निर्णय नं. २८२६ - ज्यान मार्ने उद्योग

निर्णय नं. २८२६ ने.का.प. २०४३ अङ्क ८
संयुक्तइजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४१ सालको फौ.पु.नं. ६०१
फैसला भएको मिति : २०४३।८।२६।५ मा
पुनरावेदक/प्रतिवादी : बाँके के.का.कार्यालय मार्फतको कारागारमा थुनिएको इस्लामुद्दिन जोलाहा
विरुद्ध
विपक्षी/वादी : श्री ५ को सरकार
मुद्दा : ज्यान मार्ने उद्योग
(१) ज्यान मार्ने उद्योगका मुद्दाहरूमा ज्यान मार्ने मनसाय कुनैमा स्पष्ट नै देखिने हुन्छ कुनैमा अभियुक्तले गरेको अपराधिक कृयाबाट उसको मनसायको पत्ता लगाउनु पर्ने ।
(प्रकरण नं. २१)
(२) अपराधिक कृया र रिसबाट छुरा प्रहार गरेको भन्ने देखिएबाट ज्यान मार्ने मनसाय थियो भन्ने कुरामा शंका नदेखिने ।
(प्रकरण नं. २१)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्दप्रसाद रेग्मी
विपक्षी/वादीतर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन समेत पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छन् : वादी श्री ५ को सरकार प्रतिवादी राम लक्ष्मण कुम्हाल समेत भएको डाँका मुद्दामा ०३९।७।२३ गते बाँके जि.अ.मा इश्लामुद्दिन जोलाहाका विरुद्धमा बयान गरेको कुरा थाहा पाई इश्लामुद्दिन जोलाहा र खुरकुन्च अली साई समेत ऐ.२४ गते राती ९ बजे म जाहेरवालाको घरद्वारमा आई गाली गरी रोडा समेत घरमा हान्दा म आफ्नो ज्यान जोगाई चुप लागी घरमा बसी राखें । प्र.पञ्च असगर अली अंसारीको समक्ष मौखिक उजूरी गरें । सुनुवाई गर्नु नभएकोले घर फर्की आएँ । ऐ.२५ गते बिहान ९ बजे तँ साले म इश्लामुद्दिनको विरुद्ध बयान गरेको छस् तेरो जहान परिवारलाई नमारी छोड्दिन भनी म जाहेरवालालाई लछार पछार गरी छोरा जय सिंहलाई पनि कुटपिट गरेको तजमुल अंसारी घटनास्थलमा बीच बचाउ गरेको र प्र.पं.असगर अलीको घरद्वारमा पुगी कुराकानी हुन लागेको अवस्थामा इश्लामुद्दिन र खुरकुन्द अली समेत पुगी खुरकन्द अलीले यो जयसिंहलाई ज्यानैबाट मारी दिनु पर्यो भनी भन्नासाथ इश्लामुद्दिनले हातमा लिई राखेको छुराले ज्यानै मार्ने उद्देश्यले जय सिंहलाई दायाँ बायाँ पिठमा दुईपटक हिर्काएको तेश्रो पटक हिर्काउन खोज्दा जयसिंहले हात समाती दिएका र सोही हतियारले चोट लागी भूइँमा लडेपछि तजमुल समेतले पक्राउ गरी गरेका ज्यान मार्ने उद्योगमा सजायँ गरी पाउँ घा जाँच भेरी अञ्चल अदालतबाट गराई पाउँ भन्ने समेत जाहेरी दर्खास्त ।
२. जाहेरीमा उल्लेख भए बमोजिम मेरो बाबु कासीरामको र इश्लामुद्दिनका बीचमा कुटपिट हुन थाल्यो मैले मेरो बुढा बाबुलाई पिटेको र मन लागी भनी गाली गरेको सहन नसकी छुटाउन जाँदा असगर अलीको घरको अगाडि सडकमा मेरो पछाडिबाट आई मार्ने नै नियतले छुरीले हिर्काएको र बेहोस भएपछि मलाई कसरी कसले अस्पताल पुर्याए थाहा पाइन, मार्ने नियतले हिर्काएकोले सजायँ गरी पाउँ भनी जय सिंहले प्रहरीमा गरेको बयान ।
३. २०३९ साल कार्तिक २५ गते विहान ७।८ बजे जयपुर गा.पं.वार्ड नं. ४ मा रहेको बजारमा घर खर्चको सामान खरीद गर्न जान भनी गएको मलाई देख्ने वित्तिकै जय सिंह सुनारले लोफर गुण्डा भनी गाली गर्न थाले मैले पनि आमा बहीनी चकारी गाली दिएँ । कासीराम र जयसिंह समेतले लाठीले मलाई कुट्न थाले मैले पनि भ्याएसम्म निज बाबु छोरालाई हिर्काए त्यत्तिकैमा तजमूल अंसारी आई प्र.पं.कहाँ हिंड भनी लिएको र त्यहाँ पनि झगडा भयो त्यहाँबाट आफ्नो घरमा गई सब्जी काट्ने छुरी ल्याई जयसिंह सुनारको पछाडि पट्टि २ पटक हानेको हुँ, २ वर्ष जति भयो कासीराम सुनारको घरमा डाँका गरेकोमा मुद्दा चल्दैछ र मेरो विरुद्धका बयान गरेको रिसईवी लिई जयसिंहलाई मार्ने नियतले हानेको र निजकै मानिसहरूले जयसिंहलाई अस्पताल लगेको छुरी घटनास्थलमा फाली भागी गएको थिएँ । फेला पारी दाखिल गरेको होला अरु अभियोगका सजायँ पाएको छैन मुद्दा चल्दैछ भन्ने समेत प्र.इस्तामुद्दिन जोलाहाले प्रहरीमा गरेको बयान ।
४. जाहेरवाला र इश्लामुद्दिनको बीच मुद्दा चली ईवि लिई ज्यान मार्ने उद्देश्यले हानेको सो खुरचन्दलाई देखिन कहाँ छन् थाहा छैन भन्ने समेत तजमूल अंसारी समेतले गरी दिएको सरजमीन मुचुल्का ।
५. जय सिंहलाई २ पटक हानेको हो मलाई पनि डर लाग्यो म पनि त्यहाँबाट भागेको हुँ भन्ने समेत प्र.खुरचन्द अली साइले प्रहरीमा गरेको बयान ।
६. खुरकुन्द अली र इस्लामुद्दिन जोलाहा समेतले जाहेरवालाको छोरा जय सिंह सुनारलाई चक्कूले प्रहार गरी ज्यान मार्ने उद्योग गरेकोले इस्लामुद्दिनलाई ज्यानसम्बन्धी महलको १५ नं.बमोजिम जयसिंहलाई मार्न भनी इस्लाममुद्दिनको सहयोगी भई ज्यान मार्ने मतलबमा पसेको पुष्टि हुँदा निजलाई सोही ऐनको ७ नं. को देहाय ३ बमोजिम सजायँ हुन माग दावी लिई दाखिल हुनआएको छुरी तथा सम्बन्धित कागजात र अभियुक्त इस्लामुद्दिन जोलाहा र खुरकुन्द अलीसाई समेतलाई यसै साथ प्रस्तुत गरेको छु भन्ने समेत प्रहरी प्रतिवेदन ।
७. सरजमीनका मानिसहरूले भने रीसइवीले पोलिएको हुन अरु फौज्दारी वारदात गरेको र सजायँ पाएको छैन भन्ने समेत इस्लामुद्दिनले अदालतमा गरेको बयान ।
८. वारदातको कुनै कुरा मलाई थाहा छैन जाहेरवालासंग झगडा भएको रीसइवीले किटानी जाहेरी दिएको हुन भन्ने समेत प्र.खुरकुन्दले अदालतमा गरेको बयान ।
९. रीसइवीबाट इस्लामुद्दिनले पोल गरेको हुनुपर्छ भन्ने प्र.खुरकुन्दको साक्षीहरूको बकपत्र ।
१०. इस्लामुद्दिन र जयसिंहको झगडा हुँदा खुरकुन्दलाई त्यहाँ देखिन भन्ने समेत सरजमीनका मानिसहरूको बयान ।
११. ज्यान मार्नकै उद्देश्यबाट प्रेरित भई प्र.खुरकुन्द अलीले छुरी ल्याई प्र.इस्लामुद्दिनलाई दिई निज इस्लामुद्दिनले जय सिंहलाई प्रहार गरेको कुरा सिद्ध हुनआएकोले प्रहरी प्रतिवेदन बमोजिम कसूर गरेको देखिन्छ भन्ने बाँके जिल्ला अदालतको फैसला ।
१२. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्र.इस्लामुद्दिनको क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।
१३. इस्लामुद्दिन जोलाहाले २ पटक छुरीले हानी सकेपछि गाउँ पञ्चायतका पियन तदमुल अनुसारीले निजलाई छातीमा छुरी हान्न थाल्दा छुरी हातबाट खोसिदिएकोबाट मात्र निजले जय सिंहलाई ज्यान मार्ने मात्र नपाएको तथा मंगलप्रसाद सुनार र सफि दर्सिको बकपत्रबाट समेत निजले ज्यान मार्ने उद्देश्यबाट नै छुरी प्रहार गरेको भन्ने देखिएकोले शुरु बाँके जिल्ला अदालतले गरेको फैसला मनासिब नै भई सो सदर हुने ठहर्छ भन्ने समेत मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४१।१।१५ को फैसला ।
१४. उक्त मुद्दामा पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादी इस्लामुद्दिन जोलाहाको निवेदनमा इस्लामुद्दिनले ज्यानै मार्ने उद्योगले जयसिंहको दायाँ बायाँ पिठमा छुरीले हिर्काएको भनी जाहेरी दर्खास्त परेको देखिन्छ । निज जय सिंहको घाउ जाँच फारम हेर्दा मर्ने सम्भावना नभएको र ३५ दिनभित्र निको हुने भनी उल्लेख गरेको पाइन्छ । ज्यानसम्बन्धी महलको १५ नं.मा ज्यान मर्ने सम्मको जुनसुकै काम गरिसकेको सो काम गर्दा पनि ज्यान भने मर्न नपाएको भन्ने उल्लेख भएको देखिन्छ । यस्तो अवस्थामा ज्यान मार्ने उद्देश्य गरेको ठहर्याएको शुरु बाँके जिल्ला अदालतको इन्साफ सदर गर्ने गरेको म.प.क्षे.अ.को फैसलामा ज्यानसम्बन्धीको महलको १५ नं.र स.मु.सं.ऐन, ०१७ को दफा (७)(क) समेतको त्रुटि भएकोले पुनरावेदनको अनुमति दिने भन्ने यस अदालतको मिति ०४१।३।१४।४ को आदेश ।
१५. पुनरावेदक प्रतिवादी तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्दप्रसाद रेग्मीले क्षेत्रीय अदालतले निर्दोष व्यक्तिलाई दोषी ठहराई सजायँ दिएको इन्साफ उल्टी हुनुपर्छ भन्ने र विपक्षी श्री ५ को सरकार तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्सालले क्षेत्रीय अदालतले गरेको फैसला सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।
१६. प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतले गरेको फैसला मनासिब वा बेमनासिब के रहेछ निर्णय दिनु परेको छ ।
१७. यसमा ने.का.प. २०२६ निर्णय नं. ४९५ फुलबेञ्च नि.नं.३५ मिति २०२६।२।१७।६ को भू.प्र.भोलाकाजी राई समेत वि.धनीराम राईको जाहेरीले वादी श्री ५ को सरकार भएको ज्यान मार्न उद्योग मुद्दाको निर्णयमा मार्ने उद्देश्यले मर्म स्थानमा हानी वा खत लागेको देखिएमा र सरजमीनहरूको भनाइले पनि सो पुष्टि गरेमा ज्यान मार्ने उद्योग गरेको ठहरिने भन्ने र ने.का.प. २०३७ निर्णय नं. १३९२ फुलबेञ्च नं. ३५ मिति ०३७।६।२।३ को निवेदक प्रतिवादी डिल्लीप्रसाद सिंखडा समेत विपक्षी कमला आचार्य समेतको जाहेरीले वादी श्री ५ को सरकार भएको ज्यान मार्ने उद्योग मुद्दामा वारदातमा प्रयोग गरेको साधन र वारदातको प्रकृतिबाट समेत प्रतिवादीहरूको नियत ज्यान मार्ने थियो भन्ने देखिँदैन । यस स्थितिमा प्रतिवादीहरूले ज्यान मार्न उद्योग गरे भन्ने मिल्ने नदेखिएकोले ज्यानसम्बन्धीको १५ बमोजिम सजायँ गर्न मिल्दैन भनी सिद्धान्त प्रतिपादीत भएको देखिन्छ ।
१८. वादी श्री ५ को सरकार प्रतिवादी राम लक्ष्मण कुमाल समेत भएको डाँका मुद्दामा ०३९।७।२३ मा बकपत्र गरेको रीसइवीबाट ऐ.२४ गते गाली गुफता गरेको, ईटा रोडाले घरमा हानेको र ऐ.२५ गते विहान अं.९ बजेको यो वारदात देखिन्छ १ं१½ ईन्चीका २ घाउ परेको र घाउ चोट काटेको घाउ केश फारमबाट देखिन्छ । प्रयोग भएको हतियारमा छुरी भन्ने पनि देखिन्छ ।
१९. अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा प्र.इस्लामुद्दिनको बयानको स.ज. ५ र ६ बाट डाँका मुद्दाको बकपत्रको रीसइवीबाट छुरीले मार्ने नियतले प्रहार गरी हानेको हुँ भनी बयान गरेको देखिन्छ । डाँका मुद्दाको बकपत्रको रीसइवीबाट हानेको हो भन्ने जाहेरीमा किटानी देखिन्छ । यसरी जाहेरवालाले देखाएको डाँका मुद्दाको वकपत्रको रीसइवीलाई अभियुक्तले पहिले स्वीकार गरेकै देखिएको र पछि त्यसलाई खण्डन गर्ने कुनै प्रमाण समेत पेश गर्नसकेको देखिँदैन । केश फारमबाट धार भएको हतियारले हानेको र घाउचोट कडा भन्ने पनि देखिएको छ । सरजमीनका मानिसहरू मध्ये मंगलप्रसाद सुनवार सफिर दर्जीले पञ्चायतको पियन तजमुलले रोकेको हो नत्र भने मार्ने नै थियो भनी अदालतमा आई बकपत्र गरेको पनि देखिन्छ ।
२०. ज्यान मार्ने उद्देश्यले छुरी लिई पिडित व्यक्ति जयसिंहको शरीरको ठाउँ ठाउँमा प्रहार गरेको र निजको प्रहारलाई पियन तजमुलले रोकेको भन्ने पनि सरजमीनका मानिसहरूले गरेको बकपत्रबाट देखिएकोले निजले गरेको ज्यान मार्ने क्रिया रोकिन गएको भन्ने कुरा पनि देखिन आएको छ ।
२१. ज्यान मार्ने उद्योगको मुद्दाहरूमा ज्यान मार्ने मनसाय कुनैमा स्पष्ट नै देखिने हुन्छ कुनैमा अभियुक्तले गरेको आपराधिक कृयाबाट उसको मनसायको पत्ता लगाउनु पर्ने हुन्छ । प्रस्तुत मुद्दामा निजको अपराधिक क्रिया र साथै डाँका मुद्दामा बकेको रिसबाट छुरी प्रहार गरेको भन्ने देखिएबाट ज्यान मार्ने मनसाय थियो भन्ने कुरामा शंका देखिँदैन । यस स्थितिमा शुरु बाँके जिल्ला अदालतले ज्यान मार्ने उद्योगबाट नै छुरी प्रहार गरेको भनी ठहर गरेको शुरु बाँके जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । नियम बमोजिम मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इतिसम्वत् २०४३ साल मंसिर २६ गते रोज ५ शुभम् ।