निर्णय नं. २८३४ - अंश

निर्णय नं. २८३४ ने.का.प. २०४३ अङ्क ८
संयुक्तइजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४१ सालको दे.वि.नं. ९३
फैसला भएको मिति : २०४३।८।२०।६ मा
पुनरावेदिका/प्रतिवादी : अष्टनारायण मानन्धरकी श्रीमती का.न.पं.वडा नं.२२बस्ने अष्टनारायणको हकमा मु.स. गरी आफ्ना हकमा समेतकी रामकुमारी मानन्धर
विरुद्ध
प्रत्यर्थी/वादी : का.न.पं.वडा.नं. १० भीमसेनगोला बानेश्वर बस्ने विष्णुदेवी मानन्धर
मुद्दा : अंश
(१) अंशबण्डाको १ नं.ले व्यवस्था गरे अनुसार जति अंशियार जीवित हुन्छ तिनीहरूको बीचमा भाग बण्डा गर्नु पर्ने ।
(प्रकरण नं. १७)
पुनरावेदिका/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल
फैसला
न्या.प्रचण्डराज अनिल : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन भनी विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराज सरकारका हजूरमा चढाएको बिन्तिपत्रमा यसमा व्यहोरा साँचो भए यसमा लेखिएको मध्यमाञ्चल क्षेत्रीय अदालतबाट निर्णय भएको अंश मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम गरी निर्णय दिनु, निवेदकलाई जनाउ दिनु भन्ने हुकुम प्रमांगी बक्स भएकोले प्रस्तुत मुद्दाको तथ्य संक्षिप्तमा निम्नानुसार छ :
२. ससुरा अष्टनारायण सासु रामकुमारीको छोरा मच्छेनारायणसंग विवाह भई छोरा १ जन्मेपछि लोग्ने मिति ०३०।३।२० गते परलोक भए ।१३ दिनको कार्य सकी मेरो दाइजो पेवा नदिई मलाई खान लाउन नदिई निकाला गरे आमा कहाँ बसेकी छु सासुकी छोरी विवाह भइसकेको छ सासु ससुरा मेरो पति तीन अंशमा एक अंश दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको मिति ०३४।११।१६ को फिरादपत्र ।
३. वादी एकासगोलमा बसेको थिइन । माइत गई बसेकी बोलाउन जाँदा पनि यो मुद्दा गरेकी हुन भन्ने समेत व्यहोराको प्रतिवादी दुइको एउटै प्रतिवाद रहेछ ।
४. वादीको साक्षी जवान दुई प्रतिवादीको साक्षी एकको बकपत्र भएको रहेछ ।
५. प्रतिवादीको पैतृक सम्पत्ति भाइहरूसंग बण्डा भएको छैन, भनी जिकिर लिएकोमा ०१६ साल मार्ग ३० गते भन्दा अगावै आफू अंश लिइसकेको छ, प्रतिवादी व्यहोरा झुठ्ठा हो भन्ने प्रतिवादीको पेट बोलीबाट बुझिएको पूर्णनारायण मानन्धरको बयान ।
६. मेरो कान्छा बाबु अष्टनारायण, हिरालाल पञ्चनारायणसंग मेरो बाबु १६ साल मार्ग अगावै बण्डापत्र कागज केही नगदी छुट्टी भिन्न बसी आएको हो अष्टनारायणको प्रतिवादी व्यहोरा झुठ्ठा हो भन्ने चौथीनारायण मानन्धरको बयान ।
७. दाजु अष्टनारायण र म समेतको अंशियारहरूको ०१६ साल मार्गमा घरायसी बण्डा खडा गरिएको छ । अष्टनारायणलाई मैले अंश दिन पर्ने बाँकी छैन, भन्ने प्रतिवादीका पेटबोलीबाट बुझिएको पञ्चनारायण मानन्धरको बयान ।
८. आमा चन्द्रकुमारीको छोरा प्रतिवादी अष्टनारायण, म हिरालाल, भाइ पञ्चनारायण १६ साल मार्गका बण्डापत्र खडा गरी मेरो भागमा परेको घर भोगबन्धकीमा अष्टनारायण साक्षी बसेका हुन भन्ने प्रतिवादीका पेटबोलीबाट बुझिएको हिरालाल मानन्धरको बयान ।
९. मसंग केही छैन भनी वादीले र एउटा घर छ भोगबन्धकी पारित गरी दिएको भनी प्रतिवादीले फाँटवारी दिएको रहेछ ।
१०. वादीले प्रतिवादीहरूबाट रु.८,३३३।२३ को अंश पाउने र रु.५,७७१।६६ भोगबन्धकी थैली व्यहोर्नु पर्ने ठहर्छ विवाह खर्च पाउने ठहर्दैन भन्ने शुरु काठमाडौं जिल्ला अदालतको मिति ०३६।१२।१९ को फैसला ।
११. काठमाडौं जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत रामकुमारी तथा अष्टनारायणको बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
१२. साहू बुझी निर्णय गर्नु पर्ने नगरी ऋण तिर्नु पर्ने ठहर्छ भनी अदालतले बोलेको औचित्य छैन । छोरीको विवाह खर्च सगोलबाट व्यहोर्नु पर्ने होइन, भन्ने प्रतिवादी नभई सगोलबाट व्यहोर्नु पर्ने कुरामा विपक्षीले नै इन्कार नगरेको कुरामा अदालतबाट छोरीको विवाह खर्च नपाउने गरेको चित्त बुझेन भन्ने समेत व्यहोराको विष्णुदेवी मान्नधरको बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
१३. भोगबन्धकी लिखत बमोजिम ऋण तिर्न पर्ने होइन भन्ने वादीको दावी जिकिर भएकोले सो ऋणका सम्बन्धमा भोगबन्धकी साहूका तर्फबाट उजूर दावी भएको बखत हुने ठहरे बमोजिम हुने नै हुँदा हाल प्रस्तुत मुद्दाबाट यो साहूको ऋण समेत भाग लगाई दिन आवश्यक देखिन आएन । अतः सो ऋण समेत भाग लगाउने गरेको बाहेक अरु शुरुको इन्साफ मनासिब हुँदा सदर हुने ठहर्छ । विवाह खर्च सार्ने दावीको हकमा तायदातीमा उल्लेख भएको भए छोरीको विवाह खर्च बाबुको अंश भागबाटै मात्र छुट्याउने भएकोले सो पुनरावेदन जिकिर पुग्न सक्दैन इन्साफ केही उल्टी हुन्छ, भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको फैसला ।
१४. वादी विष्णुदेवी मानन्धर तर्फबाट म.क्षे.अ. मा पुनरावेदनको अनुमति पाउँ भन्ने समेतको व्यहोराको निवेदनपत्रमा निज निवेदकलाई न्यायप्रशासन सुधार ऐन, १३(३) अन्तर्गत पुनरावेदन गर्न पाउने अनुमति प्रदान गरेको सिंगलबेञ्चको आदेश ।
१५. बण्डा गरी दिनु पर्ने अंशियार प्रतिवादीको छोराको अंश भाग खाने निजकी श्रीमती वादी र छोरा सरहको अंश पाउने प्रतिवादी रामकुमारी मात्र जीवित रहेको अंशियारहरू समावेश भएको यस अंश मुद्दामा अंशबण्डा गर्नु पर्ने २ अंशियार मात्र हुनाले वादीले ३ खण्डको १ खण्ड अंश पाउने ठहर्याएको बागमती अञ्चल अदालतको फैसला कानुनी त्रुटिपूर्ण हुनाले सोही हदसम्म बदर हुन्छ वादीले प्रतिवादीबाट प्रस्तुत भएको तायदाती बमोजिम २ खण्डको १ खण्ड अर्थात् आधा अंश पाउने ठहर्छ । अरु बागमती अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१६. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन इन्साफ जाँची दिनु भन्ने सर्वोच्च अदालतको नाममा हुकुम प्रमांगी बक्स पाउन श्री ५ महाराजाधिराज सरकारका हजूरमा विशेष जाहेरी विभाग मार्फत विन्तिपत्र चढाएको हुकुम प्रमांगी बमोजिम बक्स भई यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदिका प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलको बहस जिकिर समेत सुनियो । मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के हो सो को मुख्यतः निर्णय दिनु पर्ने हुन आयो ।
१७. निर्णयतर्फ विचार गर्दा यसमा वादी प्रतिवादीहरू अंशियार रहे भएकोमा विवाद उठाउन पर्ने स्थिति छैन । अंश मुद्दा पर्दा जीवित रहेका अंशियार मध्येका अष्टनारायण मुद्दा पर्दापर्दैको अवस्थामा देहावसान भएको हुँदा अंश पाउन पर्ने ३ जना भएकोमा बीचमा नै एउटा अंशियारको मृत्यु भएको हुँदा निजको भागको सम्पत्ति के कसले कति पाउने भन्ने मुख्य रुपमा कुराको निवारण गर्नुपर्ने हुनआएको छ । मुलुकी ऐन अंशबण्डाको महलको १ नं.मा व्यवस्था गरे अनुसार “अंशबण्डा गर्दा बाबु आमा स्वास्नी छोराहरूको जियजियको अंश गर्नु पर्दछ” भन्ने प्रष्टरुपमा उल्लेख भएको पाइन्छ । अंशबण्डाको उक्त १ नं.ले व्यवस्था गरे अनुसार जति अंशियार जीवित हुन्छ तिनीहरूको बीचमा भाग बण्डा गर्नु पर्ने व्यवस्था भएको पाइन्छ । अंशियार मध्येका मृतक अष्टनारायणले आफ्नो अंश भाग खानु भन्ने लिखत समेत गरी कुनै पक्षलाई दिएको समेत मिसिल संलग्न कागजातबाट देखिएको छैन, यस्तो स्थितिमा बण्डा गरी दिनु पर्ने अंशियार प्रतिवादीको छोराको अंश भाग खाने निजकी श्रीमती वादी र छोरा सरहको अंश पाउने प्रतिवादी रामकुमारी मात्र जीवित रहेको अंशियारहरू देखिएकोमा विवादीत सम्पत्ति २ जनालाई आधा आधा बण्डा गर्ने र साहूको ऋणको सम्बन्धमा सो सम्बन्धी मुद्दामा निर्णय हुने भन्ने गरेको म.क्षे.अ.को फैसलामा कानुनी त्रुटि विद्यमान भएको नदेखिएकोले इन्साफ म.क्षे.अ.को सदर हुन्छ । इन्साफ जाँचको लागि प्रस्तुत मुद्दा पेश भएको हुँदा कसैलाई केही गरी रहन परेन । नियमानुसार गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. सुरेन्द्रप्रसाद सिंह
इतिसम्वत् २०४३ साल मार्ग २० गते रोज ६ शुभम् ।