शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २८२३ - कर्तव्य ज्यान

भाग: २८ साल: २०४३ महिना: मंसिर अंक:

निर्णय नं. २८२३     ने.का.प. २०४३       अङ्क ८

संयुक्तइजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४३ सालको फौ.पु.नं. ३८१

फैसला भएको मिति : २०४३।८।१६।२ मा

 

पुनरावेदक/प्रतिवादी : चितवन जिल्ला शिवनगर गा.पं वडा नं.५ बस्ने वर्ष ५३ को महेश्वर पौड्याल

विरुद्ध

वादी/विपक्षी : दुण्डीराजको जाहेरीले श्री ५ को सरकार

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)         आवश्यक सबूद प्रमाण बुझी पुनरावेदक प्रतिवादी कसूरदार हो होइन भनी क्षेत्रीय अदालत आफैंले निर्णय गर्नु पर्नेमा शुरु चितवन जिल्ला अदालतको निर्णय बदर गरी पुनः निर्णय गर्न पठाउन नमिल्ने ।

(प्रकरण नं. २४)

 

विपक्षी/वादीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल

 

फैसला

न्या.पृथ्वीबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला उपर प्रतिवादी महेश्वर पौड्यालको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ ।

२. मिति ०३६।११।२१ गतेको रात २१.०० बजेको समयमा चितवन भरतपुर नगर पञ्चायत वडा नं.९ बस्ने बलभद्र न्यौपानेलाई कर्तव्य गरी मारेको खबर पाए अनुसार बुझ्न जाँदा निज बलभद्रको घरमा कोही नभएको मौका पारी कर्तव्य गरी मारेको भन्ने बुझिएको, रातको ९ बजेको सायमा मृतक बलभद्रले गुहार गुहार भनी कराएको आवाज सुनी गाउँका मानिसहरू घटनास्थलमा हेर्न जाँदा कर्तव्य गरी हत्यारा भागी सकेको भन्ने बुझिएको हुँदा कानुन बमोजिम कार्यबाही गरी पाउँ भन्ने प्र.ज.दुण्डीराज शर्माको ०३६।११।२२ को प्रतिवेदन ।

३. सुराकी कुकूरले बलभद्रको गोठालो अर्जुनप्रसादलाई सुंङदै गई पक्रदा महेश्वर र म भई बलभद्रलाई कर्तव्य गरी मारेको हो भनी मुख सावित भएको । सोही बखत मौकामा अर्जुनप्रसादको जिउ खानतलासी गर्दा निजको पेन्टको भित्री गोजीबाट रु.१७००।रुपैयाँ बरामद भएको, मिति ०३६।११।२२ को बरामदी मुचुल्का ।

४. भरतपुर नगर पञ्चायत वडा नं.९ शरदपुर स्थित घटनास्थल बलभद्र न्यौपानेको घरमा मृतक बलभद्रको लाश हेर्दा दक्षिण शिर, उत्तर गोडा भएको देखिएको, टाउकोको बायाँ कान पछाडि रगतपक्ष भई हतियारले रोपेको, घोचिएको जस्तो घाउ देखिएको लाशको दाहिने कम्मरमा निलडाम देखिएको, देब्रे पट्टी करङ्मा दुईवटा निलो डाम देखिएको, बायाँ हातको कुइनामा छाला खुइलिएको दाग देखिएको गुदद्वार माथि फिलामा दिशा लागेको गुदद्वाबाट दिसा निस्किएको दुबै आँखा बन्द मुख बन्द, घाँटी रुद्र घण्टीनिर वरिपरि चार ठाउँमा घाउ खत समेत निलो डाम देखिएको, दायाँ हातको बूढी औंलामा काटेको, लिड्डबाट सेतो पानी निस्किएको भूँडीमा डावर जस्तो देखिएको, भन्ने समेत व्यहोराको मिति ०३६।११।१२ को लाश प्रकृति मुचुल्का ।

५. चितवन भरतपुर नगर पञ्चायत वडा नं.९ शरदपुरमा भएको महेश्वर पौड्यालको घर खान तलासी गर्दा कुनै शंकास्पद वस्तु फेला नपरेको भन्ने मिति  ०३६।११।२३ को खान तलासी मुचुल्का मिति ०३६।११।२१ गते राती ८ बजे महेश्वर पौड्याल म सुत्ने ठाउँमा आई बोलाई पर सालको रुखमुनी लगी रक्सी र गैंडा चुरोट खान दिई रु.१७००।दिन्छु बलभद्रको तिमी खुट्टा समात म घाँटी दावी मार्छु भनी सल्लाह गरी सोही मुताविक हामीले बलभद्रलाई मारेका हौं । महेश्वरको बलभद्रसंग जग्गा सम्बन्धी झगडा परी मुद्दा चली रहेकोले सोही रीसइवी साधन गर्न मारेको हो भन्ने अर्जुनप्रसाद रिसालको मिति ०३६।११।२३ मा प्रहरी समक्ष भएको बयान ।

६. मृतक बलभद्र न्यौपानेसंग जग्गा सम्बन्धमा मुद्दा परी मेरो ठूलो रीसइवी भएछ । मैले मृतकलाई मारेको होइन । अर्जुनप्रसाद रिसाल कसैलाई झुठ्ठा आरोप लगाई हिंड्ने जाली फटाहा व्यक्ति होइन भन्ने समेत व्यहोराको अभियुक्त महेश्वर पौड्यालको मिति ०३६।११।२४ को प्रहरी समक्ष भएको बयान कागज ।

७. घाँटी थिची निस्सासिएर मरेको सम्भव देखिएको भन्ने महेन्द्र आदर्श चिकित्सालय भरतपुरका चिकित्सकबाट भएको बलभद्र न्यौपानेको मिति ०३६।११।२३ को पोष्टमार्टम रिपोर्ट ।

८. मिति ०३६।११।२१ गते नारायणगढमा किनमेल गरी गौरीगञ्ज भान्जीको विवाहमा गएको । ऐ.२२ गतेसम्म सोही विवाह घरमा नै बसेको हुँदा मैले मृतक बलभद्रलाई कर्तव्य गरी मारेको होइन भन्ने समेत व्यहोराको ०३६।११।३० मा भानुभक्त सुवेदीले प्रहरी समक्ष गरेको बयान कागज ।

९. ०३६।११।२१ को रात म आफ्नै घरमा छु । बलभद्रलाई कर्तव्य गरी मारेको भन्ने कुरा ०३६।११।२२ गते बिहान थाहा पाई हेर्न आएँ । त्यही सुराकी कुकूरले अर्जूनप्रसाद रिसाललाई पक्रेको र कुकूरले महेश्वरको मिलतिर सुंगी हिंडेको पनि देखेको हुँ । मैले बलभद्रलाई कर्तव्य गरी मारे मराएको होइन भन्ने समेत व्यहोराको पद्मबहादुर अधिकारीले ०३६।११।३० मा गरेको बयान कागज ।

१०. पिताजी बलभद्र न्यौपानेको हत्या भयो भन्ने कुरा चितवनबाट आ.बा.द्वारा खबर पाई सुराकी कुकूर लिई आउने अ.स.ई.साथ आएको, सुराकी कुकूरले अर्जुनप्रसादलाई पक्रेको मौकामा निजको जीउ खानतलास गर्दा रुपैयाँ बरामद भएको प्रहरी समक्ष निजले बयान गर्दा महेश्वरले मलाई रुपैयाँ दिई मैले गोडा समाती निजले घाँटी थिची मारेको भनी साविती बयान दिएको महेश्वरसंग हाम्रो जग्गा सम्बन्धी झगडा भई मुद्दा मामिला समेत परिरहेको हुँदा निज महेश्वर र अर्जुनप्रसादले नै मेरो पितालाई कर्तव्य गरी मारेका हुन भन्ने समेत व्यहोराको मृतकको छोरा तुलसी न्यौपानेले ०३६।१२।१० मा दिएको जाहेरी दर्खास्त ।

११. बलभद्रको घरमा अधिया जग्गा कमाउन दाजु अर्जुन, मेरो सानो भाइ र आमा समेत ०३६।९।२५ देखि बसेका । आमा काठमाडौं सामान पुर्‍याउन २०३६।११।२० गते जानु भएको ०३६।११।२१ गते दिउँसो ४ बजे दाजु र महेश्वरले सालको रुखनेर बसी मासु रक्सी खाएका, बेलुका दाजु घर आई खाना बनाई भाइलाई र मलाई खुवाई हामीलाई चोटामा सुत्‍न लगाई आफू खाई गाई बस्तुलाई पराल हाली आउँछु भनी बाहिर गएको । त्यसको केही बेरपछि बलभद्रको घरबाट ढाकढाक, ढुकढुक आवाज आएको र सोही बखत बलभद्रले ३ पटक गुहार गुहार भनी कराएको आवाज सुनें । सोही २१ गते बलभद्र र महेश्वरको बीचमा भनाभन झगडा हुँदा महेश्वरले तँलाई नमारी छोड्दिन भनी हातको औंला ठड्याई गएको थियो, त्यसकारण दाजु अर्जुन र महेश्वरको मिलोमतोबाट बलभद्रलाई मारेको हुनुपर्छ भन्ने समेत व्यहोराको मिताकुमारीले ०३६।१२।११ मा प्रहरीमा गरेको कागज ।

१२. ०३६।११।२१ बिहान अं.१०।११ बजे मेरो लोग्ने महेश्वर पौड्याल खाना खाई बाहिर निस्कनु भएको, बेलुकी बत्ती बाल्ने बेलामा साइकल चढी आउनु भएको हो । आउँदा मासु फलफूल कुनै खाने चिज  ल्याउनु भएको थिएन । ऐ.२२ गते दिनको १२ बजे घरबाट बाहिर जानु भएको हो, टाढा जानु भएको थियो, थिएन, थाहा छैन, भन्ने महेश्वरको कान्छी श्रीमती कमलादेवी पौड्यालको ०३६।१२।१४ मा प्रहरीमा भएको बयान कागज ।

१३. ०३६।११।२१ गतेको दिनभरी मेरो लोग्ने महेश्वर पौड्याल काहाँ जानु भएको थियो थाहा छैन । बेलुकी बत्ती बाल्ने बेलामा साइकल चढी आउनु भयो, उहाँको हातमा, साइकलमा केही सामान थिएन, रित्तै हुनु हुन्थ्यो भन्ने समेत व्यहोराको महेश्वर पौड्यालकी जेठी श्रीमती पूर्णकला पौड्यालले ०३६।१२।१४ मा प्रहरी समक्ष गरेको कागज ।

१४. बलभद्र न्यौपानेलाई ०३६।१।२१ गतेको रात अं.।९ बजेका समयमा कर्तव्य गरी मारेकोमा ०३६।११।२२ गते कुकूर ल्याई घटनास्थलबाट छाड्दा मृतकको घर अाँगनको उत्तरपट्टिको काठको गोठमा पुग्यो र अर्जुनप्रसाद रिसालको ओछ्यानमा सुंघी मृतकको घरदेखि पूर्वपट्टि भएको महेश्वर पौड्यालको मिल घरको ढोकामा गई भुक्यो र त्यसपछि अर्जुनप्रसाद रिसाललाई सुराकी कुकुरले सुंघ्दै गई दाँतले समायो, त्यसपछि अर्जुनलाई सोद्धा मलाई रु.१८००।महेश्वरले दिनु भई बलभद्रलाई मार्न मद्दत देउ भन्नु भयो, मैले गोडा समाई दिई महेश्वरले घोक्रो अंठ्याउनु भई बलभद्रलाई मारेको हो भनी अर्जुनप्रसाद रिसालले भनेको सुनेको हुँदा यी प्रमाणहरूबाट अर्जुनप्रसाद रिसाल र महेश्वरले बलभद्र न्यौपानेलाई मारेकोमा हामीहरूलाई विश्वास लाग्छ भन्ने समेत व्यहोराको चितवन भरतपुर नगर पञ्चायत वार्ड नं. ९ सरदपुर बस्ने पदमलाल भुसाल समेत २४ जनाको एकै मिलान अनुसारको ०३६।१२।१६ मा भएको सरजमीन मुचुल्का ।

१५. बलभद्र न्यौपानेलाई मार्नको निमित्त महेश्वर पौड्याल र अर्जुनप्रसाद रिसालले संयुक्त रुपमा कर्तव्य गरी मारेको देखिए तापनि अर्जुनप्रसादले ज्यान मार्नको निमित्त वारदात स्थलमा गई गोडा समाति संयोग पारिदिएकोले निज अर्जुनप्रसाद रिसाललाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(४) बमोजिम र महेश्वरले मार्नाको उघेश्यले घाँटी थिचेको र सोही घाँटी थिचाइको कारणबाट ज्यान मर्न गएको देखिएकोले महेश्वर पौड्याललाई ज्यानसम्बन्धी १३(३) नं. बमोजिम सजायँ हुन सादर अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको माग दावी भएको प्रहरी प्रतिवेदन ।

१६. ०३९।११।२१ गते राती ९ बजे घरमै छु । सो दिन नारायणघाट म समेत ३ जना गएका थियौं । बेलुका मासु ल्याई जेठी श्रीमतीकोमा पकाई खाएको हो । अर्जुनप्रसादलाई सरदपुर बस्ने कान्छो न्यौपानेको घरमा गोठालो बस्दा चिनेको थिएँ । रीसइवी केही छैन । ०३६।११।२२ गते घरतिरबाट गितानगर आइरहेको बखत बलभद्र न्यौपानेलाई डाँकाले मार्‍यो अरे भन्ने सुनेको हुँ । साँझ ६ बजे घरतर्फ जान लाग्दा दुई जवान प्रहरी आई मलाई पक्राउ गरे अर्जुनप्रसादलाई मैले पैसा दिएको होइन काहाँबाट देखायो । म त जान्दिन । बलभद्रको हत्या एक्लै अंठ्याएर गर्न गार्‍हो पर्छ, हत्या कसरी भएको छ, मलाई थाहा छैन । एक जना अर्जुनप्रसाद अर्को को हो मलाई थाहा छैन । मैले बलभद्रलाई घाँटी अंठ्याएर मारेको होइन भन्ने समेत व्यहोराको प्र.महेश्वर पौड्यालले अदालत समक्ष गरेको बयान ।

१७. अर्जुनप्रसाद प्रहरी हिरासतबाट भागेको, निजको नाममा म्याद जारी हुँदा मानिस र घरबास समेत नभएको भनी तामेली भई आएको थुनामा राख्‍ने अदालतबाट अनुमति प्राप्त भइसकेपछि प्रहरी हिरासतबाट भागेको छ । एकपल्ट अदालतमा हाजिर भइसकेपछि भागेकोमा ठहरे माफिक फैसला गरिदिनु पर्ने कानुनी व्यवस्था जारी भएको म्यादमा उपस्थित नभई अभियोग स्वीकार गरी बसेको भन्नु पर्ने अवस्था छ । घाँटी अंठ्याई मारेको भन्ने निजको सावितीलाई शव  परीक्षण प्रतिवेदनबाट पुष्टि हुन गएको छ । सरजमीनका तमाम व्यक्तिले अदालत समक्ष उपस्थित भई साक्षीका रुपमा बकपत्र गरी दिएको समेतबाट प्र.अर्जुनप्रसाद रिसालले मर्ने बलभद्रलाई कर्तव्य गरी मारेको ठहर्छ । वादी पक्षको अनुसन्धान कर्ताले हेलचक्रयाई र लापरवाही गरी भगाएको सहअभियुक्तले सोही वादी पक्षकै कब्जामा पोल गरेको कुरालाई अदालतले प्रमाणको स्थान दिन सक्दैन, प्रतिवादी महेश्वर पौड्यालले अभियोग वादीबाट सफाई पाउने ठहर्छ भन्ने चितवन जिल्ला अदालतको ०३९।१।३ को फैसला ।

१८. प्र.महेश्वर पौड्याललाई सफाई दिने ठहर गरेको शुरुको इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकार तर्फको र मलाई कसूरदार ठहर्‍याई सजायँ गरेको शुरु फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्र.अर्जुनप्रसादको म.क्षे.अ.मा पुनरावेदन पर्दा प्रतिवादी अर्जुनप्रसाद सावित भई महेश्वर उपर परेको पोल शव परीक्षण प्रतिवेदनबाट पुष्टि भएकोमा निज महेश्वरलाई सफाई दिएको शुरुको फैसलामा फरक पर्ने देखिएकोले विपक्षी झिकाई पेश गर्नु भन्ने मिति ०३९।१२।१८ मा म.क्षे.अ.को डिभिजनबेञ्चबाट आदेश भएको ।

१९. प्र.अर्जुनप्रसाद रिसाल प्रहरी हिरासतबाट भागेकोमा निज पक्राउमा परी मिति ०४०।४।२९ मा निजको अदालतमा बयान भई निजलाई प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ हुने गरी ठहर गरेको भएबाट निजको मौकाको कागज र अदालतमा भएको बयान समेतका सन्दर्भमा विचार गर्नु पर्ने देखिन आयो । शुरु जिल्ला अदालतबाट अघि फैसला हुँदाको अवस्था विचार हुन नसकेको कुरातर्फ समेत जिल्ला अदालतबाट सर्वप्रथम विचार हुनुपर्ने भएकोले शुरु चितवन जिल्ला अदालतबाट मिति ०३९।१।३ मा प्र.महेश्वर पौड्यालको सम्बन्धमा भएको फैसला बदर हुने ठहर्छ प्र.अर्जुनप्रसाद रिसालको अदालतमा भएको बयान समेत सन्दर्भमा प्रतिवादीहरूलाई कानुन बमोजिम गरी राखी निर्णय ठहर गर्नु भनी प्रस्तुत मुद्दाको शुरु मिसिल शुरु चितवन जिल्ला अदालतमा पठाई दिनु भनी म.क्षे.अ.बाट मिति ०४३।३।२।२ मा फैसला भएको ।

२०. उक्त म क्षे.अ.को फैसला उपर प्र.महेश्वरको यस अदालतमा पुनरावेदन पर्न आएको ।

२१. यसमा प्र.महेश्वरको हकमा शुरु ठहर बदर गरी पुनः निर्णय गर्न शुरु जि.अ.मा पठाएको म.क्षे.अ.को निर्णय कानुन मिल्दो नदेखिई इन्साफ फरक पर्ने देखिएकोले छलफलमा विपक्षीलाई अ.बं.२०२ नं.बमोजिम झिकाई आएपछि पेश गर्नु भन्ने यस अदालतको आदेश ।

२२. नियम बमोजिम पेशी सूचीमा चढी आज पेश हुनआएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकार तर्फबाट उपस्थित हुनुभएका विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्सालले अर्जुनप्रसादको बयान महेश्वरको हकमा अति महत्वपूर्ण हुने हुनाले सो समेत बुझी विचार गरी इन्साफ गर्नको लागि म.क्षे.अ.बाट शुरु चितवन जिल्ला अदालतमा पठाउने गरी भएको फैसलामा कुनै त्रुटि छैन भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो ।

२३. अब यो मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ मिले नमिलेको के रहेछ भन्ने कुराको निर्णय दिनु परेको छ ।

२४. निर्णयतर्फ विचार गर्दा यसमा प्रतिवादी मध्येका अर्जुनप्रसाद रिसाल प्रहरी हिरासतबाट भागेको अवस्थामा प्रहरी प्रतिवेदनको आधारमा भएको कारवाहीबाट ठहर गर्दा प्र.मध्येका महेश्वर पौडेललाई आरोपित कसूरबाट सफाई पाउने ठहराई र प्र.अर्जुनप्रसादले मर्ने बलभद्रलाई कर्तव्य गरी मारेको ठहराई शुरु चितवन जिल्ला अदालतबाट मिति ०३९।१।३ मा भएको फैसला उपर महेश्वर पौडेललाई सफाई दिएतर्फ श्री ५ को सरकारको र अर्जुनप्रसादलाई कसुरदार ठहर्‍याए  तर्फ प्र.अर्जुनप्रसादको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेकोमा प्र.महेश्वर पौडेलको हकमा पुनरावेदन मुलतवी राखी प्र.अर्जुनप्रसादको हकमा शुरु फैसला बदर गरी कानुन बमोजिम निर्णय गर्न शुरु जि.अ.मा पठाउने निर्णय गरेकोमा श्री ५ को सरकारको यस सर्वोच्च अदालतमा पुनरावेदन परी क्षेत्रीय अदालतको फैसला सदर भई कारवाहीको लागि चितवन जिल्ला अदालतमा गई शुरु चितवन जिल्ला अदालतबाट मिति ०४२।२।८ मा मृतक बलभद्रलाई अर्जुनप्रसाद रिसालले कर्तव्य गरी मारेको ठहर्‍याई फैसला भए उपर प्र.अर्जुनप्रसादको म.क्षे.अ.मा पुनरावेदन परी अघि प्र.महेश्वर पौडेलको हकमा भएको इन्साफ उपर श्री ५ को सरकारको मुलतवी रहेको पुनरावेदन जगार्ई एकै साथ राखी पेश हुँदा म.क्षे.अ. बाट शुरु चितवन जि.अ. बाट प्र.महेश्वरको हकमा मिति ०३९।१।३ मा सफाई दिने ठहराई फैसला भइसकेपछि अर्जुनप्रसादको अदालतमा बयान भई ठहर भइसकेको हुँदा निजको सो अदालतको बयानलाई समेत ध्यान राखी ठहर हुनुपर्ने भनी प्र.महेश्वरको हकमा अघि भएको ठहर बदर गरी पुनः निर्णय गर्न चितवन जिल्ला अदालत पठाउने गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०४३।३।२ मा फैसला भएको देखिन्छ । प्र.महेश्वरका हकमा सजायँ पाउन पर्ने भनी श्री ५ को सरकार तर्फबाट मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको भएपछि सो सम्बन्धमा प्र.महेश्वर कसूरदार हो वा होइन भनी सम्बद्ध प्रमाणको आधारमा निर्णय गर्न सक्ने नै हुन्छ । प्र.अर्जुनप्रसादले गरेको बयान समेत प्रमाणमा लिन पर्ने भए क्षेत्रीय अदालतले लिन सक्ने नै देखिन्छ । शुरु जिल्ला अदालतबाटै विचार गरिनु पर्ने भनेर एकपटक भइसकेको निर्णय बदर गर्न पर्ने अवस्था देखिँदैन । केवल अर्जुनप्रसादको बयानमा विचार गर्नको लागि शुरु जिल्ला अदालतमा पठाउन पर्ने अवस्था रहँदैन । अतः यस्तो स्थितिमा आवश्यक सबूद प्रमाण बुझी पुनरावेदक प्रतिवादी महेश्वर पौडेल कसूरदार हो होइन भनी मध्यमाञ्चल क्षेत्रीय अदालतले आफैंले निर्णय गर्न पर्नेमा शुरु चितवन जिल्ला अदालतको मिति ०३९।१।३ को निर्णय बदर गरी पुनः निर्णय गर्न पठाउन नमिल्ने हुँदा उक्त म.क्षे.अ.को मिति ०४३।३।२ को फैसला बदर हुने ठहर्छ । अब जो जे बुझ्नु पर्दछ बुझी प्र.अर्जुनप्रसादको मुलतवी रहेको पुनरावेदन समेत जगाई दुवै पुनरावेदन साथै राखी निर्णय गर्नु भनी मिसिल मध्यमाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.रुद्रबहादुर सिंह

 

इतिसम्वत् २०४३ साल मार्ग १६ गते रोज २ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु