शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २८३३ - जग्गा खिचोला

भाग: २८ साल: २०४३ महिना: मंसिर अंक:

निर्णय नं. २८३३     ने.का.प. २०४३       अङ्क ८

संयुक्तइजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४२ सालको दे.पु.नं. ५७६

फैसला भएको मिति : २०४३।८।५।५ मा

 

पुनरावेदक/वादी : धादिङ जिल्ला मार्पाक गाउँ पञ्चायत वडा नं.३ हाल वडा नं.७ चापकुना बस्ने जितबहादुर आले मगर

विरुद्ध

रेस्पोण्डेन्ट/प्रतिवादी : ऐ.ऐ.सापटारी बस्ने भैरवबहादुर थापा मगर

 

मुद्दा : जग्गा खिचोला

 

(१)         कानुन बमोजिम पास समेत गरी राजीनामा दिएको लिखतबाट हक कायम हुन नसक्ने भनी भन्न कानुनले नमिल्ने ।

(प्रकरण नं. १२)

 

पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री छवीरमण सिटौला

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी यस इजलासमा पेश हुनआएको प्रस्तुत मुद्दामा लिएको पुनरावेदन जिकिर तथा तथ्य संक्षिप्तमा निम्न प्रकार छ :

२. पूर्व गल्ली, पश्चिम चिलाउनेको बोट, उत्तर मानवीर आलेको बारी, दक्षिण खोल्सी, यति चारकिल्ला भित्रको केराबारी भन्ने पाखो र पूर्व गिदरीको रुख ठाडो ढुड्डा लिलाकुमारीको बारी, पश्चिम पदेरा बारी, उत्तर लिलाकुमारीको बारी, दक्षिण पँधेराबारी, यति ४ किल्ला भित्रको २ कित्ता जग्गा भोगी आएकोमा विर्ता उन्मूलन ऐन, २०१६ अनुसार (क) श्रेणीको रैकरमा परिणत गर्दा सो मध्ये जि.दाताराम, जि.शेरबहादुर जिम्मा पूर्व आफ्नै बारी पश्चिम तेर्सो बाटो उत्तर ठाडो गोरेटो र लिला कुमारीको बारी, दक्षिण खोल्सो यति ४ किल्ला भित्रको केराबारी बाटो माथि भन्ने खेत माटो मुरी ।।१५ को कित्ता एक पुर्व तेर्सो बाटो, पश्चिम आफ्नै बारी कैसलको रुख उत्तर लिलाकुमारीको बारी दक्षिण लालबहादुरको बारी यति ४  किल्ला भित्रको खरबारी भन्ने पाखो जग्गा कित्ता एक ऐ.जिम्माको पूर्व आफ्नै खेत पश्चिम दक्षिण लालबहादुरको साँध उत्तर लीलाकुमारीको साँध र कैजलको रुख यति ४ किल्ला भित्रको पुछार बारी भन्ने पाखो जग्गा कित्ता एक समेत जग्गाको विवरण दिएको मालबाट २०३४ सालको नम्बरीमा मेरो नाममा दर्ता भएको ७ नं. फाराम मेरै नाममा भरिएको छ । विपक्षी ४ नं.नापी गोश्वाराबाट नापी हुँदा उक्त जग्गाहरू कि.नं.४१, ४२, ४३, ४४, ४५ र ४६ मा नापी गराई खिचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने समेत जितबहादुर आले मगरको शुरु जिल्ला अदालतमा परेको फिरादपत्र ।

३. विपक्षीले दावी लिएको जग्गा विपक्षीको नभई निजका दाजु अमृत आलेको अंश हकको भई केराबारी भन्ने पाखो जग्गा कित्ता एक, घरबारी भन्ने पाखो विर्ता जग्गा कित्ता एक, मिति २०११।१०।३ मा रु.३५०।मा अमृत आलेबाट राजीनामा पारित गरी लिई विर्ता उन्मूलन ऐन, २०१६ बमोजिम रैकरमा परिणत गराउन, मैले धादिङ मालमा दर्खास्त दिँदा समुच्चा जग्गा २०३० सालको सदर नम्बरीमा दर्ता भई, मेरो भोगचलनमा छ । नापीमा कि.नं.४१, ४२, ४३, ४४, ४५ र ४६ गरी ६ कित्तामा मेरा नाममा नापी भएकोमा विपक्षीले झगडा जनाउन लगाएका हुन । मैले खिचोला गरेको छैन, झुठ्ठा फिराद दावीबाट अलग फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको भैरवबहादुर थापाको प्रतिउत्तरपत्र ।

४. प्रतिवादीबाट पेश भएको मिति २०११।०१२ सालको तिरो तिरेको रसिद हेर्दा केरमेट भई अर्को मसीबाट थपेको देखिएको । २०२२ सालको यिनै वादी प्रतिवादी बीचको खिचोला मुद्दा डिसमिस भएको प्रतिवादीले खिचोला गरेको होइन भन्न मिलेन भन्ने समेत व्यहोराको धादिङ जिल्ला अदालतको फैसला ।

५. सो फैसलामा चित्त बुझेन सो फैसला बदर गरी मेरो प्रतिउत्तर लेख अनुसार गरी पाउँ भन्ने समेत व्यहोराको भैरवबहादुर थापाको बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

६. मिति २०११।१०।३ को लिखत उपर वादीले उजूर गरी बदर गराउन नसकेको २०३० सालमा प्रतिवादीले सो जग्गा धादिङ मालबाट नम्बरी समेत दर्ता गराइसकेको २०१६ सालदेखि २०३२ सालसम्म तिरो बुझाएको कि.नं.४१, ४२, ४३, ४४, ४५ र ४६ को जग्गा प्रतिवादीको ठहर्छ खिचोला गरे भन्ने समेत वादी दावी पुग्न सक्दैन, शुरु इन्साफ मिलेको देखिएन भन्ने समेत व्यहोराको बा.अं.अ.को फैसला ।

७. बागमती अञ्चल अदालतको इन्साफमा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको जितबहादुर आले मगरले मध्यमाञ्चल क्षेत्रीय अदालतमा दिएको अनुमति निवेदन ।

८. २०३० सालमा भैरवबहादुरले रैकरमा परिणत गराई दर्ता गराएको उपर निवेदक वादीले जालसाजी मुद्दा दायर गरेकोमा जग्गा मुद्दाकै ठहर बुँदाबाट निर्णय भएको विपक्षीले दिएको जग्गा मुद्दा डिसमिस गराएबाट सो जग्गामा निजको हक कायम गर्न नहुने अवस्थामा विपक्षीको हक कायम गर्ने गरी बागमती अञ्चल अदालतले गरेको फैसलामा न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३(३) को अवस्था विद्यमान हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको आदेश ।

९. भैरवबहादुरले जीतबहादुर उपर दिएको खिचोला मेटाई हक कायम गरी पाउँ भन्ने मुद्दा मिति २०२३।३।५ मा धादिङ जिल्ला अदालतबाट डिसमिस भएको हेर्दा वादी भैरवबहादुरले मिति २०११।११।१३ मा अमृतबहादुरबाट पारित गराई लिएको राजीनामाबाट हक भएको भनी फिराद गरेकोमा सो जग्गा मेरो हो भनी जीतबहादुरले प्रतिवाद गर्नसकेको देखिँदैन । प्रतिवाद अनुसार उजूर गरी बदर गराउन सकेको पनि देखिँदैन । धादिङ जिल्ला अदालतबाट मिति २०१२।१२।१ मा र अपिल दोश्रो फाँटबाट शुरुको इन्साफ सदर भई मिति २०१५।२।२२  मा फैसला भएको प्रमाणको बन्धकी थैली बुझाई पाउँ भन्ने मुद्दामा बन्धकी नठहरी बुधे आलेको राजीनामाको जग्गा ठहर भएको तथा बुधे आले, भैरवबहादुरको दाता अमृतबहादुरको पिता हुन् भन्ने हुँदा त्यसबाट भैरवबहादुरले लिएको राजीनामालाई असर पर्ने स्थिति समेत देखिँदैन । तसर्थ विवादीत जग्गा भैरवबहादुरको हकभोग राजीनामाको कायम हुने गरी वादी जीतबहादुरको दावी नपुग्ने ठहराइएको बागमती अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१०. सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादी पुनरावेदकले यस अदालतमा निवेदन दिएकोमा यसमा विवादकै जग्गा सम्बन्धमा म उपर जग्गाखिचोला मुद्दा दिई धादिङ जिल्ला अदालतबाट मिति २०२३।३।५।१ मा डिसमिस फैसला भइसकेपछि पुनः सोही जग्गाको सम्बन्धमा मुद्दा दिएकोमा विवादको जग्गा विपक्षीलाई दिलाउने ठहराइएको म.क्षे.अ.को फैसला अ.बं.८५ नं.को प्रत्यक्षतः गम्भीर त्रुटि भएको देखिएको र प्रस्तुत विषय सार्वजनिक महत्वको देखिँदा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत यस अदालतको आदेश ।

११. पुनरावेदक तर्फबाट उपस्थित हुनुभएको विद्वान वरिष्ठ अभिवक्ता श्री मुकुन्द रेग्मीले र विपक्षीतर्फबाट उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री छवीरमण सिटौलाले गर्नुभएको बहस समेत सुनियो मुख्यतः म.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।

१२. यसमा जहाँसम्म यिनै विपक्षीले यिनै वादी पुनरावेदक उपर यही विवादको जग्गामा जग्गा मुद्दा दिई डिसमिस गराएकोबाट दावीको जग्गाहरूमा प्रतिवादी विपक्षी भैरवबहादुरले खिचोला गरेको नठहराएको नमिल्ने भनी पुनरावेदकतर्फबाट व.अ.श्री मुकुन्द रेग्मीले लिएको जिकिर बमोजिम पुनरावेदन गर्दा अनुमति प्रदान गर्दा भएको आदेशमा भनिएको हकमा सो डिसमिस भएको भनेको यिनी विपक्षी वादी भई यिनै पुनरावेदक जीतबहादुर उपर दिएको जग्गाखिचोला मुद्दा हेरिएमा सो मुद्दामा यिनी विपक्षीले आफ्नो मिति २०११।११।१३ को राजीनामाबाट हक भएको जग्गामा यिनी पुनरावेदकले खिचोला गरे भनी दावी लिएकोमा, यिनी पुनरावेदकले प्रतिउत्तर फिराउँदा दावीको जग्गा आफ्नो हकको हो भनी दावी नलिई, फ्ना बाबु बुधे आले उपर भोगबन्धकी निखनाई पाउँ भनी मुद्दा परी, हक बेहक नछुटी रहेको अवस्थामा अमृतबहादुरबाट २०११ सालमा राजीनामा लिई निजैले भोगी आएको छ मैले खिचोला गरेको छैन भन्ने व्यहोरा देखाई प्रतिउत्तरपत्र दिएकोबाट दावीको जग्गा निजले राजीनामा गराई लिए बमोजिम निजको हकभोगमा रहेको भन्ने कुरा स्वीकार गरेकोबाट सो मुद्दा डिसमिस भएको भए पनि, सो डिसमिसबाट विपक्षीको दावीको जग्गाहरूमा हक समाप्त भएको भन्न मिल्ने देखिन आएन । जहाँसम्म यिनै विपक्षीले यिनै पुनरावेदक उपर विपक्षीलाई २०११।११।१३ मा अमृतबहादुरले गरी दिएको राजीनामा लुटपिट गरेर २०२२।४।१६ को यिनै विपक्षीसित यिनै पुनरावेदकले गराई लिएको लिखत करकापसंग गराई लिए, भनी दावी लिई दिएको मुद्दा यिनै विपक्षीले डिसमिस गराएकोबाट २०११।११।१३ को राजीनामा लुटपिट गरेको र २०२२।४।१६ को लिखत करकाप गरी गराएको ठहर्न नसकेकोबाट सो २०२२।४।१६ को लिखत राजीखुशीको कायम भई सो लिखतबाट विपक्षीले अमृतबहादुरबाट पाएको राजीनामा सो लिखतको थैली रु.३५०।को ठाउँमा रु.५००।बुझी पुनरावेदकलाई सौपूवा गरी दिइसकेपछि, सोही सौपूवा गरी दिएको राजीनामाका आधारमा वादीको जग्गामा विपक्षीको हक कायम रहन नसक्ने भन्ने पुनरावेदकतर्फको जिकिरको हकमा जिकिरबाट देखाएको, सो लुटपिट करकाप मुद्दा हेरिएमा सो विपक्षीले तारिख गुजारी डिसमिस गराएको देखिएको  बाट विपक्षीले मिति २०११।११।१३ को लिखत लुटपिट गरेर २०२२।४।१६ को लिखत करकापसित गराए भन्ने दावी खम्बीर हुन आएन । विपक्षीको सो दावी खम्बीर नभएबाट २०११।११।१३ को लिखत लुटपिट गरेको नदेखिई ०२२।४।१६ को लिखतबाट सौपूवा गरी दिएको देखिन आउँछ । अतः ०२२।४।१६ मा लिखत गरी मिति २०११।११।१३ को राजीनामा सौपूवा गरी दिएकोबाट दावीको जग्गामा कानुनले पुनरावेदकको हक कायम हुन आउने हो होइन, भन्नेतर्फ विचार गरेमा सो करकाप सित गराई लिएको भनेको लिखत व्यहोराबाट पुनरावेदक तथा विपक्षी दाता अमृतबहादुरका बाबु बुधे आले मगरको हक भएको जग्गा अमृतबहादुरले विपक्षीलाई रु.३५०।मा राजीनामा पास गरी दिएको हुँदा सो थैली रु.३५०।को बदला रु.५००।विपक्षीले बुझी सो २०११।११।१३ को राजीनामा पुनरावेदकलाई सौपूवा गरी दावीको जग्गाको हक छोडी दिएको देखिन आएको छ । यसरी अचल सम्पत्तिको हक छोडेको रु.१००।भन्दा बढी मोल बिगोको लिखत रजिष्ट्रेशनको १ नं.ले पास गर्न अनिवार्य गरेको हुँदा पुनरावेदकले विपक्षीबाट गराई लिएको लिखत करकापबाट गराई लिएको कायम हुन नसकेको भए पनि रु.५००।मोल बिगोको हुँदा, उक्त ऐनले पास हुन पर्ने सो भएको नदेखिएकोले सो लिखतबाट दावीको जग्गामा पुनरावेदकले हक कायम हुन नसक्ने हुँदा, त्यस्तो लिखतको आधारमा वादीको जग्गामा वादीको हक भई विपक्षीले दावी लिए बमोजिम खिचोला गरेको भनी भन्न कानुनले मिल्ने देखिन आउँदैन । अब दावीको जग्गा पुनरावेदकका बाबुको नामको जग्गा हुँदा निजका छोरा पुनरावेदकका दाजु अमृतबहादुरले दिएको राजीनामाबाट विपक्षीको हकको हुन नसक्ने भन्ने पुनरावेदक तर्फको जिरहको हकमा पुनरावेदकले नै आफ्नो हकको सं्रोत भनी देखाएको मिति २०२२।४।१६ को लिखतको व्यहोराबाट दावीको जग्गा पुनरावेदक तथा निजका दाजु विपक्षीका दाता अमृतबहादुरको बाबु बुधे आले उपर भोगबन्धकी कायम गरी पाउँ भन्ने मुद्दाबाट समेत पुनरावेदन तथा निजका दाजु अमृतबहादुरको बाबु बुधे आलेको हकमा कायम भएको भनी देखाएको भए पनि सोही जग्गा पुनरावेदकका दाजु अमृतबहादुरले विपक्षीलाई मिति २०११।११।१३ मा राजीनामा दिएको कुरामा कुनै विवाद नउठाई सो लिखतलाई सकार गरी सो लिखतको थैली बापत रु.५००।समेत विपक्षीलाई बुझाई सो लिखत आफूले सौपूवा लिएकोबाट आफ्नो बाबुको हकको जग्गा आफ्नो दाजुले बिक्री राजीनामा दिएको कुरा सकारेकै हुँदा पुनरावेदक तर्फको यो जिरह पनि मनासिब देखिन आएन । दावीको जग्गामा आफ्नो बाबु उपर भोगबन्धकी कायम गरी पाउँ भन्ने मुद्दा परी हक बेहक नछुटिँदैकै अवस्थामा हक नपुग्ने अमृतबहादुरले दिएको राजीनामाबाट विपक्षीको हक कायम हुन नसक्ने भन्ने पुनरावेदक तर्फबाट लिएको जिरहको हकमा पनि प्रमाणको रुपमा साथ रहेको सुरथबहादुरले पुनरावेदकको बाबु उपर भोगबन्धकी कायम गरी पाउँ भनी दिएको मुद्दामा पुनरावेदकका बाबुले प्रतिउत्तर दिँदा फिराद लिई दावीको यो जग्गा भोगबन्धकीमा लिएको नभई १९८४।१०।९ मा राजीनामा लिई आफ्नो हक भएको भनी देखाई प्रतिउत्तर फिराएकोबाट दावीको जग्गा पुनरावेदकका बाबुले सोही मितिदेखि सो मुद्दा पर्नु अघिसम्म अर्थात् अमृतबहादुरले मिति २०११।११।१३ मा राजीनामा दिँदा सम्म पनि राजीनामाकै जग्गा मानी आएको यस अवस्थामा अमृतबहादुरले विपक्षीलाई राजीनामा दिएको सकारेपछि सो भोगबन्धकी कायम गरी पाउँ भनी दावी लिएको मुद्दामा भोगबन्धकीको नठहरी राजीनामाकै कायम भएपछि अमृतबहादुरले कानुन बमोजिम पास समेत गरी राजीनामा दिएको लिखतबाट विपक्षीको हक कायम हुन नसक्ने भनी भन्न कानुनले नमिल्ने हुँदा पुनरावेदकतर्फको यो जिरह पनि मनासिब नदेखिई मध्यमाञ्चल क्षेत्रीय अदालतले दावीको जग्गामा वादी पुनरावेदकको दावी बमोजिम खिचोला नठहराइएको बागमती अञ्चल अदालतको इन्साफ मनासिब  ठहराइएको मनासिब ठहर्छ । कोर्टफी राखी दायर भएकोले केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.सुरेन्द्रप्रसाद सिंह

 

इतिसम्वत् २०४३ साल मार्ग ५ गते रोज ५ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु