निर्णय नं. २८२८ - कर्तव्य ज्यान

निर्णय नं. २८२८ ने.का.प. २०४३ अङ्क ८
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४२ सालको फौ.पु.नं. ३९१
सम्वत् २०४२ सालको साधक नं. ६९
फैसला भएको मिति : ०४३।३।१० मा
वादी : मनोहरलालको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादी : मनोहरलाल डगोरा थारु
मुद्दा : कर्तव्य ज्यान
(१) आफ्नो अनुपस्थितिमा आफ्नी श्रीमती र बाधुराम रती क्रियामा आपसमा लिन भइरहेको अवस्थामा प्र.ले आफ्नी श्रीमती र बाधुराम समेतलाई तत्काल रीस उठी रीस थाम्न नसकी कुटी मारेको, मार्नु पर्ने सम्मको रीस इवी, घटना पूर्व नभएको सरजमीन समेतको भनाई समेतबाट यही कुराको पुष्टि हुनआएको देखिँदा घटनाको अवस्था प्रकृति समेत विचार गर्दा अ.बं.१८८ नं. बमोजिम प्र.लाई १० वर्ष कैद हुने ।
(प्रकरण नं. २१)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री पृतम राणा
फैसला
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।२।१७।५ को फैसला उपर पुनरावेदन परी निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ ।
२. म भगरैया भन्ने कूलो खनेको ठाउँबाट मिति २०४१।२।२ गतेका राती अन्दाजी ११।१२ बजेको समयमा तमाखु लिन भनी आफ्नो घर आउँदा ढोका खुला थियो र घरभित्र मेरी श्रीमती रामकिसनी र किसान बाधुराम डगौरा थारु आपसमा रती क्रिया गरिरहेको देख्दा तत्काल रीस उठी आगो बाल्न भनी ल्याएको चिरेको दाउराले प्रहार गर्दा दुवै जनाको मृत्यु भएको हुनाले सो कुरा मैले छिमेकी भुरसनी थारुलाई भनेपछि सोही रातको अन्दाजी ३ बजे मौखिक र भोलिपल्ट प्रहरी थाना टिकापुरमा जाहेरी दिएको हुँ । भन्ने समेत मिति २०४१।२।३ गतेको प्रतिवादी मनोहरलाल डगौरा थारुको जाहेरी र मिति २०४१।२।२ गतेको राती मेरो सहोदर दाइ बाबुराम डगौरा थारुलाई मनोहरलाल डगौरा थारुको घरमा मनोहरलालले हिर्काई मारेको छ भन्ने हल्ला सोही रातको २ बजे सुनेपछि म समेतका मानिसहरू निजको घरमा गई हेर्दा मेरो दाइ बाधुराम थारुले मनोहरलालको श्रीमती समेत रती क्रिया गर्दा गर्दै मनोहरलालले फेलापारी लाठीले प्रहार गरी निजहरूको मृत्यु भएको कुरा मनोहरलालले गाउँका मानिस समेतलाई भनेको भन्ने समेत मृतकको भाइ चिलुराम डगौरा थारुको समेत मिति ०४१।२।३ को जाहेरी ।
३. मिति २०४१।२।३ गते बाधुरामको मृत्यु भइसकेको र श्रीमती रामकिसनी थारुको घिर घिर सास चली मरणासन्न अवस्थामा फेला परेको र देखाए अनुसार दुवै उत्तानो परेका बाधुरामको टाउँको पश्चिमतर्फ र खुट्टा पूर्वतर्फ रहेको, रामकिसनी थारुको टाउँको पूर्व र गोडा पश्चिम भएको दुवैका मुख चेहरा भनी रगत र रामकिसनीको बायाँ खुट्टा बाधुरामको दायाँ खुट्टा माथि रहेको भन्ने समेत २०४१।२।३ को र सेतो बनियान लगाएको, निलो कट्टु लगाएको, अर्का कम्मर र जमीनमा भएको कपडा समेत खोली पल्टाई हेर्दा दुवै आँखा बन्द मुख खुला भएको जिभ्रो बाहिर निस्केको बाँया गालामा ५”३” को निलडाम भएको चिउँडोमा ३” लामो १–½ इन्च चौडा १–½ इन्च गहिरो घाउ भएको र चिउँडोको हड्डी टुटेको घाँटी सुन्निएको समेत मृतक बाधुरामको लाश र घरको पूर्वतर्फको आँगनमा दक्षिण टाउँको उत्तर गोडा भई खाट माथि सुताएको सेतो टेरिकटनको चोलो लगाएको सो चोलो रगतले भिजेको रातो बुट्टे लहंगा लगाएको दुवै आँखा खुल्ला भएको ओठ मुख नाक कानबाट खुन निस्किएको, अनुहार पूरै सुन्निएको, ओठ छुट्टिएर १½ इन्च लामो, १ इञ्च गहिरो घाउ भएको, बायाँ हात पेटमा अड्याई मुठी पारिराखेको गुप्ताड्डबाट वीर्य जस्तो पदार्थ निस्की सुकेको खुट्टा सिधा फैलाएर राखेको लाश सडी गली गई दुर्गन्ध आएको भन्ने समेत मिति २०४१।२।४ को मृतक रामकिसनी थारुको लाश प्रकृति मुचुल्का ।
४. मिति २०४१।२।१ गते मगरैया गाउँको अगाडि सामूहिक कूलो मर्मत गर्ने काममा गाउँका अरु मानिस गएका र एकरात कूलो खन्ने स्थानमा विताएका थियौं सो दिनभर काम गरी खानपीन समेत गरी जुनेली रात भएको हुँदा अन्दाजी ९.१० बजेको समयमा तमाखु लिन घर आउँदा ढोका खुला देखी घरमा प्रवेश गरी कूलो खन्ने ठाउँबाट ३.४ माइल टाढा मेरो घर रहेको हुनाले अन्दाजी ११.१२ बजे घर पुगेको थिएँ । घरमा प्रवेश गर्दा मेरो श्रीमती रामकिसानी थारुनी र किसान बाबुराम थारु आपसमा रती क्रियामा लिन भइरहेको मेरी श्रीमती तल र बाधुराम माथि चढिरहेको अवस्थामा मलाई केही होस् भएन र हातमा लिएको लठ्ठीले निजहरूलाई प्रहार गरेपछि निजहरू रगतपच्छे भई एउटा पूर्व र अर्को पश्चिम ठाउँको भई लडेका थिएँ । पछि गाउँ छिमेकका मानिसहरू जम्मा भई होहल्ला हुँदा म समेत मेरो बच्चा सबै लिई प्रहरी थाना टिकापुरमा जाहेर गरेको हुँ । निजहरू मैले हिर्काएको चोटबाट मरेका हुन भन्ने समेत मिति २०४१।२।७ को प्रहरी समक्ष गरेको बयान र उक्त दिनको राती मेरो घरको ढोका पूर्वतर्फ भएको र जुनेली रात भई खिड्की खुल्ला भएको हुँदा बाधुराम र मेरी श्रीमती रती क्रिया गरिरहेको देखेको हुँ भन्ने समेत प्र.मनोहरलाल डगौरा थारुको प्रहरी समक्ष गरेको ततिम्बा बयान ।
५. मिति २०४१।२।२ का रात हामी आ–आफ्नो घरमा सुतेका थियौं । सो रातको अन्दाजी १२.१ बजेको समयमा होहल्ला भई उठी हेर्दा बाधुराम र रामकिसनी थारु रती क्रियामा लिन भइरहेको समयमा रामकिसनीको श्रीमान मनोहरलाल थारुले देखि निजहरू दुवैलाई मारी आफैंले गाउँका मानिसहरूलाई उठाएका र पछि घटनास्थलमा गई हेर्दा बाधुरामको मृत्यु भइसकेको र रामकिसनीको घिर घिर सास चलिरहेको हुँदा उपचार गर्दा गर्दै दिनमा निजको मृत्यु भएको हो भन्ने समेत सरजमीनका व्यक्ति जगतराम थारु समेत जना ५ को र मिति २०४१।२।१ गते गाउँका १०।१२ जना र मनोहरलाल तथा निजका १० वर्षका छोरा नाथुराम समेत मगरैयामा कूलो खन्न भनी गएका थियौं सो रात हामी कूलो खन्ने स्थानमै सुत्यौं । २०४१।२।२ गते रात काम समाप्त गरी खानपीन सकी हामी नाचगान गर्न लाग्यौं । रातको १० बजेतिर मनोहरलाल तमाखु लिन जान्छु भनी हिंडेका थिए भोलिपल्ट दिउँसो किसान बाधुरामले आफ्नी श्रीमतीसंग मैथुन गरिरहेको अवस्थामा फेला पारी दुबैलाई लठ्ठीले हिर्काई मारी दिएका हुन भन्ने थाहापाइयो भन्ने समेत सरजमीनका व्यक्ति खगराम थारु समेत २१ जनाको मिति २०४१।२।१२ को एकै मिलानको सरजमीन मुचुल्का ।
६. मिति २०४१।२।१२ गते कूलो खन्ने काम गरी सुत्ने बेलामा मेरो बाबु तमाखु छैन भन्दै घरतिर आएछन् । भोलिपल्ट मेरो आमा र किसान बाधुरामले अनैतिक सम्बन्ध गरिरहेको अवस्थामा उक्त राती फेला पारी हिर्काई मारेको भन्ने समेत थाहा पाएको भन्ने समेत प्र.मनोहरलालको छोरा वर्ष १० को नाथुराम थारुले प्रहरी समक्ष गरेको मिति २०४१।२।१८ को ठाडो कागज ।
७. घटना घट्नु भन्दा अगाडि मेरा बाबु र दाइ कूलो खन्न गएका थिए । घरमा आमा र भाइबहिनी थियौं घटना घटेको रातमा हामी सुतिसकेका थियौं । राती जुन लागेको थियो बाबुले मलाई र भाइ बहिनीलाई उठाई बाहिर ल्याए ढोका छेउमा बाधुराम र मेरी आमा रगतपच्छे भएर लडेका थिए । त्यसपछि गाउँले जम्मा भए बाबुले हामी समेतलाई प्रहरी थानामा लगे घटना कसरी घट्यो मैले देखिन भन्ने प्र.मनोहरलालकी ७ वर्षकी छोरी ज्ञानी थारुनीको मिति २०४१।२।१८ को प्रहरी समक्ष गरेको ठाडो कागज ।
८. मिति २०४१।२।२ गते कूलो खन्न गाउँबाट ३.४ माइल टाढा मगरैया भन्ने स्थानमा गएका र दिनभर काम गरी राती तमाखु लिन भनी ११ बजे घरमा आउँदा घरको ढोका खुलादेखि घरभित्र प्रवेश गर्दा किसान बाधुराम थारु र मेरी श्रीमती रामकिसनी थारुनी आपसमा रती क्रियामा तल्लीन भइरहेको देखेको र बाधुरामले टाउको उठाई हेर्दा मैले मेरो हातमा लिएको लठ्ठीले दुवैलाई प्रहार गर्दा दुवै ढलेकाले मृत्यु भएको सम्झी छिमेकी मानिसलाई उठाई सो कुरा बताएपछि हल्ला भई गाउँले उठेर आए र म आफैं प्रहरीमा आई जाहेर गरेको हुँ भन्ने समेत अभियुक्त मनोहरलालको जाहेरी र बयानबाट देखिन्छ । उक्त घटना रीसइवीबाट नभई संयोगबस आवेशमा आई घटेको हो भनी सरजमीनका मानिसले बकपत्र गरिदिएको र सो घटना घटिसकेपछि प्रहरी तथा चिकित्सक पुगी घटनास्थलमा हेर्दा बाधुरामको मृत्यु भएको र रामकिसनी थारुनीको मृत्यु भई नसकेको अवस्थामा लिएको स्केच समेतको प्रकृतिबाट बाधुरामको कट्टु खुला भएको नाड्डो अवस्थामा र रामकिसनी अर्धनाड्डो भई मैथुन गर्दागर्दैको अवस्थामा प्र. मनोहरलालले लठ्ठीले प्रहार गरेपछि निजहरू उत्तानो परी ढलेको कुरा नक्शाबाट पुष्टि भएको हुँदा प्र. मनोहरलालले आफू घरमा नभएको मौकामा आफ्नो श्रीमती र बाधुरामले रती क्रिया गरिरहेको फेला पारेकोले तत्काल आवेशमा आई लठ्ठीले प्रहार गरी दुवैलाई कुटपिट गर्दा दुवैको मृत्यु हुन गएकोले निज अभियुक्त मनोहरलाललाई मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं.अनुसार सजायँ गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन र अभियुक्तका बयान अनुसार निजकी स्वास्नी रामकिसनी र बाधुरामले करणी गर्न लाग्दा काठको लठ्ठीले निजहरूलाई नमरुन्जेल कुटेको भनाई छ । मनोहरलालले मार्ने मनसाय नराखी कुनै कुरामा रीस उठी साधारण कुटपिट गरेको देखिँदैन दुवै जनाले करणी गरेको देखि पहिले बाधुरामलाई र अनी आफ्नी श्रीमतीलाई यस्तो जघन्य अपराध गरी मारेको अवस्थामा ज्यानसम्बन्धीको १४ नं.लाग्ने नभई ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सजायँ गरी पाउँ भन्ने मिति २०४१।२।२२ को स.स.अ.को छुट्टै राय समेत देखिन्छ ।
९. गते बारको याद छैन यही साल ज्येष्ठ महीनामा मगरैयाको कूलो खन्न गई सो दिन काम नसकी त्यहीं बसी भोलीपल्ट दिनभरमा काम सकी त्यहीं बसी रातको खाना खाइसकेपछि सुर्ती सकिएको र एक घण्टा जति हिंड्दा घर पुगिने हुनाले घरमा गई घरको ढोका खुला देख्दा कुकूर गयो होला भन्ने सम्झी लडियाको एक हातजति लामो काठ समाती घरभित्र जाँदा मैले चिन्न सकिन दुवैजना नाड्डो भई संभोग गरिहेको देखें मैले लोग्ने मानिसलाई हातमा लिएको काठले एक चोट हिर्काएपछि निज उत्तानो परेर लड्यो पछि निज मृतक बाधुराम हो भनी चिनें निजलाई एकचोट मात्र हिर्काएको थिएँ । ओछ्यानबाट उठ्न लाग्दा रिसको झोंकमा श्रीमती रामकिसनीलाई पनि एकपटक हो वा दुईपटक हिर्काएको थिएँ । निज पनि त्यहीं लडेकोले मरेको चाल पाई म उजूरी गर्न प्रहरी थानामा गएको अवस्थामा बाटामा २।४ जना भेटी सो कुरा भनेपछि निजहरू समेत मेरो पछि लागी गएका हुन् । मेरो श्रीमती र बाधुरामसंग मेरो कुनै रीसइवी थिएन । रिस थाम्न नसकी हानेको हुँ । मार्ने उद्देश्यले होइन भन्ने समेत प्र.मनोहरलालले मिति ०४१।२।२३ मा कैलाली जिल्ला अदालतमा गरेको बयान ।
१०. मिति ०४१ जेष्ठको शुरुमा हो गाउँमा सबै किसानहरू कूलो खन्न भनी गएका थिए सोही दिन बेलुका मनोहरलाल आफ्नो घरमा जाँदा मेरो दाजु बाधुरामले आफ्नी श्रीमतीसंग करणी गरिरहेको भेटाई लडियाको काठले दुवैलाई हानी मारेको कुरा गाउँमा हल्ला भई थाहापाई निज मनोहरलाललाई समेत पक्राउ गरी प्रहरीमा ल्याएको हुँ निजहरूबीच प्र.मनोहरलालको रीसइवी भएको मलाई थाहा छैन भन्ने समेत जाहेरवाला मध्येकै चिल्लुराम गौरा थारुले मिति २०४१।५।१९ मा अदालतमा गरेको बकपत्र ।
११. गते बार थाहा छैन यही २०४१ साल जेठमा प्र.मनोहरलाल र म समेत गाउँका १०, ११ जना सहित भई तोरियापुर गाउँबाट अन्दाजी १ कोश टाढा पूर्व उत्तर पर्ने सुवर्णपुर भन्ने ठाउँमा कूलो खन्न गएका थियौं सोही दिन १० बजे राती प्रतिवादी के कामले हो आफ्नो घर गएछ र बाधुराम र आफ्नी श्रीमती राम किसनीले आफ्नो घर भित्र आपसमा करणी गरिरहेको देखि लाठीले हानी दुवैलाई मारेछ म समेतका मानिसले भोलिपल्ट गाउँमा हल्ला भएपछि थाहा पाएका हौं । निज मनोहरलाल र मृतकहरू बीच हुने अन्य रीसइवी थिएन भन्ने समेत सरजमीनका वीरबहादुर थारु समेत जना ६ को मिति २०४१।५।१९ मा अदालतमा गरेको एकै मिलानको बकपत्र ।
१२. आफ्नो श्रीमती रामकिसनी थारुनीलाई बाधुराम दगौरा थारुले करणी गरेको अवस्थामा देख्दा रिस थाम्न नसकी काठको मुङ्ग्राले हानी मारेको र आफैं गई जाहेर गरेको हो भनी प्र.मनोहरलाल दगौराले बयान गरेको र कुनै रीसइवी नभई दुर्घटनाबाट बाधुराम समेतको मृत्यु भएको भनी सरजमीनका व्यक्तिहरूले पनि भनेकोले लाश प्रकृति मुचुल्काबाट प्र.मनोहरलाल दगौराको बयान समर्थित हुन गएकोले निज प्र.मनोहरलाल डगौरा थारुलाई ज्यानसम्बन्धी १४ नं.बमोजिम १० वर्ष कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको कैलाली जिल्ला अदालतको मिति २०४१।७।२३ को फैसला ।
१३. घटनास्थलको प्रकृति र लाश जाँच प्रकृति बाट प्रतिवादीले बाधुरामलाई र रामकिसनीलाई एकै बार लाठी प्रहार गरी मारेको नभई व्यग्रकुरता दर्शाई अनेक घाउखत चोट पटक पुर्याई मारेको कुरा स्पष्ट देखिँदा देखिँदै कैलाली जिल्ला अदालतले ज्यानसम्बन्धी १४ नं.बमोजिमकै १० वर्ष कैदको सजायँ गर्ने गरेको इन्साफ नमिलेकोले ज्यानसम्बन्धीका १३(३) अनुसार सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारबाट मिति २०४१।१०।२।३ मा सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।
१४. साधारण लाठाले हानेको चोटले मरेको भएमात्र ज्यानसम्बन्धीको १४ नं.अनुसार सजायँ गर्न मिल्छ लाश जाँच प्रकृति मुचुल्का अनुसार मृतक बाधुराम र रामकिसनीको लाशमा गम्भीर चोटपटक लागेको देखन्छ । उक्त अवस्थाम साधारण लाठीले कुटी मृतकको मृत्यु भएको देखिन नआएको हुनाले ज्यान सं.को १४ नं.बमोजिम १० वर्ष कैदको सजायँ गर्ने गरेको शुरु कैलाली जिल्ला अदालतको फैसला मिलेन प्रतिवादी मनोहरलाल दगौरा थारुलाई ज्यानसम्बन्धी १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहराई आफ्नी स्वास्नीलाई मृतक बाधुरामले करणी गरेको अवस्थामा तत्काल उठेको रिस थाम्न नसकी मृतक बाधुराम र रामकिसनी थारुनी समेतलाई मारेको र ज्यान मार्ने मनसायको अभाव र ज्यान लिनु पर्ने सम्मको इवी पनि नदेखिएको लुकिचोरी हानेको पनि देखिन नआएको अवस्थामा प्र.मनोहरलाल दगौरा थारुलाई सर्वस्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने चित्तमा लागेकोले अ.बं.१८८ नं. बमोजिम कम सजायँको निमित्त राय व्यक्त भई सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट साधक जाहेर समेत भई आएको मिति २०४२।२।१७।५ को फैसला ।
१५. मेरी श्रीमती रामकिसनीलाई मेरो अनुपस्थितिमा बाधुराम दगौरा थारुले करणी गर्दै गरेको अवस्थामा मैले आफ्नो आँखाले देखेको हुनाले सो अवस्थामा उठेको रिस थाम्न नसकी लाठीले कुटपिट गर्दा मृतकहरूको मृत्यु हुन गएको सबूद प्रमाणबाट स्पष्टै देखिन्छ । घटनापूर्व निजहरूलाई मार्ने मेरो मनसाय नभएको अवस्थामा मलाई सर्वस्वसहित जन्मकैद गर्ने गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला बदर गरी पाउँ भनी मिति ०४२।५।१६।१ मा जिल्ला कार्यालय कारागार शाखा धनगढी मार्फत प्र.मनोहरलाल दगौरा थारुको यस अदालतमा गरेको पुनरावेदन ।
१६. पुनरावेदक प्रतिवादी मनोहरलाल डगौरा थारुका तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान वैतनिक अधिवक्ता श्री पृतम राणाले पुनरावेदक प्रतिवादीको मार्ने मनसाय थिएन र घटना पूर्व मार्नु पर्ने सम्मको रीसइवी समेत केही देखिँदैन । आफ्नो अनुपस्थितिमा आफ्नी श्रीमती राम किसनीलाई बाधुरामले करणी गर्दै गरेको अवस्थामा मनोहरलाल डगोरा थारुले देख्ता निज मनोहरलाललाई तत्काल रिस उठी हातमा लिएको लाठीले कुट्ता मृतक रामकिसनी र बाधुरामको मृत्यु हुन गएको अवस्थामा निज प्र.मनोहरलाल डगौरा थारुलाई सर्वस्वसहित जन्मकैद गर्ने गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला न्यायसंगत नहुँदा बदर हुनुपर्छ भन्ने समेत बहस प्रस्ततु गर्नु भयो ।
१७. प्रस्तुत मुद्दामा सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के छ सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
१८. यसमा निर्णयतर्फ हेर्दा प्र.मनोहरलाल डगौरा थारुले निजकी श्रीमती मृतक रामकिसनी र बाधुराम थारुलाई मारेको भन्ने आरोपमा ज्यानसम्बन्धीको १४ नं.बमोजिम सजायँको माग भएको प्रहरी प्रतिवेदन र निज प्र.मनोहरलाल डगौरा थारुले जघन्य अपराध गरेको अवस्था देखिँदा ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गरी पाउँ भन्ने समेत स.स.अ.को छुट्टै राय भएकोमा आफ्नी श्रीमतीलाई बाधुरामले करणी गर्दा गर्दैको अवस्थामा भेटी तत्काल उठेको रिस थाम्न नसकी प्र.मनोहरलालले काठको मुङ्ग्रोले हान्दा मृतकहरूको मृत्यु भएको भन्ने देखिएको हुनाले प्र.मनोहरलाल दगौरालाई ज्यानसम्बन्धीको १४ नं.बमोजिम १० वर्ष कैद हुने ठहर गरी कैलाली जिल्ला अदालतबाट फैसला भएको पाइन्छ ।
१९. शुरु जिल्ला अदालतको फैसला उपर श्री ५ को सरकारको पुनरावेदन समेत परी सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट इन्साफ हुँदा लाश प्रकृति मुचुल्का बमोजिम मृतकहरूको लाशमा गम्भीर चोट देखिएको हुनाले साधारण लाठाले हानेको चोटको कारणबाट मृतकहरूको मृत्यु भएको नदेखिँदा शुरु जिल्ला अदालतले ज्यानसम्बन्धीको १४ नं.बमोजिम १० वर्षको सजायँ गर्ने गरेको मिलेन प्र.मनोहरलाल डगौरा थारुलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने ठहर गरी ज्यान मार्नु पर्नेसम्मको पूर्वावस्था र मनसाय समेतको अभावमा तत्काल उठेको रिस थाम्न नसकी छाडेको चोटको कारणले गर्दा मृत्यु भएको देखिएको हुनाले प्र.मनोहरलाल डगौरा थारुलाई सर्वस्वसहित जन्मकैद गर्दा सजायँ चर्को पर्ने हुनाले अ.बं.१८८ नं. बमोजिम कम सजायँ हुन राय समेत व्यक्त गरी २०४२।२।१७।५ मा फैसला भएको पाइन्छ ।
२०. मैले आफ्नो श्रीमती रामकिसनी र बाधुराम चौधरी आपसमा रती क्रियामा लिन भइरहेको अवस्थामा देखि उठेको रिस थाम्न नसकी हातमा भएको लठ्ठीले हान्दा मृतकहरूको मृत्यु भएको हुनाले सोही बमोजिम जाहेर गरेको थिएँ । मार्ने उद्देश्य थिएन भन्दै कर्तव्य गरेकोमा सावित भई अदालत समक्ष प्र.मनोहरलाल डगौरा थारुले बयान गरेको देखिन्छ । बुझिएका सरजमीनका मानिसले पनि सरजमीनमा लेखाई दिँदा तथा अदालत समक्ष बकपत्र गर्दा प्रतिवादी मनोहरलाल डगौरा थारुले मृतक रामकिसानी र बाधुराम डगौरा थारुलाई कर्तव्य गरी मारेको भन्ने कुरालाई पुष्टि गर्दै बकपत्र गरेको पाइन्छ ।
२१. यसबाट आफ्नी श्रीमती रामकिसनी र बाधुराम आपसमा रती क्रियामा लिन भएको आफ्नै आँखाले देखी रिस उठी सो रिस थाम्न नसकी सोही कारणले मृत्यु नभएसम्म प्र.मनोहरलालले मृतकहरूलाई कुटी मारेको अवस्था मिसिलबाट देखिन आएको छ । सरजमीनको भनाई र लाशको प्रकृति समेतबाट सोही कुराको पुष्टि हुनआएको हुँदा प्र.मनोहरलाल डगौरा थारुलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब छ । प्र.मनोहरलाल डगौरा थारुलाई सर्वस्वसहित जन्मकैद गर्दा सजायँ चर्को पर्न जाने हुनाले घटी सजायँ गर्नु पर्ने चित्तले देखी अ.बं.१८८ नं. बमोजिम पेश हुनआएको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको रायको सन्दर्भमा विचार गर्दा आफ्नो अनुपस्थितिमा आफ्नी श्रीमती र बाधुराम रती क्रियामा आपसमा लिन भइरहेको अवस्थामा प्र.मनोहरलाल डगौरा थारुले आफ्नी श्रीमती र बाधुराम समेतलाई तत्काल रिस उठी रिस थाम्न नसकी कुटी मारेको, मार्नु पर्ने सम्मको रीसइवी घटना पूर्व नभएको सरजमीन समेतको भनाई समेतबाट यही कुराको पुष्टि हुनआएको देखिँदा घटनाको अवस्था प्रकृति समेत विचार गर्दा अ.बं.१८८ नं. बमोजिम प्र.मनोहरलाल डगौरा थारुलाई १० वर्ष कैद हुने ठहर्छ । प्र.मनोहरलाल डगौरा थारुको पुनरावेदन परी पुनरावेदन तहबाट निर्णय भएकोले साधक तहबाट बोली रहन परेन साधकको लगत कट्टा गरी दिनु अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
प्र.मनोहरलाल डगौरा थारुके माथि इन्साफ खण्डमा अ.बं.१८८ नं. लगाई १० वर्ष कैद हुने ठहरी निर्णय भएको र निज प्र.मनोहरलाल डगौरा प्रहरी हिरासतमा रहेको मिति ०४१।२।१८।५ देखि थुनामा रही हाल निज जिल्ला कार्यालय कारागार शाखा कैलालीमा थुनामा रहेको देखिएकोले हिरासतमा रही थुनामा रहेको मितिले लागू हुने गरी १० वर्ष कैद असूल गर्नु भनी कैलाली जिल्ला अदालतमा लगत पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु.....१
सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४२।२।१७।५ को फैसला बमोजिम प्र.मनोहरलाल डगौरा थारुलाई सर्वस्वसहित जन्मकैद असूल गर्नु नपर्ने हुँदा सो फैसला बमोजिम रखेको लगत कट्टा गरी दिनु भनी कैलाली जिल्ला अदालतमा लगत दिन पठाउन काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनु........२
मिसिल नियम बमोजिम गरी बुझाई दिनु...............३
उक्त रायमा म सहमत छु ।
न्या. हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४३ साल आषाढ १० गते रोज शुभम् ।