शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २८२९ - ज्यान

भाग: २८ साल: २०४३ महिना: मंसिर अंक:

निर्णय नं. २८२९     ने.का.प. २०४३       अङ्क ८

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४२ सालको फौ.पु.नं. ३४९

सम्वत् २०४२ सालको साधक नं. ७९

फैसला भएको मिति : २०४३।३।१०।४ मा

 

पुनरावेदक/प्रतिवादी : जि.भोजपुर हतुवा वासिखोरा गा.पं.वा नं. १घोरेटार बस्ने अमरबहादुर राई

विरुद्ध

विपक्षी/वादी : नरसिंहबहादुरको जाहेरीले श्री ५ को सरकार

 

मुद्दा : ज्यान

 

(१)               मार्नेसम्मको मनसाय ईवीको अभावमा जन्मकैदको सजायँ गर्दा चर्को पर्न जाने ।

(प्रकरण नं. १९)

 

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री पृतम राणा

 

फैसला

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१।१० को फैसला उपर प्रतिवादीतर्फबाट पुनरावेदन पर्न आई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ ।

२. वासीखोरा गा.पं.वा.नं.१ बस्ने गा.स.स. अम्मरबहादुर राईको जेठी श्रीमती माइत बसेकी अवस्थामा ऐ.बस्ने दिनलबहादुर राईले जारी गरी लगेकोले धनमाल विषयमा सल्लाह गर्न २०३५।१२।२७ गते रक्सुवा डाँडामा भेला भई दिलबहादुर तर्फबाट कुरा मिलाउन तुलसीराम राई, बजीरमान राई समेत ४ जना र अम्मरबहादुर राईको तर्फबाट निजकी कान्छी श्रीमती बीरबहादुर राई, जमान सिंह राई समेतका १४ जना जम्मा भई कुरा गर्दा अम्मरबहादुर र मर्ने तुलसीरामको मुखामुख भई कुरा नमिल्दा तुलसीरामलाई अम्मरबहादुर र जमान सिंहले पक्रिने अम्मरबहादुरकी कान्छी श्रीमतीले कुट्ने गर्दा उपस्थित मानिसले रोकथाम गरी सम्झाउँदा झगडा नगरी मिल्छौं भनी अम्मरले मेरो ससुरा भोजमान, तुलसीराम र जीतबहादुर समेतलाई मेरो घरतर्फबाट आउनु भनी अगाडि हिंडे बेलुका ८ बजे अम्मरबहादुरको घरमा पुग्दा अघिबाट जाहेरीमा लेखिए मध्येकै भेला जम्मा भई एक्सासी लाठी घोचाले तँलाई मित्रता यही हो भनी अम्मरबहादुर, नाककुचे, भरत, लोके, गजुरमान, श्री जमान सिं, अम्मरबहादुरकी कान्छी श्रीमती नाउँ नजानेको राईनी समेत ७ जना भई जीतबहादुर र तुलसीरामलाई कुटपिट गरी तुलसीरामलाई मारी अम्मरबहादुरको घरबारीदेखि अं.१०० गज पर फालेछन् राती तुलसीराम घरमा नभएको निजकी श्रीमतीले कुरा गरी  जीतबहादुर समेत लिई हेर्न जाँदा तुलसीरामको लाश देखी जाहेर गरेको छु, लाश जाँच गरी निजहरूलाई पक्राउ गरी कानुन बमोजिम गरी पाउँ भन्ने नरसिंहबहादुरको २०३५।१२।२९ को जाहेरी दर्खास्त ।

३. धनमालको विषयमा २०३५।१२।२७ गते दिउँसो तुलसीराम अम्मरबहादुरको झगडा भो भन्ने सुनें राती तुलसीराम र जीतबहादुरले अम्मरबहादुरको घरमा गुहार भनेको र लाठीको आवाज सुनें, आउन सकेनौं, बोलीको आवाज सुन्दा नाककुचे, लोके, डिल्लीमान, बजीरमानले भो भो नगर ज्यानै मरिसक्यो भन्ने सुनें, १० बजे राती मेरो घर फोर्न आउने चोर तुलसीलाई पक्रिनोस् भनी भनेको अम्मरबहादुरको आवाज चिनें, गाउँमा तुलसीरामलाई जीतबहादुरले कुट्दैछ भन्ने पनि सुनें, भोलिपल्ट हेर्न जाँदा कुटपिट गरी मारेको रहेछ, लाइट नाककुचेको हो । कुट्नेमा अम्मरबहादुर, नाककुचे, लोके, डिल्लिमान, भरत समेतले कुटी मारेको हो भन्ने समेत सरजमीन मुचुल्का ।

४. बुझिएका सरजमीनबाट तुलसीरामलाई मार्नमा सहमति थियो भनी प्रष्ट भन्न नसकेको, बिना देवी राई, गजुरमान राई र जमान सिंह राईलाई हाजिर जमानीमा छाडी दिने र तुलसीरामलाई कुटी मार्ने अम्मरबहादुर, भरतबहादुर भनेको भरत राई, नाककुचे भनेको प्रेमबहादुर राई, लोके भनेको गजुरमान राई, ढडु भनेको डिल्लीमान राई समेत ५ जनालाई ज्यानसम्बन्धीको १ नं.को कसूरमा ऐ.महलको १३(३) बमोजिम कारवाही भई सजायँ हुने भन्ने प्रहरी र प्रहरी प्रतिवेदनमा अरुमा सहमति र गजुरमानलाई ज्यानसम्बन्धीको २५ नं.र जमान सिंहलाई ज्यानसम्बन्धीको १९ नं. बमोजिम सजायँ हुने भन्ने स.अ.को राय बाझी प्रतिवेदन ।

५. प्रतिवादी जमान सिंह, गजुरमान समेत २ जनाको हकमा स.अ.को राय बमोजिम ठहर फैसला र प्रतिवादी अम्मरबहादुर, नाककुचे भनेको प्रेमबहादुर, भरत राई, लोके भनेको गजुरमान राई, ढडु भनेको डिल्लिमान राई, समेतको हकमा अ.बं.१९० नं. बमोजिम मुलतवी राखी २०३६।९।२२ मा भोजपुर जि.अ. ले गरेको फैसला ।

६. वारदात समयमा म आफ्नो घरमा छु मृतक तुलसीरामलाई अम्मरबहादुर नाककुचे राई समेतले कुटपिट गरी मारे भनेको सुनेको हुँ मैले तुलसीरामलाई कुटपिट गरी मारेको होइन म्यादमा हाजिर हुन गाउँकै सरदार रामबहादुर राईले आरा काट्न जानुपर्छ भनी रु.१,०००।दिए सो पेश्की फछ्र्यौट गर्न २०३५।१२।३० मा भारत र्तिजुराम भन्ने ठाउँमा गई केही दिन काम गरी विमारी भई २०३८।१०।१४ गते घरमा आएको मौकामा प्रहरीले पक्राउ गरी ल्याएको हो भन्ने डिल्लीप्रसाद राईको अदालतमा गरेको बयान ।

७. रु.२००।धरौट दिए तारेखमा राख्‍ने र नदिए डिल्लीप्रसादलाई थुनामा राख्‍ने २०३८।१२।२२ को आदेश ।

८. डिल्लीप्रसादका साक्षी जीतबहादुर समेत २ जना बुझिएको मेरो श्रीमतीको जारी धनमाल उठाउने सम्बन्धमा २०३५।१२।२७ गते समाज बसी कुरा हुँदा धनमाल के के थियो भनी मृतक तुलसीरामले मलाई भन्दा १ तोला सुन ४० तोला चाँदी थियो भन्दा तेरो धनमाल कहाँ थियो भनी पटक पटक कुटपिट गर्दा मेरो नाकबाट रगत आयो मैले बहुदलको नीति यस्तै हुन्छ भन्दा अब बहुदल आउँछ भनी थिची सो अवस्थामा मेरो श्रीमती आई यसो गर्ने हो ? भनी भनेकीले बाझा बाझ भएको र सो ८ बजे समयमा घरदेखि हिंडी वाखचाखा भन्ने ठाउँमा बारी पट्टि मृतकराई सुसेली रहेको सुनी हामीलाई नभेटी हाम्रा बाबु आमा बहिनीलाई मार्छन् भनी साथमा रहेकी श्रीमती र नानीलाई नाम नजानेको राईका घरमा राखी हामी मात्र बासीखोरातर्फ आई पुगेपछि मेरा बाबुलाई छोरा बुहारी कता लगिस् भनी लछार पछार गरी रहेको देखि मैले पहिले हात छोडेको देखि बाबुले मलाई समाते बल्ल तुलसीराम भएको ठाउँमा जाँदा निज तुलसीराम  लडिरहेको देखें । काका किन चूप भनी हेर्दा मरीरहेको रहेछ साथीलाई जाहेर गरौं भन्दा हामीलाई थुन्छ भागौं भनेकोले पाँचै जना आसामतर्फ गयौं । अरुले कुन कुन चिजले कुटे राती हुँदा देखेनौं भन्ने प्रहरीद्वारा पक्राउ भई आएको अम्मरबहादुरले अदालतमा गरेको बयान ।

९. जमान सिंह समेत २ जना साक्षी बुझिएको ।

१०. २०३५।१२।२७ गते बुलेकी ८ बजे मेरो भाइ अध्यक्ष हुँदा बोलाई लगेछन् । कुरा गर्दाकै अवस्था नाककुचे, भरत, अम्मरबहादुर, निजकी श्रीमती, जमान सिंह समेत भई कर्तव्य गरी मारेका हुन् भन्ने समेत जाहेरवाला नरसिंहबहादुरको बकपत्र ।

११. डिल्लीप्रसादको हकमा दावी बमोजिमको कसूर गरेको देखिन आएकोले जन्मकैद हुन्छ अम्मरबहादुरको हकमा ज्यानसम्बन्धीको १३(३) ले जन्मकैद हुने ठहर्छ तापनि जारी उठाउने विषयमा भनाभन हुँदा रातको समयमा पनि मृतक अम्मरबहादुरको घरमा आएको सुतेको बेलामा पनि भनाभन भएको भन्ने देखिँदा सजायँ चर्को पर्ने हुँदा घटी सजायँ गर्न लेखी पठाउने ठहर्छ भन्ने मिति ०४०।३।२०।२ को भोजपुर जिल्ला अदालतको फैसला ।

१२. प्र.अम्मरबहादुर र मृतक तुसलीरामका बीचमा वारदातका दिन जारी उठाउने विषयमा भनाभन भई मृतक तुलसीरामले अम्मरबहादुरलाई एक थप्पड हिर्काएको अम्मरबहादुरले मृतकलाई बहुदलवादी यस्तो हो भनी घटना घट्ने अवस्थाको श्रृजना गर्नका निमित्त उक्साएको र अम्मरबहादुरले मार्ने नियत लिएको यकीन अवस्था नदेखिई अम्मरबहादुरकै चोटले मरेको भन्न मिल्ने अवस्था नहुँदा घटनाको सिर्जना विचार गर्दा भवितव्य हो कि भन्न सकिने र माग दावीको सजायँ चर्को पर्छ कि भन्ने अवस्था देखिँदा अ.बं.१८८ नं. ले घटी सजायँ अर्थात् १० वर्ष सजायँ हुुनु पर्ने चित्तले देखि छुट्टै राय लेखी जाहेर गरेको छु भन्ने जि.न्या.को राय सहितको भोजपुर जि.अ.को मिति ०४०।३।२० को फैसला ।

१३. भोजपुर जिल्ला अदालतको मिति २०४०।३।२०।२ को फैसला उल्टाई ज्यानसम्बन्धीको ६ नं. बमोजिम हुने गरी निर्णय गरी पाउँ भन्ने जिल्ला कार्यालय कारागार शाखा भोजपुर मार्फत प्रतिवादी अम्मरबहादुरले पूर्वाञ्चल क्षेत्रीय अदालतमा गरेको पुनरावेदन ।

१४. पुनरावेदकले मृतकलाई एक चोट छाडेपछि बाबुले समाएको र त्यसपछि अरु साथीले हिर्काए पछि मृतकको मृत्यु भएको सो कुरा जाहेर गर्नु पर्छ भन्दा ज्यान मरिसकेको छ हामीलाई छोड्दैनन् भागी जाउँ भनी साथीहरूले भन्दा भागी आसामतिर गयौं । मर्ने तुलसीरामलाई १ बजेको समयमा मारेको हो भन्ने पुनरावेदक अम्मरबहादुरको साविती बयान, निजका बाबु गजुरमानको कागज, जमानसिंह राईको बकपत्र तथा मृतकको आड्ड जीउमा ठाउँ ठाउँमा घाउ भएको हाड भाँचिएको देखिनुका साथै शरीरमा भएको जख्मी र आन्तरिक चोट समेतका कारणबाट मृतकको मृत्यु भएको भन्ने सव परीक्षण प्रतिवेदनमा उल्लेख भएको हुनाले पुनरावेदनकले आरोपित कसूर गरेकै देखिन आयो । चोट छोड्न प्रतिवादी मध्ये यसैको चोटले मेरेको भन्ने नदेखिएको अवस्थामा ज्यानसम्बन्धीको १३(३) नं. ऐनमा जन्मकैद गर्नु पर्छ भन्ने उल्लेख भएको हुनाले इन्साफ शुरु भोजपुर जिल्ला अदालतको मनासिब ठहर्छ । जारी गरी लगेको कारणबाट घटनाक्रम शुरु भएको नातामा काका पर्ने व्यक्तिले समेत जारको पक्षमा लागेको कारणले प्र.अम्मरबहादुरको मनस्थिति बिग्रिनु स्वभाविकै देखिएको र घटनाक्रम पूर्व मृतकलाई मार्नु पर्ने रीसइवी समेत केही नदेखिएको मृतकले जारको पक्षमा लागी खसुवा डाँडाको छलफलमा पुनरावेदकलाई गालामा समेत हिर्काएको अवस्थामा पुनरावेददक उत्तेजित हुनु स्वभाविकै भएको र वारदातको शुरुआत र घटनाक्रम विचार गर्दा भवितव्य हो कि भन्ने अवस्थामा अ.बं.१८८ नं. अनुसार पुनरावेदकलाई ऐन बमोजिम सजायँ गर्दा चर्को पर्न जाने राय समेत व्यक्त भई साधक जाहेर  समेत भई आएको पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१।१० को फैसला ।

१५. मेरी जेठी श्रीमती बृजमायालाई जारी गरी लगेको हुनाले धनमाल लिन आउनु भनी मलाई खबर गरेको हुनाले २०३५।१२।२७ मा जमान सिंह समेत ४ जनालाई साथमा लिई दिनको १२ बजे खसुवा डाँडामा पुग्यौं । त्यहाँ तुलसीराम समेत ११ जना जम्मा भएका रहेछन् । छलफलको क्रममा मेरो १½ तोला सुन र ४० तोला चाँदी थियो भन्दा नभएको कुराको दावी नगर भनी तुलसीरामले मलाई कुटेपछि मलाई नकुट्नोस भन्दा समेत लडाई कुटपिट गर्दा मेरी कान्छी श्रीमती विनादेवीले छुट्याई र मृतकलाई १ पटक गालामा हिर्काई तत्पश्चात धनमाल लिने कुरा नमिल्दा धनमाल फिर्ता गराउन बयाड्ड प्रहरी चौकीमा उजुरी दिन वाकचाखा पुग्दा मेरो घरमा तुलसीरामले हल्लिखल्ली गरेको सुनियो । हामी नहुँदा घरका मानिसलाई तुलसीरामले कुट्ला भनी घर आउँदा मृतकले मेरा बुबालाई लछार पछार पारिहेको देखि दिउँसो मलाई र राती मलाई नभेटी बाबुलाई पनि कुट्न हप्काई रहेको देखि मैले एकपटक मुड्कीले तुलसीरामलाई हिर्काएपछि मलाई बाबुले समात्यो साथीहरू प्रेमबहादुर, डिल्लीराम र भरत समेतले दनादन कुटेर मृतकको मृत्यु भएको कुरा बाबुबाट फुत्किएपछि मैले थाहा पाएँ । साथीहरूको चोटबाट तुलसीराम मरेको हो मेरो चोटले होइन । सरजमीनले समेत मलाई दोषी ठहराएर बकेका नभई शंका मात्र देखाएका छन् । चस्मदिद गवाहको अभाव छ । जाहेरवालाको जाहेरीबाट मेरा बाबु गजुरमान समेत अभियुक्त छन् । निज सहअभियुक्त भएको हुनाले आफु उम्किन अम्मरबहादुर समेतले कुटी तुलसीरामको मत्यु भएको हो भन्ने बयान निजले दिएका हुन् । त्यस आधारमा मलाई दोषी ठहराउन मिल्दैन । ज्यान मार्न रीसइवी पनि कुनै थिएन । मैले साधारण रुपमा १ मुड्की हानेको नै कारणले निजको मृत्यु भएको होइन । यस कारणले भवितव्य ठहराई ज्यानसम्बन्धी ५ नं., ६ नं. को ऐन लगाई इन्साफ गरी भोजपुर जि.अ.को फैसला सदर गरेको पूर्वाञ्चल क्षे.अ.को फैसला उल्टाई सफाई पाउँ भन्ने समेत प्रतिवादी अम्मरबहादुर राईको यस अदालतमा पर्न आएको पुनरावेदन ।

१६. पुनरावेदक प्रतिवादीतर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान वैतनिक अधिवक्ता श्री पृतम राणाले प्रतिवादी अम्मरबहादुरको चोटले मृतक तुलसीरामको मृत्यु भएको होइन र घटनाक्रम शुरु हुनु अघि मृतकलाई पुनरावेदकले मार्नु पर्ने रीसइवी एवं अन्य अवस्था समेत नदेखिएको र आफ्नी स्वास्नी जारी गरी अरुले लगेको अवस्थामा समेत काका नाता पर्ने व्यक्तिले जारको पक्षमा लागी आफूलाई र आफ्नो बाबु समेतलाई लछार पछार गरी कुटपिट गरेको अवस्थामा अम्मरबहादुरको धैर्य टुट्न गई एक थप्पडसम्म हानेको कारणले मात्र मृतकको मृत्यु भएको होइन, पुनरावेदकले एक थप्पड हानेपछि निजको बाबुले उसलाई समातेको र अरु अवस्था स्पष्टै देखिएको र पुनरावेदकको बाबु समेत सहअभियुक्त भएको अवस्थामा निजको बयानलाई मात्र आधार बनाउनु समेत तर्कसंगत नहुँदा पुनरावेदक प्रतिवादी अम्मबहादुरले सफाई पाउनु पर्छ यदि सजायँ गरिनु नै पर्ने भए पनि ज्यानसम्बन्धी ६ नं. को अवस्था विद्यमान देखिँदा सोही बमोजिम इन्साफ हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

१७. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के छ सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।

१८. यसमा निर्णयतर्फ हेर्दा तुलसीराम मरेको कर्तव्य ज्यान मुद्दामा प्रस्तुत मुद्दाका प्रतिवादी मध्येका अम्मरबहादुर राई र डिल्लीप्रसाद राईका हकमा ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैदको सजायँ हुने ठहराई प्र. मध्ये अम्मरबहादुर राईलाई अ.बं.१८८ नं. को प्रयोग गरी १० वर्ष कैद हुनुपर्ने भनी राय ठहर  साथ शुरु भोजपुर जि.अ.ले पूर्वाञ्चल क्षे.अ. धनकुटामा साधक जाहेर गरेको र प्र. मध्ये अम्मरबहादुर राईको पूर्वाञ्चल क्षे.अ. मा पुनरावेदन परी अम्मरबहादुरको हकमा पुनरावेदन तहबाट हेरी शुरुले जन्मकैदको सजायँ हुने ठहराई अ.बं.१८८ नं. प्रयोग गरी १० वर्ष कैद हुनुपर्ने भनी पठाएको रायलाई सदर गरी प्र.डिल्लीप्रसाद राईका हकमा पुनरावेदन नपरी साधकबाट जन्मकैद हुने ठहर्‍याएको शुरु इन्साफ कायमै राखी निर्णय गरेकोमा उक्त इन्साफ साधक जाहेर भई आएको र पू.क्षे.अ.को इन्साफ उपर प्र.अम्मरबहादुरको यस अदालतमा पुनरावेदन समेत पर्न आएको देखिन्छ । यसरी प्रस्तुत मुद्दामा अम्मरबहादुरको हकमा पुनरावेदन तहबाट र प्र.डिल्लीप्रसाद राईको हकमा साधक तहबाट निर्णय दिनु पर्ने देखिन आएको छ ।

१९. सर्वप्रथम अम्बरबहादुर राईको हकमा विचार गर्दा मृतक तुलसीरामलाई हात छोडेकोमा अदालत समक्ष प्र.अम्मरबहादुर स्वयंले सावित भई बयान गरेको, सरजमीनका मानिस समेतले प्र.अम्मरबहादुरलाई कर्तव्यवाला हो भनी लेखाई दिएको तथा पोष्र्टमार्टम फारामबाट समेत मृतक तुलसीरामको मृत्यु कर्तव्यबाट नै भएको भन्ने देखिन आएको र तुलसीरामलाई एक मुड्की हिर्काएको हुँ भनी यस अदालत समक्ष म.क्षे.अ.को इन्साफ उपर पुनरावेदन गर्दा समेत प्र. अम्बरबहादुरले उल्लेख गरेको देखिँदा प्र.अम्मरबहादुर राई समेतको कुटाईबाट मृतक तुलसीरामको मृत्यु भएको देखिएको हुनाले शुरुले ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्‍याएको इन्साफ सदर गरेको पुर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । अब पूर्वाञ्चल क्षेत्रीय अदालतले निज अम्मरबहादुरको हकमा जन्मकैदको सजायँ चर्को पर्ने देखि अ.बं.१८८ नं. बमोजिम १० वर्ष कैद हुनुपर्ने भनी राय जाहेर भई आएतर्फ हेर्दा निज अम्मरबहादुरको मर्ने तुलसीराम उपर मार्नेसम्मको ईवी देखिँदैन । वारदातको घटना रुप हेर्दा मर्ने तुलसीराम र प्र.अम्मरबहादुर समेतका बीच अम्मरबहादुरकी आफ्नी श्रीमती बृजमाया राईलाई दिलबहादुर राईले जारी गरी लगेको र धनमाल विषयमा मृतक र अम्मरबहादुर समेतका बीचमा भनाभन भएको दिन बेलुका आफ्ना बाबुलाई मर्ने तुलसीरामले लछार पछार कुटपिट गर्न लाग्दा चोटसम्म छाडेको र अन्य अभियुक्त समेतको कुटाईबाट मृतकको मृत्यु भएको देखिएको मार्नेसम्मको मनसाय ईवीको अभावमा जन्मकैदको सजायँ गर्दा चर्को पर्न जाने भएकोले घटनाको रुप अवस्था तथा प्र.अम्मरबहादुरको स्थिति समेत विचार गरी अ.बं.१८८ बमोजिम १० वर्ष कैद गर्ने राय साथ जाहेर गरेको मनासिब नै हुँदा अ.बं.१८८ नं. बमोजिम प्र.अम्मरबहादुरलाई १० वर्ष कैद हुने ठहर्छ । अब डिल्लीप्रसादको हकमा हेर्दा निज उपर मर्ने तुलसीरामलाई कर्तव्य गरी मारेकोमा ज्या.सं.को १३(३) नं.लगाई प्रहरी प्रतिवेदन दायर भएको शुरु भोजपुर जिल्ला अदालतबाट निजलाई कसूरदार ठहराई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद गर्ने गरी गरेको फैसला उपर निजले चित्त बुझाई पुनरावेदन नै नगरी बसेको र अदालतबाट तोकिएको मिति २०३९।२।२४ गतेको तारिख गुजारी बसेको भन्ने पू.क्षे.अ.को फैसला समेतबाट देखिएको र मिसिल प्रमाणबाट निज समेतको कर्तव्यबाट मृतक तुलसीरामको मृत्यु भयो भन्ने देखिएबाट शुरुले जन्मकैदको सजायँ गर्ने गरेको इन्साफलाई कायमै राखी साधक जाहेर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१।१० को फैसला मनासिब ठहर्छ । साधकको लगत कट्टा गरी अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्र.अम्मरबहादुर राई के १० वर्ष कैद हुने ठहरेकोले र निज प्र.अम्मरबहादुर राई २०३९।७।२४ देखि भोजपुर कारागारमा थुनामा रहेको देखिएकोले थुनामा रहेको मितिदेखि कैद कट्टा हुने गरी कैद लगत कसी असूल गर्नु भनी शुरु भोजपुर जिल्ला अदालतमा लगत दिन काठमाडौं जि.अ.मा लगत दिनु....१ 

प्र.अम्मरबहादुर राईलाई १० वर्ष कैद हुने ठहरेकोले जन्मकैद गर्न नपर्ने हुँदा जन्मकैदको लगत राखेको लगत कट्टा गर्नु भनी शुरु भोजपुर जिल्ला अदालतमा लगत दिन का.जि.अ.मा लगत दिनु...२ मिसिल नियम बमोजिम गरी बुझाई दिनु....................३

 

उक्त रायमा मेरो सहमती छ ।

न्या. हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४३ साल आषाढ १० गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु