शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २८३५ - अंश

भाग: २८ साल: २०४३ महिना: मंसिर अंक:

निर्णय नं. २८३५    ने.का.प. २०४३       अङ्क ८

संयुक्तइजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४२ सालको दे.पु.नं. ७०२

फैसला भएको मिति : २०४३।६।३।६ मा

 

पुनरावेदक/वादी : जि.धनकुटा चानुवा गा.पं.वार्ड नं. १बस्ने टिकामाया भट्टराई

विरुद्ध

विपक्षी/प्रतिवादी : जि.धनकुटा चानुवा गा.पं.वार्ड नं. १ बस्ने गजेन्द्रराम भट्टराईसमेत

 

मुद्दा : अंश

 

(१)               अंशियार देखाएपछि अ.बं.१३९ नं.बमोजिम अंशियारहरूलाई बुझी निर्णय गर्नु पर्ने ।

(प्रकरण नं. १४)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री राजाराम कर्माचार्य

विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री नारायणराज खरेल

 

फैसला

न्या.रुद्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी पुनरावेदक वादी श्री टिकामाया भट्टराईको यस अदालतमा परेको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्राप्त भई बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ :

२. विपक्षी सर्नेध्वजको ३ पत्‍नी मध्ये जेठीका सन्तान नभई परलोक भएको माहिली पट्टी मेरा पति र नरबहादुर कान्छी पट्टी गजेन्द्रराम, केशवध्वज, नारायणराम, ध्रुवराम, बसन्त, उज्वल, किरण समेतको जाय जन्म भएको मेरा पति र सासु ससुरा पनि परलोक भई हामी सगोलमा बसी म र विपक्षी रोमनकुमारी, केशवध्वज नरबहादुर पहाडतर्फ, केशवध्वज बाहेक अन्य छोराहरूले मधेश र पहाडतर्फको हेर विचार गरी सगोलमा बसी पैतृक सम्पत्ति बढाई आएकोमा हामी ठूलो परिवारका भयौं मलाई अंश दिनु होस् भनी विपक्षीहरूसंग माग्द नदिएकोले जम्मा १० जना अंशियार हुँदा सो मध्ये मेरो १ भाग रीतपूर्वक तायदाती लिई अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको वादी ।

३. हाम्रो अघि नै अंशबण्डा भइसकेकोले वादीलाई हामीले अंश दिनु पर्ने होइन भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तरपत्र ।

४. मैले नरबहादुरसंग कुनै शर्तनामा कागज गरेको होइन लेखतको सही कीर्ते हो कीर्ते लेखत खडा गर्ने गजेन्द्रराम, नरबहादुर, मानबहादुर समेत उपर सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको प्र.वा.फत्यजड्ड बुढाथोकीले गरेको बयान ।

५. २०२१।९।११ को शर्तनामा कागज हेरे लेखतका लेखक गजेन्द्रराम भट्टराई मेरा भाइ नाताका हुन् निजले कहिले काहीँ भर्पाईहरूमा सही गराउने गर्दथिएँ, सोही अवस्थामा मलाई झुक्याई मेरो अंश मार्न लेखत खडा गरेको भए उनै जानून भन्ने समेत व्यहोराको नरबहादुर भट्टराईले अदालतमा गरेको बयान ।

६. टिकामाया नरबहादुर भट्टराईका आमा सासुमदेलाको पेवापात सम्बन्धमा झगडा परी मिलापत्र गराउनु पर्ने भई आउनु भनी बोलाउँदा आई सही गराउँदा मैले नपढी मिलापत्रको कागजमा सही गरी दिएको हुँ अंशबण्डाको कागज भनी सही गरेको होइन भन्ने समेत व्यहोराको मानबहादुर भट्टराईले अदालतमा गरेको बयान ।

७. २०२१।९।११ को शर्तनामा कागजमा लागेको ल्याप्चे छाप र नरबहादुरको सही भएको लेखत सद्दे हो मैले कीर्ते लेखत खडा गरेको होइन भन्ने समेत व्यहोराको प्र.गजेन्द्ररामको बयान ।

८. वादीले घरसारमा नरम गरम मिलाई भोग बिक्री समेत गरेको देखिँदा मुलुकी ऐन अंशबण्डाको ३० नं. अनुसार वादीले एकपटक अंश पाइसकेको देखिने हुँदा अब आएर पुनः वादीले प्रतिवादीबाट अंशमा दावी गर्न नपाउने ठहर्छ भन्ने समेत व्यहोराको ०४१।१।२०।४ को धनकुटा जिल्ला अदालतको फैसला ।

९. जिल्ला अदालतको फैसलामा चित्त नबुझी पू.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।

१०. विपक्षी प्रतिवादीको साक्षी भोलानाथ पौडेल, ताराचन्द्र खड्का १ फत्तेजड्ड बुढाथोकी १ समेत ३ जनाले दाइजो पेवा घरसारी अंशियारको बीचमा चल अचल श्रीसम्पत्तिको भाग अंश बुझी लिएको हुँदा अब अंश दिन बाँकी छैन भनी किटानीसाथ बकी लेखी दिएको समेतबाट पुनरावेदक वादी आफ्नो अंश लिई छुट्टी बेग्लै बसी आएको देखिन आयो । यसको अतिरिक्त वादी टिकामायाले आफ्नो घर समेतको जम्मा रु.१३,००१।मा पुष्कर भट्टराईलाई मिति ०३८।१२।८ मा मालपोत कार्यालय धनकुटाबाट राजीनामा गरी हक छोडी दिएको  समेत देखिनाले एकपटक अंश भइसकेकोमा पुनः दावा लाग्न नसक्ने हुनाले अंशमा वादी दावा पुग्न नसक्ने ठहराएको शुरु धनकुटा जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने पू.क्षे.अ.को मिति ०४१।९।१७।२ को फैसला ।

११. पू.क्षे.अ.को इन्साफमा चित्त नबुझी यस अदालतमा पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादी नरबहादुर भट्टराईको निवेदन परेकोमा वादी प्रतिवादीको बीचमा अंशबण्डा भएको भन्ने कुराको कानुनको रीत पुगेको प्रमाण पेश नभएको अवस्थामा साक्षीको भनाइको भरमा वादीले अंश पाइसकेको भन्ने क्षे.अ.को निर्णय प्रमाण ऐन, ०३१ को दफा ५४ र मुलुकी ऐन अंशबण्डाको ३० नं. को त्रुटि देखिएको र त्यस्तो त्रुटि सार्वजनिक महत्वको हुँदा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम प्रस्तुत मुद्दामा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भनी यस अदालत डिभिजनबेञ्चको मिति ०४१।१२।२१।४ को आदेश ।

१२. नियम बमोजिम दैनिक पेश सूचीमा चढी पेश हुन आएका प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट विद्वान अधिवक्ता श्री राजाराम कर्माचार्य र विपक्षी प्रतिवादीको तर्फबाट विद्वान अधिवक्ता श्री नारायणराज खरलेका बहस समेत सुनियो ।

१३. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मनासिब बेमनासिब के रहेछ निर्णय दिनु परेको छ ।

१४. यसमा वादी टिकामाया भट्टराईले फिरादपत्रमा प्रतिवादी बनाइएको गजेन्द्रराम भट्टराई र रोमनकुमारीको अतिरिक्त केशवध्वज, नारायणराम, ध्रुवराम बसन्त, उज्वल, किरण समेतलाई अंशियार देखिए पछि अ.बं.१३९ नं. बमोजिम निज अंशियारहरूलाई बुझी निर्णय गर्नु पर्ने साथै मालपोत कार्यालयमा दर्ता विषयमा निवेदन दिई कार्यवाही गरेको विषयमा पनि बुझेको नदेखिँदा अरु अंशियारहरूलाई बुझ्दै नुबझी गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ऐन कानुनको रीत पुगेको भन्न मिलेन । तसर्थ पूर्वाञ्चल क्षेत्रीय अदालतले बेरीतसंग गरेको फैसला बदर हुने ठहर्छ । वादीले फिरादमा उल्लेख गरेको उक्त अंशियारहरुलाई अ.बं.१३९ नं. बमोजिम बुझी अंशियारको नाउँबाट निजहरूको नाउँमा गएको र आएको जग्गा दर्ता सम्बन्धमा समेत जो जे बुझ्नु पर्ने सो समेत बुझी कानुन बमोजिम निर्णय गर्नु भनी रुजु रहेका पक्षहरूलाई तारेख तोकी दिई पूर्वाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु ।

उक्त रायमा म सहमत छु ।

न्या. गजेन्द्रकेशरी बास्तोला

 

 

इतिसम्वत् २०४३ साल आश्विन ३ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु