमा १० प्रतिशत बिक्रीकर लाग्ने भन्ने उल्लेख भएको ऐ.३–६ मा ऊनी, रेशम, नाइलन टेरलिन, डाइफोन तथा अन्य कृत्रिम रेशमबाट बनेका कपडाहरूमा १५ प्रतिशत बिक्रीकर लिने भन्ने उल्लेख भएको पाइन्छ । उद्योगले कपडा पैठारी गरेको नभई कच्चा पदार्थ कृत्रिम धागो पैठारी गरेको पाइन्छ र त्यस धागोबाट सर्टिङ सुटिङ इत्यादि बनाएको पाइन्छ । ऐ.को द्रष्टव्य २ मा देहायका घरेलु लगायत सबै स्तरका उद्योगले आयात गर्ने कोरामाल, सहायक कोरामाल रासायनीक पदार्थ आदिमा पैठारी अवस्थामै बिक्रीकर असूल गरिने छ भन्ने र त्यसको देहाय ७ मा एक्रेलिक सेन्थेटिक यार्न भन्ने उल्लेख भएकोबाट उत्पादित कपडाको बिक्री मूल्यमा १५ प्रतिशत बिक्रीकर लाग्ने भनी गरेको ०४०।१२।३० को बिक्रीकर फछ्र्यौट आयोगको निर्णय र ०४१।१।२६ को बिक्रीकर निर्धारण आदेश समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । पुनः कानुन बमोजिम निर्णय गर्नु भनी विपक्षी कार्यालयको नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । सम्बन्धित कार्यालयको जानकारीको लागि आदेशको प्रतिलिपि साथै राखी म.न्या.का.मा लेखी पठाई दिनु । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४३ साल श्रावण २१ गते रोज ३ शुभम् ।